पाठः-१
वीर पुर्खा
कविः- वासुदेव
त्रिपाठी
१) 'वीर पुर्खा' कविताको मुख्य भाव के हो ?
→ 'वीर पुर्खा' कविता कवि प्रा. डा. वासुदेव त्रिपाठीद्वारा रचित राष्ट्रवादी
कविता हो। यस कवितामा नेपाल राष्ट्रको एकीकरण, सीमा विस्तार, नेपाली वीर योद्धाहरूको अदम्य साहस, त्याग, बलिदान तथा राष्ट्रप्रेमको
गौरवपूर्ण इतिहासको चित्रण गरिएको छ।
कवितामा राष्ट्रनायक पृथ्वीनारायण शाहको नेतृत्वमा भएको नेपाल एकीकरण
अभियानको स्मरण गरिएको छ। बाइसे–चौबिसे राज्यमा विभाजित नेपाललाई एक सूत्रमा बाँधेर
विशाल नेपालको निर्माण गर्ने कार्यमा नेपाली वीरहरूले महत्वपूर्ण योगदान दिएका
थिए। उनीहरूले पूर्वमा टिस्टा, पश्चिममा काँगडा तथा उत्तरतर्फ तिब्बतसम्म वीरतापूर्वक
युद्ध गरी नेपालको सीमा विस्तार गरेका थिए।नालापानीको खलङ्गा युद्धमा अमरसिंह
थापा, भक्ति थापा, बलभद्र कुँवर
लगायतका वीर योद्धाहरूले देखाएको साहस, राष्ट्रभक्ति र युद्धकौशल इतिहासमा स्वर्ण अक्षरले लेखिएको
छ। नेपाली वीरहरूका लागि आफ्नो राष्ट्रको स्वतन्त्रता र अखण्डता प्राणभन्दा
प्यारो थियो। त्यसैले उनीहरूले विदेशी हस्तक्षेपका विरुद्ध ज्यानको बाजी लगाएर
संघर्ष गरेका थिए।सुगौली सन्धिपछि नेपालले आफ्नो धेरै भूभाग गुमाउनुपरे तापनि
नेपाली वीरहरूको शौर्य, पराक्रम र बलिदान कहिल्यै मेटिन सकेन। टिस्टा, राबी, काँगडा, वेत्रावती तथा डिगर्चागुम्बाजस्ता स्थानहरूले आज पनि नेपाली
वीरताको इतिहास सम्झाइरहेका छन्। विश्वयुद्धहरू तथा विश्व शान्ति स्थापनाका
अभियानहरूमा नेपाली सेनाले देखाएको वीरताको प्रशंसा संसारभर फैलिएको छ।
नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउन विभिन्न षड्यन्त्र र प्रपञ्च गरिए
पनि नेपाली वीरहरूको आत्मबल, देशप्रेम र साहसलाई कुनै शक्तिले रोक्न सकेन। जननी
जन्मभूमिलाई स्वर्गभन्दा महान् ठान्ने नेपाली वीरहरूले सधैँ राष्ट्रको रक्षा
गरेका छन्। त्यसैले कविले वीर पुर्खाहरूको त्याग, समर्पण, वीरता र राष्ट्रभक्तिको मुक्तकण्ठले प्रशंसा गर्दै वर्तमान
पुस्तालाई उनीहरूको गौरवपूर्ण इतिहासबाट प्रेरणा लिन सन्देश दिएका छन्।
अभ्यास
शब्दभण्डार
२. दिइएको अर्थ दिने शब्द पाठबाट छानेर लेख्नुहोस्:
क) गिद्ध प्रजातिको ठुलो पक्षी
विशेष = गरुड
ख) प्रवाह = वेग
ग) डाम = डोब
घ) गौँडा = नाका
ङ) पुरुषार्थ = पौरख
३. तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्:
→ पर्वत = नेपालको उत्तर भूमिमा रहेका
साना ठुला पर्वतले नेपाललाई विश्वमा
परिचित गराएको छ।
→ तीर = हाम्रा पुर्खाले पौरखको चिनो
