कक्षा १२ पाठ ३

 पाठः- ३  घनघस्याको उकालो काट्ता

मूल भाव

नियात्राकार तारानाथ शर्माद्वारा रचित 'घनघस्याको उकालो काट्ता' उनको 'बेलाइततिर बरालिँदा निबन्ध संग्रहमा सङकलित यात्रा वर्णनात्मक निबन्ध हो। प्रस्तुत नियात्रामा भौगोलिक रूपले विकट सुदूरपश्‍चिमको बैतडी जिल्लामा पर्ने घनघस्या पहाड चढ्दाको रोचक घटनाप्रसङ्‍गको चर्चा गरिएको छ। निजात्मकता र यात्रावर्णनको उत्कृष्‍ट समायोजनसँगै नियात्रामा प्रकृतिको मानवीकरण गरिए‌को छ। राज्यको नजरमा नपरेका दुर्गम क्षेत्रका समस्यालाई दर्साउँदै त्यसप्रति राज्यको ध्यानाकर्षण गराउनु यस नियात्राको मुख्य उद्देश्य देखिन्छ।

भौगोलिक विविधता र प्राकृतिक सौन्दर्यले सिँगारिएको हाम्रो देशमा अपार पर्यटकीय सम्भावनायुक्त ठाउँहरू छन्। राज्यको उपेक्षाका कारण त्यस्ता ठाउँहरूमा पूर्वाधारको विकास हुन सकेको छैन। संसारमा हरेक दिन विकासका नयाँ नयाँ ढोकाहरू खुल्दै गएका र नेपालमै पनि धेरै ठाउँहरू विस्तारै विकास र समृद्धिको बाटामा अघि बढिरहेका छन्।

सुदूरपश्‍चिम क्षेत्र भने राज्यबाट उपेक्षित भएको र त्यहाँका मानिस सदियौदेखि रोग, भोक र अभाव लडिरहनुपरेकामा निबन्धमा दुःख व्यक्त गरिएको छ। प्रकृतिको वरदान पाएर पनि भौतिक विकासको पर्खाइमा रहन्थे घनघस्याजस्ता दुर्गम तर महत्त्वपूर्ण ठाउँमा पूर्वाधार पुन्याई देशलाई विकसित बनाउनुपर्ने विचार निबन्धकारले व्यक्त गरेका छन्। प्रकृतिको काखमा नै जीवनको वास्तविक आनन्द प्राप्‍त हुन्छ। प्रकृतिको यति सुन्दर भूमिलाई नजिकको तीर्थ हेला गरी विदेश सयर गर्न खोज्ने आम नेपालीलाई लेखक आफ्नै देशका कुनाकन्दरामा पुगी त्यहाँको अलौकिक आनन्दमा डुब्न र पर्यटन प्रवर्धनमा केन्द्रित हुन सुझाउँछन्। जीवन एउटा नटुगिने यात्रा हो। यस क्रममा विभिन्‍न आरोह अवरोहहरू आउँछन्। तिनलाई चिर्दै समर्पित भई अगि बढेमा गन्तव्यमा पुग्न सकिन्छ। जस्तोसुकै अवस्थामा पनि अविचलित रही घनघस्याले आफ्नो शिर ठाडो पारेझै हामी पनि स्वाभिमानी बन्‍नुपर्ने राय लेखकको छ। बेलायतको भन्दा सतबाँझको हिउँलाई प्यारो ठान्‍ने तथा देशका विभिन्‍न भूगोललाई मनमुटुमा गाँसेका लेखकले नेपालीहरूमा रहेको आफ्नो राष्‍ट्रप्रतिको अगाध आस्थालाई नियात्रामा दर्साएका छन्। चरम गरिबी, अभाव र विपन्‍नताको मारमा परेका पिछडिएका क्षेत्रका नागरिकको दयनीय अवस्थाको चित्रण गर्दै नियात्राकारले जनतालाई रोग, भोक, शोकबाट मुक्त राख्‍न ढिलाइ गर्न नहुनेमा जोड दिएका छन्।

 

नियात्रामा घनघस्याको उकालालाई जीवनका कठिन र चुनौतीपूर्ण यात्रासँग तुलना गरिएको छ। जीवनरूपी यात्रामा आइपर्ने बाधाव्यवधानलाई चिर्दै अगि बढ्नुपर्ने लेखकको धारणा छ। विश्‍वका थुप्रै मुलुकहरू विज्ञान र प्रविधिको उपयोग गरी उन्‍नत अवस्थामा पुगिसकेका तर हाम्रो देशका थुप्रै क्षेत्रहरू अझै पनि न्यूनतम् पूर्वाधारको पर्खाइमा रहेकातर्फ सङ्‌केत गर्दै लेखकले सबै क्षेत्रको सन्तुलित विकासमा राज्यले ध्यान दिनुपर्ने भाव नियात्रामा प्रस्तुत गरिएको छ।

