कक्षा नौ पाठ एक मेघ बिजुली विवाह

 

पाठ :-  मेघ बिजुली विवाह

विहा हो यो पक्का जलद बिजुलीको गगनमा

जुरेको यो राम्रो ग्रहगति असारे लगनमा

बजेका हुन झ्याली झिमझिम गरि बाँसहरूमा

हरियो दोसल्ला भिरि नग पुरेतै छ विधिमा ।

 

 

जलद :- पानी बर्साउने तत्व , बादल

दोसल्ला :- कुनै व्यक्ति विशेषलाई  ओढाइने ओढ्ने राम्रो खास्टो वा ओढ्ने , कसैलाई सम्मान स्वरुप ओढाइने मूल्यवान् ओढ्ने

नाग :- अग्लो डाँडो, पहाड पर्वत, रूख वृक्ष

१)    मेघलाई वर र बिजुलीलाई बधुका रुपमा चित्रण गरिएको,

२)    हिन्दु संस्कार र संस्कृतिअनुसार विवाह सम्पन्न भएको परिकल्पना गरएिको,

३)    मानिस जस्तै प्रकृति असारे दिनमा विवाहको लगनमा जुटेको प्रसङ्ग उल्लेख गरिएको,

४)    असार महिनामा हुन लागेको विवाहमा प्रकृति जगत् नै एकजुट भएको परिकल्पना गरिएको,

५)    विवाह उत्सवमा बाँसका झ्याङ्ले झ्याली बजाएका,

६)    हरियो दोसल्ला भिरेर पहाडले पुरेतको काम गरेको ।

 

 

 

मयुरीको बोली श्रुतिपथ हुँदा पद्धति  भयो

हवाले हल्लेको वन जति सबै मण्डप भयो

थिए शैलश्रेणी उपर कदलीका दल पनि

भए शोभादायी रूचिर चँदुवा नै सरि बनी ।

 

१)    मयुरको श्रुतिमधुरतामा वेदध्वानीको कल्पना गरिएको,

२)    हावासँगै नाचिरहेको वनजङ्गललाई पूजा घर मानिएको,

३)    पर्वतमालालाई केराका थामसँग तुलना गरिएको,

४)    केराका थाम नै मण्डपलाई शोभायमान र मनोहर बनाउने चँदुवा भएको प्रसंगको उल्लेख गरिएको

 

श्रुतिपथ :- श्रवण मार्ग वा बाटो

पद्धति :- कार्य गर्ने सिलसिलेबार नियम, कार्यप्रणाली, कार्यविधि

मण्डप :- पूजाघर

शैलश्रेणी :- पहाडका शृङ्खला

कदली :- करेा

रूचिर :- रूचिअनुसारको , सुन्दर , मनोहर

चँदुवा :- धार्मिक कार्यका लागि मण्डप वा जग्गेका बिचमा टाँगिने चारकुने कपडा

इन् पृथ्वी तन्ना, चतुर छ गलौँचा मखमली

दुलाहको रातो झलल पगरी भो हिमचुली

बकुल्लाका ताँती तरल गतिले आज नभमा

उडे जन्ती रसबस बढाएर मनमा। ३

१)    धर्तीलाई तन्ना र चउरलाई मखमली गलैँचासँग तुलना गरिएको

२)    हिमालय शृङ्खलालाई दुलाहले लगाउने पगरी मानिएको

३)    आकाशमा स्वतन्त्र रुपले विचरण गरिरहेका बकुल्लाका ताँतीलाई जन्ती भनिएको

४)    हर्ष र उल्लासमय वातावरणमा जन्ती प्रस्थान भएको प्रसङ्ग उल्लेख गरिएको

पगरी :- शिरमा फनफनी बेरेर लगाउने कपडा, फेटा

नभ :- आकाश

 

सितारे घुम्ती हुन चमचम निशाका जुनकीरी

भए ती इन्द्रेनी वसन बहुरङ्गी फिरिफिरि

भयो रातो खास्टो रवि किरणले पश्चिम गिरि

निशाको त्यो कालो तम पटल भो नील कवरी । ४

१)    सितारे घुम्तीलाई चमचम चम्किने रातका जुनकीरीसँग तुलना गरिएको

२)    इन्द्रेनी बहुरङ्गी कपडा जस्तो देखिएको

३)    पश्चिमतिरको पहाडमा परेको सूर्यको किरणले विवाहमा दुलहीको रातो पछ्यौरीको काम गरेको