वेत्रावती नदीको तीरमा छाडेका छन्।
→ बहादुर = बहादुर नेपालीहरू
जस्तो सुकै सङ्घर्ष गर्न तयार छन्।
→ सङ्केत = मैले
गरेको काम राम्रो भएको सङ्केत साथीहरूले मलाई दिए।
→ नभ = रातको समयमा नभमा चम्किएको
तारहरू हेरेर रमाउने लक्ष्मीप्रसाद देवकोटालाई
सबैले पागल भने।
→ समुद्र = जलस्रोतको भण्डार नै
समुद्र हो।
→ पाषाण(पथर,ढुङ्गा = पाषाण युगमा मानवको
जीवनशैली अत्न्तै कष्टकर थियो।
→ झन्डा = नेपालको झन्डा अन्य देशको
भन्दा पृथक छ।
४. दिइएका शब्दसँग मिल्ने अनुप्रासयुक्त शब्द खोज्नुहोस्:
→ आँधी = समाधि, व्याधी → वेग = मेग, डेग → खोला = झोला, तोला
→ तराई = पराई, कराई → धारा = सारा, पारा → माटो = बाटो, फाटो
→ रगत = जगत्, फगत → गौरव = सौरव, → यात्रा = जात्रा, मात्रा
बोध र अभिव्यक्ति
१. कविता पढी दिइएका प्रश्नको उत्तर दिनुहोस्:
क) कवितामा कति ओटा श्लोक छ ?
उत्तरः- कवितामा चार ओटा श्लोक छ ।
ख) कुन कुन पङ्क्तिमा
सबैभन्दा बढी पद रहेका छन् ?
उत्तरः- पहिलो श्लोक पहिलो, दोस्रो र तेस्रो पङ्क्तिमा सबैभन्दा बढी ८/८ ओटा पद रहेका छन्।
ग) समान पदसङ्ख्या भएको श्लोक कुन हो ?
उत्तरः- समान पदसङ्ख्या भएको श्लोक दोस्रो हो ।
घ) कुन पङ्क्तिमा सबैभन्दा कम पद रहेका छन् ?
उत्तरः- तेस्रो श्लोकको दोस्रो पङ्क्तिमा सबैभन्दा कम पद रहेका छन् ।
ङ) कवितामा प्रयोग भएका नदी र
स्थानको सूची बनाउनुहोस्।
उत्तरः- कवितामा प्रयोग भएका नदी र स्थानको सूची
→ नदी = टिस्टा, राबी, गङ्गा, वेत्रावती
→ स्थान = काँगडा, कलाङ्गा, डिगर्चा
३. कविता पढी विषयको क्रम मिलाएर लेख्नुहोस्:
क) वीर पुर्खाहरूको रगत नेपालीको
नसा नसामा छ।
ख) वीर पुर्खाको गतिलाई खोला र
आँधीले रोक्न सक्दैन।
ग) वेत्रावतीको किनारमा नेपालीको
पौरखको चिनो छ।
घ) काँगडा र कलाङ्गाले नेपालको
इतिहास बोलेको छ।
ङ) पुर्खाको पौरखले नेपालको पहाड र
तराईलाई जोडेको छ।
उत्तरः- ख) वीर पुर्खाको गतिलाई खोला र आँधीले रोक्न सक्दैन।
ङ) पुर्खाको पौरखले नेपालको पहाड
र तराईलाई जोडेको छ।
घ) काँगडा र कलाङ्गाले नेपालको
इतिहास बोलेको छ।
ग) वेत्रावतीको किनारमा नेपालीको
पौरखको चिनो छ।
क) वीर पुर्खाहरूको रगत नेपालीको
नसा नसामा छ।
४. दिइएको कवितांश पढ्नुहोस् र सङ्क्षिप्त उत्तर लेख्नुहोस्:
डिगर्चामा डोब तिम्रो चिसो
हिउँभित्र होला
वेत्रावती किनारभरि पौरखको
चिनो होला
वीर पुर्खा ! तिमीलाई
मितेरीले मात्र बाँध्यो
सागर तरी संसारभरि वीर
गोर्खा रगत बग्यो।
प्रश्नहरू
क) माथिको कवितांशमा हाम्रा पुर्खाहरूका बारेमा के भनिएको छ
?
