पाठ ९ मेरो
देशको शिक्षा
शब्दभण्डार
१ दिइएको अर्थ बुझाउने शब्द 'मेरो देशको शिक्षा ' निबन्धबाट
खोजेर लेख्नुहोस् :
क ) नयाँ कुराको खोजी
= अनुसन्धान
ख ) खास विषयको गुण दोष
आदिको मूल्याङ्कन = समालोचनात्मक
ग ) जीवन निर्वाहका लागि
गरिने काम = जीविकोपार्जन
घ ) महत्त्वपूर्ण मानिएका ठूला
आकारका पठनीय सामग्री = ग्रन्थ
ङ ) शिष्ट वा सभ्य मानिएको
आचरण = शिष्टचार
२ दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
मुहान उदगमस्थल
तीर्थाटन तीर्थयात्रा
पसिना परिश्रम गर्दा शरीरबाट
निस्कने पानी
मार्ग बाटो
त्रुटि गल्ती
खानी धेरै चिज
उत्पन्न भएको ठाउँ
प्राचीन पुरातन
३ दिइएको अनुच्छेद पढ्नुहोस् र प्राविधिक , पारिभाषिक
शब्द पहिचान गरी लेख्नुहोस् :
उत्तर :- शिक्षण , पाठ्यक्रम ,
पाठयोजना, विशिष्ट , उद्देश्य
, पाठ्यवस्तु , शैक्षिक सामग्री ,
सिकाइ सहजीकरण , क्रियाकलाप , मूल्याङ्कन गृहकार्य
४ मेरो देशको शिक्षा
निबन्धबाट कुनै पाँचओटा पारिभाषिक शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस् :
शास्त्रार्थ :- विद्वानसँगको शास्त्रार्थबाट जीवन र जगत
सम्बन्धि रहस्य र तथ्य पहिचान गर्न सकिन्छ ।
सनातन :- सनातन
परम्पराको प्रभाव नेपाली मौलिक संस्कृतिमा परेको छ ।
प्रशोधन :- हिमाली भेगमा बसोबास गर्ने मानिसलाई
जडीबुटी पहिचान तथा प्रशोधन सम्बन्धि शिक्षा प्रदान गर्नु आवश्यक छ ।
समालोचनात्मक चिन्तन :- समालोचनात्मक चिन्तन विकास गराउने शिक्षा
आजको आवश्यकता हो ।
परिष्करण :- बौद्धिक विकास र सभ्यताको परिष्करण र
गुणस्तरीय जीवनका लागि शिक्षाको आवश्यकता पर्दछ ।
बोध र
अभिव्यक्ति
४ दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्
क ) दीक्षित व्यक्तिमा
कस्तो क्षमता हुनुपर्छ ?
उत्तर :- दीक्षित व्यक्तिमा समालोचनात्मक सोचयुक्त नयाँ
नयाँ ज्ञान निर्माण गर्न सक्ने क्षमता
हुनुपर्छ ।
ख ) स्वस्थ चिन्तनमा कुन
कुरा पर्छ ?
उत्तर :- स्वस्थ चिन्तनमा हरेक कुराको पूर्वाग्रह
नराखी अरूका भरमा मात्र नपरी आफ्नो विवेकका आँखाले हेर्नुपर्ने कुरा पर्छ ।
ग ) समालोचनात्मक चिन्तन
शिक्षाकै एउटा पाटो हो ।भन्नुको तात्पर्य के हो ?
उत्तर : समालोचनात्मक चिन्तनले विद्यार्थीहरूमा प्राज्ञिक बहसमा उत्रने क्षमता
प्रदान गर्ने , समाजमा संस्कृतिका नाममा जरा गाडेर बसेको
अन्धविश्वासमाथि वैज्ञानिक प्रश्न उठाउने क्षमता विकास गराउने भएकाले समालोचनात्मक
चिन्तन शिक्षाको एउटा पाटो भनिएको हो ।
घ) निबन्धको अंशको भनाइप्रति
तपाईं सहमत वा असहमत के हुनुहुन्छ , तर्क दिनुहोस् ।
उत्तर :- निबन्धको
अंशको आशयप्रति मेरो सहमति रहेको छ किनभने समालोचनात्मक चिन्तनले कुनै पनि कुराको मूल्याङ्कन
गुण र दोष दुवैका आधारमा गर्न सक्ने सामर्थ्य प्रदान गर्छ ।
५दिइएका प्रश्नको छोटो उत्तर लेख्नुहोस् :
क)
मेरो देशको शिक्षा निबन्धमा कस्तो व्यवसायमूलक शिक्षाको
अपेक्षा गरिएको छ ?