४)    निशाको अँन्धकार रात आकासे रङको कपालको चुल्ठो जस्तो देखिएको

इन्द्रेनी :- घामपानी भएको बेला घामको विपरीत दिशातर्फ देखिने अस्मानी, निलो, हरियो, रातो, बैजनी र सुन्तला रङ हुने अनुका आकारको अर्धवृत्त, इन्द्रधनु, इन्द्रधनुष

वसन :- कपडा, वस्त्र, लुगा

खास्टो :- बाक्लो ओड्ने पछ्यौरा

निशा :- रात , रजनी

तम :- अन्धकार, अँध्यारो , अज्ञान

पटल :- कुनै वस्तुलाई ढाक्ने साधन, आवरण

कवरी :- कपालको चुल्ठो

 

 

बज्यो छं छं गर्दै सकल रुखमा त्यो समयमा

भयो बज्ने कल्ली गजब दुलहीको पयरमा

अहो ! झल्की झल्कीकन नव बधु आज बिजुली।

लुकेकी पर्दामा पलक भरमा क्यै सरमेली ५

१)    त्यस समयमा सम्पूर्ण वनस्पतिले छङछङ गर्दै सङ्गीतमय वातावरण सिर्जना गरेको प्रसङ्ग उल्लेख गरिएको

२)    नव दुलहीको गोडामा लगाएको अति सुन्दर कल्ली बन्न आतुर भएको

३)    लजालु स्वभावकी दुलही शृङ्गारमा सजिएपछि एकैछिन पर्दामा सरम मानेर लुकेकी प्रसङ्ग उल्लेख गरिएको

४)     वैवाहिक उत्सवमा झ्याली बाजा बज्दा नव दुलही विजुली उत्साहित भएकी

कल्ली :- गोडामा लगाउने सुन वा चाँदीको एक प्रकारको गहना ,

पयर :- पाउ, गोडा, खुट्टा

पलक :- एक चोटि आँखा झिम्म गर्दा बित्ने समय , समय, पल, छिन

 

बै प्राणीलाई भुवन भरमा अन्नहरूको

ुवाएकै हो त्यो वर जलदले भोज यसको

सलामी बाजाले घननन गराएन गगन

गयो रानीलाई लिइ ऋतु शरदमा रस लिन् । ६

१)    विवाहमा बेहुलाका तर्फबाट पृथ्वीका सम्पूर्ण प्राणीलाई अन्नको भोज खुवाएको

२)    आकाशले सलामी बाजा बजाएको

३)    विवाहमा बिजुली रुपी रानीलाई मेघ रुपी बेहुलाले शरद ऋतुमा रस लिन लागेको सुन्दर कल्पना गरिएको

भुवन :- संसार , जगत् प्रकृतिको सिर्जना

सलामी :- बाजा बजाई विशेष किसिमले अभिवादन गर्ने प्रक्रिया

 

कविताको विषयवस्तु

असारे लगनको समयमा मेघ(बादल) र बिजुलीको विवाह भइरहेको छ । बाँसहरूमा झ्याउँकिरीहरुले झ्याली बजाएका छन् । हरियो दोसल्ला ओडेर पहाड पुरेत बनेको छ । यस विवाहमा मयूरको बोली वेदध्वनी , मण्डप तथा पहाडी शृङ्खला केराका थाम र चँदुवा भएका छन् । पृथ्वी तन्ना, चौर मखमली गलैँचा, हिमचुली दुलाहले गुथेको पगरी, आकाशमा उडेका सबै बकुल्लालाई जन्ती, जुनकीरी दुलहीको सिताराजढित घुम्टो, इन्द्रेनी धेरै थरी रङ भएका दुलहीका वस्त्रका रुपमा रहेका छन् । सूर्यास्त हुने बेलाको याम दुलहीको रातो खास्टो हो । रातको अँध्यारो दुलहीको चुल्ठो हो । (श्लोक १-४)

