पाठ ३ संस्कृतिको नयाँ यात्रा कक्षा ११

 

पाठः- ३ संस्कृतिको नयाँ यात्रा

शब्दभण्डार

१.    उस्तै अर्थ आउने शब्दहरूको जोडा मिलाउनुहोस्:

 शब्‍द                 अर्थ

प्रतिष्‍ठा               इज्जत

एकाकार              एकै किसिमको

उत्पीडन              पीडा दिइएको 

विद्रोह                ठूलो विरोध

कार्यान्वयन            विधिपूर्वक व्यवहारमा ल्याउने काम

प्रवाहशील             निरन्तर बगिरहने

२.   दिइएका अर्थ मिल्ने पदावली पाठबाट खोजेर लेख्‍नुहोस्:

क क)   जीवनलाई पवित्र पार्ने काम = जीवनबोध

ख ख)    समुद्रको जहाजमा बसेर यात्रा गर्ने = नाविक यात्रा

     ग)    एउटै मात्र संस्कृति = एकल संस्कृति

घ घ)    यात्रालाई प्रत्यक्ष हेर्ने दर्शक = प्रत्यक्षदर्शी (यात्राको साक्षी)

ङ ङ)     सांस्कृतिक हिसाबले प्राप्‍त गर्ने न्याय = सांस्कृतिक न्याय

च च)   विचलित नहुने यात्रा = अविचलित यात्रा

छ छ) सबैको हक लाग्‍ने सन्तति = साझा सन्तति

३.   शब्दकोश हेरेर दिइएका शब्दको अर्थ लेख्‍नुहोस्:

स्मृति = स्मरण, सम्झना         

जिज्ञासा = कुनै कुरा जान्‍ने इच्छा

जीववैज्ञानिक = जीवविज्ञानसम्बन्धी अध्ययन गर्ने व्यक्ति 

प्रगति = उन्‍नति, विकास

सामेल = भेला, तोकिएको ठाउँमा उपस्थित हुने काम, सहभागी

दमन =  अरूलाई हेप्‍ने काम

मनुष्‍यत्व = मानिस हुनुको भाव, मानवता

दमित = दविएका, हेपिएका

बहिष्‍कार = खारेजी, निष्कासन

४.    दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्:

उदात्त= सामाजिक एकता कायम गर्न समाजका सदस्यमा उदात्त भावना हुनुपर्छ।

अनुभूति = बाल्यकालमा साथीहरूसँग रमाइलो गरेको अनुभूति आज पनि ताजै छन्।

सुनिश्‍चितता = नेपालको संविधानले बालबालिकाको अधिकार सुनिश्‍चितता गरेको छ।

पङ्‍खफुका = समाजमा चाहिने भन्दा बढी पङ्‍खफुका भयो भने विकृति मौलाउन सक्छ।

निर्मितिः- प्रकृतिको निर्मिति सबैभन्दा उत्कृष्‍ट कला हो।

न्यायपूर्णः- नेपाली समाजलाई शान्त समृद्ध बनाउनका लागि न्यायपूर्ण व्यवहार अपरिहार्य हुन्छ।

अविचलितः- हामी आफ्‍नो लक्ष्य प्राप्‍तिका लागि अविचलित भई अघि बढ्नुपर्छ।

बोध अभिव्यक्तिः-

२. दिइएका प्रश्‍नहरूको उत्तर दिनुहोस् :

(क) माथिको पाठ कति अनुचच्छेदमा संरचित छ ?

उत्तरः माथिको पाठ आठ अनुच्छेदमा संरचित छ ।

(ख) पाठको दोस्रो अनुच्छेदमा कुन विषयलाई मुख्य भाव वा विचार बनाइएको छ ?

उत्तर : पाठको दोस्रो अनुच्छेदमा निबन्धकारले जीवनयात्राको क्रममा बहुजातीयतामा फक्रेको नेपाली कला र संस्कृतिलाई साझा संस्कृतिको रूपमा बोध गरेको सांस्कृतिक विविधताको विषयलाई मुख्य भाव वा विचार बनाइएको छ ।

(ग) पाठको छैटौँ अनुच्छेदमा कस्ता विषयवस्तुलाई प्रस्तुत गरिएको छ ?

