पाठः- १ आमाको सपना
शब्दभण्डार
१. उस्तै अर्थ दिने शब्दबिच जोडा मिलाउनुहोस्:
शब्द अर्थ
उषा झिसमिसे उज्यालो
सपना रमाइलो भविष्यको आशा वा कल्पना
यौवन युवा अवस्था
कलिलो कलकलाउँदो
सङ्ग्राम लडाइँ
जडता मूर्खता
कण्ठ घाँटी
आशा चाहेको वस्तु पाउने इच्छा
२.
अर्थसँग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस्:
क) राती जमिन, रूख, पात आदिमा पर्ने
पानीका ससाना बाजा = शीत
ख) ओठमा राखी दाहिने कुमतिर फर्काई
बजाइने बाँस, निगालो आदिबाट
बनाएको
बाजा = बाँसुरी
ग) लिने वा समात्ने काम = ग्रहण
घ) सिर्जना गर्ने क्षमता = सिर्जनाशक्ति
ङ) सन्तुष्ट हुने वा पार्ने वचन = सान्त्वना
च) वेगसित चलेको हावा = हुरी
३.
दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस् र तिनलाई वाक्यमा प्रयोग पनि
गर्नुहोस्:
वायु
= हुरी, बतास,
आमा
= माता, जननी
मधुर
= मीठो,
गरिमा = गौरव, इज्ज्त
करूणा = दया, माया, ममता
नगर =सहर
दक्ष = विज्ञ, जान्ने, विद्बान्
एकान्त = सुनसान, एकलास, निर्जन
धरती = पृथ्वी, भूमि
शिशु = बालक, बच्चो
५.
दिइएका पारिभाषिक शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाउनुहोस् र शब्दकोशको
सहायता लिई तिनको अर्थ पनि लेख्नुहोस्:
→ देवानी, फौजदारी, वारेस, सरजमिन, मुचुल्का, अध्यादेश, अधिवक्ता, विधेयक, जमानत,
बिगो, इजलास, कायलनामा, हदम्याद, सनाखत, तारिख
उत्तरः- अधिवक्ता, अध्यादेश, इजलास, कायलनामा, जमानत, तारिख, देवानी, फौजदारी,
बिगो, मुचुल्का, वारेस, विधेयक, सनाखत, सरजमिन, हदम्याद
अधिवक्ता= अदालतमा झगडिया वा वादी-प्रतिवादीका तर्फबाट बहस गर्ने कानुनी विशेषज्ञ, वकिल
अध्यादेश= संसद्को अधिवेशन नभएको वेला निश्चित अवधिका लागि सरकारको सिफारिसमा राष्ट्रध्यक्षबाट जारी गरिने आदेश, अस्थायी ऐन-कानुन
इजलास= मुद्दाको सुनुवाइ वा वहस हुँदा
न्यायाधीश बस्ने ठाउँ
कायलनामा= कसुर स्वीकार गरेर लेखिएको कागज
जमानत= मुद्दामामिला पर्दा, ठेक्कापट्टा लिँदा
वा ऋण लिँदा सम्बन्धित अड्डाले जम्मा गर्न
तोकेको रकम, धरौटी
तारिख = अड्डा अदालतमा कुनै व्यक्ति
वा झगडियालाई हाजिर हुन तोकिएको मिति वा
त्यस्तो कुरा लेखिएको कागज
देवानी = लेनदेन, अंशबण्डा, धनसम्पत्ति सम्बन्धी
मुद्दामामिला
फौजदारी = कुटपिट, हत्य, चोरी आदिसँग
सम्बन्धित मुद्दामामिला
बिगो = कसैको नोक्सानी गरेबापत
तिर्नुपर्ने जरिमाना वा त्यस्तो रकम
मुचुल्का = कुनै घटना वा गतिविधिको स्थलगत लिखित विवरण
वारेस = मुद्दामामिलामा कुनै पक्षका तर्फबाट कार्य गर्ने अधिकृत वा व्यक्ति
विधेयक = कानुनको मस्यौदा
सनाखत = अपरिचित वा हराएको वस्तु चिन्ने-चिनाउने वा भिडाउने काम
सरजमिन= घटना भएको ठाउँ वा घटनास्थल
हदम्याद = कुनै काम गरिसक्ने अन्तिम सीमा
बोध
र अभिव्यक्ति
३. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्:
आमा, त्यो आउँछ र ? त्यो आउँदा तिमी पहिले त सपना
हो कि भनेर
"हो, बा, त्यो आउँछ छामछुम गर्ने छौ तर त्यो हिउँ
र आगोभन्दा पनि
त्यो बिहानको
सूर्य झैँ उज्यालो छर्दै आउँछ ।
बढ्ता छोइने भएर आउँछ"
त्यसको
कम्मरमा झुन्डिएको शीत जस्तै टल्कने
तिमी एक
हतिहार देख्ने छौ
त्यसैले ऊ
अधर्मसँग लड्ने छ
प्रश्नहरू
क) 'त्यो' र 'तिमी' भनेका को को हुन् ?