उत्तर :- मेरो देशको शिक्षा नेपाली किताबका लेखकहरूद्वारा लिखित
उत्कृष्ट आत्मपरक निबन्ध हो । यस निबन्धमा नेपालको प्राचीन कालदेखि वर्तमान
कालसम्मको शिक्षाको चर्चा गर्दै आगामी दिनको शिक्षा कस्तो हुनुपर्छ भन्ने कुराको
चर्चा गरिएको छ ।
यस निबन्धमा अबको
शिक्षाले हाम्रो परम्परागत शिक्षा र आधुनिक शिक्षालाई सँगसँगै अगाडि बढाउनु पर्ने
विचार प्रस्तुत गरिएको छ ।अबको शिक्षालाई भूगोल र वातावरण अनुकूल व्यवसायमूलक
शिक्षाका रूपमा विकास गर्नुपर्ने आवश्यकता देखिएको छ । व्यवसायमूलक शिक्षाका लागि परम्परागत
र आधुनिक शिक्षालाई सँगसँगै अगाडि बढाउनु पर्छ । कृर्षिमा आधुनिक प्रविधि र अत्याधुनिक औजारको प्रयोग सम्बन्धि शिक्षा
विद्यालय तहदेखि प्रदान गर्न आवश्यक छ । बालबालिकालाई विद्यालय तहबाट नै प्राविधिक
ज्ञान र सीप विकास गराउने शिक्षा प्रदान गरिनु पर्छ ताकी उनीहरू स्वरोजगार बन्न सकून् । यस निबन्धमा
स्थानीय सम्भावना , स्रोत ,साधन तथा उत्पादनमा आधारित नवीनतम् प्राविधिक
शिक्षाको अपेक्षा गरिएको छ ।
ख) शिक्षाले मानव जीवनमा कुन कुन कुरामा सुधार ल्याउँछ ?
उत्तर :- मेरो देशको शिक्षा
नेपाली किताबका लेखकहरूद्वारा लिखित उत्कृष्ट आत्मपरक निबन्ध हो । यस निबन्धमा जीवनको
तेस्रो आँखा मानिने अबको शिक्षाको बाटो , अबको शिक्षाले कस्तो जनशक्ति उत्पादन
गर्नुपर्छ , अबको शिक्षाको
उद्देश्य कुन विषयवस्तुमा केन्द्रित हुनुपर्छ भन्ने कुराको चर्चा गरिएको छ ।
शिक्षा जीवनको तेस्रो
आँखा हो । यो मानव हृदयको भित्री नयन पनि हो । शिक्षाले नै मानवीय चेतनालाई उदार,
फराकिलो र समालोचनात्मक बनाउँछ । शिक्षाले मानवको व्यवहारमा
परिवर्तन ल्याउँछ । यसले मानव जीवनयापनका लागि आवश्यक ज्ञान,
सीप र प्रविधि सिकाउँछ । जसले मानवलाई सम्मान, खुसी र
सुखपूर्वक बाँच्न सहयोग पुर्याउँछ । शिक्षाले मानव समाजमा चलिआएका सामाजिक मूल्य ,
मान्यता, परम्परा तथा विश्वास सकारात्मक पक्ष
ग्रहण र नकारात्मक पक्षको आलोचना गर्न सक्षमता दिलाउँछ । शिक्षाले युग सापेक्ष
विज्ञान , सूचना र प्रविधिको ज्ञान र सिपले मानिसलाई दीक्षित
गराउँछ । शिक्षाले मानिसलाई समयानुकूल परिष्करण हुन सहयोग गर्छ ।
ग) विज्ञान र प्रविधिमा आधारित शिक्षाको महत्त्व लेख्नुहोस् ।
उत्तर :- 'मेरो देशको
शिक्षा ' नेपाली किताबका लेखकद्वारा सङ्कलित उत्कृष्ट आत्मपरक निबन्ध हो । यस
निबन्धमा अबको शिक्षा विज्ञान र प्रविधिसँग जोडिनु पर्ने र यसले हाम्रो मौलिक
परम्परागत ज्ञानलाई प्रविधिसँग जोडेर व्यवसायमूलक तथा स्वरोजगार बन्न प्रेरित