उत्तरः पाठको छैटौँ अनुच्छेदमा चेतना नै जीवन सार्थकताको कारक, वर्गीय विभेद, श्रमका आधारमा मान्छेमा विभेद सिर्जना गर्ने खराब संस्कृति, श्रम, सिप र जाँगर नै प्रगतिको कारक जस्ता विषयवस्तुलाई प्रस्तुत गरिएको छ ।

(घ) निबन्धको पाँचौँ अनुच्छेदमा कतिओटा वाक्यहरू छन् ?

उत्तरः निबन्धको पाँचौँ अनुच्छेदमा २२ ओटा वाक्यहरू छन् ।

५ " जीवन एउटा प्रवाहशील......तरखरमा थिएँ, " निबन्धांश पढी सोधिएका प्रश्‍नहरूको उत्तर  

 दिनुहोस्:

(क) जीवनलाई किन यात्रा भनिएको हो ?

उत्तर: जीवन भन्‍नु नै यात्रा हो अनि हामी अथक यात्री हौँ। हाम्रा आवश्यकताहरू पूरा गर्न र जीवनलाई सुख सुविधायुक्त बनाउन जीवनका विभिन्‍न घुम्ति र मोडहरु पार गर्दै जीवन भोग्दै बुझ्‌दै सम्झदै विचार गर्दै एवं अनुभव र अनुभूतिहरू बटुल्दै कर्मपथमा निरन्तर लम्किरहेका हुन्छौँ त्यसैले जीवनलाई यात्रा भनिएको हो ।

(ख) अनुच्छेदका आधारमा म पात्रलाई चिनाउनुहोस् ।

उत्तरः प्रकृतिको काखमा पहाडी ग्रामीण परिवेशमा बाल्यकालीन जीवन बिताएकी म पात्र प्रकृतिप्रेमी एवं संस्कृतिप्रेमीका रूपमा देखिएकी छिन् । अध्ययनको सन्दर्भमा काठमाडौँ सहरमा पुगेकी म पात्र आफूलाई नगर सभ्यताबाट अलग राखी बहुजातीयतामा फक्रेको विविधतामय नेपाली साभत्र संस्कृतिलाई अनुभूत गरेकी साभत्र फूलबारीकी एउटा फूल हुन् ।

(ग) नेपाली जीवनलाई किन विविधताको सुन्दर साङ्‌लो भनिएको हो ?

उत्तर: बहुजाति, बहुभाषी, बहुधर्मालम्वीहरूको सम्मिश्रण भएको हाम्रो देश नेपालमा सबै जातिहरूको आ-आफ्नै रीतिरिवाज, चालचलन, वेशभुषा, धर्म, संस्कार रहेको पाइन्छ । भिन्‍न धर्म, भिन्‍न संस्कृति, भिन्‍न पहिरन, भिन्‍न पहिचान भएर पनि जातीय सद्‍भाव, धार्मिक सहिष्णुता, राष्‍ट्रिय एकता र मेलमिलापको भावना कसिलो पाइन्छ । बहुजाति नेपालीको सांस्कृतिक मेलबाट नै नेपाली संस्कृति फक्रेको छ अनि सबैलाई सांस्कृतिक एकताको मालामा उनेर राष्‍ट्रियतालाई मजबुत बनाएको छ त्यसैले नेपाली जीवनलाई विविधताको सुन्दर साङ्‌लो भनिएको हो ।

६. दिइएको निबन्धांश पढी सोधिएका प्रश्‍नहरूको उत्तर दिनुहोस् :

(क) जीवनमा आलोचनात्मक हुन के गर्नुपर्छ ?

उत्तर : जीवनमा आलोचनात्मक हुन प्रश्‍न गर्नु पर्छ । तर्कशक्ति वृद्धिका लागि बुद्धि र विवेकको खाँचो पर्छ । दृष्‍टिदोष हटाई, वस्तुनिष्‍ठ भई, अस्पष्‍टतावाट सुस्पष्‍ट भई जीवनमा आलोचनात्मक बन्‍न प्रश्‍न गर्ने बानीको विकास गर्नुपर्छ । प्रश्‍नबाट नै तथ्य थाहा हुन्छ, तथ्यबाट नै सत्य बोध हुन्छ ।

(ख) निबन्धांशमा कस्तो संस्कृतिको परिकल्पना गरिएको छ ?

