कक्षा १२ पाठ १ व्याख्या

 

१. हेरौँला त्यो हुरी भएर आउने छ

   तिमी पात भएर पछ्‌याउने छौ।

उत्तरः- हेरौँला.............................. पछ्‌याउने छौ।

       प्रस्तुत हरफ हाम्रो कक्षा १२ को नेपाली किताबको पाठ एक "आमाको सपना" कविताबाट व्याख्याको लागि साभार गरिएको हो।यस कविताका लेखक गोपालप्रसाद रिमाल हुन्।कवि रिमालको कवितामा क्रान्तिकारी, परिवर्तनकारी तथा प्रगतिवादी चेतना पाइन्छ।यस कवितामा कविले आमा र छोराको संवादको माध्यमबाट क्राति आएर समाजमा भएको विकृति, विसङ्‍गति, अन्याय, अधर्म अन्त्य भई स्वस्थ, समुन्‍नत र प्रजातान्त्रिक समाज निर्माण हुने छ भन्‍ने विचार प्रस्तुत गर्ने सन्दर्भमा उक्त पङ्‌क्ति आएका हो।

     कवितामा आमा(नेपाल आमा) र छोरा(तत्कालीन नेपाली जनता) बिचको संवाद रहेको छ। २००० सालको आसपासमा रचना गरिएको यस कविताले तत्‍कालीन पुस्ताले क्रान्ति ल्याउन नसकेको र भावी पुस्ताले क्रान्ति ल्याउने र प्रजातान्त्रिक शासन व्यवस्था स्थापना हुने भाव व्यक्त भएको छ। समाजमा रहेका कुरीति, शोषण र अन्याय हटाउन क्रान्ति निकै शक्तिशाली हुरी झैँ भएर आउने छ। जसरी प्राकृतिक हुरी आउँदा वनजङ्‍गलका झरेका पात पतिङ्‍गरहरू, मक्‍किएका हाँगा हुरीसँगै उडेर जान्छ त्यसरी नै समाजका विकृति र अन्यायलाई जनक्रान्तिले उडाएर लैजानेछ भन्‍ने भाव यहाँ रहेको छ। हुरी आउँदा पात पतिङ्‍गर हुरीसँगै उडेजस्तै क्रान्तिकारी पुस्ताले ल्याएको क्रान्तिमा अघिल्‍लो पुस्ता पनि पातजस्तै बनेर सहभागी हुने वा अघिल्‍लो पुस्ताले पनि क्रान्तिलाई सघाउने छन् भन्‍ने उक्त पङ्‌क्तिको सार रहेको छ।

     अतः प्रस्तुत गरिएको कवितांशले नेपाली छोराहरूले नेपालमा क्रान्ति ल्याउन सक्ने क्रान्तिकारी नायकको क्षमतालाई देखेर जसरी रूखबाट झरेको पातले हुरीलाई पछ्‌याउँछ त्यसैगरी त्यो क्रान्तिकारी नायकको पछि लागेर उसलाई सहयोग गर्ने मानिसहरू धेरै हुने छन् भन्‍ने कुरालाई यहाँ वर्णन गरिएको छ।

२. हो, त्यो आउँछ, त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ।

उत्तरः- हो, त्यो.................................छर्दै आउँछ।

      प्रस्तुत हरफ हाम्रो कक्षा १२ को नेपाली किताबको पाठ एक "आमाको सपना" कविताबाट व्याख्याको लागि साभार गरिएको हो।यस कविताका लेखक गोपालप्रसाद रिमाल हुन्।नेपाली समाजमा परिवर्तनको आवश्‍यकता औँल्याउँदै त्यसका लागि क्रान्तिकारी बन्‍न आह्‌वान गर्ने कवि रिमाल आफैँमा जुझार प्रवृत्तिका लेखक हुन्।२००० सालको सेरोफेरोमा रचिएको यस कवितामा 'त्यो' भनेर क्रान्ति वा परिवर्तनलाई सङ्‍केत गर्न खोजिएको छ।राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र बिहानिको सूर्य झैँ उज्यालो छर्दै आउँछ भन्‍ने सन्दर्भमा माथिको पङ्‍‌क्ति आएको हो।

