पाठ :- ११ कर्तव्य
शब्दभण्डार
१ तल दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
क) देह वा शरीरको अवसान
वा अन्त्य ------ देहावसान
ख) अड्डा वा कार्यालय रहेको भवन -------- अदालत , अड्डाखाना
ग) आवाज ननिकाली सासले मात्र अरूका कानमा भनिने गोप्य कुरो ---- कानेखुसी
घ) विवाहमा बेहुलाका साथ बेहुलीको घर जाने व्यक्तिको समूह ----- बरियाती, जन्ती
ङ) गाउँको मुख्या वा जिम्मवाल ---------- तालुकदार
च) राम्रो काम गर्नेले पाउने इज्जत वा ख्याति -------- यश , प्रसिद्धि
२ दिइएका शब्द र तिनले दिने अर्थबिच जोडा मिलाउनुहोस् :
ऋचा :- कविताका रूपमा लेखिएका वेदका मन्त्र
मङ्गलधुन :- शुभ लक्षणले युक्त लयात्मक ध्वनि
कुटुम्ब :- इष्टमित्र, नातागोता
, आफन्त
कोलाहल :- अत्यासलाग्दो अवस्था , अत्तालिँदो होहल्ला
अनिष्ट :- हानिकारक , अशुभ
निरोपण :- छानबिन , अन्वेषण
पितृ :- मरेका पुर्खा
३ दिइएका कथांशबाट उखान र टुक्का पहिचान गरी लेख्नुहोस् :
उखान :- आफू
भलो त जगतै भलो , एक कान दुई कान मैदान , चोरलाई चौतारो साधुलाई शुली , जुब्रो चिप्लो मन कालो
टुक्का :- आँखामा राखे पनि नबिझाउनु
४ दिइएका
उखान टुक्काको अलग अलग वाक्यमा प्रयोग गर्नुहोस् :
हुने बिरुवाको चिल्लो पात :- हुने बिरुवाको चिल्लो पात भने
झैँ सानैदेखि परिश्रमी , लगनशील
राम आज डाक्टर बनेर देशको सेवा गरिएको छ ।
धान खाने मुसो चोट पाउने भ्यागुतो :- कक्षा १० का विद्यार्थीले
चौरमा फुटबल खेल्दा बलले लागेर बाइकको हेडलाइट फुट्यो तर मनि सरले कक्षा ९ का विद्यार्थीलाई
गाली गर्दै हेडलाइट तिमीहरूले बनाउनुपर्छ भन्नुभयो यो त धान खाने मुसो चोट पाउने भ्यागुतो
भने जस्तै भएन र !
खाने मुखलाई जुँगाले छेक्दैन :- खाने मुखलाई जुँगाले छेक्दैन
भने झैँ कलम हराएको श्यामले साथीसँग कलम मागेर सबै गृहकार्य गरेर शिक्षकलाई देखायो
।
बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन :- वक्तृत्वकला भनेको बोल्नेको पिठो बिक्ने र
नबोल्नेको चामल पनि नबिक्ने कला हो जहाँ जसले बढीभन्दा बढी तर्क र तथ्य सिलसिलेबार
रूपमा प्रस्तुत गर्न सक्छ उसले नै विजय हासिल गर्न सक्छ ।
माया मार्नु :- रमेश आफ्नो जन्म दिने बुबाआमालाई माया मारेर
विदेशमा नै घरजाम गरेर बस्यो ।
कम्मर कस्नु :- कक्षा १०
का विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षाका लागि कम्मर कसेर लागेका छन् ।
कानमा तेल हाल्नु :- राष्ट्रपति
रनिङ सिड प्रतियोगितामा विद्यार्थी सहभागी गराउने कुरामा डाँगीहाट लिटल बुद्ध कानमा
तेल हालेर बसेको छ ।
सुइँकुच्चा ठोक्नु :- गाउँलेहरूले हार गुहार गरेपछि चोरहरूले चोरीका
माल बाटैमा छोडेर सुइँकुच्चा ठोकेछन् ।
आगो हुनु :- हाम्रो विद्यालयका प्रधानाध्यापक जुनसुकै विषयमा कुरै नबुझी