उत्तर : निबन्धांशमा विभेदरहित, न्यायपूर्ण, सुन्दर, साझा संस्कृतिको परिकल्पना गरिएको छ । कुनै पनि वर्ण, रङ, जात, धर्म, वर्ग, लिङ्‍ग, सम्प्रदायका आधारमा विभेद नगरी सबैको मूल्य र मान्यता अटाउन सक्ने, सबैले अपनत्व गर्न सक्ने, सबैका विचारलाई प्रतिनिधित्व गर्न सक्ने, विभेदरहित, न्याय र समतामूलक, सुन्दर, साझा नेपाली संस्कृतिको परिकल्पना गरिएको छ ।

७. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस्:

(क) संस्कृति भनेको के हो ?

उत्तर : संस्कृति हाम्रो परिचय, पहिचान र अनुभूति हो। हामी नेपाली हौँ भनी हाम्रो मौलिक पहिचान दिने आधार हो, संस्कृति । संस्कृति हाम्रो जीवन पद्धति हो । हामीले बोल्ने, विचार गर्ने अनि बाँच्ने तरिका हो । दसैँ,  तिहार,  तिज,  बुद्ध पूर्णिमा, उँधौली,  उभौली,  ल्होसार,  क्रिसमस,  इद हाम्रा संस्कृति हुन् । सांस्कृतिक मूल्यमान्यता,  रीतिरिवाज,  चालचलन,  वेशभूषा,  धर्म संस्कार बँचाए मात्र हाम्रो संस्कृति बाँच्दछ ।

(ख) संविधानले सुनिश्‍चित गरेका सांस्कृतिक विषयहरु केके हुन् ?

उत्तर : राज्यको नजरमा राज्यका सबै नागरिकहरू समान भएकाले सबैको समान हक अधिकार हुन्छ । कुनै पनि वर्ण, रङ, जात, धर्म, वर्ग, लिङ्‍ग, सम्प्रदायका आधारमा विभेद गरिनु हुँदैन, हरेक समुदायले आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्न पाउनुपर्छ आदि संविधानले सुनिश्‍चित गरेका सांस्कृतिक विषयहरू हुन् ।

८. दिइएको प्रश्‍नहरूको उत्तर दिनुहोस् :

(क) नेपालमा कस्ता सांस्कृतिक विविधता छन् ?

उत्तर : नेपाल बहुजाति, बहुभाषी, बहुधर्मालम्बीहरूको समिश्रण भएको विविधतामय सुन्दर फूलबारी हो । ब्राह्‌मण, क्षेत्री, गुरुङ, मगर, राई, लिम्बू, नेवार, शेर्पा, तामाङ, झा, यादव आदि जातजातिहरूको आआफ्नै मौलिक सभ्यता र संस्कृति रहेको छ । हिमाल, पहाड र तराईका सबै नेपालीहरुको जीवनपद्धतिसँग सम्वन्धित आआफ्नै मौलिक रीतिरिवाज, चालचलन, परम्परा तथा धर्म संस्कार रहेको पाइन्छ । हरेक जातजातिका आआफ्नै लवाइखवाइ, वेषभूषा, भाषा, दर्शन, मूल्यमान्यता र विश्‍वास रहेका छन् । जातीय विविधताभित्र नै सांस्कृतिक विविधता रहेको छ । बहुसङ्ख्यक नेपालीहरूले दसैं र तिहार मनाउनुका साथै कोही बुद्धपूर्णिमा मनाउँछौँ, कोही उँधौली उँभौली, कोही क्रिसमस, कोही ल्होसार, कोही माघी मनाउँछौँ त कोही देउडामा रमाउँछौँ । कोही रोदी, घाटुमा रमाउँछौँ त कोही मारूनीमा । कोही खैँजडी, बालुन, कर्खामा त कोही गन्धर्व, खाँडो र गाथामा रमाउँछौँ। संस्कार, खानपान, रीतिरिवाज, परम्परा, पहिरनमा पनि विधिधता छ। काठमाडौँमा नेवार संस्कृति, मुस्ताङमा थकाली संस्कृति, पूर्वमा किराँती संस्कृति, उत्तरमा शेर्पा संस्कृति, मधेसमा मधेसी संस्कृति, पश्‍चिममा मगर र थारू संस्कृतिजस्ता सांस्कृतिक विविधता रहेका छन्।

(ख) श्रम र संस्कृति कसरी अन्तरसम्बन्धित हुन्छन् ?