उत्तरः- हाम्रा पुर्खा वीर र साहसी थिए। उनीहरूको हृदय राष्ट्रिय भावनाले ओतप्रोत भएको थियो । उनीहरूले व्यक्तिगत स्वार्थलाई महत्त्व दिएका थिएनन् । राष्ट्रिय स्वतन्त्रता र अखण्डतालाई महत्त्व दिएका थिए । उनीहरू निस्वार्थ रूपमा विदेशी हस्तक्षेपका विरुद्ध जाइलागेका थिए । उनीहरू वैरीहरूले देखाएका लोभलालच र स्वार्थमा फसेनन्। उनीहरू वैरीका विरुद्ध जाइलागे । उनीहरूको साहस र वेगलाई संसारका कुनै पनि शक्तिले छेक्न सकेन । हाम्रा पुर्खाले युद्धमा देखाएको युद्ध कौशलको विश्वले प्रशंसा गरेको छ। यो देशलाई वीर पुर्खाले वीरवीराङ्गनाको देश भनेर चिनाएका छन् ।
ख) हामीले हाम्रा पुर्खाको गौरव कसरी जोगाउन सक्छौँ ?
उत्तरः- पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म लमतन्न फैलिएको हिमाल, पहाड र तराई मिलेको अखण्ड नेपालको निर्माण पुर्खाकै योगदान हो। तिनै साहसी पुर्खाकै कारणले आज हामीले सुन्दर, शान्त, विशाल नेपाल पाएका छौँ। स्वतन्त्र र स्वाभिमानी नेपालीको रूपमा विश्वमा शिर ठाडो पारेर बाँच्न पाएका छौँ । हामी तिनै वीर पुर्खाका सन्तति हौँ । तिनकै रगत हाम्रा नसानसामा बगेको छ । त्यसैले आफ्नो देशको स्वतन्त्रता र अखण्डतालाई जोगाउने जिम्मा हाम्रो हो। आवश्यक परेको खण्डमा जन्मभूमिको रक्षाका लागि प्राणको आहुति दिनुपरेमा खुट्टा कमाउनु हुँदैन । पुर्खाले देखाएको बाटो अनुसरण गर्नुपर्छ । विदेशीको लोभलालच वा इसारामा परी वैरीसामु घुँडा टेक्नु हुँदैन भन्ने भावना आम नेपालीहरूमा विकास हुन पुग्यो भने मात्र हामीले हाम्रा पुर्खाको गौरवलाई जोगाउन सक्षम हुन्छौँ ।
ग) 'सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो।' यस कथनको तात्पर्य के हो ?
उत्तरः- अदम्य साहस भएका वीर गोर्खालीहरूलाई ऐतिहासिक कालखण्डमा कुनै पनि विश्वको तागतले परास्त गर्न नसकेको तर सन्धि र सम्झौता गरी मित्रताको बन्धनले बाँधी सम्झौता बमोजिम जितेको भूमि फिर्ता गर्नु परेको थियो जुन हार भने कदापि होइन, यदि लडाईं नै भएको भए पनि गोर्खालीले पराजय कदापि भोग्नुपर्ने थिएन भनी कविले सुगौली सन्धिको सङ्केत गरेका छन् । सुगौली सन्धिकै मर्मअनुसार नेपाली युवाहरू ब्रिटिस सेनामा भर्ती हुने गरेको र बेलायत सरकारले खटाएअनुसार समुद्र पार गरी विभिन्न देशमा गएर बहादुरी प्रदर्शन गरेका थिए । समुद्र तरेर संसारभरि वीर गोर्खालीको अदम्य साहस र बहादुरी प्रदर्शन गरी रगत र पसिना बगाई विश्वमा प्रशंसित वीर गोर्खालीका रूपमा चिनिए भन्नु नै यस कथनको तात्पर्य हो ।
५. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्:
कुन पहाडले कुन खोलाले
तिम्रो गति छेकेथ्यो र
वीर पुर्खा ! कुन आँधीले
तिम्रो यात्रा रोकेथ्यो र
गरुडको झैँ वेग तिम्रो कुन
आकाशले बाँध्न सक्यो
पौरखले रच्यौ नेपाल ! पहाड
तराई जुट्न सक्यो।
प्रश्नहरू
क) नेपालीहरूको कस्तो पौरखले नेपालको रचना भएको हो ?