रूखहरुमा चराचुरीङ्गी कराउँदा निस्किने आवाज बेहुलीको पाउमा लगाएको कल्लीबाट निस्कने आवाज हो । बिजुलीको चम्काइ बेहुलीको लजालु स्वभाव हो । संसारका सकल प्राणीहरूलाई मेघ (बादल) र बिजुलीको बिबाह पश्चात् जलदबाट उर्वरा बनेकी धर्तीले भोज खुवाएकी छिन् । आकाशले सलामी बाजा गड्याङगुडुङ गरेर बजाउँदै बिजुलीलाई लिएर मेघ शरद ऋतुमा मधुमास मनाउन गएको वर्णन गर्दै कविता समापन गरिएको छ । (श्लोक ५-६)

५ तल दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

क)  मेघ बिजुली विवाहको मण्डप र चँदुवाको काम केले गरेका छन् ?

उत्तर :- मेघ बिजुली विवाह कविताका वर र वधु भनेका मेघ र बिजुली हुन् । उनीहरुको विवाह हिन्दु संस्कार र संस्कृतिअनुसार सम्पन्न भएको छ । कवितामा वन जङ्गललाई पूजाघर र पर्वतमालालाई केराका थामसँग तुलना गरिएको छ । त्यसैले मण्डपको काम हावासँगै नाचिरहेका वनले गरेका छन् भने चँदुवाको काम केराका थाम बनेका शैलश्रेणीले गरेका छन् ।

ख)   कवितामा नेपालको प्रकृतिको वर्णन कसरी गरिएको छ ?

उत्तर :- कवि भरतराज पन्तद्वारा लिखित 'मेघ बिजुली विवाह' कवितामा कविको बेजोड कल्पनाशक्तिको अनुपम शिल्प प्रस्तुत भएको प्रकृति प्रधान कविता हो । कर्मशील बनेर धर्तीलाई सजाउने सन्देश दिने यस कवितामा नेपालको अनुपम प्राकृतिक सौन्दर्यलाई मानविकीकरण गरिएको छ । असार महिनामा पर्ने पानीले बाँसका झाङहरूबाट झ्यालीको सङ्गीतमय आवाज उत्पन्न हुन्छ । पहाड हरियो दोसल्लामा सजिएको हुन्छ । हरियो पृथ्वीले तन्ना र मखमली गलैँचाको खाँचो पूरा गर्दछ । सूर्यको लालीले टल्कने पहाडको सुन्दरता दुलहीले ओढ्ने रातो खास्टोको सुन्दरता बिर्साउँछ । आकाशमा चारोको खोजीमा तथा बासस्थानको तर्फ उड्ने बकुल्लाको ताँतीले हँस्यौली ठट्यौलीसहित रसपूर्ण कुराकानीका साथ हिँडेका जन्तीका ताँतीको अनुभव हुन्छ ।रातिको अँध्यारोमा मधुर प्रकाश छर्दै चमचम चम्कने जुनकीरीले दुलहीका सितारे घुम्टोको सौन्दर्य सिर्जना गर्ने , वर्षामा देखिने इन्द्रेनी दुलहीले पहिरिने रङ्गिन कपडामा जस्तै सौर्न्दर्य देखिने, सूर्यास्तको समयमा सिन्दुरे रवि किरणले पश्चिम गिरि रातो खास्टो जस्तै देखिने, रात्रीको निष्पट्ट अन्धकारले ढाकिएको आवरणले दुलहीको चुल्ठोको भान हुने, चराचुरुङ्गीका मधुर बोलीले दुलहीको पयरको कल्लीको मिठासपूर्ण सङ्गीतमय आवाज सिर्जना गर्ने चर्चा गर्दै नेपालको प्रकृतिको वर्णन गरिएको  छ ।

ग)    विवाह मण्डपमा कस्ता कार्य गरिन्छन, कविताका आधारमा लेख्नुहोस् ।

उत्तर :- प्रकृति तथा संस्कृति प्रेमी कवि भरतराज पन्तद्वारा लिखित 'मेघ बिजुली विवाह' प्रकृति प्रधान कवितामा प्रकृतिको मानविकीकरण गर्दै मानिसले आफ्नो कर्मले धर्तीलाई सजाउनु पर्ने सन्देश दिइएको छ ।