भाषाशैली

'घनघस्याको उकालो काट्ता' वर्णनात्मक शैलीमा लेखिएको नियात्रा हो। घनघस्या पहाड चढ्दाको रोचक घटनाप्रसङ्‍ग र लेखकका निजात्मक अनुभूतिको संयोजनले कृति उत्कृष्‍ट बन्‍न पुगेको छ। नियात्रामा आकृति, मरुद्यान, सहृदयजस्ता तत्सम्, साँझ, पुस, मुन्टो, हिउँ, रूपियाँलगायतका तद्‍भव र लालटिन, सालिक जस्ता आगन्तुक गरी तीनै खाले शब्दहरूको प्रयोग गरिएको छ। गजधुम्म, खिस्स, झमक्‍क, निथ्रुक्‍क आदि अनुकरणात्मक शब्द तथा फुलेल, जेमराज, अग्घोरै, अलेलि, बाटामि, गाड, पर्तिर जस्ता झर्रा तथा कथ्य बोलीका शब्दहरूको प्रयोगले कृतिलाई यथार्थपरक तुल्याएको छ। काँचुली फेर्नु, ह्‌याकुलाले छोप्नु, कानमा तेल हाल्नु, फिटफिटी पर्नु जस्ता टुक्‍का, कतै लामा लामा त कतै छोटा छोटा वाक्य गठन, ठाउँ ठाउँमा संवादात्मक शैलीको उपयोगले कृति आस्वाद्य बनेको छ। प्रकृतिको मानवीकरण, काव्यिक भाषाको प्रयोग, भाषिक सरलता, शैलीगत मनोहारिता र यात्राको जीवन्त शब्दचित्र उतार्नु यस नियात्राका शैलीगत विशेषता हुन् ।

शब्दभण्डार

१.   शब्द र अर्थको जोडा मिलाउनुहोस्:

उत्तरः- शब्द                 अर्थ

      सुदूर               धेरै टाढाको

      स्नेह               माया, प्रेम

      सँगाल्‍नु            कुनै कुरा जोगाएर राख्‍नु

      अद्बितीय            उत्तम, अतुलनीय

      सहारा मरुभूमि       संसारको एउटा ठुलो मरुभूमि

        दृष्‍टिपात           हेर्ने काम, आँखाले ठम्याउने काम

       काँचुली          शरीरबाट अलग हुने सर्पको पातलो छाला

       अनन्त           कहिल्यै अन्त नहुने

       गाड            खोला

       ढुङ्‍ग्यानी          डुङ्‍गाढुङ्‍गै भएको

       विकट           अप्‍ठेरो, कठिन

       यथेष्‍ट                पर्याप्‍त, चाहिँदो, पुग्दो

       भयावह              डरलाग्दो

२.   शब्दकोशको सहायताले तलका शब्दको अर्थ लेख्‍नुहोस्:

उत्तरः- अररो = जाडोले कक्रिएको, काचो वा चिसो अवस्थाबाट सुकेर अरट्‍ठ परेको

      अग्‍घोर = ज्यादै, चौपट्‍टै, निकै, अत्यन्त

      उग्राउनु = गाई, भैँसी आदि पशुले निलिसकेको घाँस, पराल आदि फेरि मुखमा फर्काई

                चपाउनु

      चरन =  गाई, भैँसी चराउनका लागि छोडिएको बाँझो जमिन, गोचर,

      विरहलाग्दो= दुःखलाग्दो, वेदनायुक्‍त

      कुर्लनु = चर्को स्वरले बोल्‍नु

      आकृति = आकार, अनुहार, कुनै वस्तु वा व्यक्‍तिको स्वरूप

      सहृदय = दयालु, कोमल हृदय भएको

      मरुद्यान = मरूभूमिको रसिलो वा सेपिलो जमिन

      यत्रतत्र = जताततै, सबैतिर

बोध र अभिव्यक्ति

४ तलको नियात्रांश पढी सोधिएको प्रश्‍नको उत्तर लेख्‍नुहोस्:

टाउकामा चिप्लो न चिप्लो बरफको केश फुलाएर आफ्नो अररो वृद्ध शरीरमा काला रुखको जिङ्‌ग्रिङे भुत्ला ठड्‌याई यो घनघस्या गजधुम्म परेर बसेको छ। यो मान्छेहरूसित रिसाएको छ, अग्घोरै रिसाएको छ, अघोरी गाड जत्तिकै रिसाएको छ अनि पोखरेली सेती जत्तिकै रिसाएको छ। सेती नदी पृथ्वीको पेटमा भासिँदै जाओस्, यो चाहिँ ठडिएको ठडियै छ। यसले कहिल्यै त टाउको झुकाउला भनेर मैले निरीक्षण गरिरहेँ तर त्यस्तो लक्षण कतै भेटिएन। उल्टो यो झन् झन् दृढ हुँदै गइरहेको पो मैले पाएँ।

प्रश्‍नहरू

(क) सेती नदी र घनघस्याका बिचमा रहेका समानता र भिन्‍नता के के हुन् ?