रिसले आगो हुनुहुन्छ ।
चिसो पस्नु :- शिक्षकहरूले गरेको कुराकानी सुनेर मनि सरको मनमा
चिसो पस्यो ।
बोध र अभिव्यक्ति
५ दिइएको कथांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
क ) कथांशका आधारमा वक्ताको चरित्र चित्रण गर्नुहोस् ।
उत्तर :- कथांशमा प्रमुख पात्र मुरलीधर वक्ताका रूपमा
उपस्थित भएका छन् । मुरलीधर कर्तव्यनिष्ठ पात्र हुन् । कुल घरानको इज्जत तथा मान मर्यादाप्रति
सचेत पात्र हुन् । भाइले छोराको विवाहमा निम्तो नगर्दासमेत आफ्नो कुलको मर्यादा जोगाउन
, घरानियाँ इष्टमित्रका अगाडि पारिवारिक मर्यादा कायम राख्न
क्षमाशील बनी विवाहमा सहभागी भई कर्तव्य पालन गर्ने उदार पात्र हुन् मुरलीधर । उनी
जोरीपारीको अगाडि पारिवारिक मर्यादा कायम राख्न क्रियाशील उदार पात्र हुन् ।
ख ) कथांशमा ' बाबुबाजेको मानमर्यादा डुब्न लाग्यो ' भन्नुको आशय खुलाउनुहोस् ।
उत्तर :- बाबुबाजेको मानमर्यादा डुब्न लाग्यो भन्नुको
आशय बाबुबाजेले समाजमा आर्जन गरेको इज्जत तथा मान सम्मानमा आँच आउन लाग्यो भन्ने
हो ।
६ . दिइएको
कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
क ) कथांशमा म पात्रले पश्चाताप गर्नुको कारण के हो ?
उत्तर :- कथांशमा म पात्रले कानुनी प्रावधान र राजनीतिक
आडमा मर्ने वेलामा बाबुले दिएको वचनको पालना नगरी अन्याय र अत्याचार गरेको तथा छोराको
विवाहमा समेत नडाकेकोमा पश्चाताप गरेका हुन् ।
ख ) मुरलीधरले भाइप्रति कस्तो व्यवहार देखाए ?
उत्तर :- मुरलीधरले आफ्ना भाइ श्रीधरसँग उदारता,
हार्दिकता र क्षमाशील व्यवहार प्रदर्शन गरी रगतको सम्बन्ध र भ्रातृत्व
सबै सम्बन्धभन्दा माथि हुने खालका सन्देश दिने व्यवहार देखाए ।
ग ) सिकिस्त भएपछि मात्र उपचार गर्न लानु ठिक हो , तर्क गर्नुहोस् ।
उत्तर :- सिकिस्त भएपछि मात्र उपचार गर्न लानुलाई कुनै
अवस्थामा ठीक मान्न सकिँदैन । रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु नै बेस हुन्छ । प्रारम्भिक
अवस्थामा औषधि उपचारको प्रबन्ध गरेमा रोग निको सम्भावना हुन्छ । तर अन्धविश्वास ,
गरिबी र अभावका कारण नेपाली समाजमा कोही पनि बिरामी पर्दा पनि समयमै
अस्पताल लाने परम्परा छैन । सिकिस्त भएपछि मात्र उपचारमा लाने गर्दा एकातिर
बिरामीको जीवन सङ्कटमा पर्ने र अर्कातर्फ खर्चमा समेत वृद्धि हुन जान्छ ।
घ ) ' हृदयमा दु:खको कोलाहल मच्चिनु ' को आशय खुलाउनुहोस् ।
उत्तर :- 'हृदयमा दु:खको कोलाहल
मच्चिनु को आशय मनमा अत्यन्त दु:खको अनुभव हुनु वा मन दुख्नु
, चित्त काटिनु भन्ने हो ।
९ . दिइएका प्रश्नको
उत्तर दिनुहोस् :
क ) कर्तव्य कथाका मुरलीधर र श्रीधरका
चारित्रिक विशेषता लेख्नुहोस् ।
उत्तर :- नेपाली साहित्यका प्रथम आधुनिक कथाकार गुरुप्रसाद