उत्तर: श्रम मानिसको उन्‍नति र प्रगतिको कारक मात्र नभएर सभ्यता र संस्कृतिकै उपज हो ।

श्रम गर्नु धर्म हो अनि धर्म नै संस्कृति हो । सृष्‍टि, प्रकृति एवं ब्रहमाण्ड सबै श्रमकै उपज हुन् । श्रम नै ज्ञान विज्ञान, नीति, धर्म, कला, साहित्य, जीवन र जगतको निर्धारक हो । जीवनपद्धति नै श्रममा आधारित हुन्छ अनि सम्पूर्ण मानवीय जीवनका गतिविधिहरु जस्तैः हाम्रो बोल्ने, विचार गर्ने, बाँच्ने तरिका, रीतिरिवाज, चालचलन, परम्परा, वेषभूषा, लवाइखवाइ, हिँडाइबोलाइ, चाडपर्व, धर्म, संस्कार, लोकबाजा, लोकगीत, लोकनृत्य, लोकगाथा जस्ता सम्पूर्ण मानवीय गतिविधिहरू संस्कृति हुन् । सम्पूर्ण संस्कृति लोक जीवनका अभिन्‍न अङ्‍ग हुन् जुन श्रम र सिपबाट आर्जित भएका हुन् । श्रमबाट सिर्जित सम्पूर्ण संस्कृतिहरू श्रममा नै फल्ने, फुल्ने र फक्रने गर्छन् । लोकजीवन, लोकसंस्कृति, लोककथा, लोकगाथा, लोकबाजा, लोकनृत्य, लोकगीत, आदि श्रमिककै जीवनका संस्कार, संस्कृति र आत्मा हुन् । श्रम गर्नु नै संस्कृति हो । श्रम, सिप र जाँगरले नै व्यक्ति, समाज र राष्‍ट्रको आमूल परिवर्तन सम्भव हुन्छ । यसरी हेर्दा श्रम र संस्कृति अन्तरसम्बन्धित हुन्छन् ।

(ग) न्यायपूर्ण संस्कृतिको निर्माण कसरी गर्न सकिन्छ, निबन्धका आधारमा लेख्‍नुहोस् ।

उत्तर: हाम्रो देश नेपाल बहुजाति, बहुभाषी, बहुधर्मावलम्बीहरूको समिश्रण भएको विविधतामय फूलबारी हो । यस फूलबारीका बहुजातीय फूलहरूको विविधतामय साझा सांस्कृतिक सुवास नै नेपाली संस्कृति हो । सांस्कृतिक रूपमा धनी र गरिब वर्गबिचको विभेद, जातीय, लै‌ङ्‌गिक विभेद, धार्मिक विभेद एवं असमानताको अन्त्य गर्नुपर्छ । समाजमा व्याप्‍त विभेद, कुप्रथा, स‌ङ्‌कीर्णता एवं उत्पीडनहरूको अन्त्य गरेमा मात्र न्यायपूर्ण साझा संस्कृतिको निर्माण गर्न सकिन्छ । न्यायपूर्ण साझा संस्कृतिको निर्माणबाट नै विभेदमुक्त न्याय र समतामूलक समाज निर्माण हुन सक्छ । समाजमा  जाति, धर्म, रङ, वर्ग, पेसा,  लिङ्‍ग, सम्प्रदाय आदिका आधारमा व्याप्‍त विभेदकारी सास्कृतिक विकृतिहरूको अन्त्य गरी संविधानले सुनिश्‍चित गरेका मौलिक हक अधिकारहरू सबैलाई प्रत्याभूति हुने वातावरण सिर्जना गरेर सबैलाई ससम्मानपूर्वक बाँच्ने र आ-आफ्नो संस्कृतिमा रम्ने रमाउने हक अधिकारको सुनिश्‍चितता भएमा मात्र न्यायपूर्ण संस्कृतिको निर्माण गर्न सकिन्छ

९. व्याख्या गर्नुहोस् :

(क) नेपालको लामो इतिहास र सभ्यताले निर्माण गरेका यी साझा संस्कृति मेरै संस्कृति थिए, मेरै देशका सम्पत्ति थिए र मेरा ती सबै मित्रहरू एकै फूलबारीका साझा फूलहरू थिए।

