कक्षाः- १२ पाठः २ विरहिणी दमयन्ती

 शब्दभण्डार

१ दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस्:

  उत्तरः-

       शब्द                अर्थ

      संयत              मर्यादा वा सीमाभित्र रहेको

      धूमिल             स्पष्‍ट नदेखिने

      कर्कोटक           पुराणप्रसिद्ध आठ नागमध्ये एक

      कन्दमूल           माटामुनि जराका रूपमा फल्‍ने डल्‍लो वा लाम्चो फल

      किंकर्तव्यविमूढ       बिलखबन्द, यसो गरूँ कि उसो गरूँ भई जिल्‍ल परेको

      निषाद              एक प्राचीन जाति     

      वल्कल             रूखको बोक्राबाट बनेको पोसाक

      सैरन्ध्री              रूपसज्‍जाको काममा खटिएकी सेवीका

      शिंशपा              एक जातको रूख, सिसौ

      देहयष्‍टि             लौरो झैँ दुब्लो शरीर

      दुकूल               रेसमी पछ्‌यौरा

      सार्थवाह             व्यापारी लस्करको मुखिया

२. दिइएका अर्थ दिने शब्द पाठबाट खोज्‍नुहोस्:

   क) आकाशमा उत्तरदेखि दक्षिणसम्म ज्योतिपञ्‍जका रूपमा फैलिएका साना साना           नक्षत्रको समूह      = तारामण्डल

   ख) गाउने र बजाउने कलात्मक प्रवीण एक देवयोनि  = गन्धर्वी

   ग) बस्न र केही राख्‍न हुने गरी गाराको सट्‍टा थाम हाली बनायएको घरको गाराको        बाहिरी भाग      = पिँढी

   घ) सुसार गर्ने काममा खटिएको   = सैरन्ध्री(सुसारे)

   ङ) जनसाधारणको बसोबास भएको ठाउँ = जनपद

३. दिइएका टुक्‍कालाई अर्थ खुल्‍ने गरी वाक्यमा प्रयोग गर्नुहोस्:

 सुइँकुच्चा ठोक्‍नु (भाग्‍नु) =  मदिराले लठ्‍ठ भएको कर्कोटकको छाप्रोमा आगो लगाए

                        दमयन्ती सुइँकुच्‍चा ठोकिन्।

  लम्पसार पर्नु (स्वाभिमान गिराउनु)  = वीर पुर्खाका सन्तति नेपालीहरूलाई शत्रुका 

                                  अगाडि लम्पसार पर्न पटक्‍कै सुहाउँदैन।

 आँखा लाग्‍नु (कुदृष्‍टि पर्नु/निदाउनु)=अरूले गरेको प्रगतिमा आँखा लगाउनु राम्रो होइन ।  

मुख फोर्नु (बोल्‍नु)=  रामले अति भएपछि मात्र आफूले आफ्‍नो काकासँग मुख फोरेको                   कुरा सबैलाई भन्यो।

   तातो लाग्‍नु(चासो लाग्‍नु) = परीक्षा नजिकै आएकाले सबै विद्यार्थीहरूलाई पढाइको                             लागि  तातो लागेको छ।

   तेल लगाउनु (चाकरी गर्नु)= हाकिमलाई तेल लगाउन सिपालु प्रकाशको अहिलेसम्म                           दुर्गम क्षेत्रमा सरुवा भएको छैन।

   सोत्तर हुनु (विनाश हुनु)= चर्को हावाहुरीले किसानको मकै खेतबारीमै सोत्तर भएछ।

४. दिइएका शब्दको विपरीत अर्थ दिने शब्द पाठबाट खोजेर लेख्‍नुहोस्:

     शब्द                 विपरीत अर्थ

     दिन                    रात

     दुःखी                   सुखी

     उदाइसकेको              अस्ताइसकेको

     पराजय                  विजय

     विजित                   अविजित

     अपमान                  सम्मान

     सूर्यस्त                   सूर्योदय

     देब्रे                      दाहिने

     वियोग                    मिलन

५. दिइएका पारिभाषिक शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाउनुहोस् र शब्दकोशको सहायता

    लिई तिनको अर्थ पनि लेख्‍नुहोस्:

सरुवा, बढुवा, अधिकृत, निलम्बन, परिपत्र, स्पष्‍टीकरण, आदेश, टिप्पणी, भरपाई,       फर्स्योट, बेरुजु, राजस्व

उत्तरः- शब्दकोशीय अनुक्रम

       अधिकृत, आदेश, टिप्‍पणी, निलम्बन, परिपत्र, फर्स्योट, बढुवा,बेरुजु, भरपाई, राजस्व, सरुवा, स्पष्‍टीकरण

अर्थ

अधिकृत = कार्यालयको अधिकार प्राप्‍त कर्मचारी

 

आदेश= कुनै कामका लागि ठूलाले सानालाई दिइने आज्ञा

टिप्‍पणी= कुनै व्यक्ति वा विषयका बारेमा गरिएको छोटो समीक्षा वा विवेचना

निलम्बन= कर्मचारीले गरेको अनियमितताको छानबिन गर्न सेवा तथा सुविधा रोक्‍का गर्ने           काम 

परिपत्र = कुनै संस्थाले आफ्‍नो मातहतका निकाय, विभाग आदिलाई जानकारीको लागि           पठाइएको आधिकारिक पत्र

फर्स्योट= हरहिसाबको चुक्‍ता

बढुवा= पदोन्‍नति/तल्लो पदको माथिल्‍लो पदमा वृद्धि

बेरुजु = बिलभरपाईअनुसार रुजु गर्दा नमिलेको

भरपाई= सामान बुझिलिनेले हस्ताक्षरसहित दिइने पत्र

राजस्व =जनताबाट वा ‌औद्योगिक तथा व्यावसायिक गतिविधिबाट राज्यलाई प्राप्‍त हुने           सम्पत्ति