पूर्वीय दर्शन र संस्कृतिप्रति श्रद्धा र सम्मान गर्ने कवि पन्तले यस कवितामा आफ्नो कवि प्रतिभा र बेजोड कल्पनाशक्तिको अनुपम संयोजनबाट मेघ र बिजुलीको हिन्दु संस्कृति अनुसार विवाह सम्पन्न गराएका छन् । विवाह मण्डपमा केराका थामहरू गाडेर चँदुवा टाँगिएको हुन्छ । मण्डपमा दुलाहको स्वागतमा तन्ना वा मखमली गलैँचा ओछ्याइएको हुन्छ , पण्डितहरूले वेदका ऋचा पाठ गर्दै विवाहको विधि पूरा गर्छन् । विभिन्न बाजागाजा बजाएर नाचगान गर्ने जस्ता कार्य गरिन्छन् ।

घ)    कविताका पाँचौँ श्लोकमा के कुरा व्यक्त गरिएको छ ?

उत्तर :- संस्कृति तथा प्रकृति प्रेमी छन्दवादी कवि भरतराज पन्तद्वारा रचित "मेघ बिजुली विवाह" प्रकृति प्रधान कवितामा प्रकृतिको मानविकीकरण गर्दै मानिसले आफ्नो कर्मले धर्तीलाई सजाउनु पर्ने सन्देश  दिइएका छन् ।

कवि भरतराज पन्तले यस कवितामा आफ्नो काल्पनिक चेतना तथा बौद्धिकताको जादुगरी मेध र बिजुली बिजुलीको विवाह सम्पन्न गराएर सारा जनतालाई अन्नको भोज खुवाउँदै आम सिर्जनशील मानव जातिलाई आफ्नो श्रम र पौरखलाई परिचालन गरि धर्ती सजाउनु पर्ने सिँगारनु  पर्ने उत्कक्षष्ट सन्देश दिएका छन । कविताको पाँचौ श्लोकमा  प्रत्येक रूखका हाँगाविगाँमा बसेर मधुर स्वरमा चराचुरुङ्गीले गाएका गीतलाई दुलहीको पयरमा बज्ने कल्लीको आवाज मानेका छन् । बेलाबेलामा झुल्किने वा चम्कने बिजुलीलाई कविले खुसी , हर्ष र लज्जा मिश्रित सर्माएकी वा मुस्कुराएकी दुलहीका रुपमा परिभाषित गरेका छन् ।

 

८ व्याख्या गर्नुहोस् :

भइन् पृथ्वी तन्ना, चतुर छ गलैँचा मखमली

दुलाहाको रातो झलल पगरी भयो हिम चुली

Ø प्रस्तुत हरफ हाम्रो कक्षा नौ को नेपाली किताबको पहिलो पाठ "मेघ बिजुली विवाह" शीर्षक कविताबाट व्याख्याको लागि साभार गरिएको हो । यस कविताका रचयिता भरतराज पन्त ( वि.सं. १९८६- २०६५) हुन् । परिष्कारवादी धारामा कलम चलाउने कवि हुन् । उनको कवितामा प्रकृतिलाई मानवीकरण गरेर प्रेम, मानवता, र हार्दिकतालाई चित्रण गरेका छन् ।

प्रकृति पूर्वीय संस्कृतिको अनुपम संयोजन गरी लेखिएको यस कवितामा बेजोड कल्पनाशक्ति र बौद्धिकताको निखार पाइन्छ । कवितामा प्रकृतिलाई मानवीकरण गर्दै दुलहा मेघ र दुलही रानी बिजुलीको हिन्दु संस्कार संस्कृति अनुसार विवाह गराउने सन्दर्भमा सारा पृथ्वीलाई जन्ती र दुलाहको स्वागतार्थ विछ्याइने तन्ना र हरियो चौरलाई मखमली गलैँचाको भूमिकामा वर्णन गरिएको छ । यस्तै सूर्यको किरणले रङ्गिएको हिमचुली दुलाहाको शिरमा बाँधिएको पगरी भएको कुरालाई यहाँ वर्णन कलात्मक रुपमा गरिएको छ ।