उत्तरः- नेपालको लामो इतिहास.................................साझा फूलहरु थिए ।

      प्रस्तुत वाक्य हाम्रो कक्षा ११ को नेपाली पाठ्यपुस्तकमा रहेको "संस्कृतिको नयाँ यात्रा" शीर्षकको आत्मपरक निबन्धवाट साभार गरिएको हो । यस निबन्धकी रचयिता निबन्धकार सुधा त्रिपाठी हुन् । नेपाली साहित्यको प्रगतिवादी धाराकी सशक्त नारी त्रिपाठी देशभक्ति भावनाले भरिएकी मानवतावादी एवं प्रगतिवादी निबन्धकार हुन् । सांस्कृतिक विभेदको अन्त्य गरी न्यायपूर्ण साझा संस्कृति निर्माणको चाहना प्रकट गरिएको यस निबन्धको प्रस्तुत व्याख्यांश निबन्धकारले विविधतामय नेपाली कला र संस्कृतिसँग परिचित हुन पाएको भाव व्यक्त गर्ने प्रसङ्‍गमा आएको हो ।

     प्रस्तुत वाक्यमा इतिहास र सभ्यताले निर्माण गरेका नेपाली संस्कृति सबैका साझा हुन् भन्‍ने भाव प्रतिबिम्बित छ । नेपाल बहुजाति, बहुभाषी, बहुधर्मावलम्बीहरूको समिश्रण भएको विविधतामय मुलुक हो । सबै जातजातिहरूको आ-आफ्नै मौलिक सभ्यता र संस्कृति छ । नेपाली समाज नै मूर्त र अमूर्त संस्कृतिको र‌ङ्‌गिविरङ्‍गी फूलबारी हो । गाउँ सहरमा प्राचीन सभ्यताका सांस्कृतिक धरोहरहरू यत्रतत्र पाइन्छन् । पुर्खाको विगतको जीवनपद्धतिसँग सम्बन्धित वेशभूषा, रीतिरिवाज, चालचलन, धर्म संस्कार, रहनसहन, लवाइखवाइ, लोकगाथा, लोककथा, लोकबाजा, लोकनृत्य, लोकगीत आदि जीवनका अभिन्‍न अङ्‍ग एवं मौलिक सम्पदा नै हाम्रा साझा संस्कृति हुन् । जुन पुर्खाहरूको जीवन भोगाइ एवं जीवन यापनका क्रममा लोकजीवनमै सिर्जित भए । लामो ऐतिहासिक श्रृङ्‍खलामा सभ्यता र संस्कारबाट नै नेपाली संस्कृति निर्माण भएका हुन् । सभ्यताको विकासको प्रारम्भदेखि नै किराँतकाल, लिच्छवीकाल, मल्लकाल, एवं शाहवंशीय कालमा राज्य सङ्‍घर्ष एवं राज्य व्यवस्थापनका गतिविधि एवं लोक जनजीवनका विभिन्‍न सुन्दर पक्षहरूले नै सांस्कृतिक रूपमा विकसित भएका थिए । सबै जातजातिहरूको आ-आफ्नै परम्परा एवं रीतिरिवाजको विकास भयो । सभ्यता र संस्कारले विविधतामय रूप लियो । जुन संस्कृतिको रूपमा व्याप्‍त भयो । सबै जातिहरूको समग्र धर्म र संस्कार नै नेपाली साझा संस्कृति हो जुन बहुजातीयतामा फक्रेको सुन्दर फूलबारीका सुगन्धित फूलहरूबाट निस्केको मिठो सुवास हो। यो जातीय सद्‍भाव र धार्मिक सहिष्णुतामा फक्रेर विश्‍वलाई मोहनी लगाइरहेको छ ।

    यसरी निबन्धकारले आत्मपरक शैलीमा राष्‍ट्रियताको भावनालाई यस निवन्धांशमा अभिव्यक्त गरी नेपाली संस्कृतिको ऐतिहासिक गरिमालाई मनन गरी नेपाली साझा संस्कृतिको अपनत्व बोध गरी मौलिक संस्कृतिप्रति मोह दर्शाएकी छिन् । ऐतिहासिक गरिमा बोकेका हाम्रा साझा संस्कृतिलाई हामीले पनि मनन गर्नुपर्छ ।

(ख) संस्कृतिका नाममा लिङ्‍ग, वर्ग, रङ, भूगोल, जाति, धर्मका आधारमा हुने भेद विकृति हुन्।

उत्तरः- संस्कृतिका नाममा.................................................................भेद विकृति हुन् ।

