पाठ १ कविता
उज्यालो
यात्रा
कवि परिचय
नाम :- रामप्रसाद ज्ञवाली जन्म :- वि. सं. २०२४ गुल्मी जिल्ला
पिता :- दुर्गाप्रसाद ज्ञवाली माता :- कुन्तादेवी
शिक्षा :-
संस्कृतमा शास्त्री
, नेपाली विषयमा स्नातकोत्तर
कृर्ति :- विवश आँसु(नाटक २०४४), परिवर्तनको मोडमा(उपन्यास २०५५), जीवनका घुम्तीहरू (उपन्यास २०५३),
औँसीका फूलहरू(महाकाव्य
२०५३), आख्यानकार पारिजात(समालोचनाग्रन्थ २०५८) , पुतली र झुसिल्किरा( कविता संग्रह २०५९), एकादेशमा ( खण्डकाव्य २०६१), सानी परेवी र बाज(बालकथा२०६१),
असुरग्याँस(कविता संग्रह २०६२), सम्पत्ति(एकाङ्की संग्रह २०६३)
भावार्थ बोध
कर्ममा
छ भने शक्ति जङ्गलै बन्छ नन्दन
घोटिएर
सयौँपटक दाउरो बन्छ चन्दन ।१।
कर्ममा तागत वा शक्ति छ भने जङ्गललाई बगैँचा बनाउन सकिन्छ ।
अर्थात् कर्मशील मानिसका संसारमा असम्भव भन्ने कुनै कुरा छैन । एउटा दाउरोलाई निरन्तर
घोट्दा चन्दन बन्छ । अर्थात निरन्तरको परिश्रम र मिहिनेतले मूल्यवान् बन्न सकिन्छ
।
भएमा उच्च
सङ्कल्प छैन केही असम्भव
सङ्कल्पैले
बनेका हुन महान् मान्छेहरू सब ।२।
सङ्कल्पसहित कार्य गर्न सके केही कुरा असम्भव छैन । संसारका
सबै महान् मानिसको सफलताको कारक सङ्कल्प नै हो । मानिसको सफलता सङ्कल्प र दृढताले सम्भव
भएको हो । बिना सङ्कल्प मानिस सफल हुन सक्दैन । सङ्कल्प नै सफलताको सोपान हो ।
जसका कर्मले
बन्छन् जिन्दगी हँसिला सुखी
अरूको लिनुमा
भन्दा दिनुमा बन्छ जो खुसी ।३।
लिनभन्दा दिन अगाडि सर्ने, अरूलाई दिनमा खुसी हुने व्यक्तिका कर्मले मानिसका जीवन हँसिला
र सुखी बन्दछन् । अरूलाई सहयोग गर्न रमाउने मानिस आफू पनि सुखी र खुसी हुने र अरूलाई
पनि सुख र खुसी दिन सक्छ ।
ईर्ष्या
द्वेष हटाएर जो छर्छन् प्रेम गौरव
तिनै मान्छेहरू
बन्छन् विश्वाका निम्ति गौरव ।४।
ईर्ष्या, द्वेष, वैमनस्यता, शत्रुता त्यागेर प्रेमको पथ अँगाल्ने, प्रेमको प्रकाश छर्ने मानिस विश्वका गौरव बन्न सक्छन् । अरूको
ईर्ष्या गर्ने, कलह गर्ने मानिस अर्थात् मनमा कलुषित भावना राख्ने मानिस असफल हुन्छ । प्रेम , सद्भाव, र सद्विचार एवं प्रेमपूर्ण जीवन बिताउने मानिसको जीवन गौरवपूर्ण
बन्न सक्छन् । प्रेमले मानिसलाई आदर्श
बनाउने र प्रतिष्ठा दिलाउँछ ।
जसका भावना
हाँस्छन् मनमा रागिनी भरी
जसका जिन्दगी
बाँच्छन् रातका चाँदनी छरी ।५।
जो मानिसका मनमा पवित्र भावना वा शुद्ध विचार उत्पन्न हुन्छन्
उसको जीवन रात्रीकालीन् चाँदनी जस्तै चम्किलो ,सुखपूर्ण र शितलतायुक्त हुन्छ । अर्थात् मनमा कुनै खोट , विकारयुक्त विचार , क्लेश वा दुर्भावना नभएको व्यक्तिको जीवन रातको चाँदनी(जून)
झैँ प्रकाश छर्दछ ।
जसका कर्मले
लिन्छन् उच्च जीवनका पथ
तिनैका
पथमा हिँड्छन् मान्छेहरू सगौरव ।६।
कर्मले उच्च जीवनको पथ रोज्ने, अर्थात महान् कर्म गर्ने कर्मशील मानिसले देखाएको बाटो नै सारा