मैनालीद्वारा लिखित कर्तव्य पारिवारिक घटना तथा समस्यामा आधारित सामाजिक कथा हो । यस
कथामा मुख्या गङ्गाधरका दुई भाइ छोरा मुरलीधर र श्रीधर पात्रका रूपमा रहेका छन् ।
मुरलीधर :- मुरलीधर 'कर्तव्य ' कथाका प्रमुख एवं लेखकका
मुख पात्र हुन् । कथामा आदर्श भूमिका प्रस्तुत मुरलीधर पण्डित गङ्गाधरका जेठा छोरा
तथा कथाका प्रमुख पात्र हुन् । धोती माथि लवेदा , लवेदामाथि सेतो
पटुका , शिरमा मखमलको रातो टोपी , काँधमा
च्यादर, ललाटमा चन्दन उनको नियमित परिधान हुन्थ्यो । जिल्लाभर
मुरली पण्डितका नाममा उनी विख्यात थिए । यिनी अरूलाई सताउनु महापाप हो भनी ठान्थे ।
कथामा उनको भूमिका आदर्श पिताका आदर्श पुत्रका रूपमा रहेको छ । उनी पुर्खाको गौरवप्रति
सदैव सचेत रहने कर्तव्यपरायण , क्षमाशील , सहयोगी , भावुक पात्र हुन् ।
श्रीधर :- पण्डित गङ्गाधरका कान्छा छोरा श्रीधर कथाका
सहायक पात्र हुन् । जिल्लाभर शर्मा जी का नामले परिचित श्रीधर आफूलाई प्रगतिवादी भन्न
रुचाउँथे । पूजापाठ गर्नु , तिलक लगाउनुलाई दासत्त्व ठान्थे ।लामो
बुलबुल पाल्ने श्रीधर राजनीतिक पार्टीका सदस्य , ग्राम विकासका
प्रधान थिए । उनले मर्नेवेलामा आदर्श पिताले दिएको वचन उल्लङ्घन गरी दाजुमाथि कानुनको
आडमा अन्याय गरेका छन् । एकमात्र छोरो शशिधरको विवाहमा दाजुलाई डाक्न आवश्यक
नठान्ने श्रीधर अभिमानी , अहङ्कारी , घमण्डी
तथा पूर्वाग्रही पात्र हुन् । आफूले नडाके पनि मुरलीधर विवाहमा सहभागी भई कर्तव्य पालना गरेको थाहा
पाएपछि उनलाई आफ्नो कमजोरी बोध भएको र दाजुलाई बोलाएर माफी माग्नुबाट उनी हतारमा
निर्णय गरेर फूर्सदमा पछुताउने पात्र हुन् । आफ्नो कमजोरी महसुस गरी दाजुसँग माफी
माग्ने श्रीधर परिवर्तनशील तथा गतिशील चरित्र हुन् ।
ख ) कथामा दाजुभाइबिचको सम्बन्धलाई कुन रूपमा देखाइएको छ , लेख्नुहोस् ।
उत्तर :- आदर्शोन्मुख यथार्थवादी कथाकार
मैनालीद्वारा लिखित 'कर्तव्य ' कथामा नेपाली समाजमा जिउनीको विषयलाई लिएर हुने दाजुभाइ
बिचको द्वन्द्व र विवादलाई विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ । कथामा पात्रहरू
मुरलीधर र श्रीधरले सम्पत्तिको मोहमा परेर आफ्नो रगतको सम्बन्ध बिर्सिएका छन् । उनीहरूले
बाबुको निधनपछि जिउनी खेतको विषयलाई लिएर भाइ भए भरोसलाई बिर्सेका छन् । दाजुभाइबिचको
झगडाले उनीहरूले बोलचाल बन्द मात्र छैनन् आवतजावत पनि बन्द गरेका छन् । दाजुभाइको सम्बन्ध
पानी बाराबारको अवस्थामा पुगेको छ । शशिधरको विवाहपछि दुवै भाइको मनस्थितिमा परिवर्तन
आएको छ । मुरलीधरको क्षमाशीलता र कर्तव्यपरायणताबाट श्रीधरको मन र स्वभाव बदलिएको
छ । उनले आफ्नो गल्ती महसुस गरी बिरामी अवस्थामा दाजुलाई बोलाएर माफी माग्ने साहस गरी