उत्तरः- त्यो भनेको क्रान्ति अथवा
प्रजातन्त्र हो भने तिमी भनेको नेपाल आमाका सन्तान हुन्।
ख) किन क्रान्तिको आवश्यकता परेको हो ?
उत्तरः-
तात्कालीन नेपालको निरङ्कुश शासन प्रणाली र यस व्यवस्थाका आडमा मौलाएका अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन, विभेद, अधर्म, विकृति र विसङ्गतिहरूलाई हटाएर प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न र सामाजिक
शान्ति स्थापनार्थ क्रान्तिको आवश्यक
परेको हो।
ग) 'त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ' भन्नुको तात्पर्य के हो ?
उत्तरः- हिउँ
सबैभन्दा चिसो र आगो सबैभन्दा तातो हुने हुनाले यी दुवैसँग खेल्नु विनाश निम्त्याउनु
हो। यहाँ त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ भन्नाले भविष्यमा सञ्चालन हुने
क्रान्तिले निरङ्कुशताको अन्त्य हुने र त्यो क्रान्तिको सामना निरङ्कुश
शासकहरूले गर्न सक्दैनन् भन्न खोजिएको हो।
घ) माथिको कवितांशमा कस्तो शैलीको प्रयोग गरिएको छ ?
उत्तरः-
माथिको कवितांशमा गद्य र संवादात्मक शैलीको प्रयोग गरिएको छ।
४.
तलको कवितांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्:
हो र आमा !
"हो, तिमी जन्मँदा तिम्रो कलिलो
अनुहारमा
त्यसकै छाया
देख्ने आशा गरेकी थिएँ
तिम्रो
हिस्सी परेको हँसाइमा त्यसकै सुन्दर छवि
तिम्रो तोते
बोलीमा त्यसकै मधुर ध्वनि
तर त्यो मिठो
गीतले तिमीलाई
आफ्नो
बाँसुरी बनाएनछ ! प्रश्नहरू
त्यो तिमी नै
हौला भन्ने क) आमाको
सपना के थियो ?
मेरो
यौवनभरिको सपना थियो।" ख) 'त्यो मिठो गीतले तिमीलाई आफ्नो
बाँसुरी
बनाएनछ' भन्नुको तात्पर्य
के हो ?
क) आमाको सपना के थियो ?