सरुवा = एक ठाउँबाट अर्को ठाउँमा जाने काम

स्पष्‍टीकरण = कुनै विषयलाई प्रष्‍ट पार्ने काम

बोध र अभिव्यक्ति

१.   विरहिणी दमयन्ती कथा पढी यसका आदि, मध्य र अन्त्यका मुख्य मुख्य घटना भन्‍नुहोस्:

आदिका प्रमुख घटनाहरू

Ø आफ्‍नो पतिको वियोगमा विरहिणी बनेकी दमयन्ती पति नलको खोजीमा बिलौना गर्दै भोक, शोक र थकाइको प्रवाह नगरी घनघोर जङ्‍गलमा एक्‍लै हिँडिरहनु,

Ø आफूसँग आफ्‍ना पति छैनन् भन्‍ने विश्‍वास भएतापनि उनी रूख, पात, फूल, चराचुरूङ्‍गी, मृग र पशुहरूमा पनि नलको रूप देख्‍थिन्,

Ø सपनामा नलको भाइ पुष्करले शिर सुमसुम्यारहेको देखेकी दमयन्ती आत्तिएर ब्युँझदा नागपुरुषले कपाल मुसारी रहेको पाउनु र डरले भाग्दै गर्दा नागपुरूषले उनलाई समातेर काँधमा बोकी आफ्‍नो छाप्रोमा लैजानु,

Ø नागपुरुष रक्सीले मातेर उङ्‍न लागेको मौका छोपेर छाप्रोको ढोका र पिँढीमा जाँड पोखेर अगुल्टाले छाप्रो र ढोकाको जाँडमा आगो लगाएर दमयन्ती भाग्‍न सफल हुनु...

   मध्यका प्रमुख घटनाहरू

Ø  Ø    पराजित महशुस गरी विहवल भई तीन दिनसम्‍म जङ्‍गलमा हिँडेकी दमयन्ती आफ्‍नो      रूपलाई विकृत बनाएर हिँड्न थाल्नु,

Ø  Ø दमयन्तीले सपनामा ऋषिहरूका आश्रममा पुगी न्यानो आतिथ्यमा प्राप्‍त गरेको, अदृश्य   अपरिचित आवाजमा उत्तरतर्फ बढ्दै जाँदा खोज्दै जाँदा तिमीलाई खोज्दै भौतारिँदै हिँडेका   नलसँग तिम्रो भेट हुने छ भन्‍ने कुरा सुन्‍नु,

Ø Ø हिँडाइकै क्रममा चेदीतर्फ जान हिँडेको सार्थवाह शुचिभद्रसँग भेट हुनु, शुचिभद्रको टोलीमा समावेश भई पद्यसौगन्धिक नामक तलाउको किनारमा रात बिताउनु,

ؠؠ मध्यरातमा तलाउमा पानी खान आएको जङ्‍गली हात्तीको समूहको कुल्चाइबाट     निद्रामा  परेका व्यापारी समूहका धेरैको मृतु हुनु तर दमयन्ती भने सुरुमै रूख चढ्न   सफल भएकाले बाँच्‍न सफल हुनु,

Ø  Ø बाँचेकी सार्थदलका एकजना महिलासँग साथ लागेर चेदी तर्फ अगाडि बढ्‍नु...

अन्त्य भागका मुख्य घटनाहरू

Ø Ø आफ्नी ठुलीआमा चेदी नरेश सुवाहु पत्‍नी सुनन्दाले नचिनुन् भनेर केश, वस्‍त्र र   मुहारलाई विकृत बनाइ बौलाही जस्तै भएर हिँड्‍न थाल्‍नु,

Ø Ø बौलाही जस्ती देखिएकी दमयन्तीलाई जिस्काउँदै सडकमा केटाकेटीहरू उनको पछि   पछि लाग्‍नु,

Ø Ø घरको बार्दलीमा बसेर सडकको रमिता हेरिरहेकी सुनन्दाको आँखा दमयन्तीमा पर्‍यो र सेवकको सहयोगमा दमयन्तीलाई आफू समक्ष उपस्थित गराइ उनको परिचय सोध्‍नु,

Ø Ø दमयन्तीले आफ्‍नो पहिचान लुकाउँदै आफू सेठपत्‍नीको सुसारे भएको बताउनु,

Ø Ø केही सर्तसहित दमयन्तीले राजकुमारीको सैरन्ध्री भई काम गर्न मञ्‍जुर गर्नु,

Ø Ø आफ्‍नो परिचय लुकाइ ठुलीआमाको घरमा सैरन्ध्रीका रूपमा रही आफ्‍नो पति नलसँग   हुने आशाको दियो जगाइ प्रतीक्षामा बस्नु...।

२ कथा पढी दिइएका प्रश्‍नको उत्तर दिनुहोस्:

क क) दमयन्ती जङ्‍गलमा किन एक्‍लै हिँडिरहेकी हुन् ?

उत्तरः- जङ्‍गल बसाइको क्रममा पति नल एकाएक हराएकोमा पति वियोगमा विरहिणी बनेकी दमयन्ती आफ्‍नो पतिको खोजी कार्यमा एक्‍लै हीँडिरहेकी हुन्।

ख ख)   दमयन्तीले यात्रा गरेका मुख्य ठाउँ कुन कुन हुन् ?