सम्बन्ध सुधारको प्रयास गरेका छन् । चारवर्षपछि दाजुभाइको पुनर्मिलन र दाजुले भाइलाई
औषधोपचारका लागि लिएर हिँडे भन्ने सुनिनुले दाजुभाइ अर्थात् रगतको सम्बन्ध अन्य सम्बन्धभन्दा
उच्च र माथि हुने देखाएको छ । कथाको समापनको घटनाले दाजुभाइबिचको सम्बन्ध सुमधुर र
प्रगाढ , निस्वार्थ र आत्मीय हुनु पर्ने तथ्य उजागर गरेको छ ।
ग ) मुरलीधर र श्रीधरको विवाद नभएको र सम्बन्ध नबिग्रेको भए के हुन्थ्यो होला
? अनुमान गर्नुहोस् ।
उत्तर :- कथामा कथाकारले मुरलीधर र श्रीधरको विवाद तथा
मुरलीधरको भूमिकामार्फत आदर्शको सन्देश दिएका छन् । यदि दाजुभाइको विवाद नभएको भए उनीहरू
महान् पिताको विरासत जोगाउन सफल हुन्थे । श्रीधर दाजुलाई अभिभावक मानेर उनको सल्लाहअनुसार
राजनीतिमार्फत समाज सुधारका कार्यमा सहयोग गर्थे । दुवै दाजुभाइ मिलेर बाबुले झैँ दु:ख सुखमा गाउँलेलाई सहयोग गर्थे ।सारा गाउँलेहरू दाजु होस् त मुरलीधर जस्तो
भाइ होस् त श्रीधर जस्तो भनी चर्चा गर्थे । सारा गाउँका ।मानिसहरू उनीहरूको दया,
माया, करुणा र सहयोगको जयजयकार गरिरहेको हुन्थ्यो
भन्ने अनुमान गर्न सकिन्छ ।
घ ) कर्तव्य कथाको सन्देश के हो ?
उत्तर :- पारिवारिक घटना तथा सामाजिक समस्याको सजीव
चित्र उतारिएको कर्तव्य कथाका माध्यमबाट कर्तव्यको पालनाले मानिसको बडप्पन सिद्ध
हुन्छ , पारिवारिक प्रतिष्ठा तथा गौरवको रक्षाको विषय धनसम्पत्तिको
सम्बन्धभन्दा उच्च हुन्छ भन्ने सन्देश प्रदान गरिएको छ । कथामा कथाकारले अंशबण्डा र
जीउनीको विषयलाई लिएर दाजुभाइमा उत्पन्न विवाद र बोलचाल आवतजावतसमेत बन्दको अवस्था
सिर्जना भएको घटना प्रस्तुत गरेका छन् । कथाकारले मुरलीधरलाई विना निम्तोको विवाहमा
सहभागी गराएर मानिसलाई आआफ्नो पारिवारिक मर्यादा र कर्तव्यप्रति सचेत हुन आग्रह
गरेका छन् । भाइ बिरामी भएको सुन्ने बित्तिकै भाइको घर गएर क्षमाशील चरित्र देखाउने
, दाजुसँग आफ्नो गल्तीको महसुस गरी माफी माग्ने र भाइका यावत्
अन्याय , अत्याचारलाई पैतालाले कुल्चिएर अन्तिम अवस्थामा मुरलीधरले
उपचारका लागि लिएर हिँड्नुले भ्रातृत्वप्रेमको सन्देश दिएको छ । धनसम्पत्तिका विषयमा
पारिवारिक द्वन्द्व वा विवाद उत्पन्न भयो भन्दैमा मानिसले आफ्नो कर्तव्य र जिम्मेवारीबाट
विचलित हुनु नहुने सन्देश दिएको छ । कथाले दया, माया,
प्रेम, सद्भाव र क्षमाशीलताले कठोर र अन्यायी व्यक्तिको
मन बदल्न सकिने र धन सम्पत्तिभन्दा मानवीय सम्बन्ध महान् हुन्छ भन्ने सन्देश प्रवाह
गरिएको छ ।
११ . व्याख्या गर्नुहोस् :
क ) उनको देहावसानले न्यायको बत्ती निभ्यो , अनाथ
अशक्तको आशास्तम्भ ढल्यो , गाउँका धन्वन्तरि अस्ताए ।
उत्तर :- उनको देहावसान .............................................................