उत्तरः- क्रान्तिचेतले भरिएको रिमालको यस कवितामा नेपाल आमालाई आमाको रूपमा चित्रण गरिएको छ । वि. सं. २००७ सालको क्रान्तिको पूर्वगानका रूपमा रचिएको यस कवितामा निरङ्कुशताको जञ्जिरमा बाँधिएकी नेपाल आमाको छातीमा मडारिएको शोषण, दमन, अन्याय, अत्याचार, अधर्म, कुशासन एवं कुव्यवस्थाको पीडा र जलनलाई हटाई मुक्ति दिलाउनका लागि क्रान्किारी महान् योद्धा देशभक्त सपूतको जन्मको चाहना अनि सामाजिक परिवर्तनका लागि क्रान्तिको चाहना नै आमाको सपना थियो । निरङ्कुशता एवं अधर्म, असत्य, अन्यायको अन्त्य गरी धर्म, सत्य, न्यायको स्थापना गरी समतामूलक, शोषणमुक्त, प्रजातान्त्रिक समाज निर्माणका लागि क्रान्ति अवश्यम्भावी भएकाले वर्तमानका सन्ततिबाट त्यो सम्भावना नदेखेपछि आमाले भविष्यमा क्रान्तिपुत्र जन्मने र त्यसैले क्रान्तिको नेतृत्व गरी प्रजातन्त्रको सुनौलो विहानी ल्याउने छ, देशले विकास र समृद्धिको गति लिने छ, समाज वदल्ने छ भन्ने नेपाल आमाको क्रान्तिप्रतिको विश्वास र क्रान्तिको अभिलाषा नै आमाको सपना थियो ।
ख) "त्यो मिठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएनछ" भन्नुको
तात्पर्य के हो ?
उत्तरः- प्रस्तुत कवितांशमा नेपाल आमाले आजसम्म आफूले क्रान्तिकारी देशभक्त योद्धा वा क्रान्तिकारी महान् सपूतलाई जन्म दिन नसकेकोमा दुःखेसो प्रकट गरेकी छिन् । आफूले जन्माएका सन्ततिमा क्रान्तिको छवि देख्न चाहे तापनि अहिलेसम्म देख्न नसकेको, क्रान्तिको मिठो गीतले प्रभाव पारी क्रान्तिकारी बनाउन नसकेको, क्रान्तिको मिठो गीत घन्काउने बाँसुरी बनाउन नसकेको, क्रान्तिले देश र जनतालाई कुशासनको चक्रबाट मुक्ति दिलाउन क्रान्तिरूपि मिठो गीत घन्काउने बाँसुरीरूपी महान् योद्धा बनाउन नसकेको, नेपाल आमाका वर्तमानका छोराछोरीहरूले कुशासन र कुव्यवस्थाको फलामे जन्जिरबाट नेपाल आमालाई मुक्ति दिलाई प्रजातन्त्रको सुनौलो विहानी ल्याई आमाको मुहार हँसाउन प्राणको वाजी थापी क्रान्तिमा होमिन नसकेको, तानाशाहका विरुद्ध गर्जन निकाल्न नसकेको, तानाशाहका अगाडि लाछी, काँतर वनेकोमा दुःखेसो प्रकट गर्दै आफूले सोचेजस्तो क्रान्तिकारी महान् योद्धा बनी राष्ट्रिय मुक्ति मार्गमा आफ्ना सन्ततिहरू हिँड्न नसकेको भन्नु नै “त्यो मिठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएनछ" भन्नुको तात्पर्य हो ।
५.
कवितामा आमा र छोरा के केका प्रतीकका रूपमा प्रयोग गरिएका छन्, छलफल गर्नुहोस्।
उत्तरः- आफ्नो राष्ट्र र राष्ट्रियतालाई प्राणभन्दा प्यारो ठान्ने क्रान्तिकारी कवि गोपालप्रसाद रिमालको देशभक्ति भावना प्रखर रूपमा प्रस्तुत भएको 'आमाको सपना' कवितामा तत्कालीन १०४ वर्षे निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य गरी प्रजातन्त्र ल्याउनका लागि क्रान्ति अनिवार्य भएको प्रसङ्गलाई प्रस्तुत गरिएको छ । वि. सं. १९९७ सालको सहिद काण्डबाट मर्माहत बनेका कविले शोषण, दमन, अन्याय, अत्याचार, अधर्म, असत्य एवं निरङ्कुशता, कुशासन, कुव्यवस्था अन्त्य गरी प्रजातन्त्र ल्याउनका लागि सशक्त रूपमा क्रान्ति गर्नुपर्ने, क्रान्तिविना शान्ति स्थापना नहुने, क्रान्तिविना कालरात्रिको अन्त्य भई प्रजातन्त्र आउन नसक्ने कटु सत्यलाई उद्घाटन गरेका छन् ।
विभिन्न बिम्ब र प्रतीकहरूको प्रयोग गरिएको यस कवितामा आमालाई कविले नेपाल आमाको प्रतीकका रूपमा र नेपाल आमाका देशभक्त सन्तानहरूलाई छोराको प्रतीकका रूपमा प्रस्तुत गरेका छन् । आमा र छोराको संवादका रूपमा संरचित यस कवितामा आमाले देखेको सपना क्रान्तिको सपना हो । यस कवितामा नेपाल आमाले देखेको क्रान्तिको सपना क्रान्तिकारी देशभक्त महान् योद्धा छोरो जन्मी क्रान्तिको नेतृत्व गरी आन्दोलनको आँधीबेहरी तुफान ल्याई निरङ्कुशतालाई बढारी प्रजातन्त्रको स्थापना गर्ने छ भन्ने भावार्थ प्रतिबिम्वित भएको पाइन्छ।
६.