उत्तरः- कथामा वर्णन भएअनुसार आफ्‍नो पतिको खोजीका क्रममा दमयन्तीले कर्कोटक नागहरूको बस्ती रहेको घनघोर जङ्‍गल, कर्कोटक नागयुवकको छाप्रो, पाललो जङ्‍गल पारिको खेत, सानो खोला, पद्‍मसौगन्धिक सरोवर, चेदी जनपद, चेदीनगर तथा चेदीराज सुवाहुको राजभवनको यात्रा गरिन्।

ग ग) जङ्‍गली हात्तीको आक्रमणबाट बच्‍न दमयन्ती कसरी सफल भइन् ?

उत्तरः- जङ्‍गली हात्तीको बथानले आक्रमण गर्न सुरू गरेको थाहा पाएकी दमयन्ती सुरुमा नै एउटा अग्लो रूखमा चढ्‍न सफल भएकाले दमयन्ती हात्तीको आक्रमणबाट बच्‍न सफल भइन्।

३ कथा पढी दिइएको घटनालाई क्रम मिलाई लेख्‍नुहोस्:

क  क)   जङ्‍गली हात्तीको कुल्चाइबाट सार्थका धेरै व्यक्तिको ज्यान जानु,

ख  ख)   जङ्‍गलको बिचमा दमयन्तीको सार्थवाह शुचिभद्रसित भेट हुनु,

ग  ग)    आफ्ना पति नलको खोजीमा दमयन्ती जङ्‍गलमा एक्‍लै हिँडिरहनु

घ  घ)    शुचिभद्रको सार्थसँगै हिँडेकी दमयन्ती पद्‍मसौगन्धिक तलाउमा बास बस्नु

ङ  ङ)  नागपुरुष कर्कोटकले दमयन्तीलाई जबर्जस्ती बोकेर लैजानु

च च)   कर्कोटले रक्सी खाएर उङ्न लागेको मौका छोपी छाप्रामा आगो लगाएर दमयन्ती भाग्‍न सफल हुनु

छ छ)   दमयन्ती चेदी जनपद पुग्‍नु

ज ज)  चेदीमा आफ्‍नै ठुलीआमा सुनन्दाका घरमा पहिचान बदलेर सैरन्ध्रीका रूपमा रही        नलसँग मिलनको प्रतीक्षा गर्नु

झ झ)  रूख चढ्‍न सफल दमयन्तीसहित दशबाह्र जना मात्र हात्तीको कुल्चाइबाट बच्‍न        सफल  हुनु

४ कथामा प्रयुक्‍त पौराणिक पात्रका नाम भन्‍नुहोस् र तिनको भूमिका वर्ण गर्नुहोस्।

   पौराणिक पात्रहरू

  नल: दमयन्तीका पति, निषधका राजा, मध्यरातमा दमयन्तीलाई परित्याग गरी हिँड्‍नु

  दमयन्तीः- नलकी पत्‍नी, रानी, कथाकी केन्द्रीय तथा प्रमुख नारी चरित्र

  इन्द्रसेनः- नल र दमयन्तीको छोरो

  इन्द्रसेनाः- नल र दमयन्तीकी छोरी

  नागयुवकः- कर्कोटक जातिको नागपुरुष, कामुक, दमयन्तीलाई जबर्जस्ती गरी लैजाने              खलपात्र

  शुचिभद्रः- सार्थवाह वा व्यापारी दलको नेता, सेठ, कुबेरको मित्र मणिभद्रको कुलपुत्र,         सहायक पात्र

  सुवाहुः- चेदी नरेश, सुनन्दाको पति

  सैरन्ध्रीः- सुनन्दाले दमयन्तीका लागि राखिदिएको नाम, राजकुमारीको सुसारे

५ दिइएको कथांश पढी सोधिएका प्रश्‍नको उत्तर दिनुहोस्

 कुनै अजगर, कर्कोटक वा निषादयुवकले फेरी बलजफ्‍ती गर्न नपाओस्, त्यस्ता कुनैले देखिहाल्यो भने पनि कुरूप र बौलाही ठानेर त्यस्ताको आक्रमण नगरून भन्‍ने विचार गर्दै दमयन्तीले आफ्‍नो केशलाई धुलाले मुसारेर जगल्टा जस्तो बनाइन् र आफ्‍नो रूपलाई हिलो दलेर विकृत तुल्याइन्। मानिसको परिचय उसको शरीरले भन्दा पनि उसको मस्तिष्क र हृदयले दिने हुँदा शरीरलाई जतिसुकै क्षतविक्षत तुल्याए पनि दमयन्तीको हृदय र बुद्धि भविष्यको उज्यालो आशामा नलप्रति झन् झन् बढी मुग्ध र कोमल हुँदै गयो।

प्रश्‍नहरू

क क)  'मानिसको परिचय उसको शरीरले भन्दा पनि उसको मस्तिष्क र हृदयले दिन्छ'        भन्‍नुको तात्पर्य के हो ?

उत्तरः- मानिस शरीरले होइन मनले राम्रो हुनु पर्छ। बाह्‌य रूप सुन्दर, आकर्षक हुँदैमा राम्रो हुँदैन। सोचाइ, विचार, कर्मले राम्रो ठहरिने हो। त्यसैले मानिस आन्तरिक गुण, आत्मज्ञान, सद्‌विचार, सत्‌चरित्रयुक्त, हुनुपर्छ भनिएको हो।बाह्‌यढाँचा नक्‍कल, व्यभिचारपूर्ण व्यवहारले मानिसलाई असल कहलाउँदैन। विरहिणी दमयन्ती कथामा दमयन्तीले सातित्व जोगाउनका लागि उनीले रूप बदली बौलाही बनी हिँडेकी छिन्। उनले सामाजिक मर्यादा र चरित्र जोगाउन बहुरूपी बनेर पतिप्रतिको भक्तिभाव, प्रेम र आदर्शलाई अक्षुण्‍ण राखेकी छन्। समाजमा यस्तै मान्छेलाई चरित्रवान्, विवेकी र सद्‌गुणी ठानिन्छ। यसकारण मान्छे राम्रो र नराम्रो उसको व्यवहार र चेतनाले दिने गर्छ, बाह्‌य सुन्दरताले होइन भन्‍नु नै माथिको भनाइको तात्पर्य हो।

ख ख)  दमयन्तीले आफ्‍नो रूप किन बदलेकी हुन् ?