अस्ताए ।
प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको कर्तव्य शीर्षक कथाबाट
व्याख्याको लागि साभार गरिएको हो ।यस कथाका रचयिता गुरुप्रसाद मैनाली हुन् । प्रथम
आधुनिक कथाकार गुरुप्रसाद मैनालीका कथामा नेपाली समाजको जीवन्त चित्रण पाइन्छ । पारिवारिक
घटना तथा सामाजिक समस्यालाई विषयवस्तुका रूपमा प्रस्तुत गरिएको यस कथामा कर्तव्यको
पालना र भ्रातृत्वप्रेमको उत्कृष्ट सन्देश दिइएको छ । कथाका प्रमुख पात्र मुरलीधरका
पिता ग्रामपिताका रूपमा सम्मानित पण्डित गङ्गाधरको मृत्युमा सारा गाउँ शोकमग्न भएको
, गाउँले सहयोगी अभिभावक
गुमाएको सन्दर्भमा माथिको वाक्य आएको हो ।
गङ्गाधर गाउँका तालुकदार
भए पनि मुखिया बा का रूपमा परिचित थिए । उनमा आफ्नो सम्पन्नता , वैभव र सम्मानप्रति कुनै अभिमान थिएन । आफ्नो विपूल सम्पत्ति सारा जनताको थाती
हो भन्थे । उनी बाँचुन्जेल कोही अन्यायमा परेनन् , कोही भोकै
मर्नु परेन । सुत्केरी भोकै परेमा वा कसैको चुलो नबलेमा घरमै बोलाएर चाहिए जति अन्नपैसा
दिएर पठाउनु उनको गुण थियोे । उनी गाउँका बालबालिका , वृद्धवृद्धा
सबैका प्रिय थिए । उनको निधनमा भोकानाङ्गा र दु:खी दरिद्रहरूले
बाबू मरेको महसुस गरे भने बुढाबुढी र असहायले आफ्नो टेक्ने लौरो भाँचिएको ठाने । अनाथ
अशक्तको आशास्तम्भ ढलेको अनुभूति गरियो । न्यायमूर्ति
गङ्गाधरको निधनले न्यायको बत्ती निभेको महसुस भयो । गङ्गाधर सारा गाउँको समस्याको समाधान
थिए । उनको निधनमा दस गाउँका मानिस दु:खी भए । गाउँदेखि
खोलासम्म मलामीको लर्को लाग्यो ।
निष्कर्षमा
बाँचुञ्जेल सारा दु:खी दरिद्रहरूको
सहयोग गरेका महान् आत्माको मृत्युले सबैलाई अपूरणीय क्षति पुगेको, सबैको आफ्नो भरोसा गुमाएको भाव यहाँ व्यक्त गरिएको छ । कर्मले स्थापित
मानिस बाँचुञ्जेल त सबैबाट सम्मानित हुन्छन् नै मरेपछि पनि सबैले स्मरण गरिरहन्छन्
त्यसैले राम्रो कर्मले मानिसलाई सबैको प्यारो आदरणीय बनाउने र सम्मान दिलाउने भाव यहाँ
व्यक्त भएको छ ।
ख ) कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ
, मानिस
चाहिँ ज्ञानवान् हुनाले बखतमौका विचार गरेर आफैँ पनि जानुपर्छ ।
उत्तर :- कुकुर अज्ञानी ................................................................