कवितामा कस्तो परिवेशको चित्रण गरिएको छ, छलफल गरी उत्तर दिनुहोस्।
उत्तरः- गोपालप्रसाद रिमालको क्रान्तिचेतले भरिएको यो कविता वि. सं. २००७ सालको क्रान्तिको पूर्वगान हो । यस कवितामा क्रान्ति हुनुभन्दा पूर्व क्रान्तिप्रति आम नेपाली नागरिकको आशङ्का र दुबिधाका साथै क्रान्ति अवश्यम्भावी भएको तथ्य प्रस्तुत गरिएको छ । १०४ वर्षे निरङ्कुश जहानियाँ राणाशासन कालको वातावरण र परिवेशको चित्रण गरिएको यस कवितामा सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक हरेक क्षेत्रमा एकाधिकार जमाएको निरङ्कुश राणा शासनको अप्रजातान्त्रिक परिवेश जहाँ शोषण, दमन, अन्याय, अत्याचार, अधर्म, असत्यको जगजगी भएको अनि नेपाल आमा निरङ्कुश शासनको जञ्जिरमा बाँधिएकी, कुशासन र अव्यवस्थाले सीमा नाघेको, एकाधिकारवादी, हैकमवादी, तानाशाही शासनको दबदबा भएको, हत्या, हिंसा, आतङ्क, शासकीय बर्बरताले सीमा नाघेको अनि भय र त्रासको परिवेशको चित्रण गरिएको छ ।यस कवितामा देश र जनताको मुक्तिका लागि क्रान्ति अवश्यम्भावी भएको अनि क्रान्तिप्रति संशय र आशङ्का भएको परिवेशका साथै जनतामा राजनीतिक सचेतना वृद्धि हुँदै गएको एवं निरङ्कुश शासनको विरुद्धमा विद्रोहको स्वर बुलन्द हुँदै गएको, प्रजातन्त्रप्रति आशावादी सोच पलाउँदै गएको, निरङ्कुशताका बिचमा पनि विद्रोहको स्वर गुञ्जायस अनि उकुसमुकुसको निरङ्कुश जहानियाँ राणाशासनकालको वातावरण र परिवेशको चित्रणसँगै क्रान्तिप्रतिको आशावादी दृष्टिकोण प्रस्तुत गरिएको छ।
८.
"आमाको सपना" कवितामा कविले क्रान्ति किन र कसरी आउने कल्पना गरेका छन् ? दिइएका
बुँदालाई समेत आधार बनाई समीक्षात्मक प्रतिक्रिया लेख्नुहोस्:
क) शीत जस्तै
टल्कने एक हतियार कम्मरमा झुन्ड्याएर
ख) बिहानको
सूर्य झैँ उज्यालो छर्दै
ग) हिउँ र
आगोभन्दा बढ्ता छोइने भएर
घ) हुरी भएर
ङ) जनताले
उसलाई पनत भएर पछ्याउनुपर्ने स्थितिको सिर्जना गरेर
च) अधर्मसँग
लड्न
छ) आमाको
सपना साकार पार्न
ज) जनताले
जीवनरक्षाका लागि आर्को आश्रय खोज्नुपर्ने अवस्थाको अन्त्य गर्न
झ) सम्पूर्ण
जनतालाई स्वतन्त्रता दिलाउन
उत्तरः- नेपाली साहित्यका स्वच्छन्दतावादी, प्रगतिवादी तथा
क्रान्तिकारी कवि गोपालप्रसाद रिमालद्वारा रचित ‘आमाको सपना कविता वि.सं.
