कक्षा नौ पाठ दुई स्वाद

 



पाठ :- दुई   स्वाद

                            ध्रुवचन्द्र गौतम ( वि.सं. २००१ पुस २)

                            पिता :- गोविन्दचन्द्र गौतम

                                                             माता :- दीपवती देवी गौतम

   शब्दभण्डार

१)    दिइएका शब्दको अर्थ लेख्नुहोस् :

बहाली :- नयाँ, पद, ओहदा, अधिकार आदि सम्हालने काम

गर्व   :- अभिमान , घमण्ड

फारो  :- थोरै पैसाले वा सीमित वस्तुले आवश्यक वा बढी काम चलाउने किफायती काइदा, मितब्ययिता

भाउ  :- दल , मोल

ज्यास्ती :- ज्यादा

नोक्सानी :- नोक्सान भएको अवस्था

अड्डी  :-  जिद्दी , ढिपी

तोड  :- आघात , मानसिक चोट

टोकरी :- बाँसका चोयाले बुनेको एक किसिमको सानो डाली

 

      ३ कथामा प्रयोग भएका निम्न लिखित टुक्काको अर्थ बुझी वाक्यमा प्रयोग गर्नुहोस् :

खोटो हुनु :- गरिब हुनु नै खोटो हुनु त होइन नि !

अड्डी कस्नु :- हरेक कुरामा अनावश्यक अड्डी कस्नु राम्रो होइन ।

मुखमै झुन्डिनु :- आमाले पकाएको तरकारीको स्वाद त सधैँ मेरो मुखमै झुन्डिएको हुन्छ ।

सेखी झिक्नु :-  श्रीमानले श्रीमतीसँग र श्रीमतीले श्रीमानसँग सेखी झिकेर के फाइदा छ र !

६ दिइएका अनुकरणात्मक शब्द र तिनले जनाउने कार्यबीच जोडा मिलाउनुहोस्

  फटाफट :- हिँड्नु            घ्याच्च  :-  रोक्किनु

 गम्लङ्ङ :- ओढ्नु           कपाकप  :-  खानु

छ्याङ्ग  :- उज्यालो हुनु       गलल्ल  :- हाँस्नु

हुरुरुरु  :- हावा चल्नु

४ स्वाद कथाको संरचनासँग सम्बन्धित प्रश्नको उत्तर भन्नुहोस् :

क)   कथाको प्रारम्भ कुन सन्दर्भबाट गरिएको छ ?

उत्तर :- कथाको प्रारम्भ साबुन सकिएर नुहाउन नपाएको सन्दर्भबाट गरिएको छ ।

ख)  कथाको संवादमा कति जना पात्र उपस्थित छन् ?

उत्तर :- कथाको संवादमा चार जना पात्र उपस्थित छन् ।

ग)    कथाको अन्त्य कुन घटनाबाट भएको छ ?

उत्तर :- कथाको अन्त्य माछा किन्दा लिएको पैँचो अर्कोसँग पैँचो लिएर तिर्ने घटनाबाट भएको छ ।

घ)   कथाले कहाँको परिवेश अँगालेको छ ?

उत्तर :- कथाले सहरमा साधारण जागिर गरेर जीवन व्यतीत गर्ने गरिब परिवारको परिवेश अँगालेको छ ।

५ दिइएको कथाको अंश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

क)   आफ्नो जागिरप्रति 'ऊ' पात्रको धारणा कस्तो थियो ?

उत्तर :- काम नपाएर कति फाल्टु भएर बसिरहेकामा उसले काम पाएको थियो र तलब पाएका दिन खुसी हुने भएकाले आफ्नो जागिरप्रति 'ऊ' पात्रको धारणा सकारात्मक थियो ।

ख)  पात्रले नुहाउन नसक्नाको कारण के हो ?

उत्तर :- पात्रले नुहाउन नसक्नाको कारण साबुन सकिनु थियो ।

ग)    श्रीमती किन कोठाभित्र पसिन् ?

उत्तर :- श्रीमती घरखर्चको हिसाब गर्न कोठाभित्र पसिन् ।

घ)    अनुच्छेदमा रहेको 'एउटा पद आजीवन पाउनु' भन्नुको आशय के हो ?