विश्व जगतले पछ्याउँछन् । असल कर्मले स्थापित भएका मानिसले देखाएको बाटो सबैले अनुशरण
गर्ने गर्दछन् । कर्मले मानिसलाई गौरव गर्न लायक बनाउँछ । कर्मले नै मानिसको जीवन उच्च
वा आदर्श बनाउने त्यस्तो उच्च कर्म गर्ने मानिस सबैका लागि प्रेरक बन्दछन् ।
जुटेका
ज्ञानले जो छन् पार्दै धर्ती मनोहर
उठेका कर्मले
जोबछ छन् गर्दै निर्माण सुन्दर ।७।
मानव जातिले आर्जन गरेको ज्ञानले धर्तीलाई स्वर्ग , मनोहर, मनमोहक बनाउन सक्नुपर्छ । कर्मले सुन्दरता निर्माण र रचना गर्नेतर्फ
केन्द्रित हुनुपर्छ । हामीले ज्ञान र कर्मले धर्तीलाई सजाउने र सिँगार्ने कार्य गर्न
सक्नुपर्छ ।
समर्पित
भएका छन् जो सदा न्याय खातिर
संसारमा
उठेका छन् तिनैका विजयी शिर ।८।
न्यायको पक्षमा समर्पित भएका मानिस नै सदा विजयी भएका छन् ।
'सत्यमेव जयते' सत्य र न्यायको मार्ग कठिन भएतापनि अन्त्यमा न्यायको विजय हुन्छ । न्यायको
पक्षपोषण गर्ने मानिस कहिल्यै पराजित हुनु पर्दैन । संसारमा शिर ठाडो गरेर उभिन सक्ने
कर्म नै सत्य र न्यायपूर्ण जीवनयापन हो । न्यायीको शिर कहिल्यै झुक्दैन ।
लोभ लालचमा
छैनन् जसका मनमस्तक
जो सदैव
हुने गर्छन् त्यागका निम्ति उद्यत ।९।
मन मस्तिष्कमा लोभलालच नभएका व्यक्ति नै त्याग गर्न सक्ने स्वभावका
हुन्छन् । लोभलालचले मानव जातिलाई कहिल्यै माथि उठ्न दिँदैन । त्यस्ता मानिसले महान
कार्म गर्न सक्दैनन् । लोभमोह, लालच आशक्ति भएका मानिसमा त्याग र समर्पणको भावना हुँदैन । मनमा
लोभलालच नभएका मानिस सदासर्वदा त्यागका लागि अग्रसर हुने गर्छन् ।
उदात्त
कर्मको यात्रा गर्दछन् जो सधैँ सधैँ
आदर्श नमुना
मान्छे बन्दछन् विश्वमा तिनै ।१०।
जो मानिस उदार कर्म र भावनाले अगाडि बढेका छन् तिनै आदर्श र
नमुना बन्न सक्छन् । अर्थात सहयोगी, उदार भाव वा विचारले मानिस आदर्श र महान् बन्न सक्छन् । कर्म
नै मानिसलाई महान् बनाउने महत्त्वपूर्ण आधार
हो ।
यस्तो आदर्श
यात्रामा कहिले चलुँला नि म ?
चन्द्रसूर्य
बनी आफैँ कहिले बलुँला नि म ? ।११।
कर्मले आदर्श बन्ने र कर्मको प्रकाश छर्ने यात्रामा कहिले चलुँला
? चन्द्रसूर्य बनेर कहिले बलुँला अर्थात संसारलाई
प्रकाशमय पार्न सकौँला ? चन्द्रले रात्रीको निष्पट्टतालाई चिर्दै सुमधुर र शीतल प्रकाशले
उज्यालो छरे झैँ र सूर्यले सारालाई उज्यालो , ऊर्जा प्रदान गरी जीवन दिए झैँ कहिले गर्न सकौँला ?
आफ्नै पौरखले
बाटो कहिले खनुँला नि म ?
सर्वोच्च
कविता आफैँ कहिले बनुँला नि म ?।१२।
आफ्नै श्रम, पौरख र मेहेनतले आफ्नो बाटो कहिले खनुँला , जीवनमा सर्वोच्च कविता जस्तै कहिले बन्न सकिएला भन्ने चिन्तन
र विचारले अगाडि बढ्न सक्नुपर्छ । आफ्नै कर्मले सबैले रसमा डुब्न सक्ने कवितारूपी जीवन
बनाउने तर्फ क्रियाशील हुनुपर्छ ।