उत्तरः- विरहिणी दमयन्ती कथाको प्रमुख नारी पात्र हुन्। पति वियोगका कारण विरहिणी बनेकी दमयन्ती पति नलको खोजीका लागि जङ्‍गलतिर भौँतारिँदै गर्दा कर्कोटक नागजातिको कामुक निषादपुरुषले बलजफ्‍ती लगेर अस्मिता लुट्‍ने कुचेष्‍टा गर्दा युक्‍तिपूर्वक भाग्‍न सफल भएपछि पुनः कुनै अजिङ्‍गर, कर्कोटक वा निषादपुरुषले फेरि बलजफ्‍ती गर्न नपाओस्, त्यस्ता कुनैले देखिहाले भने पनि कुरुप र बौलाही ठानेर त्यस्ताले आक्रमण नगरून् भनी आफ्‍नो सुरक्षाको लागि रूप बदलेकी हुन्।

६. दिइएको कथांश पढी सोधिएका प्रश्‍नको उत्तर लेख्‍नुहोस्:

    कालोनिलो आकाशमा उत्तरतिर ध्रुवतारा त्यसको दाहिनेतिर साततारा र देब्रेतिर पाँच ताराका उज्याला तारामण्‍डलले तिनलाई मोहित तुल्यायो। पूर्वदेखि पश्‍चिमतिर केही दक्षिणतिर ढल्किएको आकाशगङ्‍गा दमयन्तीका दृष्‍टिमा सङ्‍गीतमय हुन थाल्यो।आकाश र पृथ्वी यस्ता सुन्दर छन्। तिनका बिच आफू एक्ली विरहिणी अवस्थामा अनुभव गरेर दमयन्ती कोमल मधुर स्वरमा वियोग र पीडाको गीत गाउन थालिन्। कतिबेरसम्म तिनले गीत गाइन्, तिनले आफैँ थाहा पाइनन्। आकाशमा बिस्तारै बिस्तारै उभ्रिएर आउँदै पातला बादलले त्यो सुन्दर आकाशलाई दमयन्तीका हृदयमा धूमिल तुल्याउँदै लग्यो।

प्रश्‍नहरू

क क)   माथिको अनुच्छेदमा कस्तो परिवेशको चित्रण गरिएको छ ?

उत्तरः- माथिको अनुच्छेदमा रात्रीकालीन परिवेशको चित्रण रहेको छ। जङ्‍गलको एकान्तमा एक्‍लै परेकी विवश दमयन्तीले आकाशका ताराहरू हेर्दै बिलौना गाएको देखिन्छ। यहाँ एकातिर रात्रीकालीन समय, ताराहरूको समूह, छिनछिनमा स्वरूप फेर्दै गरेका फाटफुट बादलजस्ता प्राकृतिक परिवेशको वर्णन छ भने अर्कोतिर दमयन्तीको ऐकान्तिक, पीडा र वेदनाले ग्रस्त मनोदशाको मानसिक परिवेशको चित्रण गरिएको छ। ताराहरू समूह समूहमा छन् तर दमयन्ती एक्‍ली छिन्। तारा चम्किरहेका छन् तर दमयन्तीको मन उदास र दुखित रहेको छ। पातला बादलका टुक्राले सुन्दर आकाशलाई धूमिल तुल्याएझैँ दमयन्तीको मन पनि धूमिल बन्दै गएको छ।यसरी यहाँ प्राकृतिक परिवेश र मानसिक परिवेशलाई सँगसँगै प्रस्तुत गरिएको छ।

ख ख)   आकाश र दमयन्तीको हृदयका बिच के समानता छ ?

उत्तरः- आकाशको ध्रुवताराको वरिपरि विभिन्‍न तारा समूह रहेका छन्। एकै छिनको लागि भए पनि दमयन्ती ध्रुव ताराजस्तै मोहित भएकी छिन्। बिस्तारै आएको पातलो बादलले तारामण्‍डललाई छोपिदिएको वा बिरुप पारिदिएको छ। यस्तै अवस्था दमयन्तीको पनि भएको छ। उनको हृदय पनि विषाद र चिन्ताले ग्रस्त भई धूमिल बन्‍न पुगेको छ। जसरी आकाशका ताराहरूको चम्किलोपनलाई बादलले ढाकिदिएको छ त्यस्तै दमयन्तीको क्षणिक खुसीलाई आफ्‍ना प्रिय श्रीमान्‌सँगको वियोगको पीडाले छोपेको छ।

७ समीक्षात्मक उत्तर लेख्‍नुहोस्:

क क)   'नारी प्रेम र सङ्‍घर्षका प्रतिमूर्ति हुन्' यस भनाइलाई कथाका आधारमा पुष्‍टि           गर्नुहोस्।

