# मुलभाव:
कवि डा. रामप्रसाद ज्ञवालीद्वारा अनुष्टुप छन्दमा लिखित 'उज्यालो यात्रा'
शीर्षक कवितामा नैतिक सन्देश प्रदान गरिएको छ । सर्वोत्कृष्ट मानव जीवनलाई कसरी उज्यालो पारी आदर्श र महान व्यक्ति बन्न सकिन्छ
भन्ने विचार कवितामा वर्णन गरिएको छ ।
महत्त्व नबुझ्दा दाउराको रूपमा प्रयोग हुने श्रीखण्ड पनि धेरै
पटक घोटिएर पवित्र चन्दन बनेर पूजामा चढाइने , कर्मशक्तिले जङ्गललाई उद्यान वा बगैँचा बनाउन सकिने , उच्च सङ्कल्प र विचारले मानव जीवनको यात्रालाई उज्यालो
बनाउन सकिन्छ । कर्मशील मानिसको जीवनसदैव सुखी हुन्छ । मन मस्तिष्कबाट ईर्ष्या, द्वेष , कलह, वैमनस्यता त्यागेर प्रेमको सौरभ छर्दै उपकारी जीवन जिउनु पर्छ
। हामी स्वयं उदाहरणीय व्यक्तित्वका रूपमा स्थापित हुने प्रयास गर्नुपर्छ हामीले आर्जन
गरेको ज्ञान र कर्मले धर्तीलाई मनोहर स्वर्ग बनाउनुपर्छ ।
कर्म विनास, ध्वंश र सर्वनाशका नभएर निर्माणका लागि हो । मन मस्तिष्कबाट लोभ लालच
आदि दुर्भावना त्यागेर न्यायमा समर्पित हुनु पर्दछ । विश्वमा आदर्श , अनुकरणीय र नमुना बन्नका लागि उदार भावना र सहयोगी, परोपकारी विचार राख्न सक्नुपर्छ ।
उज्यालो आदर्श जीवन यात्रामा लाग्न ढिला गर्न नहुने , चन्द्रसूर्य जस्तै चम्केर अन्धकार हटाइ अरूलाई उज्यालो
प्रदान गर्न सक्नु पर्ने, आफ्नो पौरखले आफ्नो सतमार्ग निर्माण गर्न सक्नु पर्ने , जीवनलाई उपकारी भावपूर्ण र रसयुक्त सर्वोच्च कविता जस्तै बनाउन
लागि पर्न सकेमा उज्यालो भविष्य सहितको उज्यालो यात्रामा लाग्न सकिने भाव कवितामा व्यक्त
भएको छ । सत्कर्म सद्व्यवहार, न्याय र समर्पणले मानिसलाई आदर्श र महान् बनाउने सन्देश वा भाव
यस कवितामा प्रस्तुत भएको छ ।
# शीर्षक
सार्थकता
कविताको शीर्षकमा दुई शब्द 'उज्यालो' र 'यात्रा' को संयोजन भएको
छ । उज्यालोको अर्थ अँध्यारो नभएर प्रकाश, ज्योति वा चम्किलो हुन्छ भने यात्राको अर्थ एक ठाउँबाट अर्को
ठाउँमा जाने काम वा भ्रमण भन्ने हुन्छ । कविताको
शीर्षक उज्यालो यात्रा ले जीवनलाई कसरी चम्किलो , प्रदीप्त वा प्रकाशपूर्ण बनाउन सकिन्छ भन्ने आशय बहन गरेको पाइन्छ
।
कविताको सम्पूर्ण विषयवस्तु मानव जीवनलाई कसरी सार्थक सफल आदर्श
उज्यालो र महान बनाउन सकिन्छ । भन्ने विषयवस्तुमा केन्द्रित रहेको छ । उज्यालो जीवनका
लागि पालना गर्नु पर्ने विचार र व्यवहारको चर्चा कवितामा गरिएको पाइन्छ । मानव जीवनलाई
आदर्श महान् रनमुना बनाउन नैतिक र नैष्ठिक जीवनयापन गर्नु पर्ने भावना वा विचार सम्प्रेषित
अवस्थालाई नियाल्दा कविताको शीर्षक सार्थक रहेको छ ।
अभ्यास
८ दिइएको कवितांश
पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
क) धर्तीलाई केले मनोहर बनाएको छ ?
उत्तर :- धर्तीलाई ज्ञानले मनोहर बनाएको छ ।
ख) कर्म गर्नेको जिन्दगी कस्तो बन्छ ?
