पाठ १० व्यक्तित्व विकासमा विद्यालयको भूमिका

 

पाठ  १०        व्यक्तित्व विकासमा विद्यालयको भूमिका

शब्दभण्डार

१ दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :

शब्द                                     अर्थ

अभिभारा                      कुनै कामको जिम्मेवारी , उत्तरदायित्व

उजागर                          बाहिर ल्याउनु , प्रकाश पार्नु

घगडान                        खुब अनुमान , धेरै सिपालु

शनै: शनै:                     बिस्तारै  बिस्तारै

इच्छाशक्ति                  कुनै इच्छा वा चाहना पूरा गर्ने उच्च अभिलाषा

समायोजन                  वातावरण , परिस्थिति आदिसँग मिल्दोपन

२ दिइएका प्राविधिक र पारिभाषिक पद पदावलीको अर्थ लेख्नुहोस् :

बहुमुखी व्यक्तित्व : प्रतिभावान् व्यक्ति , धेरै क्षमता वा प्रतिभा भएको व्यक्ति

वक्तृत्वकला : वाक्ककला, भाषण गर्ने खुबी वा कला, बोल्ने शैली वा कला

सहक्रियाकलाप :  सहायक क्रियाकलाप , सहयोग पुग्ने क्रियाकलाप

संवेगात्मक : मानवीय संवेदनासँग सम्बन्धित , संवेग भएको , लाज , डर, ईख, प्रेम, रिस आदि संवेग वा उत्तेजनाबाट उत्पन्न

उर्जा : शक्ति , तागत , क्षमता, उत्साह

  दिइएका शब्दको उल्टो अर्थ दिने शब्द वक्तृताबाट खोजेर लेख्नुहोस् :

विनास = संरक्षण             आन्तरिक = बाह्य              ऋणात्मक = धनात्मक

पुरस्कार = दण्ड                सकारात्मक = नकारात्मक           प्रतिकूल = अनुकूल

४ दिइएका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

सभाध्क्ष : कुनै पनि औपचारिक कार्यक्रम सञ्चालन गर्नका लागि सभाध्यक्षको आवश्यक पर्छ ।

उत्कृष्ट :- राम आफ्नो उत्कृष्ट विचार र प्रस्तुतिका साथ वक्तृत्व प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भयो ।

प्रतिभा : शिक्षाले मानिसभित्र रहेको प्रतिभालाई बाहिर ल्याउन मद्दत गर्छ ।

स्वाबलम्बी : प्राविधिक शिक्षाले मानिसलाई स्वाबलम्बी बनाउँछ ।

शिष्टाचार : विद्यालयले बालबालिकामा शिष्टाचार र मर्यादापूर्ण व्यवहार निर्माणमा सहयोग गर्नुपर्दछ ।

सहानुभूति : शिक्षकको सहानुभूतिपूर्ण व्यवहारबाट विद्यार्थी सहयोगी र सहृदयी बन्छ ।

५ दिइएको वक्तृतांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्

क)   वक्तृतांशमा किन आफैँमा विश्वास राख्न भनिएको हो ?

उत्तर :- विवेकानन्दको विचारलाई दृष्टान्तका रूपमा प्रस्तुत गर्दै सम्पूर्ण शक्ति आफैँमा नै हुने भएकाले आफैँमा विश्वास राख्न भनिएको हो ।

ख)  वक्तृतांशमा विफलतालाई किन शिक्षाका रूपमा लिन भनिएको होला ?

उत्तर :- विफलताबाट धेरैभन्दा धेरै सिक्ने अवसर प्राप्त हुने हुँदा शिक्षाका रूपमा लिन भनिएको हो ।

ग)   विद्यार्थीको व्यक्तित्व विकासमा विद्यालयको भूमिका कस्तो हुनुपर्छ ?

उत्तर : विद्यार्थीमा रहेको असिमित तागतलाई सिर्जना र निर्माणमा प्रयोग गर्ने वातावरण सिर्जना गर्दै व्यक्तित्व विकासमा विद्यालय समर्पित हुनु पर्दछ ।

घ)   गल्ती कसरी शिक्षक हुन सक्छ , तर्क दिनुहोस् ।

उत्तर :- गल्ती वा कमजोरीबाट विद्यार्थीले थप सिकाइको अवसर प्राप्त गर्न सक्ने भएकाले गल्ती शिक्षक हुन सक्छ ।

६ दिइएको वक्तृतांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

क)  वक्तृतांशका अनुसार अहिले कस्तो शिक्षा प्रचलनमा रहेको देखिन्छ ?