आफैँ पनि जानुपर्छ ।
प्रस्तुत
वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको कर्तव्य शीर्षक कथाबाट व्याख्याको लागि साभार
गरिएको हो ।यस कथाका रचयिता गुरुप्रसाद मैनाली हुन् । प्रथम आधुनिक कथाकार
गुरुप्रसाद मैनालीका कथामा नेपाली समाजको जीवन्त चित्रण पाइन्छ । पारिवारिक घटना तथा
सामाजिक समस्यालाई विषयवस्तुका रूपमा प्रस्तुत गरिएको यस कथामा कर्तव्यको पालना र भ्रातृत्वप्रेमको
उत्कृष्ट सन्देश दिइएको छ । कथाका प्रमुख पात्र मुरलीधरले आफ्नी श्रीमती कमलालाई कुलको
मर्यादा तथा कर्तव्य पालना सम्झाउने क्रममा उक्त वाक्य आएको हो ।
मानिसले पशुवत् व्यवहार
गर्नु नहुने, बखतमौका विचार गरी आफ्नो भूमिका निर्वाह
गर्नुपर्ने विचार व्यक्त गरिएको छ । कथाका प्रमुख पात्र मुरलीधर र उनका सहोदर भाइ श्रीधर
बिच जिउनी खेतको विषयलाई लिएर बोलचाल बन्द भई पानी बाराबारको अवस्था सिर्जना भयो ।
अभिमान , अहङ्कार र प्रतिशोधका कारण श्रीधरले आफ्नो एकमात्र छोरो
शशिधरको विवाहमा दाजु मुरलीधरलाई बोलाउन आवश्यक ठानेनन् ।सारा इष्टमित्रको उपस्थितिमा
सम्पन्न हुने विवाहमा मुरलीधरलाई निम्तो दिएनन् ।
आफ्नै घरको झ्यालबाट दुलाहा अन्माएर बरियाँती जानेको अवलोकन गरिरहेका मुरलीधरले
जन्तीमा अल्लारे ठिटो मात्र देखे । साथै उनले दुलाहाको बाबू फलैँचामा पल्टिरहेको दृश्य
समेत देखे । मुरलीधरले दुलहीको घरमा उपस्थित भई कुल परम्पराअनुसार विवाह सम्पन्न
गराउने भरपर्दो पात्र नदेखेपछि विना निम्तो नै जन्त जाने निर्णय गरे । श्रीमती कमलाको
नबोलाइकन त कुकुर समेत नजाओस् भन्ने वाक्यसहितको असन्तुष्टिलाई सम्बोधन गर्दै
मुरलीधरले कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जानु स्वभाविक हो तर मानिस ज्ञानवान्
, चेतनशील र विवेकशील प्राणी भएकाले बखतमौका विचार गरेर कहाँ
जाने र कहाँ नजाने भन्ने निर्णय गर्नु पर्ने विचार व्यक्त गरेका छन् । पुर्खाको गौरव
इज्जत र प्रतिष्ठा जोगाउन कर्तव्य पालन गर्न मानिस चुक्न नहुने आदर्श विचार प्रस्तुत
वाक्यमा व्यक्त भएको छ ।
निष्कर्षमा
मानिसले समय परिस्थितिलाई मूल्याङ्कन गरेर निर्णय लिनुपर्छ । पारिवारिक प्रतिष्ठा , कुलको मर्यादाको रक्षार्थ सबै खालका वैमनस्यता
त्यागेर अगाडि बढ्न सक्नुपर्छ । कर्तव्य पालनाले मानिसको मर्यादा , गौरव र बडप्पन वृद्धि हुन्छ । नाता सम्बन्ध बलियो बनाउन सबैखाले आग्रह
पूर्वाग्रह त्याग गर्न सक्नुपर्ने , सकारात्मक सोच र क्षमाशील
व्यवहारले नातासम्बन्ध बलियो बनाउन सकिने भएकाले मानिसले परिस्थितिलाई मूल्याङ्कन
गरी आफ्ना पाइला अगाडि बढाउनुपर्ने भाव उक्त वाक्यमा व्यक्त भएको छ ।
१२ . "कर्तव्य " कथामा श्रीधर
र मुरलीधरमध्ये कसको पक्ष लिनुहुन्थ्यो , किन ?