(ख) घनघस्यालाई कसरी मानवीकरण गरिएको छ ?

(क) सेती नदी र घनघस्याका बिचमा रहेका समानता र भिन्‍नता के के हुन् ?

उत्तरः-  नियात्राकार तारानाथ शर्माद्वारा रचित घनघस्याको उकालो काट्ता' निबन्धको प्रस्तुत अंशमा घनघस्या पहाड र सेती नदीबिचमा रहेका समानता र भिन्‍नतालाई आल‌ङ्‍कारिक एवम् रोचक तरिकाले प्रस्तुत गरिएको छ। घनघस्या र सेती नदी दुवै प्रकृतिप्रदत्त नेपालका अमूल्य निधि हुन्। यी दुवै मानिससँग ज्यादै रिसाएका छन्। मानिससँग रिसाउनु दुईबिचको समानता हो। घनघस्या मानिससँग रिसाए तापनि लक्ष्यमा दृढ बनी आफ्नो शिर ठाडो पारेर स्वाभिमानपूर्वक उभिएको छ। सेती नदी भने मानिससँग रिसाएर लुक्दै पृथ्वीको गर्भबाट बगेको छ। घनघस्या झन् झन् ठडिएर लक्ष्यमा दृढ हुँदै जानु र सेती नदी पृथ्वीमा भार्सिंदै जानु यिनीहरूमा पाइने भिन्‍नता हुन् ।

 

(ख) घनघस्यालाई कसरी मानवीकरण गरिएको छ ?

उत्तरः-  "घनघस्याको उकालो काट्ता" प्रकृतिको मानवीकरण गरिएको सुन्दर नियात्रा हो। प्रकृतिका भिन्‍न स्वरूप र अवस्थालाई मानवीय रूपमा प्रस्तुत गर्नु नै प्रकृतिको मानवीकरण हो। घनघस्या पहाडलाई वृद्ध मानिससँग तुलना गर्दै पहाडका शिरमा हिउँ वा बरफ जमेको अवस्थालाई वृद्ध मानिसको फुलेको कपालका रूपमा प्रस्तुत गरिएको छ। पहाडको टुप्पाभन्दा तल्लो लेकाली वनस्पतिले ढाकिएको क्षेत्रलाई वृद्ध मानिसको जीर्ण शरीरमा रौं रहेको भनी मानवीकरण गरिएको छ। घनघस्या पहाडले आफ्नो शिरमा बरफको केश फुलाएको, मानिससँग ज्यादै रिसाएको, गजधुम्म परेर बसेको, टाउको नझुकाई झन् झन् दृढ भई ठडिएको जस्ता परिवेश र प्रसङ्‍गका माध्यमले मानवीय क्रियाकलापसँग सदृश तुल्याइएको छ। यसरी पहाड जस्तो निर्जीव वस्तु र त्यस वरपरको परिवेशलाई मानवीय गुण प्रदान गर्दै घनघस्याको मानवीकरण गरिएको छ।

५. दिइएको नियात्रांश पढी सोधिएका प्रश्‍नको उत्तर लेख्‍नुहोस्:

जोगबनीदेखि धरानसम्मको अलकत्रे बाटालाई धिक्‍कार्दै र भादगाउँदेखि बाह्रबिसेसम्मको फराकिलो कालो बाटालाई सराप्‍तै हामी ठसठस कनिर‌ह्‌यौँ । सिंहदरबार अगाडिको चिप्लो बाटो त्यहाँ थिएन, न त्यहाँ भैरहवाबाट बुटवल जाँदा जस्तो तेर्सो सोझो बाटो नै थियो। त्यहाँ त चुच्चे ढुङ्‍गाहरू पहरामा तेर्सिएका थिए काला रुखका छायामा कच्पल्टिएर । पसिनाले निथुक्‍क भिजेर हामी छ जना अभागी आकाशतर्फ उचालिइर‌ह्‌यौँ, उचाइलिइरह्‌यौँ