     यस कवितामा लेखकले आफूलाई आमा पात्रको स्थानमा राखेर छोरालाई सम्बोधन गरेका छन्। नेपाल आमा र नेपाली युवाहरूलाई लेखकले आमा छोराका रूपमा प्रस्तुत गरी उनीहरूको संवादलाई कविताको विषयवस्तु बनाएका छन्। यहाँ आमाले "त्यो आउँछ, त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ" भन्‍ने अंश भनेर देशमा परिवर्तन हुने, क्रान्ति आउने, देशका नागरिकले स्वतन्त्रता पाउने आत्मविश्‍वास देखाएकी छन्।त्यो क्रान्तिको ज्वारभाटासँग लाखौँ युवाहरू जोडिन बाध्य हुने छन् भन्‍ने लेखकको अपेक्षा देखिन्छ। १९९७ केही युवाहरूलाई क्रान्तिमा लागेको निहुँमा मृत्युदण्‍ड दिइएको थियो। त्यसपछिको समयमा युवाहरू आन्दोलन होमिन डराइरहेका थिए। राणाशासकहरूले चर्को दमन गर्ने डरले युवाहरू आन्दोलनमा निस्किन डराउँथे। कवि रिमालले यसरी डराएर बसेका युवाहरूलाई क्रान्तिको अपरिहार्यताका बारेमा बुझाउन प्रयत्‍न गरेका छन्।परिवर्तन वा क्रान्ति एउटा नियमित एवं अनिवार्य सामाजिक प्रक्रिया हो। यस्तो परिवर्तन प्रायः सकारात्मक  खालको हुने विश्‍वास कविमा देखिन्छ। उनले क्रान्तिले राजनीतिक क्षेत्रमा परिवर्तन भई प्रजातन्त्र स्थापना हुन्छ भन्‍न खोजेका छन्। प्रजातान्त्रिक व्यवस्थासँगै सामाजिक क्षेत्रमा परिवर्तन र विकासको अभियान चल्‍ले, गरिबी र पीडामा रूमलिएका जनताले सुख र समृद्धितर्फ लम्‍कन पाउने कुरालाई लेखकले बिहानीको सूर्यको उज्यालोसँग दाँजेका छन्।

    अतः जसरी बिहानीको सूर्यको किरणले रात्रीकालीन अन्धकारलाई हटाएर मानिसको जीवनमा उज्यालो छरिदिन्छ, त्यसैगरी क्रान्तिले पनि नेपाली जनताको भाग्य र भविष्य उज्यालो बनाउने ढोका खोलिदिन्छ।यस कवितांशले जनताको स्वतन्त्रताको चाहनालाई कसैले छेकेर राख्‍न नसक्ने ठोकुवा गरेको छ। क्रान्ति समाजको सुखद भविष्यतर्फको महान् खुट्‌किलो हो भन्‍ने कुरालाई यहाँ वर्णन गरिएको छ।  

३. त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर छामछुम गर्ने छौ

   तर त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ।

उत्तरः- त्यो आउँछ......................................... भएर आउँछ।

       प्रस्तुत हरफहरू हाम्रो कक्षा १२ को नेपाली किताबको पाठ एक "आमाको सपना" कविताबाट व्याख्याको लागि साभार गरिएको हो।यस कविताका लेखक गोपालप्रसाद रिमाल हुन्।नेपाली समाजमा परिवर्तनको आवश्‍यकता औँल्याउँदै त्यसका लागि क्रान्तिकारी बन्‍न आह्‌वान गर्ने कवि रिमाल आफैँमा जुझार प्रवृत्तिका लेखक हुन्। क्रान्तिकारी आवाज उठाएर आउने परिवर्तन हिउँ र आगोभन्दा बढ्ता वेगमा आउँदा मानिसहरू सपना भनेर भ्रममा पर्न सक्छन भन्‍ने सन्दर्भमा माथिको हरफ आएको हो।

       कवितांशमा विसङ्‍गति शोषण, दमन, अन्याय, अत्याचार एवं निरङ्‍कुशताको अन्त्य गरी न्याय र समतामूलक समाजको निर्माणका लागि क्रान्तिको आह्‌वान गर्दै क्रान्ति चेतनालाई प्रतीकात्मक शैलीमा प्रस्तुत गरिएको छ।दमन भयो भने बिद्रोह हुन्छ र बिद्रोहले युग परिवर्तन हुने भएकोले परिवर्तनका लागि क्रान्ति आवश्यक छ। कविले हिउँलाई क्रान्तिको वेग र आगोलाई जनक्रान्तिको मेलसँग तुलना गरेका छन्। क्रान्ति नायकको जन्म भएपछि नेपाल आमाका सन्तान पहिलेका जस्ता डरपोख, काँतर हुँदैनन्। नेपाल आमाका सन्तानहरू अगाडि बढे भने सामन्ती व्यवस्था परिवर्तन हुने छ र अन्यायमा परेका जनताहरूको उद्धार भई अँध्यारो राज्यसत्ता समाप्‍त हुने छ। सूर्यको किरणले संसारलाई उज्यालो पारेजस्तै चेतनाको ज्योतिले समाजलाई उज्यालो बनाउने विचार यहाँ कविको रहेको छ।

     अतः आमा र छोराको संवादको माध्यमबाट नयाँ युगको परिकल्पनालाई सफल बनाउन जहानियाँ राणा शासनको विरूद्ध विद्रोह प्रारम्भ गरेर राणा शासनको अन्त्य गरी सबैलाई मान्य हुने समानतामूलक प्रजातान्त्रिक परिपाटीको आगमनको चित्रण गर्दै त्यसको आरम्भका रूपमा क्रान्ति आउने र हिउँ र आगोभन्दा बढ्ता छोइने भएर आउने कुरा यहाँ व्यक्त भएको छ।

 

 

 

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.