पाठ :- ८ नेपाली हाम्रो श्रम र सिप
शब्दभण्डार
१ दिइएका शब्दको अर्थ लेख्नुहोस् :
कला : कुनै काम राम्रोसँग गर्ने सिप , कौशल, वास्तु, मूर्ति, चित्र, सङ्गीत साहित्य
आदि ललित कला वा विद्या
श्रम : शरीरको कसरत, व्यायाम , कुनै कामका निम्ति मानवीय चेष्टा , प्रयत्न , प्रयास
सितो : पाकेको चामालको दानो , भातको सानो एकाइ
आलस्य : काममा जाँगर नभएको स्थिति , अल्छीपन, सुस्ती
रहस्य : भित्री आशय, मर्म, गुप्त , छिपेको , दुर्बोध तत्त्व, भित्री तत्त्व
सम्पदा : प्राकृतिक सम्पत्ति वा साधन, सम्पत्ति
चोखो : बिटुलो नपारेको , कसर नभएको , निर्दोष पवित्र
स्वर्ग : अत्यन्तै रमणीय ठाउँ ,सुन्दर स्थान , इन्द्रपुरी, देवलोक
४ दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्:
स्वदेश : स्वदेशमा नै पौरख गर्न सके हाम्रो राष्ट्र चाँडै सम्पन्न र समृद्ध बन्ने छ ।
पसिना : कविले सम्पूर्ण नेपालीलाई देशको माटोमा पसिना बगाउन आह्वान गरेका छन्।
सिप : श्रम र सिपले आफ्नो जन्मभूमि सजाउनेतर्फ हामी सबैको ध्यान जानुपर्छ ।
पुर्खा : हामी हाम्रो पुर्खाको गौरव बढाउने तर्फ लाग्नुपर्छ ।
भाषा : हाम्रो राष्ट्रिय भाषा नेपाली हो ।
सितो : कविले एउटा नेपालीको मुखमा सितो नपरे सिङ्गो राष्ट्र भोकै पर्ने कुरा बताएका छन्
।
विज्ञान : ज्ञान र विज्ञानले मानव जीवनलाई सभ्य र सुसंस्कृत बनाउँछ ।
बोध र अभिव्यक्ति
४ दिइएको कवितांश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
क)
पहाडले पसिना
खोज्नुको आशय के हो ?
उत्तर :- श्रम र पसिनाले सजाउने हो भने पहाड अनेकौँ सम्भावना बोकेको स्थल
हो भन्नु नै पहाडले पसिना खोज्नुको आशय हो ।
ख)
तराईलाई
सिँचाइ किन चाहिएको हो ?
उत्तर :- प्रशस्त अन्नरूपी सुन फलाउन सक्ने तराईको उर्वरायुक्त माटोलाई
अन्न , धान आदि फलाउन सिँचाइ चाहिएको हो ।
ग)
होस्टेमा हैँसे
गर्दा देशलाई कस्तो फाइदा पुग्छ ?
उत्तर : होस्टेमा हैँसे गर्दा पहाडले पसिना र तराईले सिँचाइ प्राप्त
गरी देशले समृद्धिको बाटोमा अगाडि बढ्ने अवसर पाउँछ ।
घ)
श्रम
र सिपलाई स्वदेशमै लगाउनुपर्छ भन्ने भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर :- कुनै पनि मुलुक श्रम र सिपको परिचालनबिना समृद्ध बन्न नसक्ने
भएकाले श्रम र सिपलाई स्वदेशमै लगाउनुपर्छ भनिएको हो ।
५ दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
क)
नेपाली धरती
विश्वमै महान छ भन्ने भनाइलाई कविताको आधारमा वर्णन गर्नुहोस् ।
उत्तर :- कवि