उत्तरः- विरहिणी दमयन्ती कथा नेपाली साहित्यको आख्यान विधामा महत्त्वपूर्ण योगदान पुर्‍याउने वौद्धिक एवं दार्शनिक चिन्तन भएका वरिष्‍ठ आख्यानकार मदनमणि दिक्षित (वि. सं. १८७९-२०७६) द्वारा रचित पतिवियोगको पीडा र व्यथामा आधारित यात्रा वर्णन गरिएको नारीप्रधान पौराणिक कथा हो । बहुआयामिक व्यक्तित्वका धनी दीक्षित वैदिक, पौराणिक एवं ऐतिहासिक यथार्थ विषयवस्तुमा साहित्य सिर्जना गरी मानवीय शाश्‍वत सत्यको उद्‌घाटन गर्दै समाजको यथार्थतालाई प्रस्तुत गरी नारी केन्द्रीयतामा साहित्य सिर्जना गरी नारी जीवनका कारुणिक पक्षको चित्रण गर्ने सुप्रसिद्ध आख्यानकार हुन् । प्रस्तुत कथामा दमयन्तीले आफ्‌नो प्रेम प्राप्‍तिका लागि गरेको त्याग, समर्पण एवं सङ्‍घर्षलाई प्रस्तुत गरी नारी प्रेम र सङ्‍घर्षका प्रतिमूर्ति हुन् भन्‍ने भनाइलाई पुष्‍टि गरिएको छ ।

    यस पौराणिक कथाको पात्र दमयन्ती र उनका पति नल जङ्‍गलमा पुग्नुपूर्व रानी र राजा थिए। जुवा खेल्दा सबै धनसम्पत्ति र राज्यसमेत हारेपछि राजा नल रानी दमयन्तीलाई लिएर कुनै जङ्‍गलमा बास बस्न पुग्छ। राति दमयन्ती निदाएको अवस्थामा नल श्रीमतीलाई घना ज‌ङ्‍गलमा एक्लै छोडेर भाग्छन्। बिहान उठ्दा श्रीमान्‌लाई नदेखेपछि एक्ली बन्‍न पुगेकी दमयन्तीले गरेको सङ्‍घर्ष र उनले श्रीमान्‌लाई गरेको प्रेमले सम्पूर्ण नारी जातिलाई उत्प्रेरित गर्छ । वास्तवमा दमयन्तीको कथाले नारी जाति प्रेम र सङ्‍घर्षका प्रतीक हुन् भन्‍ने कुरालाई देखाउँछ। दमयन्तीका सन्दर्भमा नलको व्यवहार श्रीमान्‌को जस्तो त छँदै छैन, अझ अमानवीय समेत देखिन्छ । श्रीमतीको समेत सम्पत्ति हारेर ज‌ङ्‍गलको आश्रय लिन पुगेको नल हिंस्रक जनावरहरू प्रशस्तै भएको, डाकाहरू लाग्ने डरलाग्दो जङ्‍गलमा आफ्नी श्रीमतीलाई एक्लै छाडेर राति नै भाग्छ। यस्तो अवस्थामा श्रीमती नभएर जोसुकै भए पनि एक्लै छोडेर हिँड्न हुँदैनथ्यो। त्यस्तो कायर निर्दयी श्रीमान्‌लाई दमयन्तीले एक पल पनि बिर्सेकी छैनन्। उनी नलकै खोजीमा अनेकौँ हन्डर र ठक्‍कर सहँदै हिँडिरहेकी छिन्। यो भनेको उनमा रहेको प्रेमको चरमोत्कर्ष हो। नारीहरू श्रीमान्‌ले जस्तो व्यवहार गरे पनि आदर्श प्रेम गर्छन् भन्‍ने कुरालाई दमयन्तीको व्यवहारले पुष्‍टि गर्छ। नलले छोडेर हिँडे पनि दमयन्तीले जीवनलाई माया गरेकी छिन्। उनले आफ्‌नो इज्जत र स्वाभिमानलाई डग्न दिएकी छैनन् । निषाद युवाले भोग्न खोज्दा होस्, बाटोमा जङ्‍गली हात्तीले आक्रमण गर्दा होस्, अर्को राज्यमा गएर नोकरी गर्दा होस्, उनले सङ्‍घर्षलाई स्विकारेकी छन्। फेरि नललाई भेट्ने उनको एकमात्र लक्ष्य देखिन्छ। यस क्रममा जेजस्ता अप्ठ्‌यारासँग पनि बुद्धिमतापूर्ण तरिकाले जुध्दै अघि बढेकी उनी सङ्‍घर्षकी पनि प्रतिमूर्ति सावित भएकी छिन् ।

 

   यसरी दमयन्तीको व्यवहारका आधारमा भन्‍ने हो भने नारीहरू प्रेम र सङ्‍घर्षका प्रतिंमूति हुन् भन्‍न अप्ठेरो मान्‍नु पर्दैन। हाम्रो समाजमा पनि केही नारीहरूलाई छोड्ने हो भने अधिकांश नारीले आफ्‌ना श्रीमान् र परिवारका सदस्यलाई दिलदेखि नै माया गरेको पाइन्छ । समस्या पर्दा अविचलित भएर सङ्‍घर्ष गर्ने विशेषता पनि नारीहरूमा हुने भएकाले उनीहरू प्रेम र सङ्‍घर्षका पर्यायवाची हुन् ।

 (ख) दमयन्तीले आफ्‌नो जीवनमा आइपरेका समस्याको समाधानका लागि कुन कुन         उपाय अवलम्बन गरेकी छन् ?