गर्नु पर्ने विचार प्रस्तुत गरिएको छ ।
आजको युग विज्ञान र प्रविधिको युग हो । विज्ञान
र प्रविधिको विकासले मानव जीवनलाई सरल , सहज र सुलभ बनाएको छ । विज्ञान र प्रविधिमा आधारित शिक्षाले मानिसलाई सीप र
प्रविधिको ज्ञान प्रदान गर्छ । यस्तो ज्ञानले मानिसलाई व्यावसायिक र स्वरोजगार बन्ने
सामर्थ्य प्रदान गर्छ । विज्ञान र प्रविधिले शिक्षण सिकाइमा आमूल परिवर्तन ल्याएको
छ । यसले मानिसलाई भूगोल र पर्यावरणमा आधारित शिक्षा प्रदान गर्दछ । विद्यार्थीलाई
सिकाइमा आकर्षित , सक्रिय बनाउन विज्ञान र प्रविधिमा आधारित
शिक्षा उपयोगी मानिन्छ । अबको समय विज्ञान र प्रविधिको समय भएकाले आजका विद्यार्थी
तथा शिक्षण प्रणाली विज्ञान र प्रविधिबाट अलग रहन सक्दैन । विज्ञान र प्रविधियुक्त
शिक्षाले मानिसलाई जीवनयापनका लागि विभिन्न नयाँ नयाँ अवसर प्रदान गरेको छ । र यस्ता
अवसरबाट दीक्षित हुनाका लागि अबको शिक्षा विज्ञान र प्रविधिसँग एककार हुनुपर्छ ।
अत: विज्ञान र प्रविधिसँग आधारित शिक्षाले विश्वबजारमा उपलब्ध अवसरको प्रयोग
गर्न सक्ने विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा सहयोग पुर्याउँछ
। सामाजिक मूल्य , मान्यता र परम्पराभित्र रहेका अव्यवहारिक पक्ष
त्याग गर्ने र उपयोगी तथ्य र व्यवहारलाई ग्रहण गर्ने समालोचनात्मक चेतनाको विकास
गराउँछ ।
घ) निबन्धको मुख्य आशय के हो ?
उत्तर :- नेपाली किताबको लेखकद्वारा
सङ्कलित एक उत्कृष्ट आत्मपरक निबन्ध मेरो देशको शिक्षा मा अबको शिक्षा विज्ञान र प्रविधिमैत्री
हुनुपर्छ भन्ने विचार प्रस्तुत गरिएको छ ।
निबन्धमा शिक्षा जीवनको
तेस्रो आँखा भएकाले यसले मानिसलाई जीवनयापनको कला , सीप,
र प्रविधिको विकास गराउँछ । अबको शिक्षा समालोचनात्मक चेतना विकास गराउने
हुनुपर्छ जसले हाम्रो सामाजिक मूल्य, मान्यता, परम्परामा रहेका अन्धविश्वास उपर प्रश्न उठाउने र त्यसलाई त्याग गर्ने र उपयोगी
शिक्षा र अभ्यासलाई आत्मसाथ गर्ने सामर्थ्य प्रदान गर्नुपर्छ भन्ने भाव निबन्धमा व्यक्त
भएको छ । निबन्धमा अबको शिक्षा भूगोल र पर्यावरण अनुकूल हुनुपर्छ जसले मानिसलाई
व्यवसायका लागि तयार गराइ स्वरोजगार बन्न प्रेरित गर्नुपर्छ ।शिक्षाले परम्परागत र
आधुनिक प्रविधिलाई सँगसँगै अगाडि बढाउनुपर्छ । कृषिमा आधुनिकीकरण र अत्याधुनिक औजार
, उपकरणको प्रयोगका लागि प्राविधिक ज्ञान र सीप प्रदान अबको शिक्षाले
गर्नुपर्छ भन्ने विचार निबन्धमा सन्देशको रूपमा प्रवाह गरेको छ । आजका विद्यार्थी
सूचना र प्रविधिसँग पूर्ण रूपमा परिचित , दक्ष र पोख्त हुनुपर्छ