 निष्कर्षमा कविले कवितामा वैदिक विधिद्वारा मेघ र बिजुलीको विवाह गराउने क्रममा प्रकृतिका विभिन्न प्रकारका वस्तुहरूलाई अलग अलग भूमिकामा प्रस्तुत गर्दै कवितामा अनुपम प्राकृतिक सौन्दर्यलाई सरल सहज शाषाशैलीमा वर्णन गरिएको छ ।

९ मेघ बिजुली विवाह कवितामा व्यक्त भाव बताउनुहोस् ।

Ø  प्रकृति तथा संस्कृति प्रेमी कवि भरतराज पन्तद्वारा लिखित "मेघ बिजुली विवाह" प्रकृति प्रधान कवितामा प्रकृतिको मानवीकरण गर्दै मानिसले आफ्नो कर्मले धर्तीलाई सजाउनु पर्ने सन्देश दिएका छन् । आफ्नो कल्पनाशक्ति र बौद्धिकताको उच्चतम् प्रयोग गर्दै प्रकृति तथा पूर्वीय संस्कृतिप्रति अत्यन्तै श्रद्धा व्यक्त गरेका छन ।

               कविले कवितामा प्रकृतिका विभिन्न वस्तु वा दृश्यलाई वैदिक विधिअनुसार विवाह सम्पन्न गर्ने क्रममा आवश्यक भूमिकामा प्रस्तुत गरेका छन् । कविले पृथ्वीलाई तन्ना, हरियो चउरलाई  मखमली गलैँचा, हरियो पहाडलाई पण्डित , हिम चुलीलाई दुलाहको पगरी , मयूरको बोलीलाई वेदका ऋचा वा मन्त्र , पानी पर्दा बाँसका झ्याङहरूबाट आउने मधुर झिमझिम आवाजलाई झ्यालीको संगीतमय आवाज, हावाले हल्लिएको वनलाई विवाह मण्डप , पहाडका चुचुरालाई केराका थाम तथा चँदुवाका रुपमा प्रस्तुत गरिएको छ । आकाशमा चारोको खोजीबाट बासस्थानतर्फ  उडेका बकुल्लाका ताँतीलाई जन्तीका संज्ञा दिएका छन् । निशामा चमचम मधुर प्रकाशसहित चम्कने जुनकीरीलाई दुलहीको सितारे घुम्ती , सप्तरङ्गी इन्द्रेनीलाई दुलहीको कपडा, अस्ताउँदो रवि किरणले रक्तिम देखिएको पश्चिम गिरिलाई दुलहीको खास्टो, रात्रिको अन्धकारले ढाकिएको आवरणलाई दुलहीको कालो केशरासीसहितको चुल्ठोका रुपमा प्रस्तुत गरेका छन् । चराचुरुङ्गीको मधुर वाणीलाई दुलहीको पयरमा लगाइएका कल्लीको मिठासपू्र्ण आवाजका रुपमा चित्रण गरेका छन् ।बेलाबेला झिलिकझिलिक गरी चम्कने बिजुलीलाई हर्ष, उमङ्ग, उत्साह, आवेग तथा डर भए मिश्रित नव वधूको लज्जायुक्त मुस्कुरावटका रुपमा प्रस्तुत गरिएको छ ।

          मेघ र बिजुलीको विवाह उत्सवको समाप्ति पश्चात् सारा जगतलाई अन्नको भोज खुवाएर आफ्नी दुलही रानीलाई लिएर मेघरुपी दुलहा रसको स्वादका लागि शरद ऋतुतर्फ प्रस्थान गरेको बताइएको छ । अत: कविले मेघ र बिजुलीको विवाह उत्सव पश्चात् अन्नको उत्पादन हुने र सबै प्राणीहरूको भरण पोषण हुने कुरा बताउँदै कर्म र श्रमले धर्ती सजाउन सक्नु पर्ने भाव यस कविता मार्फत दिइएका छन्।

 

 

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.