निल आर्मस्ट्रङहरूलाई त्यति फिटफिटी परेन होला किनभने चन्द्रमामा पुग्दा उनीहरूसित यथेष्‍ट वैज्ञानिक उपकरण उपलब्ध थिए । हामी भने पानीसमेत नपाएर रोयौँ। निकै माथि पुगेपछि दुइटा पानीका कुला भेटिँदा स्वर्ग पुगेको अनुभव भयो। मरुभूमिका यात्रीले एक्‍कासि मरुद्यान भेटे झैँ हामी फुलेल भयौँ ।

(क) घनघस्याको उकालो चढ्दा अन्य विभिन्‍न ठाउँका सडकलाई सराप्नुपर्ने कारण के हो ?

उत्तर : नियात्राकार तारानाथ शर्मा सुदूरपश्‍चिमको भ्रमण गर्ने क्रममा बैतडी हुँदै डँडेलधुरा जाँदा घनघस्याको विकट उकालो यात्रा गरेका छन् । उनले नेपालका अन्य सुगम स्थानको यसअगि नै यात्रा गरिसकेका थिए। नियात्रांशमा उनले जोगबनीदेखि धरानसम्मको बाटो, भादगाउँदेखि बाह्रबिसेसम्मको बाटो, सिंहदरबार अगाडिको बाटो र बुटवल भैरहवाको बाटालाई सरापेका छन् । यी बाटा कालोपत्रे र चिल्ला भए पनि नेपालकै अर्को भाग सुदूरपश्‍चिमको पहाडी भेगमा यातायातको सुविधा नपुगेको र बाटाको अवस्थासमेत राम्रो नभएको देखेर उनमा देशको सन्तुलित विकास नभएकामा चिन्ता र आक्रोश थपिन्छ। यसै कारण उनले घनघस्याको अप्ठ्‌यारो गोरेटो बाटामा हिँड्दा विभिन्‍न ठाउँका सडकलाई सम्झेर सरापेका हुन् ।

(ख) निल आर्मस्ट्रङहरूलाई किन चन्द्रमामा पुग्न फिटफिटी परेन ?

उत्तर : नियात्राकारले बैतडीदेखि डँडेलधुराको यात्रामा धेरै समस्याको सामना गर्नुपरेको थियो । उनले बाटामा तिर्खा लाग्दा पानीसमेत खान पाएका थिएनन् । बाटामा यात्रीलाई आवश्यक पर्ने आधारभूत कुनै पनि सुविधा थिएन न त हिँड्न नसक्ने व्यक्तिलाई यातायातका कुनै साधन नै उपलब्ध थिए। यस्तो अवस्थामा पसिनाले निथ्रुक्‍क भिज्दै र ठसठस कन्दै घनघस्याको उकालो चढ्दा उनलाई फिटफिटी परेको थियो । स्रोत र साधनका अभावले उनले समस्या भोगेका थिए तर निल आर्मस्ट्रङहरूलाई चन्द्रमामा पुग्दा उनीहरूसँग प्रशस्त वैज्ञानिक उपकरण र आवश्यक सामग्री थिए । यसैले नियात्राकारलाई घनघस्या चढ्नुभन्दा निल आर्मस्ट्रङहरूलाई चन्द्रमामा पुग्न सहज भयो अर्थात् फिटफिटी परेन ।