। शिक्षाले मानिसलाई व्यावसायिक र स्वरोजगार बन्न प्रेरित गर्नुपर्छ । विज्ञान र प्रविधिले
ल्याएको आमूल परिवर्तनको फराकिलो धरातलमा अवसर र प्रतिस्पर्धामा सामेल हुन सक्ने जनशक्ति
तयार बन्नुपर्छ । शिक्षा मानिसलाई नैतिक , सहिष्णु , दक्ष र विवेकशील बनाउनेतर्फ उन्मुख हुनुपर्छ । हरेक विद्यालयमा सूचना र प्रविधिको
सहज पहुँच विस्तार हुनुपर्छ भन्ने कुरालाई निबन्धको मुख्य सन्देशको रूपमा प्रस्तुत
गरिएको छ । शिक्षाले समाजमा गाँजिएर रहेको अन्धविश्वासलाई हटाउन सक्नुपर्छ । तथ्य
सत्य र प्रमाणमा आधारित सामाजिक व्यवहार ग्रहण गर्न सक्ने सामर्थ्य प्रदान गरिनुपर्छ
भन्ने विचार निबन्धमा व्यक्त गरिएको छ । अबको
शिक्षा प्राचीन ज्ञान र आधुनिक विज्ञान सहितको हुनुपर्छ भन्ने सन्देश निबन्धमा व्यक्त
भएको छ । अबको शिक्षाले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति र मौलिक
उत्पादन गर्नु पर्ने विचार निबन्धमा प्रस्तुत गरिएको छ । जडीबुटी पहिचान र प्रशोधन
, पर्यटन, कृषि (पशुपालन , फलफूल , तरकारी खेती खाद्यान्न उत्पादन ) आदि उन्मुख
शिक्षाले उपलब्ध स्रोत र साधनको उपयोग गरी आत्मनिर्भरता वृद्धि गर्न सकिन्छ ।
६ व्याख्या
गर्नुहोस्
क)
आत्मनिर्भरताको लक्ष्य स्वरोजगार बन्नु हो ।
उत्तर :- आत्मनिर्भरता ...............................................
बन्नु हो ।
प्रस्तुत
वाक्य हाम्रो कक्षा दसको नेपाली किताबको "मेरो देशको शिक्षा" शीर्षक निबन्धबाट
व्याख्याको लागि साभार गरिएको हो । यस निबन्धको लेखक यसै किताबका सम्पादकज्यूहरू हुन्
। यस निबन्धमा प्राचीन कालदेखि वर्तमान कालसम्मको शिक्षाको चर्चा गर्दै अबको शिक्षाले
परम्परागत र आधुनिक प्रविधिलाई सँगसँगै अगाडि लैजानु सान्दर्भिक हुने विचार उठाएको
छ । शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउने र आत्मनिर्भरताको लक्ष्य स्वरोजगार बन्नु
हो भन्ने सन्दर्भमा उक्त वाक्य आएको हो ।
आत्मनिर्भरताको लक्ष्य
वा उद्देश्य स्वरोजगार बन्नु हो । अबको शिक्षाले सीप विकास र व्यावसायिकतर्फ
केन्द्रित हुनुपर्छ । व्यवसायमूलक शिक्षाका लागि हाम्रो परम्परागत शिक्षा र आधुनिक
प्रविधिलाई सँगसँगै अगाडि बढाउनुपर्छ । विद्यालय तहदेखि नै व्यावसायिक शिक्षा प्रदान
गरिनुपर्छ । कृषिमा आधुनिक यन्त्र तथा उपकरण प्रयोग सम्बन्धि व्यावसायिक शिक्षा
गरेका विद्यार्थीले व्यवसाय सञ्चालन गर्न सक्षम हुन्छन् र व्यवसाय सञ्चालन गरेका विद्यार्थीहरू
आत्मनिर्भर हुन उत्प्रेरित हुन्छन् । शिक्षाले मानिसलाई आत्मनिर्भर बनाउँछ र आत्मनिर्भर