उत्तर :- अनुच्छेदमा रहेको 'एउटा पद आजीवन पाउनु' को अर्थ बहाली भएको पदबाट पदोन्नति नहुनु, सधैँ त्यही पदमा रहिरहनु भन्ने हो ।

८ दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

क)   स्वाद कथाको लोग्ने र स्वास्नी पात्रका चारित्रिक विशेषताको तुलना गर्नुहोस् ।

उत्तर :- स्वाद कथाको लोग्ने मुख्य पुरुष पात्र हो । कथामा ऊ सकारात्मक चरित्रको पात्रको रुपमा रहेको छ । ऊ साधारण कारिन्दारको जागिर गरेर जीविकोपार्जन गरिरहेको पात्रका रुपमा रहेको छ । जागिरबाट प्राप्त हुने आम्दानीले उसले घरव्यवहार दु:ख सुख गरेर चलाइरहेको हुन्छ । ऊ साबुन नभइकन नुहाउँदैन । गरिबीको पीडा महसुस गरेकाले गरिबीलाई घृणा गर्दछ । त्यस्तै यस कथाको अर्को पात्र उसकै श्रीमती हो । श्रीमती साबुन नभए पनि नुहाउनुपर्छ भन्ने विचार राख्दछे । गरिबलाई सधैँ साबुन लगाएर नुहाउने अवसर जुर्दैन भन्ने उनको धारणा रहेको हुन्छ । ऊ घर व्यवहार चलाउन सिपालु महिला हुन्छे । सामान्य लेखपढ पनि गरेकी हुन्छे । यसरी स्वाद कथाका लोग्ने र स्वास्नी पात्रका चारित्रिक विशेषताको तुलना गर्न सकिन्छ ।

ख)  कथामा नेपाली समाजको आर्थिक समस्यालाई कसरी चिनाएको छ ?

उत्तर :- कथाकार ध्रुवचन्द्र गौतमद्वारा लेखिएको 'स्वाद' कथामा नेपाली समाजको आर्थिक समस्यालाई चिनाएको छ । कथामा एउटा सामन्य आयआर्जन भएको परिवारको समस्यालाई दर्साएको छ । कारिन्दाको काम गरेर प्रत्येक महिना प्राप्त हुने रकम उक्त परिवारको आधारभूत आवश्यकता पूरा गर्न प्रयाप्त हुँदैन । मीठो खाने राम्रो लगाउने , सन्तानका आवश्यकता पूर्ति गर्ने जस्ता कुरामा समस्या आउँछ । आम्दानी सीमित भएको तर आवश्यकता असीमित भएको हुँदा सधैँ अभावैअभाव जीवन जीउन बाध्य लोग्ने स्वास्नीको गरिबीको पीडालाई कथामा प्रस्तुय गरिएको छ ।

ग)   कथाको मुख्य सन्देश के हो ?

उत्तर :- कथाकारले स्वाद कथामा लोग्ने पात्रका माध्यमबाट कर्मचारीको जागिरे मनोवृत्तिको चित्रण गरेका छन् । नेपाली पुरुष प्रधान समाजमा महिलाहरू पुरुषकै आम्दानीमा आश्रति हुनु परेको वास्तविकतालाई औल्याएको छ । कर्मचारीले एक पटक सेवामा प्रवेश गरिसकेपछि  वृत्तिविकासका अवसरहरू खोजी नगरी सोही पदमा अल्झिरहने निष्क्रिय जीवनशैली प्रस्तुत गरिएको छ । यस्ता कर्मचारीलाई आफ्नो सिमित कमाइबाट परिवारको आधारभूत आवश्यकता पूरा गर्न धौ धौ परेको देखिन्छ । बजारमा महँगी बढ्दै गएको छ तर कर्मचारीको तलब बढेको छैन । निम्न आयस्रोत भएका कर्मचारीलाई कहिलेकाही मीठोमसिनो खानसमेत कठिनाइ परेको तितो यथार्थले कथामा स्थान पाएको छ । यसै सन्दर्भमा तलब बुझेको दिन सापटी गर्नुपर्ने दयनीय अवस्थाको चित्रण भएको छ । अत: निम्न स्तरका कर्मचारीको आयस्रोत र यसले गुजारा चलाउन परेको कठिनाइको मार्मिक चित्रण नै स्वाद कथाको मुख्य सन्देश हो ।