मुकुन्दशरण उपाध्यायद्वारा लिखित 'नेपाली हाम्रो श्रम र सिप ' शीर्षक कवितामा नेपाली
धर्तीको ऐतिहासिक ,
सांस्कृतिक तथा भौगोलिक महत्त्व
झल्काइएको छ भने सम्पूर्ण नेपालीले आआफ्नो श्रम र सिप लगाउने हो भने मुलुकको समृद्धि
टाढा छैन भन्ने भाव व्यक्त गरेका छन् ।
नेपालको भौगोलिक विविधताले अथाह सम्भावनाको ढोका खोलेको बताएका
छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा र हिमाली सौन्दर्यलाई शिरको मुकुट बनाएर मुस्कुराएको
जडीबुटीको अजस्र भण्डार हरियो कछाडमा सजिएको पहाड अत्यन्त उर्वराशक्ति रहेको तराईका
समथर सुन झुलाउने फाँटले नेपालको अनुपम सौन्दर्य र सम्भावना सिर्जना गरेका छन् । मानव
सभ्यताको आदिकालदेखि नै ऋषिमुनिहरूले तपोवनका रूपमा यो सुन्दर धर्ती रोजेको तथ्य
हाम्रा शास्त्रहरूमा उल्लेखित छन् । पूर्वीय सभ्यताको आरम्भ पनि यही धरतीबाट भएको हो
जसले मानिसलाई विभिन्न तारा र ग्रहसम्म पुग्ने ढोका खोले । यहाँबाट नै वेदान्त सभ्यता
, किराँत सभ्यता र बौद्धमार्ग आरम्भ भएकाले पनि कविले यस
धर्तीलाई विश्वमै महान् भनेका छन् । यहाँ भौगोलिक विविधताअनुसार अलगअलग हावापानी
अलग अलग वनस्पति र सम्भावना पाइन्छ । हिमालमा जडीबुटी पहाडमा तरकारी तथा फलफूल
खेती र पशुपालन एवं तराईमा खाद्यान्न उत्पादनका दृष्टिले महत्त्वपूर्ण मानिन्छ । तिनै
प्रकारका भूभागको अनुपम संयोजनले पनि नेपाली धर्तीलाई विश्वमै महान छ भन्ने कुरा वर्णन
गरिएको छ ।
ख)
कवितामा धार्मिक
विविधतालाई कविले कसरी चिनाएका छन् ?
उत्तर :- कवि
मुकुन्दशरण उपाध्यायद्वारा लिखित 'नेपाली हाम्रो श्रम र सिप ' शीर्षक कवितामा नेपाली
धर्तीको ऐतिहासिक ,
सांस्कृतिक तथा भौगोलिक महत्त्व
झल्काइएको छ भने सम्पूर्ण नेपालीले आआफ्नो श्रम र सिप लगाउने हो भने मुलुकको समृद्धि
टाढा छैन भन्ने भाव व्यक्त गरेका छन् । कविले कवितामा धार्मिक विविधता भित्रको सुन्दर
पक्षको चित्रण गरेका छन् ।
नेपाल धार्मिक दृष्टिले विविधतायुक्त देश हो । यहाँ विभिन्न
धर्मावलम्बीहरूको बसोबास रहेको छ ।धार्मिक विविधता र सहिष्णुतालाई नेपाली पहिचानका
रूपमा प्रस्तुत गरिएको छ। हिन्दु धर्मावलम्बीहरूको वेद , किराँतहरूको मुन्धुम , बौद्धमार्गीहरूको धम्मपद पनि यहाँबाट नै आरम्भ भएको मानिन्छ
। वैदिक संस्कृति होस् वा मुन्धुम संस्कृति होस् वा बौद्ध परम्परा सबैमा सम्मान र श्रद्धाको
भाव पाइन्छ । नेपालीहरू एकअर्काको धर्मप्रति श्रद्धा र सम्मानको भाव राख्छन् भन्ने
विचार कवितामा प्रस्तुत भएको छ ।
ग)
कविताको
दोस्रो श्लोकको विषयवस्तु वर्णन गर्नुहोस् ?