उत्तर :- गुरुप्रसाद मैनालीद्वारा लिखित "कर्तव्य " कथाका पात्रहरू
श्रीधर र मुरलीधर सिङ्गो नेपाली समाजको प्रतिनिधि पात्र हुन् । नेपाली समाजमा दाजुभाइका
बिचमा जिउनीको विषयमा हुने विवाद र मनमुटावलाई कथाको विषयवस्तुको रूपमा प्रस्तुत गरिएको
छ ।
कथामा मुरलीधर र श्रीधरको
भूमिकामार्फत सत् र असतको द्वन्द्व देखाउँदै कर्तव्य पालना र भ्रातृत्वको सन्देश
दिइएको छ । यदि मैले यी दुई प्रवृत्ति बिच पक्ष लिनु पर्ने अवस्था आएमा दस गाउँको सम्मान
र प्रतिष्ठा कमाएका बाबुको अन्तिम आज्ञाको अवज्ञा गर्ने , धर्मकर्ममा
विश्वास नराख्ने , राजनीति र कानुनी आडमा पारिवारिक प्रतिष्ठालाई
धुलोमा मिलाउने नास्तिक चरित्रको श्रीधरभन्दा अरूलाई सताउनु महापाप ठान्ने ,
धर्म र संस्कृतिप्रति आस्थावान, कर्तव्यपालक र
क्षमाशील मुरलीधरको पक्षमा उभिन्थेँ । बिरामी परेपछि आत्मसमर्पण गर्दै दाजुको शरणमा
परेका श्रीधरका सारा अन्याय , तिरस्कार र अपमानलाई बिर्सेर दया,
माया, क्षमा र करुणाको खानी बनेर भाइलाई औषधोपचारका
लागि लिएर हिँड्ने कर्तव्यपरायण मुरलीधरको पक्षमा उभिनु नै मेरो धर्म हुने थियो ।
१३ . "कर्तव्य" कथामा नेपाली समाजको
वास्तविकतालाई कसरी दर्साएको छ, विवेचना गर्नुहोस् ।
उत्तर :- गुरुप्रसाद मैनालीद्वारा
लिखित कर्तव्य पारिवारिक घटना तथा समस्यामा आधारित उत्कृष्ट सामाजिक कथा हो । यस कथामा
नेपाली समाजको वास्तविकतालाई जीवन्त चित्रण गरिएको छ । कथाले कर्तव्य परायण आदर्श
समाज निर्माणको परिकल्पना गरेको छ । कथामा मुरलीधर र श्रीधरका बिचमा जीउनीको विषयमा
उठेको विवादका माध्यमबाट नेपाली समाजमा हुने दाजुभाइको मनमुटाव , झगडा र कर्तव्यपालनाको सन्दर्भलाई विषयवस्तुका
रूपमा प्रस्तुत गरिएको छ ।
कथाको प्रारम्भमा गङ्गाधरको
समाजसेवी र सहयोगी व्यक्तिको सत्कर्मको प्रसङ्गबाट नेपाली समाजमा रहेको परसेवा अर्थात्
सेवा ही परमो धर्म को चर्चा गरिएको छ । नेपाली समाजमा रहेका मर्दा र पर्दा सहयोग
गर्ने प्रचलन मुखिया गङ्गाधरको सहयोगी र दानी चरित्रबाट उजागर गरिएको छ । उनको मृत्युमा
गाउँदेखि खोलासम्म मलामीको लर्को लागेको सन्दर्भ उल्लेख गरी जिउँदामा सबैलाई सहयोग
गर्न सकेमा मरेपछिका लागि पनि मलामी कमाउन सकिने वास्तविकता झल्किएको छ । कथामा नेपाली
समाजमा छोराहरू भिन्न हुँदा बुबाआमाको वृद्ध अवस्थाको संरक्षण र हेरचाहका लागि जिउनी
राख्ने परम्परा तथा बाबुआमाको शेषपछि जिउनीको विषयलाई लिएर दाजुभाइका बिचमा उत्पन्न