 

११ स्वाद कथामा हाम्रो समाजमा कस्ता सामाजिक तथा सांस्कृतिक विषयको चर्चा गरिएको छ, भन्नुहोस् ।

उत्तर :- कथाकार ध्रुवचन्द्र गौतम( वि.सं. २००१) द्वारा लिखित 'स्वाद' कथा सामाजिक विषयवस्तुमा आधारित कथा हो । यस कथाकार गौतमले सहरमा सामान्य जागिर जीवन गरेर जीवन निर्वाह गर्ने र तलब आएका बेला किनमेल गरेर महिनाभरिको स्वाद तृप्त पार्ने नेपाली निम्न वर्गीय परिवारका यथार्थ कथा प्रस्तुत गरेका छन् ।

कार्यालयमा सामान्य कारिन्दाको जागिर गर्ने लोग्ने साबुनविना नुहाउँदैन र गरिबीलाई प्रत्येकले घृणा गर्नु पर्ने कुरा गर्छ । स्वास्नी सबै गरिबले साबुन देख्नसमेत नपाउने हुँदा सामान्य आयआर्जन भएका व्यक्तिले कहिलेकाही साबुन नभए पनि नुहाउनु पर्ने कुरा गर्छे । लोग्ने ननुहाइकन कार्यालय जान्छ । आजसम्म उसको पदोन्नति भएको छैन । पदोन्नति नभए पनि बेरोजगार बस्नु नपरेकामा उसलाई महिनाको अन्त्यमा थाप्ने  तलबले गर्व गर्ने प्रेरणा दिइएको छ । सोचेभन्दा धेरै तलब आएपछि लोग्ने खुसी हुँदै घर जान्छ र स्वास्नीसित किनमेलका लागि बजार जान्छ । स्वास्नीले बनाएको लिस्टअनुसार उनीहरू सामान किन्दै जान्छन् । अन्त्यमा खसीको मासु किन्ने कुरा हुँदा पैसाको अभावमा माछा किन्ने निधो गर्छन् । माछा किन्न पनि पैसा नपुगेपछि स्वास्नीले आफ्नी साथी शोभासँग सापटी मागेर माछा किन्छन् र सानो छोरासहित खुसी हुँदै घर गएर पकाएर स्वादपूर्वक खान्छन् । अब त्यो खुसी त्यो घरमा अर्को महिना तलब आएपछि मात्र आउँछ ।

निष्कर्षमा कथाकार ध्रुवचन्द्र गौतमले स्वाद कथामा यसरी नेपाली समाजका विविध सामाजिक तथा सांस्कृतिक विषयको चर्चा गरेका छन् । सामान्य कारिन्दाको परिवारको जीवनशैलीमार्फत गरिबीको अभिव्यक्त गरेका छन् ।

१२ व्याख्या गर्नुहोस् :

# आफूले भोग्नै पर्यो भन्दैमा गरिबीलाई सुम्सुम्याउने त ? म घृणा गर्छु । प्रत्येक गरिबले आफ्नो गरिबीसित घृणा गर्नै पर्छ ।

उत्तर :-            माथिको वाक्य हाम्रो कक्षा नौ को नेपाली कितावको 'स्वाद' कथा शीर्षकबाट व्याख्याको लागि साभार गरिएको हो । यस कथाका रचयिता ध्रुवचन्द्र गौतम(वि.सं. २००१) हुन । सामाजिक विषयवस्तुमा आधारित यस कथामा गरिबहरुले आफ्नो जीवनशैली भोग्नु परेका समस्यालाई यथार्थ रुपमा प्रस्तुत गरिइको छ । माथिको वाक्य लोग्नेले स्वास्नीलाई दिइएको जवाफ हो ।