उत्तर :- कर्म गर्नेको जिन्दगी सुन्दर बन्छ ।
ग)
कवितांशमा कस्ता मानिसको शिर उचो हुन्छ भनिएको छ ?
उत्तर :- कवितांशमा न्यायका लागि समर्पित हुने मानिसको शिर उचो हुन्छ
भनिएको छ ।
घ)
कवितांशबाट के सन्देश पाइन्छ ?
उत्तर :- कवितांशबाट हामीले आर्जन गरेको ज्ञान र कर्मले मातृभूमिलाई मनोहर
र सुन्दर बनाउनु पर्छ । न्यायका लागि समर्पित हुने व्यक्तिको शिर सदैव उच्च हुन्छ ।
मानिस पुर्णरुपमा देशलाई सुन्दर र मनोहर बनाउने बाटोमा लाग्नु पर्छ । न्यायको बाटोमा
हिँड्नलाई विचलित हुनुहुँदैन भन्ने सन्देश पाइन्छ ।
९ दिइएका प्रश्नको
उत्तर लेख्नुहोस् :
क)
'उज्यालो यात्रा' कविताका सुरुका दुईओटा श्लोकको आशय वर्णन
गर्नुहोस् ।
उत्तर :- मानिस कर्मशील प्राणी भएकाले निरन्तर कर्ममा तल्लिन हुनुपर्छ
। कर्मशील मानिस सधैँ सफलताको शिखरउन्मुख हुन्छ । अथक परिश्रम , मेहेनत र लगाव भएमा जङ्गललाई पनि सुन्दर बगैँचा बनाउन सकिन्छ
। कर्मशीलताले नै दाउरोलाई घोटेर चन्दन बनाउन सकिन्छ । मनमा अठोट , दृढता र धैर्यता छ भने मानिसले आफूले चाहेको कार्य सम्भव गराएरै छाड्छ । यो संसारमा लगनशील
र सङ्घर्षशील व्यक्तिको सामुन्ने असम्भव भन्ने कुरा केही हुँदैन । दृढ सङ्कल्प र अठोट
बोक्ने मानिस नै स्थापित हुन सक्छ , आदर्श र महान् बन्न सक्छ । हरेक नामी व्यक्तिहरूको सफलताको पछाडिको
रहस्य भनेको दृढ सङ्कल्प र कर्मशीलता नै हो । दृढ सङ्कल्पसहितको क्रियाशीलताले मानिस
महान र सफल बन्न सक्छ भन्ने उत्कृष्ट भाव कविताको पहिलो दुईओटा श्लोकमा व्यक्त भएको
छ ।
ख)
जीवन सार्थक पार्न के गर्नु पर्छ ?
उत्तर :- कवि ज्ञवालीद्वारा रचित नैतिक तथा औपदेसिक कविता उज्यालो यात्रामा
जीवनलाई सार्थक पार्न निरन्तर सङ्घर्ष गर्नुपर्छ भन्ने विचार व्यक्त भएको पाइन्छ ।
संसारका हरेक मानिस आफ्नो जीवनलाई सुन्दर र सार्थक बनाउन चाहन्छन् । जसले मनबाट विकारयुक्त
भावहरू ईर्ष्या द्वेष , कलह, डाहा, आहारिस आदि हटाएर प्रेमको सौरभ छर्न सक्छन् त्यस्ता मानिसको
जीवन सार्थक हुन्छ । कर्मले स्थापित हुन चाहने , न्यायका लागि समर्पित , लोभलालचको आशक्तिभन्दा माथि उठेर आफ्नो ज्ञान र कर्मले धर्ती
सजाउन र सिँगार्न तल्लिन व्यक्तिको जीवन नै सार्थक हुन्छ ।
ग)
कविले कवितामा कस्तो आदर्श जीवन यात्राको कल्पना गरेका छन् ?
उत्तर :- कवितामा कविले आदर्श जीवनको चाहना व्यक्त गरेका छन् । उनका अनुसार
मनमस्तकमा कुनै लोभलालच नभएको , न्यायका लागि समर्पित , त्यागका लागि उद्यत कर्मशील , चन्द्रसूर्य जस्तै बनेर चम्किलो प्रकाश प्रदान गर्न सक्ने, आफ्नै पौरखले जीवनको सत् मार्ग निर्माण गर्न सफल, परसेवामा रमाउने आदर्श एवं उज्यालो जीवनको यात्राको कल्पना गरेका
छन् ।
घ)
"उज्यालो यात्रा" कविताको मूल भाव के हो ?