उत्तरः- आफ्नो व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर राष्ट्र र राष्ट्रियतालाई प्राणभन्दा प्यारो ठान्ने देशभक्त नेपाली शूर वीरहरूको त्याग, तपस्या र वलिदानले गर्दा नै नेपालको रचना भएको हो । विश्वको कुनै पनि तागतसँग घुँडा टेकेनन्, राज्यको सीमा विस्तार गर्न एवं सीमा रक्षार्थ पर्खाल बनेर खडा भए । वैदेशिक हस्तक्षेपका विरुद्ध गरुडको झै तिव्र वेगमा जाइ लागे। पुर्खाको तिव्र वेगलाई न पहाडले छेक्न सक्यो न आँधीले नै रोक्न सक्यो । विस्तारवाद र साम्राज्यवादका विरुद्ध आगो बनेर कुर्लिए । मातृभूमिको रक्षार्थ प्राणको बाजी थापेर लडे । सुन्दर शान्त विशाल नेपाल निर्माणका लागि सच्चा देशभक्त बने, प्राणको
आहुति दिन पछि परेनन् । यसरी नेपालीहरूको देशभक्ति भावनाको पौरखले नेपालको रचना भएको हो ।
ख) कवितांशका आधारमा हाम्रा वीर
पुर्खाको गौरव गाथाको वर्णन गर्नुहोस्।
उत्तरः- हाम्रा वीर पुर्खाहरूको वीरताको गौरवगान गाइएको यस कवितांशमा वीर पुर्खाहरूमा अदम्य साहस थियो । वीर पुर्खाहरूमा शूरता, वीरता, बहादुरीपन, निडरतापन प्रवल थियो । जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अविचलित भई वैरीका हाँक चुनौतीलाई निमिट्यान्न पार्ने सामर्थ्य थियो । विश्वको कुनै पनि तागतले रोक्न छेक्न सक्दैनथ्यो । कुनै पनि पहाडले, खोलाले पुर्खाको तुफानी वेगलाई छेक्न सकेन, आँधीले पुर्खाको यात्रा रोक्न सकेन । गरुडको वेगझैँ हावामा कावा खान सक्ने पुर्खालाई कुनै पनि विश्वको शक्तिले वाध्न सकेन । वीर पुरुषार्थी पौरखी पुर्खाकै देनका कारण नेपाल हिमाल, पहाड, तराईको भूवनोटमा सीमावद्ध हुन सकेको छ भनी पुर्खाको गौरवगान गाइएको छ ।
६. 'वीर पुर्खा' कविताको चौथो श्लोकलाई मुख्य आधार बनाई
दिइएको प्रश्नको उत्तर दिनुहोस्:
नाका थुनी नेपालीलाई कसले
छेक्न सकेथ्यो र
हिमालको हिमनदी कसले रोक्न
सकेथ्यो र
वीर पुर्खा ! तिम्रै रगत
नेपालीको नसाभरि
उही गीत उही गौरव
चन्द्रसूर्य ध्वजाभरि।
प्रश्नहरू
क) नेपालीहरूको वीरता कसरी गुञ्जिएको छ ?
उत्तरः- नेपाली स्वर्णीम इतिहासका स्रष्टा विश्वप्रशंसित वीर गोर्खाली देशभक्त स्वाभिमानी नेपालीहरूले ऐतिहासिक कालखण्डमा नालापानीको युद्ध, भोटतिब्बतसँगको युद्ध एवं प्रथम र दोस्रो विश्वयुद्धमा देखाएको शूरता र वीरताले वीर गोर्खाली नेपाली विश्ववीर, साहसी, शूरवीर, निडर, पुरुषार्थी, बहादुरका रूपमा विश्वभर नेपालीको वीरता गुञ्जिएको छ।जस्तोसुकै प्रतिकूल अवस्थामा पनि मर्नदेखि नडराउने, वैरीसामु कहिल्यै नझुक्ने, प्राणको बाजी थापेर मृत्युसँग पौठेजोरी खेल्ने महान् योद्धा, लडाकू एवं बहादुर गोर्खालीका रूपमा नेपालीको वीरता गुञ्जिएको छ ।
ख) चन्द्रसूर्य ध्वजामा कस्तो गौरव अङ्कित छ ?