मानिस स्वरोजगार हुन्छन् । भूगोल र पर्यावरण अनुकूलको शिक्षाले मानिसलाई उसको सीप र
दक्षताअनुसारको व्यवसाय सञ्चालन गर्ने अवसर प्राप्त गर्छ ।यसरी आफ्नै वातावरणमा
मानिसले स्वरोजगार बन्ने अवसर प्राप्त गर्नसक्छ ।
निष्कर्षमा
शिक्षाले मानिसलाई व्यवसाय उन्मुख बनाउँछ । व्यवसायमा संलग्न भएको मानिस
आत्मनिर्भर र स्वरोजगार हुन्छ उसले रोजगारीका लागि कसैप्रति आश्रित हुनु पर्दैन
भन्ने उत्कृष्ट विचार व्यक्त भएको छ । मानिसलाई आत्मनिर्भर र स्वरोजगार बनाउन परम्परागत
सिप र आधुनिक प्रविधिलाई एकैसाथ अगाडि बढाउनुपर्छ भन्ने कुरा यहाँ व्यक्त भएको छ ।
ख)
शिक्षित व्यक्तिमा शिष्टाचार , प्रतिबद्धता
, सांस्कृतिक सद्भाव , सामाजिक
सद्व्यवहारका क्षमता हुनु जरुरी हुन्छ ।
उत्तर :- शिक्षित
.................................................................... जरुरी हुन्छ ।
प्रस्तुत
वाक्य हाम्रो कक्षा दसको नेपाली किताबको "मेरो देशको शिक्षा" शीर्षक
निबन्धबाट व्याख्याको लागि साभार गरिएको हो । यस निबन्धको लेखक यसै किताबका सम्पादकज्यूहरू
हुन् ।
यस निबन्धमा
प्राचीन कालदेखि वर्तमान कालसम्मको शिक्षाको चर्चा गर्दै अबको शिक्षाले परम्परागत
र आधुनिक प्रविधिलाई सँगसँगै अगाडि लैजानु सान्दर्भिक हुने विचार उठाएको छ । शिक्षित
व्यक्तिमा शिष्टचार , प्रतिबद्धता , सांस्कृतिक सद्भाव र सामाजिक
सद्व्यवहारका क्षमता हुनुपर्छ भन्ने सन्दर्भमा आएको हो ।
शिक्षित व्यक्ति शिष्ट
, समझदार , प्रतिबद्ध , सांस्कृतिक तथा सामाजिक रूपमा सद्भावपूर्ण हुनुपर्छ । शिक्षाले मानिसमा सकारात्मक
गुण र व्यवहार विकास गराउनुपर्छ । पढेलेखेका शिक्षित व्यक्ति शिष्ट मर्यादित एवं
सद्भावयुक्त हुनुपर्छ । शिक्षित व्यक्ति आफ्नो लक्ष्य वा उद्देश्य , आफ्नो विचारमा दृढ तथा प्रतिबद्ध हुनुपर्छ । शिक्षित व्यक्तिमा बलियो
आत्मविश्वास , दृढता र प्रतिबद्धता हुनुपर्छ । पढेलेखेको मानिस समाजका अमूल्य सम्पत्ति हुन् । उनीहरूको
भूमिका सामाजिक तथा सांस्कृतिक सद्भाव बढाउने कार्यमा सकारात्मक हुनुपर्छ । शिक्षाले
मानिसलाई सभ्य र सुसंस्कृत बनाउँछ । सहक वा असहज परिस्थितिमा समेत अनुकूलित हुने सिप
र क्षमता शिक्षित मानिसमा हुनुपर्छ । उनीहरूले
सांस्कृतिक सद्भाव कायमगरी सामाजिक सद्भाव र एकता कायम गराउने युगीन अभिभारा पूरा गराउने
कार्य गर्ने सामर्थ्य राख्नुपर्छ भन्ने विचार प्रस्तुत वाक्यमा आएको छ । नेपाली
समाज बहुभाषिक , बहुसांस्कृतिक , बहुधार्मिक
र बहुजातीय भएकाले सामाजिक सद्भाव र सहिष्णुता कायम राख्नु महत्त्वपूर्ण पक्ष हो र