७. यात्रामा सहभागीले कस्ता समस्याको सामना गर्नुपर्‍यो, छोटकरीमा लेख्‍नुहोस्।

उत्तरः- सुदूरपूर्व इलाममा जन्मेका नियात्राकार शर्मा वि. सं. २०२४ सालमा सुदूरपश्‍चिमको भ्रमण गर्ने क्रममा बैतडी हुँदै डँडेल्धुराको यात्रा गर्ने क्रममा घनघस्याको विकट उकालोको यात्रा गरेका छन् । यात्रामा सहभागीले प्राकृतिक विकट भूस्वरूपसँग जुध्नुका साथै भोक, प्यास, थकान अनि बसोबासको समस्यालाई सामना गर्नुपरेको छ । सुदूरपश्‍चिमको विकट यात्रा गर्ने क्रममा बासस्थानको अभावमा बैतडीको शाहीलेकको विद्यालय भवनमा दुई रात बिताउँछन् । डँडेलधुरा जान तम्सिँदा भरिया पाउँदैनन् । सतबाँझको लेकबाट सल्लाघारीको बाटो हिँड्दा झमक्‍क साँझ परेकाले बास नपाइने डरले दगुर्नु परेको छ । पहिलेका भरिया डँडेल्धुरा जान नमानेपछि पुनः भनसुन गरी भरिया खोज्नुपरेको छ । अघोरी गाडको साँघु तरेपछि डरलाग्दो जङ्‍गलले घेरिएको ढुङ्‍गेनी बाटोमा मुटु ढुक्‍क फुलाउँदै घनघस्याको विकट उकालो चढ्दा पसिनाले निथ्रुक्‍क भिज्छन् । पानीसमेत खान नपाएर रुनु परेको छ । ठाउँठाउँमा हिउँमा चिप्लेर लड्नुपरेको छ । साथीहरूको अत्तोपत्तो नहुँदा हराए कि भनी विचलित भएर कराएका छन् । गाँसबासको व्यवस्था मिलाउन घनघस्याबाट ओरालो कुद्‍दै गर्दा जङ्‍गलमा अँध्यारो भएपछि चोर डाँका, भूत, प्रेत, र जङ्‍गली जनावरका आक्रमणको आश‌ङ्‍काले त्रसित भएका छन् । भोक, डर अनि बाटो बिराइयो कि भने आशङ्‌काले धुर्युर भएका छन् । डाँडामाथिको गाउँमा पुगी बासको खोजी गरे पनि बास नपाएपछि मुस्किलले तीन घान मकै किनेर खाँदै पोखरातर्फ लाग्छन् । रातको बाह्र बजे पोखरा पुगेर बास माग्दा बास पाउँदैनन् अनि खानेकुरासमेत नपाएपछि दुई दुई रुपियाँका चिचिले सुन्तला तिस तिस दाना खाएर चिसो छानु ह्‌वाङ्‍ग भएको फोहरी कटेरोमा दुई रुपियाँका तीन अ‌ङ्‍गाला दाउरा किनेर आगो तापी त्यही फोहोरी कटेरोमा कच्पल्टिलो निद्रा सुत्छन् । यसरी यात्रामा सहभागीले खाने, बस्ने समस्याका साथै समय व्यवस्थापनको समस्या, दुर्गम विकट असहज बाटोको समस्या, उकालो, खोलो, साँघु, जङ्‍गलको भयभित वातावरणीय समस्या, बास माग्दा मानवीय हार्दिकताको समस्या, साथीहरू बिरोलिँदाको समस्या जस्ता थुप्रै समस्याहरूको सामना यात्रामा सहभागीले गर्नुपरेको थियो ।

८ . भाव विस्तार गर्नुहोस्:

क)   यो हिउँ मेरो थियो, मेरो मुटुको थियो र हिमाली हार्दिकता बोकेको र चम्किलो थियो।

उत्तरः- यो हिउँ ................................................. चम्किलो थियो।

     प्रस्तुत वाक्य हाम्रो कक्षा १२ को नेपाली किताबको पाठ ३ "घनघस्याको उकालो काट्ता" शीर्षक नियात्राबाट भाव विस्तारका लागि साभार गरिएको हो। यस नियात्राका लेखक तारानाथ शर्मा हुन्। नेपालको सुदूरपश्‍चिम क्षेत्रका विकट स्थानहरूको यात्रामा निस्केका शर्माले घनघस्याको कठिन उकालो चढ्ने क्रममा प्रकृतिको अनुपम सौन्दर्यको अवलोकन गर्नुका साथै शारीरिक श्रमका कारण कष्‍टकर अनुभव पनि संगालेका छन्। नियात्रामा उनले घनघस्यालाई केवल भौगोलिक संरचनाका रूपमा नभई एक जीवित अस्तित्वका रूपमा चित्रण गर्दै निजात्मक शैलीमा त्यसको हृदयस्पर्शी अनुभूति प्रस्तुत गरेका छन्।