    प्रस्तुत वाक्य हाम्रो कक्षा ११ को नेपाली किताबमा रहेको "संस्कृतिको नयाँ यात्रा" शीर्षकको आत्मपरक निबन्धबाट साभार गरिएको हो । यस निबन्धकी रचयिता निबन्धकार सुधा त्रिपाठी हुन् । नेपाली साहित्यको प्रगतिवादी धाराकी सशक्त नारी त्रिपाठी देशभक्ति भावनाले भरिएकी मानवतावादी एवं प्रगतिवादी निबन्धकार हुन् । सांस्कृतिक विभेदको अन्त्य गरी न्यायपूर्ण साझा संस्कृति निर्माणको चाहना प्रकट गरिएको यस निबन्धको प्रस्तुत व्याख्यांश निबन्धकारले सभ्यताको यात्रामा सिर्जित सांस्कृतिक चाडपर्वहरू सुन्दर अवसर भएकाले सदुपयोग गर्नुपर्ने भाव व्यक्त गर्ने प्रसङ्‍गमा आएको हो ।

      प्रस्तुत वाक्यमा सांस्कृतिक विभेद संस्कृति नभएर विकृति हो भन्‍ने भाव प्रतिविम्बित छ । संस्कृति हाम्रो मौलिक पहिचान हो । हामीले बोल्ने, विचार गर्ने, बाँच्ने तरिका अनि जीवन पद्धति हो । नेपाली संस्कृति सबै जातजाति, भाषाभाषी, लिङ्‍ग, वर्ग, एवं सम्प्रदायको साझा संस्कृति हो । सांस्कृतिक रूपमा वर्गीय, जातीय, लैङ्‌गिक, धार्मिक, भौगोलिक आदिका आधारमा विभेद एवं असमान व्यवहार गर्नु हुँदैन । संस्कृतिको नाममा गरिने यस्तो विभेदकारी असमान व्यवहार संस्कृति नभएर विकृति हो । संस्कृतिको रूपमा जरा गाडेका कुरीति कुसंस्कार, रूढीवादी अन्धविश्‍वासी परम्परा, कुप्रथा, उत्पीडनहरूको अन्त्य गरी न्यायपूर्ण साझा सुन्दर संस्कृतिको निर्माण गर्नुपर्छ । एउटै साझा संस्कृतिको निर्माणबाट नै विभेदमुक्त न्याय र समतामूलक समाज निर्माण गर्न सकिन्छ । संस्कृतिका नाममा महिला र पुरुप बिचमा विभेद गर्ने पुरुषप्रधान समाजको एकाधिकार तोड्नु पर्छ । धनी र गरिबको बिचमा देखिने सांस्कृतिक दासता हट्नुपर्छ । काला र गोरा बिचमा हेरिने विभेदजन्य सांस्कृतिक दृष्‍टिकोण फेरिनुपर्छ । भूगोलका आधारमा हिमाली, पहाडिया, मधेसी बिचको विभेद हट्नुपर्छ । जातीय विभेदको रूपमा व्याप्‍त स‌ङ्‌कीर्णता हट्नुपर्छ । धर्मका नामा गरिने शोपण, दमन, विभेद एवं दाशता तोडिनुपर्छ । संस्कृतिका रूपमा रहेका विकृतिहरू हटाएर सभ्य र सुसंस्कृत न्याय र समतामूलक समाजको निर्माण गर्नुपर्छ ।

    अतः संस्कृतिका रूपमा गरिने विभेदकारी गलत संस्कृति, संस्कृति नभएर विकृति भएकाले परिष्कार, परिमार्जन गरी सुन्दर साझा संस्कृति निर्माण गरी सभ्य र सुसंस्कृत समाज निर्माण गर्नुपर्ने भाव उक्त वाक्यमा पाइन्छ ।

१०. समीक्षात्मक उत्तर लेख्‍नुहोस् :

(क) नेपालमा विद्यमान संस्कृतिका सबल र दुर्बल पक्षको चर्चा गर्नुहोस।

उत्तरः- नेपाली साहित्यकी प्रगतिवादी तथा नारीवादी निबन्धकार सुधा त्रिपाठीद्वारा लिखित "संस्कृतिको नयाँ यात्रा" निबन्ध विचारप्रधान तथा आत्मपरक शैलीमा लेखिएको निबन्ध हो। यस निबन्धमा नेपाली संस्कृतिको विविधता, मौलिकता, सबलता तथा त्यसमा रहेका विकृति, विसङ्‍गति, विभेद र असमानताको चित्रण गरिएको छ। विभिन्‍न जातजातिका साझा मौलिक संस्कृति नै नेपाली संस्कृति हो।

    नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले यहाँ विभिन्‍न जातजातिका आ-आफ्नै रीतिरिवाज, चालचलन, वेशभूषा, संस्कार, चाडपर्व, गीत–सङ्‍गीत, कला, धर्म, दर्शन र साहित्य रहेका छन्। यही विविधताले नेपाली संस्कृतिलाई विशाल, समृद्ध र मौलिक बनाएको छ। यसले हाम्रो राष्‍ट्रिय पहिचान जोगाउनुका साथै पर्यटन प्रवर्धन र वैदेशिक मुद्रा आर्जनमा समेत सहयोग पुर्‍याउँछ। दसैं, तिहारजस्ता चाडपर्वले पारिवारिक आत्मीयता, सामाजिक सद्‍भाव र आपसी सम्बन्धलाई प्रगाढ बनाउँछन्। रोधी,  घाटु,  भैलो, सोरठी, मारुनी, देउडा, हुड्केली आदि लोकसंस्कृतिले मनोरञ्‍जन र सामाजिक एकता बढाउँछन्। लोकगीत, लोककथा, लोकबाजा र लोकगाथाले हाम्रो इतिहास, परम्परा र मौलिक पहिचानलाई जोगाइराख्छन्।तर नेपाली संस्कृतिका केही दुर्बल पक्षहरू पनि छन्। जात, धर्म, वर्ण, वर्ग, रङ र लिङ्‍गका आधारमा गरिने विभेद, पुरुषप्रधान सोच तथा महिलामाथि हुने असमान व्यवहार यसका प्रमुख कमजोरी हुन्। छाउपडी, दाइजो, बालविवाहजस्ता कुप्रथा, पशुबली, अन्धविश्‍वास तथा कर्मकाण्डका नाममा गरिने अनावश्यक खर्च पनि संस्कृतिका विकृत पक्ष हुन्। विवाह, व्रतबन्ध, काजकिरिया आदिमा गरिने तडकभडक, भोजभतेर र आडम्बरले विपन्‍न वर्गलाई आर्थिक तथा मानसिक बोझ थपेको छ।

    यसरी हेर्दा नेपाली संस्कृतिका सबल पक्षलाई संरक्षण र प्रवर्द्धन गर्दै दुर्बल पक्षलाई सुधार, परिमार्जन र हटाउँदै सभ्य, समानतामूलक र सुसंस्कृत नेपाली साझा संस्कृतिको निर्माण गर्नुपर्छ।

(ख) सांस्कृतिक रूपमा न्यायपूर्ण समाजले मात्र समतामूलक समाजको निर्माण गर्न सक्छ ।" विवेचना गर्नुहोस् ।

उत्तरः- नेपाली साहित्यकी प्रगतिवादी तथा नारीवादी निबन्धकार सुधा त्रिपाठीद्वारा लिखित "संस्कृतिको नयाँ यात्रा" निबन्ध आत्मपरक शैलीमा लेखिएको विचारप्रधान निबन्ध हो। यसमा निबन्धकारले नेपाली संस्कृतिको विविधता, मौलिकता तथा संस्कृतिभित्र रहेका विकृति, विसङ्‍गति, विभेद र असमानताको चित्रण गरेकी छिन्। विभिन्‍न जातजातिको साझा संस्कृति नै नेपाली संस्कृति हो।

     संस्कृति हाम्रो मौलिक पहिचान, जीवनपद्धति र रहनसहन हो। नेपाली संस्कृति सबै जातजाति, भाषाभाषी, लिङ्‍ग, वर्ग र सम्प्रदायको साझा संस्कृति भएकाले यसमा कसैलाई पनि जात, धर्म, वर्ग, लिङ्‍ग, वर्ण, रङ वा भूगोलका आधारमा विभेद गर्नु हुँदैन। संस्कृतिको नाममा गरिने विभेद संस्कृति नभई विकृति हो। त्यसैले कुरीति, कुसंस्कार, रूढिवादी अन्धविश्‍वास,  कुप्रथा,  शोषण र उत्पीडनको अन्त्य गरी न्यायपूर्ण साझा संस्कृतिको निर्माण गर्नुपर्छ।नेपाली समाजमा पुरुषप्रधान सोचका कारण महिला र पुरुषबीच विभेद, धनी र गरिबबीच वर्गीय असमानता, जातीय तथा धार्मिक विभेद र हिमाल, पहाड, मधेसका आधारमा गरिने भेदभाव अझै पाइन्छ। दाइजो, छाउपडी, कुमारी प्रथा, अन्धविश्‍वास तथा विभिन्‍न रूढिवादी परम्पराले विशेषगरी महिलामाथि शोषण र दमन गरेका छन्। त्यस्तै अभिजात्य वर्गले संस्कृतिको नाममा कमजोर वर्गमाथि प्रभुत्व जमाउने प्रवृत्तिले पनि असमानता बढाएको छ।