उत्तरः- राष्ट्रिय ध्वजा कुनै पनि देशको निशानी एवं पहिचान हो । हाम्रो देशको राष्ट्रिय झण्डामा राष्ट्रियता एवं जातीय स्वाभिमान प्रतिविम्वित भएको पाइन्छ । त्रिकोणात्मक आकारमा चन्द्र सूर्य अङ्कित झण्डा वैदिक विधिअनुसार पनि शुभसूचक भएको मानिन्छ । जबसम्म चन्द्र सूर्य आकाशमा रहिरहन्छन् तबसम्म नेपालको स्वतन्त्र अस्तित्व रहिरहनेछ । नेपाल स्वतन्त्र अखण्ड सार्वभौम देशको रुपमा अमरत्व पाइरहनेछ । झण्डामा रहेको रातो रङले वीरता एवं स्वतन्त्रतालाई सङ्केत गर्दछ भने निलो रङले शान्तिप्रिय नेपालीको स्वभावलाई बुझाउँछ । चन्द्र सूर्य झण्डामा राष्ट्रियताको बोधका साथै ऐतिहासिक परम्पराको गौरवबोध गर्न सकिन्छ । पुर्खाको वलिदानीपूर्ण गौरवगाथा बोकेको ध्वजाको संरक्षणका लागि हामी सबै नेपाली देशभक्ति भावना उजागर गरी राष्ट्रिय कर्तव्य बोध गरी देशको भलाइमा समर्पित हुनुपर्छ ।
८. दिइएका बुँदाका आधारमा 'वीर पुर्खा' कविताको
समीक्षात्मक टिप्पणी लेख्नुहोस्:
क) पूर्खाको विजय यात्रालाई पहाड र खोलाले छेक्न तथा आँधीले रोक्न नसकेको
ख) आकाशमा स्वच्छन्द उड्ने गरुडको जस्तो वेग
ग) पौरखी पुर्खाले तराई, पहाड र हिमाललाई जोडेर नेपाल बनाएका
घ) हाम्रा वीर पुर्खाको बहादुरीको गीत टिस्टा र राबी नदी तथा काँगडा, कलङ्गा र गङ्गासम्म
गुञ्जिएको
ङ) उत्तरमा तिब्बतसम्म पौरखी पाइला पुगेको
च) मित्रताले मात्र पुर्खाहरूको विजय यात्रालाई रोक्न सकेको
छ) पुर्खाहरूको बहादुरी संसारभरि फैलिएको
ज) हाम्रो नसामा आज पनि पुर्खाकै रगत बगेको
उत्तरः- 'वीर पुर्खा' कविता कवि तथा
समालोचक वासुदेव त्रिपाठी(१९९९)द्बारा रचना गरिएको प्रसिद्ध कविता हो। यस कविताले
नेपाल एकीकरण र निर्माणमा जीवन समर्पण गर्ने वीर पुर्खाको महिमा गान गरेको छ।यस
कविताले हाम्रा पुर्खा कायर, लाक्षी र अल्छी नभई वीर र पराक्रमी थिए भन्ने कुराको सङ्केत
गरेको छ।विशाल नेपाल निर्माण गर्ने लक्ष्यका साथ अघि बढेका वीर पुर्खाले मुलुकको
हितका लागि यसभित्रका स-साना राज्यहरूलाई एक बनाउने काम गरे भने विदेशी भूमिको
विस्तारवादी नीतिको सामना गर्दै स्वदेशको भूगोल विस्तार तथा त्यसको रक्षा गर्ने महान
कार्य गरेका थिए।
पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेपश्चात् नेपाली सेनामा उत्साह जागेको थियो । नेपालमा बढ्दै गएको विदेशी हस्तक्षेपबाट उनीहरू असन्तुष्ट भएका थिए । सीमामाथि भएको हस्तक्षेप सह्य थिएन । परिणामस्वरूप यसका विरुद्ध नेपाली सेना जाइलागे। वीर पुर्खाको विजय यात्रालाई पहाड र खोलाले छेक्न तथा आँधीले रोक्न सकेन । नेपाली वीर सेनाको उत्साहको गति आकाशमा स्वच्छन्दरूपमा कावा खाँदै उड्ने गरुडको जस्तो वेग थियो । पौरखी पुर्खाको पुरुषार्थले हिमाल, पहाड र तराईको भौगोलिक संरचना भएको अखण्ड नेपालको निर्माण हुन सकेको हो ।