    नेपालका हिमशिखरको स्वच्छ सौन्दर्यले विदेशी पर्यटकहरूलाई लोभ्याउँछ, तर विडम्बना, आफ्नै देशका धेरै नागरिकले आफ्नै हिमालको हिउँलाई नजिकबाट देख्‍न वा स्पर्श गर्न पाएका छैनन्। लेखकले बेलायतमा हिउँको स्पर्श गरिसकेका थिए र दार्जिलिङमा पनि हिउँ परेको देखेका थिए, तर आफ्नै जन्मभूमिको हिमाली काखमा खेल्ने अवसर पाएका थिएनन्। पहिलो पटक सतबाँझ लेकको हिउँमा खेल्दा उनले आमाको काखमा खेलेकै जस्तो आत्मीय अनुभूति गरे। जस्ती भए पनि आफ्नै आमा जाति भन्‍ने भनाइझैँ आफ्नै जन्मभूमिको हिउँ स्पर्श गर्न पाउँदा उनको खुसीको सीमा रहेन। उनका लागि नेपाली हिउँमा खेल्ने अवसर र त्यस क्षणका अनुभूतिहरू अत्यन्त अमूल्य बने। हिउँ चाहे बेलायतको होस् वा नेपालको, आखिर हिउँ त हिउँ नै हो, तर राष्‍ट्रप्रेमीका लागि आफ्नै देशको हिउँको महत्व र आत्मीयता अतुलनीय हुन्छ। हिउँमा पाइला टेक्दा उनले केवल रमाइलो अनुभव मात्र गरेनन्, बरु आफ्नै भूमि, आफ्नै पहाड र आफ्नै अस्तित्वसँग आत्मीय पुनर्मिलन भएको महसुस गरे। यात्राका क्रममा उनी र उनका साथी हिउँका डल्ला फ्याँक्दै, विभिन्‍न आकृतिहरू बनाउँदै बाल्यकालीन आनन्दमा रमाए। यस क्रममा उनले मातृभूमिको माया, प्राकृतिक सौन्दर्य र राष्‍ट्रिय भावनालाई गहिरो रूपमा अनुभूति गरे।

 

यसरी लेखकले सतबाँझको हिउँको माध्यमबाट आफ्नै जन्मभूमिप्रतिको प्रेम, राष्‍ट्रिय भावना र प्रकृतिसँगको आत्मीय सम्बन्धलाई जीवन्त ढङ्‍गले अभिव्यक्त गरेका छन्। विदेशी भूमिको हिउँभन्दा आफ्नै देशको हिउँको स्पर्श उनको लागि बढी आनन्ददायी, आत्मीय र अविस्मरणीय बनेको छ। त्यसैले आफ्नै मातृभूमि, प्रकृति र राष्‍ट्रिय पहिचानप्रतिको माया सबैका लागि सर्वोपरि र अतुलनीय हुन्छ।

ख)   प्रकृतिसँग जुध्‍नु नै जीवनको रमाइलो हो भन्‍ने भनाइलाई ह्‌याकुलाले छोपेर नै म सुदूरपश्‍चिमको भ्रमणमा निक्‍लेको थिएँ।

उत्तरः- प्रकृतिसँग......................................................निक्‍लेको थिएँ।

     प्रस्तुत वाक्य हाम्रो कक्षा १२ को नेपाली किताबको पाठ ३ "घनघस्याको उकालो काट्ता" शीर्षक नियात्राबाट भाव विस्तारका लागि साभार गरिएको हो। यस नियात्राका लेखक तारानाथ शर्मा हुन्। स्वदेश तथा विदेशका भ्रमणमा आधारित उत्कृष्‍ट नियात्रामूलक निबन्धहरू लेखेका शर्माले यस नियात्रामा सुदूरपश्‍चिम नेपालको विकट भौगोलिक क्षेत्रको यात्रा गर्ने क्रममा बैतडीदेखि डँडेल्धुरासम्मको प्राकृतिक सौन्दर्य, कठिन भूगोल र यात्राका अविस्मरणीय अनुभूतिहरूलाई जीवन्त रूपमा चित्रण गरेका छन्। घनघस्याको उकालोलाई मानवीकरण गर्दै उनले प्रकृतिप्रतिको आफ्नो गहिरो प्रेम, आत्मीयता र जीवनदृष्‍टिलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्।

       प्रकृतिप्रेमी नियात्राकारका लागि प्रकृतिसँग जुध्नु नै जीवनको वास्तविक आनन्द हो। यही जीवनदृष्‍टिलाई आत्मसात् गर्दै उनी सुदूरपश्‍चिमको भ्रमणमा निस्केका हुन्। प्राकृतिक सम्पदाले भरिपूर्ण नेपाल हिमाल, पहाड, वनजङ्‍गल, खोला, झरना र रमणीय भू-दृश्यले सिँगारिएको अनुपम देश हो। यसको प्राकृतिक सौन्दर्यले विदेशी पर्यटकहरूलाई पनि बारम्बार आकर्षित गर्दछ। लेखक पनि प्रकृतिको काखमा रमाउँदै त्यससँग सङ्‍घर्ष गरेर जीवनको वास्तविक आनन्द अनुभूति गर्न चाहन्छन्। उनी खप्‍तडमा वसन्त बिताउन, तुम्लिङमा हिउँ खेल्न, राजापुरको काँसेघारीमा झ्याउरे गाउन तथा तिल्केनी, घनघस्या, चन्दनी, अघोरी गाड, पुवा खोलो, टुकुचा, सतबाँझ, ट्‌याम्के डाँडो, अन्तु डाँडो र चन्द्रगिरिजस्ता प्राकृतिक स्थलहरूको भ्रमण गर्न उत्सुक छन्। कठिन उकालो, अप्ठ्‌यारा बाटा र विकट भौगोलिक अवस्थासँग जुध्दै यात्रा गर्नु नै उनका लागि जीवनको रमाइलो हो। त्यसैले ह्‌याकुलाले छोपिएर पनि उनी उत्साहका साथ सुदूरपश्‍चिमको यात्रामा निस्केका थिए।