१९९७ सालको सहिदकाण्डपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि क्रान्तिको आह्वान
गर्दै रचिएको यो कविता क्रान्तिचेतनाले भरिएको उत्कृष्ट कविता हो। यस कवितामा
सामाजिक, आर्थिक तथा राजनीतिक
क्षेत्रमा विद्यमान शोषण, दमन, अन्याय, अत्याचार र निरङ्कुशताको
अन्त्य गरी न्यायपूर्ण, स्वतन्त्र र समतामूलक समाज निर्माण गर्ने सन्देश प्रस्तुत गरिएको छ।
आमा र छोराबीचको संवादात्मक शैलीमा लेखिएको
यस कवितामा ‘आमा नेपाल आमाको प्रतीक हुन् भने ‘छोरा नेपाली जनताको प्रतीक हो।
कवितामा बारम्बार प्रयोग भएको ‘त्यो सर्वनामले क्रान्तिलाई सङ्केत गर्दछ। आमाले
देखेको सपना वास्तवमा क्रान्तिको सपना हो, जसले नेपाल आमालाई निरङ्कुशताको जञ्जिरबाट मुक्त गराउने, जनतालाई स्वतन्त्रता दिलाउने
तथा अन्धकारमय अवस्थाको अन्त्य गरी उज्यालो र सुनौलो भविष्य ल्याउने विश्वास
व्यक्त गरिएको छ।कविले क्रान्तिलाई अत्यन्त शक्तिशाली र प्रभावकारी शक्तिका रूपमा
चित्रण गरेका
छन्। क्रान्ति हिउँ र आगोभन्दा पनि बढी शक्तिशाली, तेजस्वी र साहसी रूप लिएर आउनेछ। त्यसले अन्याय, अधर्म, शोषण र अत्याचारका
विरुद्ध संघर्ष गर्दै सत्य, न्याय र समानताको स्थापना गर्नेछ। क्रान्तिपुत्र सूर्यझैँ चम्किलो र
अवश्यम्भावी हुने भएकाले उसको आगमनलाई कसैले रोक्न सक्नेछैन। क्रान्तिको प्रभावले
नेपाली जनता जागृत भई परिवर्तनको यात्रामा अग्रसर हुनेछन्।
यसरी क्रान्तिको हुरी चलेपछि जनताले त्यसको
अनुसरण गर्नेछन् र समाजका अन्धकार, जडता तथा कुसंस्कारहरू समाप्त हुने छन्। जसरी सूर्यको
किरणले संसार उज्यालो बनाउँछ, त्यसरी नै क्रान्तिले समाजलाई उज्यालो, स्वतन्त्र र समृद्ध
बनाउनेछ। यसरी कविले निरङ्कुश राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने
महान्, निडर र क्रान्तिकारी
योद्धाको कल्पना गर्दै क्रान्तिको आवश्यकता र महत्त्वलाई प्रभावकारी रूपमा
प्रस्तुत गरेका छन्।
९.