उत्तर :- कवि मुकुन्दशरण उपाध्यायद्वारा लिखित 'नेपाली हाम्रो श्रम र सिप '
शीर्षक कवितामा नेपाली धर्तीको ऐतिहासिक , सांस्कृतिक तथा भौगोलिक महत्त्व झल्काइएको छ भने सम्पूर्ण नेपालीले आआफ्नो श्रम र सिप लगाउने हो भने मुलुकको समृद्धि टाढा छैन भन्ने भाव व्यक्त गरेका छन् ।
कविले कवितामा धार्मिक विविधता भित्रको सुन्दर पक्षको चित्रण गरेका छन् ।
कविले नेपाल हामी
सबैको साझा कर्मभूमि तथा मातृभूमि भएको कुरा बताएका छन् । नेपालमा बसोबास सम्पूर्ण
मानिस मध्ये एक जनामात्रको पेट भोको रहनु वा शरीरमा कपडाको धरो नपर्नु भनेको सिङ्गो
नेपाल भोकै नाङ्गै हुनु हो भन्ने आदर्श विचार कविले अगाडि सारेका छन् । सबैलाई
खाना र नाना पुर्याउनका लागि सबैको श्रम र पसिना नेपाली माटोमा पोखिनु पर्छ भन्ने
विचार कविले दोस्रो श्लोकमा व्यक्त गरेका छन् ।कविले सबैले आआफ्नो हित र उन्नतीका अतिरिक्त
देशको उन्नति विशेषमा लाग्न र सामूहिक भावनाले अगाडि बढ्न कवितामा प्रेरित गरेका छन्
।
घ)
नेपाली
हाम्रो श्रम र सिप कविताको मूलभाव लेख्नुहोस् ।
उत्तर :- कवि मुकुन्दशरण उपाध्यायद्वारा लिखित 'नेपाली हाम्रो श्रम र सिप '
शीर्षक कवितामा नेपाली धर्तीको ऐतिहासिक , सांस्कृतिक तथा भौगोलिक महत्त्व झल्काइएको छ भने सम्पूर्ण नेपालीले आआफ्नो श्रम र सिप लगाउने हो भने मुलुकको समृद्धि टाढा छैन भन्ने भाव व्यक्त गरेका छन् ।
कविले कवितामा देशप्रेमको सन्देश दिँदै सम्पूर्ण नेपालीलाई सबैप्रकारका आलस्य , निद्रा , हीनता हटाएर आफ्नो पौरखले राष्ट्रको गौरव बढाउने कार्यमा लाग्नुपर्ने विचार
व्यक्त गरेका छन् ।
कविले कवितामा
नेपालको भविष्यसँग हाम्रो गौरव , भाषा, कला साहित्य र संस्कृति जोडिएको बताएका छन् । नेपाललाई बलियो अर्थात् आर्थिक
सामाजिक रूपमा समृद्ध र आत्मनिर्भर बनाउन सम्पूर्ण नेपालीले आफ्नो श्रम र सिप
उपयोग गर्नुपर्ने विचार कवितामा प्रस्तुत गरेका छन् । कविले सबैलाई खाना र नानाको सङ्कटबाट
बचाउन पनि सबैले पसिनाको अर्घ चढाउनु पर्ने र पसिनाले नेपाली धर्ती सिँचित गर्नु पर्ने
धारणा राखेका छन् । सबै एक जुट भएमा असम्भव केही नहुने भन्दै कविले हिमाल पहाड र तराईले
अथाह सम्भावना बोकेको तथ्य ओल्याएका छन् । कविले कवितामा परापूर्व कालदेखि नै नेपाल
महत्त्वपूर्ण धर्तीका रूपमा स्थापित रहेको भाव व्यक्त गरेका छन् । आदिकालदेखि नै ज्ञान
विज्ञान र दर्शनको विकास भएको पूर्वीय वेदान्त दर्शनको ध्वनि गुञ्जने , मुन्धुमको मन्त्र उच्चरित हुने, धम्मपदका ध्वनिले शान्ति
र अहिंसाको सन्देश छर्ने नेपाली धर्ती धार्मिक रूपमा समृद्ध र सहिष्णुता रहेको विचार
सम्प्रेषण गरेका छन् । विश्वका लागि रहस्यको पर्दा खोलेको नेपाल शिरमा सगरमाथाको
ताज पहिरिएर मुस्कुराउनु , हिमाल पहाड र तराईले अथाह स्रोत र
सम्भावना बहन गर्नु आफैँमा गौरवको विषय हो । पुर्खाले आर्जन गरेको विरासत नेपाल आमाको
मुहार प्रदीप्त पार्ने काममा जुट्नु हामी सबैको परम दायित्व हो । राष्ट्र
निर्माणको युगिन् अभिभारा पूरा गर्न हामी सबैले आलस्य , निद्रा
हीनता त्यागेर लाग्नुपर्ने मनसाय कविको रहेको छ ।
अन्त्यमा कविले यस कवितामा सबै नेपालीलाई
स्वदेशमै रहेर आफ्नो श्रम र सिप राष्ट्र निर्माणमा समर्पित गर्न आह्वान गरेका छन्
। राष्ट्रप्रतिको आफ्नो कर्तव्य पूरा गर्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् ।
८ भाव विस्तार
गर्नुहोस् :
क) नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ
नेपाली भाषा संस्कृति कला साहित्य साँच्ने छ ।
उत्तर : नेपाल .....................................