    यसरी लेखकले प्रकृतिसँगको सङ्‍घर्षलाई दुःख वा बाधाका रूपमा होइन, जीवनको आनन्द, साहस र उपलब्धिका रूपमा चित्रण गरेका छन्। प्रकृतिको काखमा रमाउँदै कठिनाइसँग सामना गर्दा नै जीवनको वास्तविक अर्थ र मिठास अनुभूति गर्न सकिने सन्देश यस प्रसङ्‍गले दिन्छ। त्यसैले प्रकृतिप्रेम, साहस, सङ्‍घर्षशीलता र मातृभूमिप्रतिको आत्मीय भावना नै यस वाक्यको मूल सार हो।

९ दिइएको गद्यांश पढ्‍नुहोस् र सोधिएका प्रश्‍नको उत्तर दिनुहोस्:

साँच्‍चि नै विदेशमा नेपालीलाई परेको समस्या सुनाउने  स्थान  र समाधानका लागि सल्लाह लिन सक्‍ने एउटै मात्र थलो दूतावास नै हुन्छ। मानौँ उनीहरू सानातिनादेखि ठूला र गम्भीर समस्याहरू दूतावासमा सुनाएपछि  सहज रूपमा सुल्झिन्छ भन्‍ने मनोविज्ञान लिएर आउँछन्।दूतावास नै आफ्‍नो आमाको दोस्रो रूप जस्तै ठान्छन्। विदेशमा पुगेकाले जसरी हरदुःखमा आमा भनेर पुकारिन्छ र सम्झिने गरिन्छ। हुन त यो मेरो अभिव्यक्ति हो । त्यसैले म जस्तै अरूले सम्झिन्छन् कि सम्झिदैनन् दुःखमा आफ्‍नी आमालाई तर म भने आपत्‌विपत् र दुःखमा जहिले पनि सम्झिन्छु आफ्‍नी आमालाई। त्यस्तै प्रकारले विदेशमा भएका नेपालीको आमाको रूपमा रहेको हुन्छ नेपाली दूतावास। दूतावासको उपस्थिति नभएका देशमा आफ्‍ना समस्या, पिरमर्का र मनको बह पोख्‍ने स्थान कहीँकतै हुँदैन। कम्तीमा आफ्‍नै देशका दाजुभाइलाई आफ्नै भाषामा आफ्‍ना समस्या सुनाउँदा मात्र पनि हलुका अनुभव हुन्छ। यिनै मानवीय कोणबाट सोचेर चुपचाप समस्या सुन्‍ने र सकेसम्म मलमपट्‍टी लगाउने खालका कुरा गरेर सम्झाउने र बुझाउने काम गर्ने तर्फ लाग्‍नुपर्‍यो कतारमा। यसरी कहिल्यै नभोगिएका, कहिल्‍यै नसुनिएका र कहिल्यै नसोचिएका विचित्र किसिमका कामबारे सल्लाह तथा सुझाव दिन बाध्य हुनुपर्‍यो कतारमा।

प्रश्‍नहरू

क)   दूतावासले के काम गर्छ ?

उत्तरः- दूतावासले विदेशमा रहेका नेपालीलाई परेको समस्या सुन्‍ने र समाधानका लागि सल्लाह दिने काम गर्छ।

ख)   किन दूतावासलाई आमासँग तुलना गरिएको हो ?

उत्तरः- आमाले आफ्‍ना सन्तानलाई आपत्‌विपत् तथा दुःखबाट जोगाउन दिनरात खट्‌छिन्। दूतावासले पनि विदेशमा रहेका आफ्‍नो देशका नागरिकलाई परेका समस्या समाधानका लागि सहयोग र सल्लाह दिने भएकाले दूतावासलाई आमासँग तुलना गरिएको हो।

ग)    दूतावासको उपस्थिति नभएका देशमा कस्ता समस्या हुन्छन् ?

उत्तरः- दूतावासको उपस्थिति नभएको देशमा त्यस देशका नागरिकले आफ्‍ना समस्या, पिरमर्कार मनको बह पोख्‍ने ठाउँ नपाएर तड्‌पिने आदि समस्या हुन्छन्।

घ)    लेखकले कतारमा कसरी काम गर्नुपर्‍यो ?