उत्तर :- मनमा सङ्कल्प लिएर निरन्तर अगाडि बढ्ने हो भने संसारमा असम्भव भन्ने कुरा केही
नरहेको , कर्मशील मनिसको जीवन सदासर्वदा सुखी र खुसी रहन सक्छ । मनबाट
ईर्ष्या, द्वेष हटाएर प्रेमको सौरभ छर्ने मानिसमाथि संसारले गौरव गर्न
सक्छन् । हरेक मानिसले आफूले आर्जन गरेको ज्ञान र कर्मले धर्ती सजाउने कार्यमा क्रियाशील
हुनु पर्ने अन्यायका विरुद्ध आवाज उठाउनु पर्ने भाव कवितामा छ । कवितामा कविले चन्द्रसूर्य
बनेर धर्तीबाट सबै प्रकारका अन्धकारलाई हटाउनुपर्छ । सतकर्मले नै महान् र आदर्श
मानिस बन्न सकिने उत्कृष्ट विचार नै कविताको मूल भाव हो ।
११ भाव विस्तार
गर्नुहोस् :
क)
ईर्ष्या द्वेष हटाएर जो छर्छन् प्रेम सौरभ
तिनै मान्छेहरू बन्छन विश्वका निम्ति गौरव ।
उत्तर :- ईर्ष्या द्वेष .............................................................. गौरव
प्रस्तुत हरफ हाम्रो कक्षा १० को नेपाली कितावको "उज्यालो
यात्रा" कविताबाट साभार गरिएको हो । यस कविताका रचयिता रामप्रसाद ज्ञवाली( वि. सं. २०२४) हुन । यो नैतिक सन्देशमूलक उत्कृष्ट कविता हो । यस कवितामा सत्कर्म र ज्ञानले धर्तीलाई उज्यालो पारी चन्द्रसूर्य जस्तै चम्किलो
बनाइ अन्धकार हटाउँदै प्रेमको सौरभले संसारमाथि विजय प्राप्त गर्न सकिन्छ । न्याय र
त्यागको मार्गले मानिसलाई आदर्श बनाउँछ भन्ने भाव कविले यहाँ व्यक्त गरेका छन् । ईर्ष्या
द्वेष जस्ता तुच्छ भावनाले मानिसलाई छुद्र र निकृष्ट बनाउने भएकाले यस्ता दुर्भावना
त्याग गरी प्रेममय व्यवहारले महान बन्न सकिने विचार व्यक्त गर्ने सन्दर्भमा उक्त
पंक्ति आएको हो ।
मानव मनमा समय समयमा उत्पन्न हुने ईर्ष्याद्वेष जस्ता भावना
हाम्रा शत्रु हुन् । यस्ता खराब विचारले हामीलाई उत्तेजित बनाउने , सुख हरण गर्ने, अशान्त बनाउने र प्रतिशोधपूर्ण व्यवहारका लागि प्रेरित
गर्ने कारक हुन । यस्ता संकीर्ण चिन्तनले हामीलाई न त उदार बन्न दिन्छ न त प्रगति उन्नतिको
मार्गमा अगाडि बढ्न नै पेरित गर्छ । अरूको ईर्ष्या , डाहा, आहारिस गर्ने स्वभाव र प्रवृत्तिले मानिसलाई सदैव अरूको
पछाडि लाग्ने तुच्छ व्यवहारतर्फ आकर्षित गराउने भएकाले यस्तो विचार र भावनाले हामी
असल मानिस बन्न सक्दैनौँ । जजसले मनमा ईर्ष्या द्वेष जस्ता भाव हटाएर प्रेमको बिरुवा
रोपेर गोडमेल गरेर तिनीहरूको संसारमा शान्तिको सन्देश छरेर कवितामा असल , ज्ञानी र महान् आदर्श व्यक्तित्वको रूपमा आफ्नो चिनारी बनाउन
सफल भएको कुरा व्यक्त भएको छ । मन सफा, स्वच्छ र निर्विकार भएमा मात्र मानिसले प्रेमको सौरभ छर्न सक्ने, आफू खुसी रहेर अरूलाई सुख प्रदान गरी आदर्श व्यक्ति बन्न सक्छन्
। आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संसारमा प्रेम बाँडन क्रियाशील मानिसमाथि
संसारले गौरव गर्न सक्ने विचार कवितामा प्रस्तुत गरिएको छ ।
निष्कर्षमा के भन्न सकिन्छ भने ईर्ष्या , द्वेष , कलह, वैमनस्यता जस्ता शत्रु भावबाट माथि उठेर पवित्र प्रेमभावले जीवनलाई
चम्किलो बनाई आदर्श र महान् बन्नतर्फ लाग्नु पर्छ भन्ने सन्देश कविले यस कविताको माध्यमबाट
दिएका छन् ।
ख)
उदात्त कर्मको यात्रा गर्दछन् जो सधैँ सधैँ
आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै
उत्तर :-
उदत्त कर्मको..................................................................