उत्तरः नेपाली साहित्यका प्रसिद्ध आख्यानकार मदनमणि दीक्षितद्वारा रचित विरहिणी दमयन्ती कथा पतिवियोगको पीडामा रहेकी दमयन्तीले आफ्नो पति नललाई खोज्ने क्रममा भोगेका दुःख, सङ्‍कट तथा ती समस्याको समाधानका लागि अपनाएका उपायहरूमा आधारित नारीप्रधान पौराणिक कथा हो। यस कथामा दमयन्तीले धैर्य, साहस, बुद्धिमत्ता र समयअनुकूल निर्णयका माध्यमबाट जीवनका कठिन समस्याहरू समाधान गरेकी छन्।

     पति नलले जङ्‍गलमा एक्लै छाडेपछि दमयन्ती दुःख, भोक, तिर्खा र थकानका बीच पतिको खोजीमा निरन्तर अघि बढ्छिन्। हिँड्नसमेत गाह्रो हुने अवस्था आउँदा पनि उनले आफ्नो लक्ष्य त्याग्दिनन्। पीपलको फेदमा सुतेकी बेला कर्कोटक नागयुवकले उनलाई जबरजस्ती आफ्नो छाप्रोमा लैजान्छ। बलले उम्कन नसकिने देखेपछि उनले बुद्धि प्रयोग गरी आफू नागयुवकको वशमा परेको अभिनय गर्छिन्। नागयुवक जाँड खाएर निदाएपछि छाप्रोमा आगो लगाई त्यहाँबाट उम्कन्छिन्। यसबाट उनले बलभन्दा बुद्धिलाई प्रभावकारी रूपमा प्रयोग गरेर समस्या समाधान गरेकी देखिन्छिन्। जङ्‍गलमा यात्रा गर्दा पुनः कसैको आक्रमण नहोस् भन्‍ने सोचले उनले आफ्नो सुन्दर रूपलाई विकृत बनाउँछिन्, हातमा लट्ठी लिन्छिन् र बौलाहीजस्तै देखिने भेषमा यात्रा जारी राख्छिन्। यसै क्रममा उनको भेट शुचिभद्र सार्थसँग हुन्छ। पद्‌मसौबन्धिक सरोवरमा विश्राम गरिरहेका बेला हात्तीको समूहले आक्रमण गर्दा अन्य मानिसहरू आत्तिए पनि दमयन्ती तुरुन्तै रूखमा चढेर आफ्नो ज्यान बचाउन सफल हुन्छिन्। यसले उनको धैर्य, सतर्कता र दूरदर्शितालाई देखाउँछ। त्यसपछि उनी चेदी राज्य पुगेर आफ्नो वास्तविक परिचय लुकाई सैरन्ध्रीका रूपमा बस्छिन्। भविष्यमा कुनै अप्ठ्यारो नआओस् भनेर उनले कसैको जुठो नखाने, कसैको पाउ नदाप्ने र कुनै परपुरुषसँग नबोल्ने सर्त राखेर सेवा स्वीकार गर्छिन्। यसरी उनले आफ्नो सतित्वको रक्षा गर्दै पति नललाई खोज्ने अभियानलाई निरन्तरता दिन्छिन्।

    यसरी हेर्दा दमयन्तीले आफ्नो जीवनमा आएका हरेक समस्या धैर्य, साहस, बुद्धिमत्ता, संयम र समयअनुकूल निर्णयका माध्यमबाट समाधान गरेकी छन्। उनले कहिल्यै हार नमानी सङ्‍घर्षलाई निरन्तरता दिएकी छन्। त्यसैले यस कथाले समस्या समाधानका लागि बुद्धि, धैर्य, आत्मविश्‍वास, सङ्‍घर्षशीलता र समयअनुसार चल्ने क्षमता आवश्यक हुन्छ भन्‍ने जीवनोपयोगी सन्देश दिएको छ।

 

(ग) आफ्‌नो दृढ सङ्‍कल्प पूरा गर्न मानिस जतिसुकै सङ्‍घर्ष गर्न पनि तयार हुन्छ        भन्‍ने कुरा विरहिणी दमयन्ती कथाका आधारमा पुष्‍टि गर्नुहोस् ।

उत्तर : नेपाली साहित्यका प्रसिद्ध आख्यानकार मदनमणि दीक्षितद्वारा रचित विरहिणी दमयन्ती कथा पतिवियोगको पीडाले व्याकुल बनेकी दमयन्तीले आफ्नो पति नललाई पुनः प्राप्‍त गर्न गरेको अथक सङ्‍घर्षमा आधारित नारीप्रधान पौराणिक कथा हो। यस कथाले दृढ सङ्‍कल्प, धैर्य, साहस र निरन्तर प्रयासका माध्यमबाट मानिसले जस्तोसुकै कठिनाइ पार गरेर पनि आफ्नो लक्ष्य प्राप्‍त गर्न सक्छ भन्‍ने सन्देश दिएको छ।

    पति नलबाट वियोग भएपछि दमयन्ती दुःख, पीडा, भोक, तिर्खा र थकान सहँदै घनघोर जङ्‍गलमा पतिको खोजीमा भौँतारिरहन्छिन्। वनका बोटबिरुवा, फूल र लहरासँग पनि नललाई सम्झेर पुकार गर्छिन्। वियोगको पीडाले विक्षिप्‍त जस्तै बने पनि उनी आफ्नो सङ्‍कल्पबाट कहिल्यै विचलित हुँदिनन्। कर्कोटक नागले उनलाई जबरजस्ती लैजान खोज्दा उनले आफ्नो बुद्धि र साहस प्रयोग गरी त्यसबाट उम्कन सफल हुन्छिन्। त्यसपछि भविष्यमा फेरि समस्या नआओस् भनेर आफ्नो रूप नै विकृत बनाई हातमा लट्‍ठी लिएर पतिको खोजीलाई निरन्तरता दिन्छिन्।यात्राका क्रममा उनको भेट शुचिभद्र सार्थसँग हुन्छ। सार्थसँग यात्रा गर्दा मध्यरातमा हात्तीको समूहले आक्रमण गर्दा पनि उनी धैर्य नगुमाई रूखमा चढेर आफ्नो ज्यान जोगाउँछिन्। त्यसपछि चेदी राज्य पुगेर आफ्नो परिचय लुकाई सैरन्ध्रीका रूपमा बस्छिन्। त्यहाँ पनि उनले कसैको जुठो नखाने, परपुरुषसँग कुरा नगर्ने र आफ्नो सतित्वको रक्षा गर्ने सर्त राखेर सेवा स्वीकार गर्छिन्। यसबाट उनले आफ्नो चरित्र, आदर्श र लक्ष्यप्रतिको दृढता स्पष्‍ट रूपमा देखाएकी छन्।