आमाको सपना के हो र त्यो कसरी साकार हुन सक्छ, "आमाको सपना" कविताका आधारमा
समीक्षात्मक उत्तर लेख्नुहोस्।
उत्तरः-
नेपाली साहित्यका स्वच्छन्दतावादी, प्रगतिवादी तथा क्रान्तिकारी कवि गोपालप्रसाद रिमालद्वारा
रचित ‘आमाको सपना कविता वि.सं. १९९७ सालको सहिदकाण्डपछि नेपालमा
प्रजातन्त्र स्थापनाका लागि क्रान्तिको आह्वान गर्दै रचिएको यो कविता
क्रान्तिचेतनाले भरिएको उत्कृष्ट कविता हो। यस कवितामा सामाजिक, आर्थिक तथा राजनीतिक
क्षेत्रमा विद्यमान शोषण, दमन, अन्याय, अत्याचार र निरङ्कुशताको
अन्त्य गरी न्यायपूर्ण, स्वतन्त्र र समतामूलक समाज निर्माण गर्ने सन्देश प्रस्तुत गरिएको छ।
आमाको सपना कवितामा आमा र छोराको संवादका
माध्यमबाट कविले आफ्ना विचार अभिव्यक्त गरेका छन्। कविले नेपाल आमालाई आमा र
नेपाली जनतालाई छोराका रूपमा उभ्याएर आपसी
संवाद गराई एक दिन क्रान्ति नायकको जन्म हुने र उसैको माध्यमबाट आफ्नो सपना साकार
हुने छ भन्ने भाव समेटेका छन्। देशमा निरङ्कुश तन्त्रले नागरिक स्वतन्त्रता र
अधिकारहरू कुष्ठित गरेको अवस्थामा एक दिन त्यो जहानिया निरङ्कुश तन्त्रको अन्त्य
भई आम जनताले उन्मुक्ति पाउने छन् र स्वतन्त्रताको अनुभूति हुने छ भन्ने नै आमाले
देखेको सपना रहेको छ। नेपाल आमाले देखेको त्यो सपना पूरा गर्न देशमा एउटा क्रान्तिनायकको जन्म हुने छ र
त्यही क्रान्तिनायकले अन्याय, अत्यचार, दमन, असत्य र अधर्मसँग लडेर समानता, समतामूलक समाज निर्माणमा बाटो देखाउने छ भन्ने विश्वास
आमाको रहेको छ।त्यो क्रान्तिनायक आगो र हिउँभन्दा पनि बढी छोइने भएर आउने र अरू
सन्तनिले पनि उसकै क्रान्तिको बाटोलाई आत्मसाथ गर्दै अधर्मका विरूद्ध लडेर नागरिक
हक प्राप्त गर्ने छन्। यस क्षणमा सबैमा चेतना जाग्ने छ, कोही कायर, लाछी, डरपोक भएर बस्ने
छैनन्।यस प्रकार त्यो अथवा भविष्यमा जन्मने क्रान्तिनायकको चेतनाले आमाको सपना
पूरा हुने छ।
यसरी आमाको सपना कवितामा आमाको सपना भनेको
निरङ्कुश शासनको अन्त्य गरी स्वतन्त्र, न्यायपूर्ण, समानतामूलक र समृद्ध समाजको स्थापना गर्नु हो। यो सपना
क्रान्तिकारी चेतनाले भरिएको निडर र साहसी क्रान्तिनायकको नेतृत्वमा शोषण, दमन, अन्याय र अत्याचारविरुद्ध
संघर्ष गरेर मात्र साकार हुन सक्छ। त्यसैले कविले क्रान्तिको माध्यमबाट
प्रजातन्त्र, स्वतन्त्रता र
जनअधिकारको स्थापना हुने विश्वास व्यक्त गरेका छन्।
व्याख्या खण्ड
१. हेरौँला त्यो हुरी भएर आउने छ
तिमी पात भएर पछ्याउने
छौ।
उत्तरः- हेरौँला.............................. पछ्याउने छौ।
प्रस्तुत हरफ हाम्रो कक्षा १२
को नेपाली किताबको पाठ एक "आमाको सपना" कविताबाट व्याख्याको लागि साभार
गरिएको हो।यस कविताका लेखक गोपालप्रसाद रिमाल हुन्।कवि रिमालको कवितामा
क्रान्तिकारी, परिवर्तनकारी तथा प्रगतिवादी चेतना