साँच्ने छ ।
प्रस्तुत
हरफ हाम्रो कक्षा १० को नेपाली किताबको पाठ ८ 'नेपाली हाम्रो श्रम र सीप' शीर्षक
कवियाबाट भाव विस्तारका लागि साभार गरिएको हो । यस कविताका रचयिता मुकुन्दशरण उपाध्याय
हुन् । यस कवितामा नेपाली धर्ती ऐतिहासिक , सांस्कृतिक
तथा भौगोलिक महत्त्व झल्काइएको छ । नेपाली गौरव भाषा , कला, संस्कृति
र साहित्यको भविष्य नेपालसँग जोडिएको छ भन्ने सन्दर्भमा प्रस्तुत हरफ आएका छन् ।
नेपाली भाषा साहित्य कला र संस्कृति जीवन्त रहन नेपाल रहनु पर्छ
। भन्ने विचार प्रस्तुत गरिएको छ । नेपाली भाषा कला साहित्य र संस्कृति हाम्रा मौलिक
पहिचान हो । मौलिक पहिचानले मात्र हाम्रो गौरवपूर्ण इतिहास र विगतको रक्षा गर्छ । नेपाल
बाँच्नु भन्नुको तात्पर्य नेपाल आत्मनिर्भर रहनु हो । नेपाल आत्मनिर्भर हुन सकेमा विदेशी
हस्तक्षेप हुने सम्भावना हुँदैन जसले हाम्रो मौलिक कला साहित्य संस्कृति र भाषाले जीवन्तता
पाउँछ । मौलिकपनको रक्षार्थ हामीले आफ्नो श्रम र सिपले आफ्नै धर्तीलाई सजाउनु पर्छ
, सिँगार्नु पर्छ भन्ने भाव विचार यहाँ व्यक्त भएको छ ।
अन्त्यमा
कविले हाम्रो गौरव र पहिचानको रक्षार्थ नेपाल सक्षम र आत्मनिर्भर हुनु पर्दछ । नेपाल
र नेपालीको पहिचानसँग जोडिएको भाषा , कला, साहित्य
र संस्कृतिको संरक्षण हामी आफैँ गर्नु पर्छ । भाषा , कला
, साहित्य
, संस्कृति
, परम्परा
आदि राष्ट्रको सुरक्षित भविष्यसित जोडिएका हुन्छन् यिनको संरक्षण गर्न हामी सबैले परम्
दायित्व हो भन्ने भाव यहाँ व्यक्त भएको छ ।
ख) आशिष देऊ एकै र फेरि पसिना बगाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ।
उत्तर :- प्रस्तुत
हरफ हाम्रो कक्षा १० को नेपाली किताबको पाठ ८ 'नेपाली हाम्रो श्रम र सीप' शीर्षक
कवियाबाट भाव विस्तारका लागि साभार गरिएको हो । यस कविताका रचयिता मुकुन्दशरण
उपाध्याय हुन् । यस कवितामा नेपाली धर्ती ऐतिहासिक , सांस्कृतिक
तथा भौगोलिक महत्त्व झल्काइएको छ । सम्पूर्ण नेपालीलाई आलस्य , निद्रा, हीनता
त्यागेर राष्ट्र निर्माण कार्यमा लाग्ने प्रेरणा प्राप्त होस् भन्ने चाहना व्यक्त गर्ने
सन्दर्भमा प्रस्तुत हरफ आएको हो ।
नेपाल भौगोलिक विविधता , प्राकृतिक , सामाजिक , साँस्कृतिक तथा भाषा साहित्यका दृष्टिले सम्पन्न भए पनि विकासका
दृष्टिले पछाडि परेको छ । नेपालको श्रम र सिपले विश्वका विभिन्न फलेफुलेका छन् । आफ्नै
तागतले आफ्नो राष्ट्र विकसित तथा सम्पन्न बनाउन सकिन्छ भन्ने आत्मविश्वास कवितामा व्यक्त
भएको पाइन्छ । रोजगारीको सिलसिलामा ठूलो सङ्ख्यामा नेपाली दाजुभाइ विदेशमा श्रम र सिप
पोखिरहेका छन् । कुनै पनि देशको विकास , प्रगति, उन्नति र समृद्धिमा त्यो देशका जनशक्ति कसरी परिचालित छन् भन्ने
कुराले विशेष अर्थ र महत्त्व राख्दछ । कविले विदेसिएका सबै नेपाली स्वदेशमा रमाएर श्रम