दमयन्तीले हरेक कठिन परिस्थिति बुद्धिमत्ता, धैर्य, साहस र आत्मविश्‍वासका साथ सामना गर्छिन्। उनले कुनै पनि समस्याबाट भाग्ने होइन, बरु त्यसको समाधान खोज्दै आफ्नो लक्ष्यतर्फ अघि बढ्ने प्रयास गर्छिन्। अनेक दुःख, अप्ठ्‌यारा र जोखिमका बीच पनि पति नललाई भेट्ने आशा कहिल्यै त्याग्दिनन्। यही दृढ सङ्‍कल्प र निरन्तर सङ्‍घर्षले अन्ततः उनको उद्देश्य सफल बन्‍ने आधार तयार गर्छ।

    यसरी, विरहिणी दमयन्ती कथामा दमयन्तीको चरित्रमार्फत दृढ सङ्‍कल्प, धैर्य, साहस, बुद्धिमत्ता र निरन्तर सङ्‍घर्ष गर्ने व्यक्तिले जीवनमा सफलता प्राप्‍त गर्न सक्छ भन्‍ने सन्देश प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ। त्यसैले आफ्नो दृढ सङ्‍कल्प पूरा गर्न मानिस जतिसुकै सङ्‍घर्ष गर्न पनि तयार हुन्छ भन्‍ने कुरा यस कथाले स्पष्‍ट रूपमा पुष्‍टि गरेको छ।

चरित्रचित्रण

'विरहिणी दमयन्ती' कथा नारीप्रधान कथा हो। दमयन्ती यस कथाकी मुख्य पात्र हुन्। उनका अतिरिक्त नल, नागयुवक (कर्कोटक), शुचिभद्र, सुनन्दा, पुष्कर, केटाकेटी, नरनारीलगायतका पात्र कथामा आएका छन् । तीमध्ये केही पात्रहरूको चरित्रचित्रण यहाँ गरिएको छः

दमयन्ती

'विरहिणी दमयन्ती' कथामा दमयन्ती केन्द्रीय पात्र हुन् । कथाको आरम्भदेखि अन्त्यसम्म दमयन्तीको प्रभावकारी उपस्थिति रहेको छ। उनी अत्यन्त रूपवती थिइन्। आफ्नो प्रिय पति नलले मध्यरातको समय एकान्त वनमा केही नभनी छाडेर हिँडेपछि दमयन्तीको जीवनमा निकै दुःखकष्‍ट आइपरेको छ। जङ्‍गलको भयावह वातावरण, भोक, तृष्णा र बलात्कारको डरले थिचिँदा पनि कहिल्यै हार नखाने दमयन्ती साहसी नारी हुन् । सुखसयलमा हुर्केकी उनी गन्तव्यमा पुग्न जस्तोसुकै दुःख उठाउन तयार हुन्छिन् । कर्कोटक नागको जबरजस्तीबाट चलाखीपूर्वक बच्न उनले बुद्धिको प्रयोग गरेकी छन् ।

आफ्नो प्रेमी भेटेरै छाड्ने दृढ प्रतिज्ञामा रहेकी पतिव्रता दमयन्ती सङ्‍घर्ष र प्रेमकी प्रतिमूर्ति हुन्। नलप्रति उनको प्रेम अटुट छ। उनी आत्मिक प्रेमको पक्षपाती हुन्। प्रेमीसँगको घोर विछोडमा विक्षिप्‍त बन्‍न पुगेकी उनले भोक, निद्रा, थकाइलाई जितेकी छन्। दुःखको घडीमा पनि उनले कहिल्यै आत्मविश्‍वास गुमाइनन् । जस्तोसुकै परिस्थितिमा पनि उनले आफ्नो सतीत्व डगमगाउन दिएकी छैनन्। मानिसको परिचय शरीरले भन्दा पनि उसको मस्तिष्क र हृदयले दिन्छ भन्‍ने उनको धारणा छ। हात्तीको कुल्चाइबाट थुप्रै मानिस हताहत हुँदासमेत बच्न सफल दमयन्ती जस्तोसुकै विपत्‌मा पनि आशावादी देखिन्छिन् । ठुलीआमाले आफूलाई चिन्लिन् र आफ्नो लक्ष्यमा बाधा पर्ला भनेर भेष बदल्ने उनी लोभलालचबाट माथि उठेकी पात्र हुन्।

कथा पढ्दै जाँदा थाहा हुन्छ, दमयन्ती साधारण नारी होइनन्। विषम परिस्थितिमा पनि सन्ध्योपासना र स्नान गर्ने उनी धार्मिक तथा सांस्कृतिक चेतना भएकी पात्र हुन्। हार्दिक प्रेमको पक्षपाती उनी कर्तव्यपरायण, निडर, सङ्‍घर्षशील, आशावादी, त्यागी, विवेकी र धीर पात्र हुन् ।

 नल

निषधराज नल दमयन्तीका पति हुन्। उनी अत्यन्त सुन्दर थिए। उनले मध्यरातमा घनघोर ज‌ङ्‍गलको छाप्रामा श्रीमतीलाई परित्याग गरेर हिँडेका थिए। घनघोर जङ्‍गलमा श्रीमती परित्याग गर्नुपर्ने के होला भन्‍ने विषयमा विभिन्‍न अनुमान गर्न सकिन्छ। यसपूर्व आफ्नी श्रीमतीलाई सुखमा राखे पछिल्लो अवस्थामा पारिवारिक जिम्मेवारी पूरा नगरेको देखिन्छ । कथामा प्रत्यक्ष रूपमा नलको उपस्थिति पाइँदैन तर उनकै कारणले कथाले गति लिएको छ।