यस कार्यमा शिक्षित व्यक्तिको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ।
निष्कर्षमा
शिक्षा आर्जन गर्नु भनेको किताबको पाना रट्नु वा विषयवस्तु ग्रहण गर्नु मात्र नभएर पढेको कुरा व्यवहारमा उतार्न सक्षम
हुनु हो भन्ने विचार व्यक्त गरिएको छ । शिक्षित व्यक्तिमा शिष्ट , नम्र, भद्रता,
विनयशीलता जस्ता गुण विकास हुनुपर्छ । शिक्षित व्यक्ति आफ्नो लक्ष्य
वा उद्देश्यबाट विचलित हुनु हुँदैन , आफ्नो कार्यमा प्रतिबद्ध
हुनुपर्छ , उनीहरूले सामाजिक तथा सांस्कृतिक सद्भाव कायम गराउन महत्त्वपूर्ण भूमिका निर्वाह
गर्नुपर्छ बन्ने भाव उक्त वाक्यमा व्यक्त भएको छ ।
९ 'शिक्षालाई भूगोल ................ पाउने छ' निबन्धको अंश
मौन पठन गर्नुहोस् र चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस् ।
बुँदा टिपोट
·
शिक्षालाई
भूगोल र पर्यावरण अनुकूल व्यवसायमूलक शिक्षाका रूपमा विकास गर्नुपर्ने ,
·
स्थान र स्थानीय
उत्पादनअनुसार व्यावसायिक ज्ञान र सिपयुक्त शिक्षा दिनु उपयुक्त हुने ,
·
प्राविधिक र व्यावसायिक शिक्षा विद्यालय
तहदेखि नै पाठ्यक्रममा समावेश गर्नुपर्ने ,
·
सिपयुक्त
शिक्षालाई प्राथमिकता साथ अगाडि बढाएमा स्वरोजगारीको अवसर वृद्धि हुने ।
व्यवसायमूलक शिक्षा
शिक्षालाई भूगोल र पर्यावरण
अनुकूल व्यवसायमूलक शिक्षाका रूपमा विकास गर्नु आजको आवश्यकता हो । स्थान र सम्भावनाअनुसारको
विषयवस्तुसँग सम्बन्धित शिक्षा दिनु उपयुक्त हुन्छ । स्वरोजगारीका अन्नत सम्भावनाको
खोजी गर्न विद्यालय तहदेखि पाठ्यक्रममा प्राविधिक तथा व्यावसायिक शिक्षा समावेश
गर्न आवश्यक छ । सिपयुक्त शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाएमा सिपअनुकूल व्यावसाय
गरेर स्वरोजगारका अवसर वृद्धि हुने र देशमा पसिना बगाउने वातावरण निर्माण हुन्छ ।
अनुच्छेदमा भएका
जम्मा शब्द सङ्ख्या = १७१
सारांशमा बनाउनुपर्ने
शब्द सङ्ख्या = ५७
सारांशमा भएको शब्द सङ्ख्या = ५८
१० तपाईंलाई नेपालको भावी शिक्षा कस्तो
हुनुपर्छ भन्ने लाग्छ , 'मेरो देशको शिक्षा' निबन्धका आधारमा
समीक्षात्मक उत्तर लेख्नुहोस् ।
उत्तर :- मेरो देशको शिक्षा
नेपाली किताबका लेखकद्वारा सम्पादित उत्कृष्ट आत्मपरक निबन्ध हो । यस निबन्धमा प्राचीन
कालदेखि हालसम्मको शैक्षिक अवस्थाको चर्चा गर्दै प्राविधिक तथा व्यावसायिक
शिक्षामा जोड दिइएको छ । निबन्धमा परम्परागत ज्ञान र आधुनिक प्रविधिलाई सँगसँगै
अगाडि बढाउनुपर्ने विचार प्रस्तुत गरिएको छ ।
शिक्षा जीवनको तेस्रो