र सिप प्रयोग गर्ने वातावरण निर्माण होस् भन्ने चाहना व्यक्त गरेका छन् । विश्वका विकसित
मुलुकको आजको विकास र प्रगति सोही देशका नागरिकको श्रम, पसिना र पौरखको उपज हो । अथाह सम्भावना बोकेको नेपालीको
विकास र समृद्धिका लागि हामीले सबै आफ्नो श्रम र सीप प्रयोग गर्नु अपरिहार्य हुन्छ
।
अन्त्यमा
कविले राष्ट्रको महत्त्वपूर्ण संसाधन मानिने मानवीय शक्ति नेपालमै प्रयोग होस् तथा
सम्पूर्ण नेपालीको श्रम र सिप नेपालको समृद्धिमा लागाउने सद्प्रेरणा वा आशिष
मिलोस् भन्ने पवित्र चाहना व्यक्त गरेका छन् ।नेपाल आमाको मुहारमा चमक ल्याउन, गौरव
र प्रतिष्ठा बढाउन सम्पूर्ण नेपाली परिचालित हुनुपर्ने भाव यहाँ व्यक्त भएको छ ।
९ श्रम र सिपलाई स्वदेशमै कसरी उपयोग गर्न सकिन्छ , कविताका आधारमा समीक्षा गर्नुहोस् ।
उत्तर:-
कवि मुकुन्दशरण उपाध्यायद्वारा लिखित
' नेपाली हाम्रो श्रम र सिप ' शीर्षक कवितामा नेपाली श्रम र सिप स्वदेशमै लगाउनु पर्ने
उत्कृष्ट विचार व्यक्त गरेका छन् । कवितामा कविले नेपाली भूमिको आर्थिक , सांस्कृतिक
तथा ऐतिहासिक महत्त्व रहेको चर्चा गरेका छन् ।
कविका विचारमा नेपाल हामी नेपालीको सान, मान, गौरव र प्रतिष्ठा हो । हाम्रो गौरव बचाउन नेपाल र यसभित्रका
भाषा , कला, साहित्य र संस्कृति बचाउनु पर्छ । यी सबै कुराका लागि हामी नेपालीले
हाम्रो श्रम र सिप नेपालको हितमा प्रयोग गरी नेपाललाई आत्मनिर्भर र बलियो बनाउने प्रयास
गर्नुपर्छ । नेपाल बलियो हुनका लागि सम्पूर्ण नेपालीले खाना र नानाको समस्याबाट मुक्त
हुनुपर्छ । यस्तो वातावरण निर्माण हुनका लागि नेपाली श्रम, सिप र पसिना यही धर्तीमा उपयोग गर्नुपर्छ । हामीसँग संसारको
शिरको ताज सगरमाथा छ । जडीबुटीको अजस्र भण्डार हिमाल छ । यसले पर्यटकीय महत्त्व
बढाएको छ । यसै गरी हामीसँग अथाह सम्भावना बोकेको तरकारी फलफूल खेती तथा पशुपालनका
लागि उपयुक्त पहाड छ । जसले श्रम र पसिनाको लागि आह्वान गरेको छ । साथै हामीसँग सुनको
बाला झुलाउने विशाल अन्नभण्डार मानिने समथर तराई रहेको छ जो सिँचाइको पर्खाइमा छ ।सबैको
सामूहिक प्रयत्न र प्रयासले नेपाली श्रम पर्यटन कृषि र पशुपालन आदिमा लगाई नेपाललाई
सम्पन्न र समृद्ध बनाउन सकिन्छ । विश्वको मुहार
फेर्न सक्ने जनशक्ति हुँदाहुँदै पनि हामीले आफूभित्रको सम्भावना र शक्तिको
परिचालनको सट्टामा रेमिट्यान्सको पर्खाईमा बस्नु पर्ने अवस्था आएको छ ।
अन्त्यमा
हामीले हाम्रो श्रम र सिपलाई पर्यटन , कृषि , पशुपालन
, खाद्यान्न
, तरकारी
तथा फलफूल खेती ,
आदिमा परिचालन गर्नुपर्छ । कलकारखाना
र उद्योग व्यवसाय सञ्चालन गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । सबै नेपालीले
रमेर काम गर्ने वातावरण तयार गर्नुपर्छ । अथाह सम्भावना बोकेको नेपाली धर्तीको गौरव
बढाउन यहाँ उपलब्ध स्रोत र समाधानको पूर्ण परिचालन हुने वातावरण तयार गर्नु पर्दछ ।