उत्तरः- लेखकले कतारमा आफ्‍नो देशका नागरिकका समस्या सुन्‍ने र उनीहरूको समस्या र पीडामा मलमपट्‍टी लगाउने साथै अप्‍ठ्‌यारोमा परेकालाई सम्झाउने बुझाउने काम गर्नुपर्‍यो।

११ निबन्ध लेख्‍नुहोस्

आत्मानुशासन

    'शासन' शब्दमा अनु उपसर्ग लागेर अनुशासन शब्द निर्माण भएको हो। अनुशासनको शाब्दिक अर्थ आफूले आफूलाई असल नियम, मर्यादा, कर्तव्यभित्र राख्‍नु हो। आफूले आफैँलाई गरिने शासन नै आत्मानुशासन हो। अनुशासन प्रत्येक व्यक्तिको जीवनलाई चहकिलो पार्ने गहना वा गुण हो। आत्मानुशासनको पालनाले मानिसलाई संयमित, मर्यादित, कर्तव्यनिष्‍ठ र चरित्रवान बनाउँछ। यसले व्यक्तिलाई सही मार्गमा हिँड्न, आफ्नो लक्ष्य प्राप्‍त गर्न र समाजमा सम्मानित जीवन बिताउन प्रेरित गर्छ। आत्मानुशासन जीवनको सफलता, व्यक्तित्व विकास र नैतिक आचरणको आधार भएकाले यसको महत्त्व सबैका लागि समान हुन्छ।

   बालक जन्मँदा अनुशासनको ज्ञान हुँदैन। उमेर, शिक्षा र चेतनाको विकाससँगै उसले सही–गलत छुट्‌याउन सिक्छ र अनुशासनको महत्त्व बुझ्न थाल्छ। अनुशासित व्यक्तिले गर्न नहुने कामबाट टाढा रही आफ्नो कर्तव्य इमानदारीपूर्वक पूरा गर्छ। उसका असल व्यवहार र कर्मले परिवार, समाज तथा राष्‍ट्रमा सकारात्मक प्रभाव पार्छ। अनुशासन विद्यार्थी, शिक्षक, कर्मचारी, व्यापारी, किसान, उद्योगी, खेलाडी, राजनेतालगायत सबैका लागि उत्तिकै आवश्यक हुन्छ। अनुशासित विद्यार्थी अध्ययनमा सफल हुन्छ भने अनुशासित शिक्षकले असल नागरिक निर्माण गर्न सक्छन्। अनुशासित कर्मचारीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्छ भने अनुशासित राजनेताले राष्‍ट्रलाई सही दिशा दिन सक्छन्। परिवार, विद्यालय, सामाजिक संस्था र राष्‍ट्रको प्रगति पनि अनुशासनमा निर्भर हुन्छ। यदि कुनै व्यक्ति अनुशासनहीन बन्छ भने त्यसको असर केवल उसैमा सीमित नरी परिवार, संस्था र समाजमा समेत पर्छ। शिक्षा, चेतना र असल संस्कारले आत्मानुशासनको विकास गराउँछन्। आत्मानुशासनले मानिसभित्र रहेका लोभ, क्रोध, स्वार्थ, घमण्ड र अन्य खराब प्रवृत्तिलाई नियन्त्रण गर्न मद्दत गर्छ। स्वअनुशासन भएको व्यक्तिले बाह्‌य नियमको पालना पनि सहज रूपमा गर्न सक्छ। यही कारणले आत्मानुशासनलाई सभ्य, सुसंस्कृत र जिम्मेवार जीवनको आधार मानिन्छ।

  आत्मानुशासन सफल जीवनको कडी, चरित्र निर्माणको आधार, सामाजिक मर्यादाको रक्षक र राष्‍ट्र विकासको प्रमुख आधार हो। आत्मानुशासन अपनाउने व्यक्तिले आफू मात्र होइन, आफ्नो परिवार, समाज र राष्‍ट्रलाई पनि सही मार्गमा अघि बढाउन योगदान पुर्‍याउँछ। मानिसका सबै क्षेत्रमा अनुशासनको पालना भएमा समाजमा शान्ति, सुव्यवस्था र विकास कायम हुन्छ। त्यसैले प्रत्येक व्यक्तिले बाल्यकालदेखि नै आत्मानुशासनलाई जीवनको अभिन्‍न अङ्‍ग बनाई नियम, मर्यादा र कर्तव्यको इमानदारीपूर्वक पालना गर्दै आदर्श नागरिक बन्‍न प्रयास गर्नुपर्छ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.