हुने मनमुटाव , वादविवादलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ
। गाउँघरका सामान्य वादविवाद गाउँमै बसेर छिनोफानो गर्ने परिपाटीको चित्र पनि कथामा
उतारिएको छ । मुखिया गङ्गाधरको आँगनमा दश
गाउँका मानिस न्यायको अपील गर्न उपस्थित हुने र मुखियाको सुझबुझ पूर्ण फैसलाबाट सबैको
चित्त बुझ्ने र मुखियाको निधनपछि त्यही आँगनमा छोराहरूको विवादमा मानिस जुटाइएको घटना
पनि नेपाली समाजको वास्तविकता हो ।
दाजुभाइको झगडाले बोलचाल तथा
आवतजावत बन्द हुनु , दाजुभाइको झगडामा समाजको मत विभाजन हुने
अवस्था नेपाली समाजका वास्तविकता हो । मागी विवाह विवाहमा इष्टमित्र नरनाता,
छरछिमेकलाई आमन्त्रण गर्नु , घर आँगनमा तोरण आदि
टाँगेर सजाउनु नेपाली समाजको सांस्कृतिक पक्ष हो । विवाहमा बरियाँत जाने , रात राख्ने परम्परा तत्कालीन नेपाली समाजको वास्तविकता हो । समयक्रमसँगै समयले
बनाएका घाउ पुरिँदै जाने दाजुभाइको झगडा पनि सेलाउँदै जाने र कुनै घटनाले पूनर्मिलन
गराउने , परेका बेला एकआपसमा सहयोगका लागि तयार हुने अवस्था
कथामा चित्रित गरिएको छ । यसरी कथाले नेपाली समाजमा रहेको धन सम्पत्तिभन्दा रगतको सम्बन्ध
महत्त्वपूर्ण हुने र भ्रातृत्वप्रेमको नेपाली सामाजिक व्यवहारको सजीव चित्र उतारेको
पाइन्छ ।
१४ . तपाइँलाई कर्तव्य कथामा व्यक्त कुन
कुन कुरा मन पर्यो ? मन पर्नुका कारणसहित आफ्नो प्रतिक्रिया दिनुहोस् ।
उत्तर :- गुरुप्रसाद मैनालीद्वारा
लिखित "कर्तव्य " पारिवारिक घटना तथा समस्यामा आधारित उत्कृष्ट सामाजिक
कथा हो । कथाका पात्रहरू श्रीधर र मुरलीधर
सिङ्गो नेपाली समाजको प्रतिनिधि पात्र हुन् । नेपाली समाजमा दाजुभाइका बिचमा जिउनीको
विषयमा हुने विवाद र मनमुटावलाई कथाको विषयवस्तुको रूपमा प्रस्तुत गरिएको छ ।
मलाई यस कथामा मुखिया
गङ्गाधरको समाजसेवी तथा अभिभावकीय व्यवहार , मुरलीधरको क्षमाशील
तथा कर्तव्यपरायण व्यवहार तथा श्रीधरको सोचमा आएको सकारात्मक परिवर्तन आदि पक्ष मन
पर्यो । मुखिया गङ्गाधर गाउँका तालुकदार थिए । उनी सम्पन भएपनि कहिल्यै उनको व्यवहारमा
अभिमान देखिएन । सधैँ जनताको दु:खसुखमा साथ दिए , कसै भोकै पर्न र अन्यायमा पर्न दिएनन् । उनको व्यवहार र चरित्रका कारण ग्राम
पिताका रूपमा सम्मानित भए । मर्दा पनि गाउँदेखि खोलासम्म मलामीको लर्को कमाउने गङ्गाधरको
आदर्श र सहयोगी चरित्र मन पर्नु स्वभाविकै हो ।