पाइन्छ।यस कवितामा कविले आमा र छोराको संवादको माध्यमबाट क्राति आएर समाजमा भएको
विकृति, विसङ्गति, अन्याय, अधर्म अन्त्य
भई स्वस्थ, समुन्नत र प्रजातान्त्रिक समाज
निर्माण हुने छ भन्ने विचार प्रस्तुत गर्ने सन्दर्भमा उक्त पङ्क्ति आएका हो।
कवितामा आमा(नेपाल आमा) र
छोरा(तत्कालीन नेपाली जनता) बिचको संवाद रहेको छ। २००० सालको आसपासमा रचना गरिएको
यस कविताले तत्कालीन पुस्ताले क्रान्ति ल्याउन नसकेको र भावी पुस्ताले क्रान्ति
ल्याउने र प्रजातान्त्रिक शासन व्यवस्था स्थापना हुने भाव व्यक्त भएको छ। समाजमा
रहेका कुरीति, शोषण र अन्याय हटाउन क्रान्ति निकै शक्तिशाली
हुरी झैँ भएर आउने छ। जसरी प्राकृतिक हुरी आउँदा वनजङ्गलका झरेका पात पतिङ्गरहरू, मक्किएका हाँगा
हुरीसँगै उडेर जान्छ त्यसरी नै समाजका विकृति र अन्यायलाई जनक्रान्तिले उडाएर
लैजानेछ भन्ने भाव यहाँ रहेको छ। हुरी आउँदा पात पतिङ्गर हुरीसँगै उडेजस्तै
क्रान्तिकारी पुस्ताले ल्याएको क्रान्तिमा अघिल्लो पुस्ता पनि पातजस्तै बनेर
सहभागी हुने वा अघिल्लो पुस्ताले पनि क्रान्तिलाई सघाउने छन् भन्ने उक्त पङ्क्तिको
सार रहेको छ।
अतः प्रस्तुत गरिएको कवितांशले
नेपाली छोराहरूले नेपालमा क्रान्ति ल्याउन सक्ने क्रान्तिकारी नायकको क्षमतालाई
देखेर जसरी रूखबाट झरेको पातले हुरीलाई पछ्याउँछ त्यसैगरी त्यो क्रान्तिकारी
नायकको पछि लागेर उसलाई सहयोग गर्ने मानिसहरू धेरै हुने छन् भन्ने कुरालाई यहाँ
वर्णन गरिएको छ।
२. हो, त्यो आउँछ, त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ।
उत्तरः- हो, त्यो.................................छर्दै
आउँछ।
प्रस्तुत हरफ हाम्रो कक्षा १२ को
नेपाली किताबको पाठ एक "आमाको सपना" कविताबाट व्याख्याको लागि साभार
गरिएको हो।यस कविताका लेखक गोपालप्रसाद रिमाल हुन्।नेपाली समाजमा परिवर्तनको आवश्यकता
औँल्याउँदै त्यसका लागि क्रान्तिकारी बन्न आह्वान गर्ने कवि रिमाल आफैँमा जुझार
प्रवृत्तिका लेखक हुन्।२००० सालको सेरोफेरोमा रचिएको यस कवितामा 'त्यो' भनेर
क्रान्ति वा परिवर्तनलाई सङ्केत गर्न खोजिएको छ।राणाशासनको अन्त्य गर्दै
प्रजातन्त्र बिहानिको सूर्य झैँ उज्यालो छर्दै आउँछ भन्ने सन्दर्भमा माथिको पङ्क्ति
आएको हो।
यस कवितामा लेखकले आफूलाई आमा
पात्रको स्थानमा राखेर छोरालाई सम्बोधन गरेका छन्। नेपाल आमा र नेपाली युवाहरूलाई
लेखकले आमा छोराका रूपमा प्रस्तुत गरी उनीहरूको संवादलाई कविताको विषयवस्तु बनाएका
छन्। यहाँ आमाले "त्यो आउँछ, त्यो
बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ" भन्ने अंश भनेर देशमा परिवर्तन हुने, क्रान्ति आउने, देशका नागरिकले स्वतन्त्रता पाउने आत्मविश्वास देखाएकी छन्।त्यो क्रान्तिको
ज्वारभाटासँग लाखौँ युवाहरू जोडिन बाध्य हुने छन् भन्ने लेखकको अपेक्षा देखिन्छ।
१९९७ केही युवाहरूलाई क्रान्तिमा लागेको निहुँमा मृत्युदण्ड दिइएको थियो।