    यसरी संस्कृतिका नाममा रहेका विभेद, असमानता, शोषण, दमन र एकाधिकारको अन्त्य गरी सबै जात, वर्ग, लिङ्‍ग, धर्म र सम्प्रदायलाई समान सांस्कृतिक अधिकार र अवसर दिनुपर्छ। सबैको सहअस्तित्व, सहकार्य र समान सहभागितामा न्यायपूर्ण साझा संस्कृति निर्माण गर्न सके मात्र सांस्कृतिक रूपमा न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्न सकिन्छ।

११. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्‍नहरूको उत्तर दिनुहोस् :

(क) संस्कृतिभित्र के के लुकेका हुन्छन् ?

उत्तरः संस्कृतिभित्र कुनै पनि जातजातिका लवाइखवाइ, वेशभूषा, भाषा, दर्शन, मान्यता र विश्‍वास लुकेका हुन्छन् ।

(ख) बहुजातीय मुलुकका केकस्ता विशेषता हुन्छन् ?

उत्तरः बहुजातीय मुलुकका साँस्कृतिक विविधता, साँस्कृतिक सम्पन्‍नता, जातीय पृथक्‍ता, जातीय सद्‍भाव, राष्‍ट्रिय एकता, धार्मिक एवं साँस्कृतिक मेल जस्ता विशेषता हुन्छन् ।

(ग) 'संस्कृति मधुरस हो, सभ्यता घार हो' भन्‍नाको तात्पर्य के हो ?

उत्तरः जसरी बिनाघार मधुरस भण्डारण हुन सक्दैन ठिक त्यसैगरी सभ्यता भएन भने संस्कृति पनि फक्रन सक्दैन, नेपालीहरूको साझा सभ्यता र संस्कृतिको मेलका कारण नेपाल मधुरसले भरिपूर्ण मौरीको घार जस्तै बनेको छ भन्‍नु नै संस्कृति मधुरस हो, सभ्यता घार हो' भन्‍नाको तात्पर्य हो ।

(घ) 'पृथक्ता' 'अभ्यागत' को अर्थ के हो ?

उत्तरः पृथक्ता = पृथक् वा अलग रहने स्थिति, भिन्‍नता,

     अभ्यागत=  अतिथि, पाहुना

१२. दिइएको अनुच्छेद पढी चारओटा मुख्य बुँदाहरु टिप्नुहोस् र एक तृतीयांशमा सार लेख्‍नुहोस्:

बुँदाहरुः

१ १.   पुर्खाको विगत, हाम्रो वर्तमानको व्यवहार नै भोलिको सन्तानको सांस्कृतिक धरोहर       बन्‍नु,

२ २. आमाबुबा, गुरु, पाहुना, वनस्पतिलाई देवत्वकरण गरी आदर गर्ने संस्कृति हाम्रो अमूल्य     निधि हुनु,

३ ३. छोराछोरीलाई संस्कारयुक्त शिक्षा दिएमा संस्कार र संस्कृतिको संरक्षण हुने,

४ ४. परोपकारी बनाउने संस्कार र संस्कृति हाम्रो प्राण भएकाले यसको संरक्षण गर्नुपर्ने ।

सारांश

            संस्कार र संस्कृति

पुर्खाको विगत, हाम्रो वर्तमानको व्यवहार नै भोलिका सन्ततिको साँस्कृतिक धरोहर भएकाले छोराछोरीलाई सम्पत्तिको सट्टा संस्कारयुक्त शिक्षा दिएर संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्छ । मातृदेवो भवः पितृदेवो भवः आचार्यदेवो भवः, अतिथिदेवो भवः, वनस्पतिदेवो भवः, भनेर देवत्वकरण गरी आदर गर्ने संस्कृति हाम्रो अमूल्य निधि हो । परोपकारी बनाउने संस्कार र संस्कृति हाम्रो प्राण भएकाले हामीले यसको संरक्षण गर्नुपर्छ ।

                              दिइएको अनुच्छेदको शब्द सङ्ख्याः १६२   

                                     एक तृतीयांश शब्द सङ्ख्याः ५४

                                           सारांश शब्द सङ्ख्याः ५४

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.