                     साबुन सकिएकाले किनेर ल्याएपछि मात्र नुहाउने भन्ने लोग्नेको जवाफमा श्रीमतीले कैयौँ गरिबले साबुन देख्न सम्म पाएका हुँदैनन् । तपाईं चाहिँ कहिलेकाही साबुन नहुँदा ननुहाउने कुरा गर्नु हुन्छ , नुहाएर कार्यालय जानुस् भन्ने कुरा गर्छिन् । लोग्ने गरिबीलाई सुम्सुम्याएर बस्नु हुँदैन । मैले जस्तै प्रत्येक गरिबले आफ्नो गरिबीसित घृणा गर्नुपर्छ भन्ने कुरा अभिव्यक्त गर्दछ । गरिबीलाई घृणा गरेमा मात्र गरिबीबाट छुटकारा पाउन सकिन्छ । गरिबीलाई सुम्सुम्याएर बस्यो भने गरिब सधैँ गरिब नै रहन्छ भन्ने कुरा लोग्नेको आशय रहेको छ । यही कुरा स्वास्नीसँग गर्दै लोग्ने साबुन नभएकाले ननुहाइ कार्यालय जान्छ ।

                निष्कर्षमा गरिबहरुले आफूलाई नै देखाए पनि यो समाजले गरिबलाई हेर्ने दृष्टिकोणमा कहिल्यै फरक पन आउँदैन । त्यसैले त्यस्तो गरिबलाई पन्छाएर बाच्नु पर्छ भन्ने मान्यतालाई पुष्टि गर्न यो वाक्य कथामा आएको हो । सरल भाषाशैलीमा  रचना गरिएको यो कथामा नेपाली समाजमा निम्न आय भएका गरिबहरुले जीवनयापन गर्न धौ धौ परेको वास्तविकतालाई व्यक्त गरिएको छ ।

१३ तल दिइएका प्रश्नको उत्तर दिनुहोस् :

क)   स्वाद कथाले चर्चा गरे जस्तो हाम्रो समाजमा गरिबीको पीडा छ त, तर्क गर्नुहोस् ।

उत्तर:- प्रस्तुत कथा आजभन्दा लगभग पचास वर्ष अघिको परिवेशमा लेखिएको हो । त्यतिबेला आयआर्जनको बाटो नभएको अवस्थामा स्वाद कथामा उल्लेख भएजस्तो तल्लो स्तर भएका कर्मचारीहरूको हालत त्यस्तो थियो भने जागिर नखाने मानिसहरूको हालत कस्तो थियो होला कल्पनासम्म पनि गर्न सकिन्न ।

          वर्तमान समयमा भने नेपाली समाजको आर्थिक अवस्था केही सुधार भएको पाइन्छ । विभिन्न उद्योगधन्दा, व्यापार , व्यवसाय र वैदेशिक रोजगारीलगायतका विभिन्न कारणले वर्तमान समयमा नेपालमा गरिबीको अवस्थामा केही सुधार आएकोपाइन्छ  । समाजको गरिबीमा केही सुधार आए पनि नेपालमा गरिबीको अवस्था उस्तै उस्तै  रहेको छ । दिनानुदिन बढ्दै गएको महँगीले गर्दा सामान्य आयआर्जन भएका मानिसलाई बिहानबेलुकाको हातमुख जोड्न धौ धौ परेको कुरा अहिले पनि समाजमा देख्न सकिन्छ । दिनभरि ज्याला मजदुरी गरेर जीवनयापन गर्ने मानिसहरूको अवस्था तत्कालीन समयमा साधारण जागिरे मानिसहरूको अवस्थासँग मेल खानेखालको रहेको छ । पछिल्लो समयमा विश्वमा देखिएको महामारीले गर्दा कयौँ मानिसहरूले केही समय बेरोजगार जीवन बिताउनु पर्दा भोकभोकै सुत्नुपर्ने अवस्था आएको कुरा पनि समाजमा देखिएको र भोगिएको छ।

अहिले विश्वमा बढ्दै गएको युद्धले गर्दा पनि बजार भाउ आकासिएको छ । सामान्य आय भएका मानिसहरूले सामान्य खान र लाउन पनि अहिले मुस्किल बन्दै गएको छ ।

              अत: स्वाद कथाले चर्चा गरेभन्दा पनि चर्को रुपमा गरिबहरूको अवस्था वर्तमान समयमा रहेको छ । ज्यालामजदुरी गरेर जीवनयापन गर्ने र सामान्य खालको जागिर खाने मानिसहरूले अहिलेको समयमा पनि निकै दु:खपूर्ण रुपमा जीवनयापन गरिरहेका छन् ।समयबीच तुलना गर्दा पहिलेको भन्दा पनि अहिले जीवन चलाउन गरिबहरुलाई निक्कै मुस्किल परेको अवस्था छ ।