विश्वमा तिनै
।
प्रस्तुत हरफ हाम्रो कक्षा १० को नेपाली किताबको " उज्यालो
यात्रा" कविता शीर्षकबाट भाव विस्तारको लागि साभार गरिएको हो । यस कविताका रचयिता
रामप्रसाद ज्ञवाली ( वि.सं. २०२४) हुन । यस कवितामा मानव जीवनलाई सार्थक र महान् बनाउन असल
कर्म गर्नु पर्ने, उदार र सहयोगी व्यवहार अवलम्बन गर्नु पर्ने विचार सम्प्रेषण गरिएको छ । असल कर्म
र उदारता पूर्ण भावनाले मानिस नमुना बन्न सक्छ भन्ने कुरालाई प्रष्ट पार्ने क्रममा
उक्त पंक्ति आएको हो ।
कर्मयोगी मानिस नै महान् र आदर्श बन्छन् । कर्मले नै धर्तीलाई
सुन्दर मनोहर बनाउन सकिन्छ । कर्म र पौरखले झाडीदार जङ्गललाई सुन्दर बगैँचा बनाउन सकिन्छ
। धेरै पटक दाउरा घोटिएरै चन्दन बन्ने , सयौँ चोट सहेर नै ढुङ्गा सुन्दर मूर्ति बन्ने भएकाले कर्ममा
लाग्न सबैलाई कवितामा आग्रह गरिएको छ । उदार व्यवहारले नै मानिस सबैको आदरणीय बन्न
सक्छ । कर्मले नै मानिसलाई जीवन्त बनाउँछ । संसारका हरेक मानिसको चर्चा र सफलताको पछाडि
सत्कर्म रहेको हुन्छ । संसारमा आदर्श व्यक्तिको रूपमा पुकारिएका कृष्ण, राम, मोहम्मद , क्राइस्ट , बुद्ध सबै कर्मले जीवित भएका छन् । समाजको हितमा समर्पित न्याु
र त्यागमा समर्पित मनमस्तकलाई लोभमोहबाट माथि उठेका मानिस नै आदर्श व्यक्तिको
रूपमा स्थापित हुन सक्ने विचार कवितामा व्यक्त भएको छ । कर्म र ज्ञानले संसारमा चेतना
र प्रेमको सौरभ छर्नुपर्छ । सबैको प्यारो , आदरणीय , आदर्श र अनुकरणीय जीवन बिताउने प्रमुख आधार असल कर्म हो ।
निष्कर्षमा के भन्न सकिन्छ भने कर्मलाई मानव जीवनको सार्थकताको
प्रमुख आधारका रूपमा लिनुपर्छ । असल कर्म, उदार भावना, विचार र व्यवहारले मानिस सामाजिक रूपमा आदर्श व्यक्ति बन्न सकिन्छ
भन्ने कुरा यहाँ व्यक्त भएको छ ।
१२ कर्मशील भन्न कसरी सकिन्छ 'उज्यालो यात्रा' कविताका आधारमा लेख्नुहोस्
।
उत्तर :- मानिसलाई कर्मले जीवित बनाउने र सतकर्मले आदर्श व्यक्तिको
पहिचान दिलाउने नैतिक चेतना प्रदान गरिएको 'उज्यालो यात्रा' कविता कवि रामप्रसाद
ज्ञवालीको उत्कृष्ट कविता हो । कर्मशील बन्न प्रेरित गर्नु नै यस कविताको मुख्य विचार
हो । असल कर्मले मानिसलाई युगौँ जीवित राख्ने भएकाले सबै मानिसलाई कर्मको तागत र शक्ति
बुझ्दै कर्मशील जीवन बिताउन कविले आग्रह गरेका छन् ।
कवितामा कविले कर्मले जङ्गललाई नन्दन बनाउन सकिने , कर्मले नै दाउरोलाई चन्दन बनाउन सकिने उदाहरणसहित मानिसलाई
कर्मले स्थापित गराउने कुरा प्रस्तुत गरेका छन् । कर्मशील बन्नका लागि दृढ सङ्कल्प
चाहिन्छ । अरूसँग लिएर रमाउने भन्दा अरूलाई दिएर रमाउने स्वभावले मानिसलाई कर्मशील
बन्न प्रेरित गर्दछ । मनमा उत्पन्न हुने विकारयुक्त भाव ईर्ष्या आदिले मानिसलाई
छुद्र बनाउने र अरूको पछौटे बनाउने भएकाले यस्ता भावना त्याग गरेर आफ्नो कर्मले आफ्नो