सीमा विस्तारको सन्दर्भमा नेपाली सेना पूर्वमा टिस्टा र पश्चिममा काँगडा तथा राबी नदीसम्म पुगेका थिए । हाम्रा पुर्खा बलभद्र, भक्ति थापा, अमरसिंह जस्ता वीर नेपाली सेनाको बहादुरी, शौर्य, पराकम र युद्ध कौशलको गीत टिस्टा र राबी नदी तथा काँगडा, कलङ्गा र गङ्गासम्म गुन्जिएको थियो र अझै गुन्जिरहेको होला । उत्तरतर्फ हाम्रा वीरका पाइला डिगर्चागुम्बासम्म पुगेका थिए । वि.सं. १८७२ मा भएको सुगौली सन्धि र मित्रताका कारणले मात्र त्यस यात्रालाई रोक्न सकेको थियो। आजपर्यन्त हाम्रा पुर्खाको बहादुरी संसारभर फैलिएको छ ।
हामी तिनै वीर पुर्खाका सन्तति हौँ। नसा नसामा वीर पुर्खाको रगत बगेको छ। नेपाल र नेपालीको गौरव र अखण्डताको रक्षा गर्ने दायित्व हामीसामु आएको छ भन्ने भाव बोकेको यस
कविताले मूलत: राष्ट्रको हितका लागि सदैव समर्पित रहनुपर्ने कुरामा जोड दिएको छ।
९. दिइएको अनुच्छेद पढी मुख्य मुख्य बुँदा टिप्नुहोस्:
→ सुरु सुरुमा इतिहास पनि
साहित्यकै एक अङ्गका रूपमा मानिएको थियो।मानिसलाई आनन्द दिलाउने तथा मनोरञ्जन
प्रदान गर्ने साधनका रूपमा यसको प्रयोग गरिन्थ्यो।इतिहासका सत्य घटनालाई बढीभन्दा
बढी रोचक बनाउन अनेक काल्पनिक कुरा समावेश गरिन्थ्यो। यसले गर्दा इतिहासको
वास्तविकता के हो, पहिल्याउनसमेत गाह्रो पर्थ्यो। इसापूर्व पाँचौँ शताब्दीतिरका केही चिन्तकहरू
इतिहासलाई तथ्यपूर्ण बनाउन प्रयत्नशील थिए। ग्रिक विद्बान हेरोडोटसको नाम यस
प्रसङ्गमा विशेष उल्लेखनीय छ।उनी इतिहासका प्रथम सिद्धान्तकारका रूपमा पनि
चिनिन्छन्।हेरोडोटसपछि थुप्रै विद्बानले इतिहासलाई कथा र दन्त्यकथाभन्दा अलग ढङ्गले
लेख्ने प्रयत्न गरे। हेरोडोटसकै अनुयायी थ्युसिडाइसले पेलोपोनेसियन युद्धको
इतिहास आफ्नै व्यक्तिगत अवलोकन र प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारेका
थिए। अरिस्टोटलले इतिहासलाई दार्शनिक चिन्तनका रूपमा लिएका थिए।मध्यकालमा आएर
युरोपमा इतिहासलाई धर्मसँग गाँसेर अध्ययन र परिभाषित गर्ने परिपाटी विकास भयो।
सोरौँ सत्रौँ शताब्दीमा युरोपमा आएको पुनर्जागरणले भने इतिहास लेखनमा ठूलै
परिवर्तन ल्यायो। यस युगमा आएको परिवर्तनले गर्दा फेरि विद्बान्हरूले इतिहास
लेखनलाई तथ्यपूर्ण बनाउन थाले। आधुनिक युगमा इतिहास लेखनको वैज्ञानिक पद्धतिको
विकास भयो। यस युगमा प्राचीन इतिहासको खोजीको प्रक्रिया पनि तीव्र भयो र इतिहासको