 

ख)  जीवनका दैनिक आवश्यकतासम्म पूरा गर्न धौधौ हुने हाम्रो वास्तविकतालाई कथाले कसरी प्रस्तुत गरेको छ , समीक्षात्मक टिप्पणी गर्नुहोस् ।

उत्तर:-   नेपाली साहित्यमा आख्यानकारका रुपमा परिचित ध्रुवचन्द्र गौतमले लेख्नु भएको स्वाद कथा सामाजिक विषयवस्तुमा आधारित छ । यस कथाले आजभन्दा लगभग ५० वर्षअघिको परिवेशको सामाजिक यथार्थलाई प्रस्तुत गरेको छ । तल्लो स्तरको सामान्य जागिरे जीवन बिताएका मानिसहरूको जीवनयापनका क्रममा देखिएका समस्याहरूलाई कथाकारले यस कथामार्फत प्रस्तुत गरेका छन् । सामान्य परिवारको आर्थिक समस्यालाई कथाले जीवन्त रूपमा चित्रण गर्न कथा सफल भएको छ ।

             सामान्य कारिन्दाको जागिर खाने लोग्ने ननुहाएको सन्दर्भबाट कथा प्रारम्भ भएको छ । साबुन किन्न नसकेर ननुहाइकन कार्यालय जाने लोग्नेको बानी देखेर स्वास्नी दु:खी हुन्छे । गाउँका आफूजस्ता धेरै मानिसहरू बेरोजगारी जीवन बिताइरहेका र आफूले जागिर पाएकामा लोग्नेले गर्व गर्ने ठाउँ छ तर महिनाभरिको तलबले दैनिक आवश्यकता पूरा गर्ने सामर्थ्य नहुँदा चाहिँ लोग्ने गरिबीप्रति घृणा गर्दछ । तलब आएको दिन पनि महिनाभरि पुग्ने सामान प्रशस्त मात्रामा किन्न नसकेको कुरा कथामा देखिएको छ । मासिक तलबले दैनिक आवश्यकता पूरा नहुनु र आफूलाई चाहिने जति सामान किन्न नसकेकाले गरिबहरूको जीवन दु:खपूर्ण रहेको कुरा स्पष्ट छ । सामान किन्दा पनि होसियार अपनाउनुपर्ने, छोराका ससाना रहर पूरा गर्न नसकेर ढाँट्नुपर्ने अवस्था , तलब आएका दिन पनि एक छाक मासु खान ऋण गरेर खानुपर्ने, ऋण तिर्ने उपाय केही नभएकाले अर्को महिनाको तलब कुर्नुपर्ने आदि कुराले तत्कालीन समयमा गरिबहरुले दु:खपूर्ण रुपमा जीवनयापन गर्ने गरेको ऋण पनि तिर्न अर्को महिनाको तलब कुर्नुपर्ने बाध्यता, साबुन नभएर ननुहाई कार्यालय  जानुपरेको आदि अवस्थाले तत्कालीन समाजका गरिबहरुको वास्तविकतालाई कथाले प्रस्तुत गर्न सफल भएको छ ।

               निष्कर्षमा के भन्न सकिन्छ भने नेपाली समाजका गरिबहरुको पीडा र भोग्नुपरेका वास्तविकतालाई कथाले यथार्थ रूपमा प्रस्तुत गरेको छ । एक छाक मासु खाएर त्यसको स्वाद महिना दिनसम्म सम्झेर बाँच्नुपर्ने अवस्था तथा सामान्य आयआर्जन भएका मानिसहरूले आफ्ना दैनिक आवश्यकता पूरा गर्न धौधौ परेको कुरालाई कथामा एउटा परिवारको आर्थिक समस्यामार्फत प्रस्तुत गरिएको छ । कथाले तत्कालीन समाजको ऐनाको काम गरेको छ । त्यतिखेरको सामाजिक दुरावस्थाका कारण गरिबहरूले दयनीय जीवन जिउनुपर्ने बाध्यतालाई कथामा प्रस्तुत गरिएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.