 कर्कोटक (नागयुवक)

कर्कोटक नागजातिको युवक हो। कथामा ऊ नकारात्मक भूमिकामा प्रस्तुत भएको छ। ऊ कथाको सहायक पात्र हो। कर्कोटक बलिष्‍ठ, छली, डरलाग्दो, कामुक र स्वार्थी छ। उसले कथाकी नायिका दमयन्ती दुःखद अवस्थाको फाइदा उठाउने प्रयास गरेको छ। असहाय अवस्थामा रहेकी परस्त्री दमयन्तीको कपाल सुम्सुम्याएर कर्कोटक उनीमाथि व्यभिचार गर्न तम्सन्छ। दमयन्तीलाई कब्जामा लिएर बहादुरी प्रस्तुत गर्न खोज्‍ने ऊ मिथ्या गौरवमा रमाउने पात्र हो। दमयन्तीले प्रस्तुत गरेको बनावटी मायालाई वास्तविक ठान्छ । अत्यधिक मदिरा पिउने ऊ होस गुमाउने खालको मूर्ख छ। महिलालाई भोगको वस्तुका रूपमा मात्र लिने कर्कोटक नीच र चरित्रहीन पात्र हो। समग्रमा कर्कोटक अन्याय, असुरक्षाको प्रतीकका रूपमा आएको खल पात्र हो।परिवेश

विरहिणी दमयन्ती पौराणिक विषयवस्तुमा आधारित कथा हो। कालको दृष्‍टिले यो कथा महाभारतका घटेका घटनामा आधारित छ। उक्त समयमा राजारानीहरूको जीवनमा भाग्य, देवता र कर्मको ठुलो प्रभाव रहन्थ्यो। राजसी जीवनशैली बिताइरहेका नलदमयन्ती नलले भाइसँग जुवा खेल्दा षड्‌यन्त्रमा परी वन पुग्न विवश मात्र हुँदैनन्, उनीहरूको मनमा अन्त्यहीन अन्योल र असुरक्षा उत्पन्‍न हुन पुग्छ। कथामा घटित अधिकांश घटनाको मुख्य परिवेश जङ्‍गल रहेको छ। मध्यरातमा दमयन्तीलाई त्यागेर हिँडेपछि घनघोर ज‌ङ्‍गलको बिचबाट कथाको आरम्भ हुन्छ भने  चेदी जनपदको सहरी परिवेशमा पुगेर कथा अन्त्य भएको छ। घना ज‌ङ्‍गलमा भोक र थकाइसँगै हिंस्रक जनावर, दानव आदिबाट उत्पन्‍न मानसिक भयसँगै दमयन्ती भयावह परिवेशबाट गुज्रन बाध्य छिन् । वनजङ्‍गन खोलानाला, राक्षसको छाप्रो, गाउँ, आकाश, तारामण्डल, पद्‌मसौबन्धिक सरोवर, चेदीनगर आदि स्थानगत परिवेशका रूपमा आएका छन् । कथाका घटनाहरू रात, दिन, सन्ध्याकालका विभिन्‍न समयमा घटेका छन्। यात्राका क्रममा गरिएको स्नान, सन्ध्योपासना, वस्‍त्र अर्पण, वस्‍त्र त्याग, सार्थवाहबाट प्राप्‍त सहयोग, ठुलीआमासँगको स्वार्थरहित भेट र मानवीय भावले कथामा सामाजिक र सांस्कृतिक परिवेशलाई उजागर गरेको छ।

मूल भाव

'विरहिणी दमयन्ती' पौराणिक विषयवस्तुमा आधारित कथा हो। यस कथाले नारी प्रेम र सङ्‍घर्षका प्रतिमूर्त हुन भन्‍ने कुरालाई पुष्‍टि गरेको छ। नलबाट बिछोडिएपछि आफ्नो पतिलाई भेट्न दमयन्ती दृढ सङ्‍कल्पित छिन् ।जस्तै खतरामा पनि उनी संयमित रहँदै आफ्नो बुद्धि र साहसको सहाराले विपद् पार गर्छिन्। हामीले पनि आफ्नो जीवनको लक्ष्य पूरा गर्न अविचलित भएर अगि बढ्नुपर्छ। विषम परिस्थितिमा पनि आफ्नो आत्मबल र विश्‍वास डग्मगाउन दिनु हुँदैन। आत्मिक प्रेमले मानिसलाई सशक्त बनाउँछ, विघ्न र स‌ङ्‍कटहरू पार गर्ने हिम्मत दिन्छ भन्‍ने भाव कथामा स्पष्‍ट झल्किन्छ। मानिसको परिचय शरीरले भन्दा पनि उसको मस्तिष्क र हृदयले दिन्छ भन्‍ने  दमयन्तीको धारणा छ।

जुवातास र मदिराले मानिसको भलो हुँदैन। कथाले मानवीय भावनाको गहिराइ र प्रकृतिसँगको सम्बन्धलाई सुन्दर ढङ्‍गले चित्रण गर्नुका साथै धैर्य, साहस, संस्कृतिप्रेम, मानवीय सहयोग, प्रकृति र मानवबिचको सम्बन्ध प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। कथाकी मूल पात्र दमयन्तीको माध्यमबाट सङ्‍घर्ष, प्रेम र त्यागको नमुना प्रस्तुत गर्न कथा सफल रहेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.