त्यसपछिको समयमा युवाहरू आन्दोलन होमिन डराइरहेका थिए। राणाशासकहरूले चर्को दमन
गर्ने डरले युवाहरू आन्दोलनमा निस्किन डराउँथे। कवि रिमालले यसरी डराएर बसेका
युवाहरूलाई क्रान्तिको अपरिहार्यताका बारेमा बुझाउन प्रयत्न गरेका छन्।परिवर्तन
वा क्रान्ति एउटा नियमित एवं अनिवार्य सामाजिक प्रक्रिया हो। यस्तो परिवर्तन
प्रायः सकारात्मक खालको हुने विश्वास
कविमा देखिन्छ। उनले क्रान्तिले राजनीतिक क्षेत्रमा परिवर्तन भई प्रजातन्त्र
स्थापना हुन्छ भन्न खोजेका छन्। प्रजातान्त्रिक व्यवस्थासँगै सामाजिक क्षेत्रमा
परिवर्तन र विकासको अभियान चल्ले, गरिबी र पीडामा रूमलिएका जनताले सुख र समृद्धितर्फ लम्कन
पाउने कुरालाई लेखकले बिहानीको सूर्यको उज्यालोसँग दाँजेका छन्।
अतः जसरी बिहानीको सूर्यको किरणले
रात्रीकालीन अन्धकारलाई हटाएर मानिसको जीवनमा उज्यालो छरिदिन्छ, त्यसैगरी क्रान्तिले
पनि नेपाली जनताको भाग्य र भविष्य उज्यालो बनाउने ढोका खोलिदिन्छ।यस कवितांशले
जनताको स्वतन्त्रताको चाहनालाई कसैले छेकेर राख्न नसक्ने ठोकुवा गरेको छ।
क्रान्ति समाजको सुखद भविष्यतर्फको महान् खुट्किलो हो भन्ने कुरालाई यहाँ वर्णन
गरिएको छ।
३. त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर छामछुम गर्ने
छौ
तर त्यो हिउँ र
आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ।
उत्तरः- त्यो आउँछ......................................... भएर आउँछ।
प्रस्तुत हरफहरू हाम्रो कक्षा
१२ को नेपाली किताबको पाठ एक "आमाको सपना" कविताबाट व्याख्याको लागि
साभार गरिएको हो।यस कविताका लेखक गोपालप्रसाद रिमाल हुन्।नेपाली समाजमा परिवर्तनको
आवश्यकता औँल्याउँदै त्यसका लागि क्रान्तिकारी बन्न आह्वान गर्ने कवि रिमाल
आफैँमा जुझार प्रवृत्तिका लेखक हुन्। क्रान्तिकारी आवाज उठाएर आउने परिवर्तन हिउँ
र आगोभन्दा बढ्ता वेगमा आउँदा मानिसहरू सपना भनेर भ्रममा पर्न सक्छन भन्ने
सन्दर्भमा माथिको हरफ आएको हो।
कवितांशमा विसङ्गति शोषण, दमन, अन्याय, अत्याचार एवं निरङ्कुशताको अन्त्य गरी न्याय र समतामूलक
समाजको निर्माणका लागि क्रान्तिको आह्वान गर्दै क्रान्ति चेतनालाई प्रतीकात्मक
शैलीमा प्रस्तुत गरिएको छ।दमन भयो भने बिद्रोह हुन्छ र बिद्रोहले युग परिवर्तन
हुने भएकोले परिवर्तनका लागि क्रान्ति आवश्यक छ। कविले हिउँलाई क्रान्तिको वेग र
आगोलाई जनक्रान्तिको मेलसँग तुलना गरेका छन्। क्रान्ति नायकको जन्म भएपछि नेपाल
आमाका सन्तान पहिलेका जस्ता डरपोख, काँतर हुँदैनन्। नेपाल आमाका सन्तानहरू अगाडि बढे भने
सामन्ती व्यवस्था परिवर्तन हुने छ र अन्यायमा परेका जनताहरूको उद्धार भई अँध्यारो
राज्यसत्ता समाप्त हुने छ। सूर्यको किरणले संसारलाई उज्यालो पारेजस्तै चेतनाको
ज्योतिले समाजलाई उज्यालो बनाउने विचार यहाँ कविको रहेको छ।