आँखा हो । यसले मानिसलाई ज्ञानी , विवेकी , सहनशील तथा दक्ष बनाउँछ । शिक्षाले मानिसलाई सम्मान , खुसी र सुखपूर्वक बाँच्नका लागि आवश्यक ज्ञान, सिप र
दक्षता समयानुकूल परिवर्तन र परिमार्जन हुनुपर्छ । ज्ञान र विज्ञानको विकाससँगै शैक्षिक
प्रणाली र धारणामा आमूल परिवर्तन आएको छ । अबको शिक्षाले हाम्रा परम्परागत ज्ञान र
प्रविधिलाई आधुनिक प्रविधिसँग जोडेर अगाडि लैजानु पर्दछ । शिक्षाले मानिसलाई सिप र
दक्षता प्रदान गरी आत्मनिर्भर बन्न प्रेरित गर्नुपर्छ । अबको शिक्षाले युग सापेक्ष
आधुनिक प्रविधि र अत्याधुनिक औजारको प्रयोग गर्ने व्यावसायिक शिक्षा विद्यालय तहदेखि
नै प्रदान गर्नुपर्छ । नेपालको भावी शिक्षा प्राविधिक तथा व्यावसायिक हुनुपर्छ । नेपालको
भूगोल र पर्यावरणले अथाह सम्भावना बोकेको छ त्यसैले अबको शिक्षाले प्रकृति प्रदत्त
सम्भावनाको पहिचान र प्रयोग गरी आर्थिक
रूपले समृद्ध बन्ने सामर्थ्य प्रदान गरिनुपर्छ ।
अथाह जडीबुटीको भण्डार
रहेको हिमाली क्षेत्रमा जडीबुटी पहिचान र प्रशोधन , हिमाल आरोहण
तथा पर्यटन व्यवसायसँग सम्बन्धित शिक्षा प्रदान गर्नुपर्छ । नेपालको पहाडी भूगोल पशुपालन
तथा फलफूल खेतीका लागि उपयुक्त भएकाले यहाँका मानिसलाई तद्अनुकूलको शिक्षा प्रदान गरिनुपर्छ
। तराईका समथर फाँट अत्यन्त उर्वर रहेकाले
त्यहाँ खाद्यान्न उत्पादनको प्रचुर सम्भावना भएकाले त्यहाँको कृषिमा आधुनिकीकरण
र व्यावसायिकीकरण गरिनु आवश्यक छ । भूगोल र पर्यावरण सुहाउँदो शिक्षाले मानिसलाई व्यवसायउन्मुख
गराउँछ , व्यवसायले मानिसलाई स्वरोजगार बनाउँछ र स्वरोजगारी मानिस
आत्मनिर्भर हुन्छ ।
निष्कर्षमा
नेपालको शिक्षा ज्ञान र विज्ञानको सङ्गत हुनुपर्छ र नेपाली उत्पादनलाई विश्वबजारको
प्रतिस्पर्धामा उतार्न सक्ने हुनुपर्छ ।
११ "मेरो सोच : मेरो
भविष्य " शीर्षकमा आत्मपरक अनुच्छेद लेख्नुहोस् ।
मेरो सोच : मेरो भविष्य
सोच भन्नाले
मानवका मनमा उत्पन्न हुने चिन्तन वा विचार हो भने भविष्य भन्नाले आउने समयलाई बुझ्नुपर्छ
। भनिन्छ बिहानीले दिनको सङ्केत गर्छ यसैगरी व्यक्तिको सोचले उसको भविष्य निर्धारण
हुन्छ । मनव मनमा उत्पादन हुने सोच सकारात्मक र नकारात्मक गरी दुई प्रकारका हुन्छन्
। सकारात्मक सोच र चिन्तनले सफलतातर्फ डोर्याउँछ भने नकारात्मक चिन्तन र सोचले मानव
मनमस्तिष्कमा ईर्ष्या, आहारिस, द्वेष आलस्यता आदिको वासस्थान बनाउँछ र व्यक्ति
असफल हुनुपुग्छ । सफलता र सार्थकता हरेक मानिसको चाहना भए झैँ म पनि आफ्नो जीवनलाई
सार्थक र सफल बनाउ चाहन्छु । विद्यार्थी जीवन मानव जीवनको उषाकाल हो र यहीँबाट उसको भविष्य कस्तो हुने भन्ने कुराको