जीवनको उज्यालो राजमार्ग निर्माण गर्न सकिन्छ । हामीले आर्जन गरेको ज्ञानलाई निर्माण
कार्यमा समर्पित गर्नुपर्छ । परोपकारी भावनाले मानिसलाई कर्मशील बन्न र सतकर्ममा लाग्न
प्रेरित गर्छन् । सधैँ आदर्श मानिस बन्ने लक्ष्यसहित अगाडि बढ्न सकेमा मानिस कर्मशील
बन्छ । अन्याय अत्याचार, शोषण विरुद्धको चेतनाले मानिसलाई कर्मशील बन्न प्रेरित
गर्दछ । व्यक्तिगत स्वार्थ त्याग, सामाजिक उन्नति र चन्द्रसूर्य जस्तै चम्किलो जीवन जिउने प्रेरणाले
मानिस कर्मशील बन्न सक्छ ।
१३ कविले कविताको अन्तिम श्लोकमा आफू कस्तो बन्ने अनुमान गरेका
छन् ।
उत्तर:- आम मानव समुदायलाई आदर्शा मानव जीवन बिताउन प्रेरित गर्ने उद्देश्य
राखिएको कवि रामप्रसाद ज्ञवालीद्वारा लिखित 'उज्यालो यात्रा' नैतिक चेतना युक्त उत्कृष्ट
कविता हो । यस कवितामा कविले मानव जातिलाई
कर्मले सफल बनाउने भएकाले सतकर्ममा लाग्न प्रेरणा प्रदान गरेका छन् ।
कविताको अन्तिम श्लोकमा कविले आफूलाई चन्द्रसूर्य जस्तै प्रकाशमय
बनाइ सबै प्रकारका अन्धकार हटाइ उज्यालोको सूचक बनाउन चाहेका छन् । आफ्नो पौरख, श्रम र कर्मले जीवनका आदर्श राजमार्ग बनाउन चाहेका छन् जुन राजमार्ग
आम मानव समुदायको उज्यालो यात्राको आधार बन्न सकोस् । कविले आफ्नो जीवनलाई रस, भाव र विचारले युक्त कविता जस्तै उपयोगी तथा आदर्श बनाउने अभिलाषा
कवितामा व्यक्त गरेका छन् । उनी आफ्नै पौरखले आफ्नो जीवनको आधार र संसार निर्माण गर्न
सक्षम हुने अनुमान कवितामा गरेका छन् । उनी आफ्नो जीवनलाई सत्य , न्याय र त्यागको मार्गमा अगाडि बढाउन सक्षम हुने अनुमान गर्न
सकिन्छ ।
१४ दिइएका विषयमा साथीबीच
छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस् ।
क) परिश्रमको फल मीठो हुन्छ
।
उत्तर :- परिश्रमी व्यक्ति आत्मनिर्भर स्वावलम्बी हुन्छन् । परिश्रमले
मानिसलाई आत्मनिर्भर बनाउँछ । मौरीको परिश्रमले अमृतरूपी मह सिर्जना गर्दछ । सन्दुक
रुइतको अथक परिश्रमले आँखा रोग विशेषज्ञ मात्र बनाएन विश्व विख्यात प्रविधि 'रूइक्तेटोमीका'
आविष्कारक बनायो । परिश्रम र लगाव कै कारण पृथ्वीनारायण शाह एउटा शासकबाट माथि उठेर
राष्ट्रनिर्माता बन्न सफल भए । परिश्रमी व्यक्तिले संसारमा कसैका सामु झुक्नु र लुक्नु
पर्दैन । परिश्रमी विद्यार्थीहरू उत्कृष्ट जिपिएसहित समाज र राष्ट्रका आभूषणका रूपमा
स्थापित हुन सक्छन् । परिश्रम नै व्यक्तित्व निर्माणको आधार हो । परिश्रमी मानिसले
कहिल्यै पराधिन र पराश्रित बन्नु पर्दैन । परिश्रमी व्यक्ति समाजमा आदर्श , प्रेरणाको स्रोत तथा सम्मानित जीवन जीउन सकिन्छ । एउटा धानको
गेडो धानको सुनौलो बाला बनेर लहलहाउनु, मानो रोपेर मुरी उब्जनु, बिजको एक दानाले लाखौँ लाख अन्न उब्जाउँछ यसको पछाडिको
रहस्य परिश्रम नै हो ।