खोजीको प्रक्रिया पनि तीव्र भयो र इतिहास एउटा छुट्टै विधाका रूपमा स्थापित भयो।
मुख्य बुँदाहरू
१) साहित्यको अङ्गका रूपमा रहेको इतिहास मानिसलाई मनोरञ्जन दिलाउने साधनका
रूपमा प्रयोग गरिएको,
२) इतिहासमा धेरै काल्पनिक कुरा समावेश गरिने हुनाले यसको वास्तविकता
पहिल्याउन
गाह्रो भएको,
३) ग्रिक विद्बान् हेरोडोटसको प्रयासलाई सघाउँदै उनी पछिका विद्बान्हरूले
इतिहासलाई
तथ्यपूर्ण बनाउने प्रयास गरेका,
४) सोरौँ शताब्दीमा युरोपमा आएको पुनर्जागरणले इतिहासलाई तथ्यपूर्ण बनाउन बल
पुगेको,
५) विभिन्न परिवर्तनहरू सामना गर्दै आएको इतिहास वर्तमान समयमा छुट्टै
विधाका रूपमा
स्थापित।
१०. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्:
→ भाषा यादृच्छिक वाक्प्रतीकहरूको
त्यस्तो व्यवस्था हो, जसका सहायताले समाजका व्यक्ति आफ्ना विचार विनिमय गर्छन्। भाषालाई स्पष्ट
रूपमा चिन्न यसका प्रकृति र विशेषताको उल्लेख गर्नु अझ सान्दर्भिक ठहरिन्छ। भाषा
पूर्णतः पैतृक सम्पत्ति नभई मानिसको आर्जित सम्पत्ति हो।भाषा सामाजिक वस्तु हो र
यो एक प्रकारको परम्परा पनि हो। कुन पनि
व्यक्ति भाषाको आर्जन गर्न सक्दछ तर पूर्णरूपले उत्पादन गर्न सक्दैन। वास्तवमा
भाषा अनुकरणद्बारा आर्जन गर्ने गरिन्छ। भाषा परिवर्तनशील हुने भएकाले यसको कुनै
अन्तिम स्वरूप हुँदैन। भाषाको भौगोलिक र ऐतिहासिक सीमा हुन्छ। प्रत्येक भाषाको आफ्नै
प्रकारको संरचना हुन्छ। स्वाभाविक रूपमा हरेक भाषा जटिलताबाट सरलतातर्फ यात्राशील
रहन्छ।त्यस्तै हरेक भाषा आफ्नो विकासको क्रममा स्थूलबाट सुक्ष्मतिर र अपरिपक्वको
स्थितिबाट परिपक्वको स्थितितिर यात्रारत रहन्छ। सबै भाषाको आफ्नो मानक रूप
हुन्छ। यादृच्छिकता, सिर्जनात्मकता, द्बैधता, सान्दर्भिकता, मौखिकता, श्रावणिकता भाषाका
विशेषता हुन्।
प्रश्नहरू
क) भाषा भनेको के हो ?
उत्तरः- भाषा यादृच्छिक वाक्प्रतीकहरूको त्यस्तो व्यवस्था हो, जसका सहायताले
समाजका
व्यक्तिहरू आफ्ना विचार विनिमय
गर्छन् ।
ख) भाषाका विशेषताहरू बताउनुहोस्।
उत्तरः- यादृच्छिकता, सिर्जनात्मकता, द्बैधता, सान्दर्भिकता, मौखिकता, श्रावणिकता भाषाका विशेषता
हुन्।
ग) 'वाक्प्रतीक' र 'यादृच्छिक' शब्दको अर्थ लेखी वाक्यमा प्रयोग गर्नुहोस्।
उत्तरः- वाक्प्रतीक = बोली चिन्ह
→ भाषा वाक्प्रतीकहरूको सुव्यवस्थित
व्यवस्था हो।
यादृच्छिक = इच्छा अनुसारको
→ यादृच्छिकता भाषाको महत्त्वपूर्ण विशेषता हो।
घ) यस अनुच्छेदको पहिलो वाक्यलाई
संयुक्त वाक्यमा बदल्नुहोस्।
उत्तरः- भाषा यादृच्छिक वाक्प्रतीकहरूको व्यवस्था हो र समाजका व्यक्तिहरू यसका
सहायताले
आफ्ना विचार विनिमय गर्छन्।