निर्धारण हुने भएकाले मैले व्यवहारको मार्गदर्शक मानिने सोचलाई सकारात्मक , सिर्जनात्मक र रचनात्मक बनाउनु आवश्यक
ठानेको छु । गर्भको अतिशययुक्त पीडा सहने मेरी आमा, लालनपालनको
चुनौतीको पहाड बोकेर मेरो सुखद भविष्यको कामना गर्दै अहोरात्र खट्ने बुबा परिवार र
सिङ्गो समाजप्रति मेरो विशिष्ट दायित्व
रहेको छ । मैले यो विशाल ब्रह्माण्डमा फुल्नु छ , फक्रनु छ र
सुवास छरेर बनाउनु छ यस जन्मभूमिलाई सुगन्धमय
स्वर्ग । यस युगीन् अभिभारा पूरा गर्ने ममा अवस्य पनि सकारात्मक सोच हुनुपर्छ । मैले
निश्चय पनि कर्मशील बन्नुपर्छ । मेरो कर्मको फूलबारीमा चढाउने मेरो पसिनाको अर्घले
मेरो समाज र राष्ट्रको उन्नति र प्रगतितर्फ लाग्ने सोपान तयार गर्नुपर्छ ।
परनिर्भरताले
मानिसलाई असफल बनाउने भएकाले मैले जीवनमा अरूको भरपर्ने सोचाइ त्यागेर सकेसम्म अरूको
रचनात्मक सहयोग लिएर आफूभित्रको अनन्त ऊर्जालाई जगाउनु छ , जागरुक गराउनु छ । सकारात्मक चिन्तन ,
सोच र व्यवहारका हिमायतीहरू नै संसारमा सफल भएका छन् , आदर्श कहलिएका छन् यसर्थ मैले आफूलाई सकारात्मक सोच, विचार र चिन्तनले दीक्षित गराउनु पर्छ । पारिवारिक तथा सामाजिक व्यवहारबाट
प्राप्त हुने नकारात्मक चिन्तनबाट मनलाई टाढा राख्ने कुरा चुनौतीपूर्ण भए पनि मैले
आफ्नो मनमस्तिष्कलाई नकारात्मकताबाट टाढा राख्ने
प्रयत्न गर्नै पर्छ । निश्चय पनि यो कुरा मेरा लागि चुनौतीको विषय हो । जतिसुकै
कठिन भए पनि म सकारात्मक चिन्तन , सोच र व्यवहारबाट सुखद भविष्यको
बिजारोपण गर्न प्रतिबद्ध रहनेछु ।
१२ दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका
प्रश्नको उत्तर लेख्नुहोस् :
प्रश्नहरू
अ) कानुन भन्नाले के बुझिन्छ ?
उत्तर :- राज्यको
शासन सञ्चालन गर्ने कार्यविधि , पद्धति एवं नियमको समष्टिलाई
कानुन भनिन्छ ।
आ)
कानुनका स्रोत के के हुन् ?
उत्तर :- विधायन, नजिर,
प्रथा तथा परम्परा , अन्तरास्ट्रिय अदालतबाट भएका
फैसला , अन्तर्राष्ट्रिय सन्धि, सम्झौता
र कानुनविद्का राय सल्लाह आदिलाई कानुनका स्रोत मानिन्छ ।
इ)
कानुनलाई किन बाध्यकारी शक्ति मानिन्छ ?
उत्तर :- कानुनको अवज्ञा दण्डनीय मानिने भएकाले कानुनलाई
बाध्यकारी शक्ति मानिन्छ ।
ई)
कानुनको महत्त्व लेख्नुहोस् ।
उत्तर:- शासन व्यवस्थालाई निरङ्कुश हुनबाट रोक्न ,
नागरिकलाई अधिकार दिन , असीमित अधिकारलाई
नियन्त्रण गर्न, सामाजिक सदाचार र नैतिकता कायम गर्न,
समतामूलक समाज निर्माण गर्न , न्याय प्रशासनलाई
चुस्त र दुरुस्त बनाउन कानुनको आवश्यकता पर्दछ र यो नै काननको महत्त्व हो ।