उत्तर :- नेपाली किताबका लेखकहरूद्वारा लिखित व्यक्तित्व विकासमा विद्यालयको भूमिका शीर्षक वक्तृतामा विद्यालयले बालबालिकाको व्यक्तित्व विकासका लागि महत्त्वपूर्ण स्थान भएकाले व्यक्तित्व निर्माणका लागि आवश्यक वातावरण निर्वाह गर्न विद्यालयको सकारात्मक भूमिकाको आवश्यकता औँल्याइएको छ ।

वक्तृतांशमा व्यक्त भएअनुसार हाल विद्यालयमा पढाइन्छ , सिकाइन्छ, कक्षाकार्य र गृहकार्य गराइन्छ  र उत्कृष्ट अङ्क हासिल गराउन सक्षम बनाउने खालको शिक्षा प्रचलनमा रहेको छ । यथार्थमा अहिले विद्यालयहरूमा बालबालिकाहरूलाई समाजमा समायोजन हुने सीप तथा आफूमा अन्तर्निहित अनन्त शक्तिको उजागर गर्ने , पहिचान गर्ने र त्यसलाई निर्माण र सिर्जनामा लगाउने खालको शिक्षाको अभाव महसुस रहेको छ ।

ख)  समाजमा समायोजन हुने खालको व्यक्तित्व विकास गर्न के गर्नुपर्छ ?

उत्तर :- आजको शैक्षिक प्रचलनले विद्यार्थीको बौद्धिकता विकास तथा उत्कृष्ट जिपिए सहितको सफलता हासिल गर्न सहयोग गरेता पनि विद्यार्थीको सामाजिकीकरणको पाटोमा भने सुधार आउन सकेको छैन । विद्यार्थीमा रहेको तागतको पहिचान गराउने , समाजमा समायोजन हुने व्यवहारिक तथा जीवनोपयोगी सिपको विकासका लागि विद्यार्थीहरूलाई अभिमुखीकरण गराउनु पर्दछ । विद्यार्थी मूल्याङ्कन उत्तरपुस्तिकामा कोरिएका सुनौलो अक्षर र त्यसमा समेटिएका विषयवस्तु वा तर्कका आधारमा नभएर व्यावहारिक क्रियाकलापलाई पनि मूल्याङ्कनका आधार बनाउनु पर्दछ ।

७ दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

क)   विद्यालयले कसरी विद्यार्थीको व्यक्तित्व विकास गर्न सक्छ , आफ्ना विचार प्रस्तुत गर्नुहोस् ।

उत्तर :- विद्यालय विद्यार्थीहरका लागि ज्ञान, चेतना, विवेक, र विभिन्न विषयवस्तुको दीक्षित गराइ भविष्यका लागि सुयोग्य व्यक्तित्वको निर्माण गर्ने थलो हो । विद्यालय त्यस्तो कारखाना हो  जहाँ कच्चा माटोको रूपमा उपस्थित अबोध बालबालिकालाई शिक्षाको पारिलो घामले सेकाएर डाक्टर , इन्जिनियर , पाइलट , नर्स , कवि , लेखक, कलाकार, प्राध्यापक , शिक्षक  वा नेता आदिको आकार प्रदान गर्ने आधार सिर्जना हुने गर्दछ । विद्यालय बालबालिकाको लागि दोस्रो घर हो र शिक्षकशिक्षिका दोस्रो बाबुआमा हुन् किनभने यहीँ विद्यार्थीले घरपछि धेरै समय बिताउँछन् र धेरै सामाजिक व्यवहार सिक्ने गर्छन् । विद्यार्थीको असल व्यक्तित्व निर्माणमा विद्यालयको अहम् भूमिका रहेको हुन्छ ।

विद्यालयले विद्यार्थीमा सकारात्मक चिन्तन, सोच, आचरण तथा व्यवहार निर्माणका लागि अनुकूल वातावरण निर्माण र तद्नुकूल शिक्षण गर्नु पर्दछ । विद्यार्थीलाई भावी जीवनको भारी देखाएर भन्दा उनीहरूको रूचिमा राम्रोसँग अगाडि बढ्न उत्प्रेरित गर्नु पर्दछ । हरेक विद्यालयमा विद्यार्थीका लागि समाजमा समायोजन हुने व्यवहारिक तथा जीवनोपयोगी सिपको विकास विद्यार्थीमा अन्तर्निहित अनन्त ऊर्जालाई उजागर गर्न प्रेरित गर्नु पर्दछ । विद्यालयमा विद्यार्थीलाई सकारात्मक मन र आत्मविश्वास जगाउने क्रियाकलापहरू सञ्चालन गरिनु पर्दछ ।

विद्यालयले बालबालिकालाई ठूलो मान्छे भन्दा पनि असल मानिस बन्न प्रेरित गर्नु पर्दछ । शिक्षकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानभन्दा शिक्षकको नम्रता, शिष्टता , भद्रता र सालिनताजस्ता आदत, बानी र व्यवहार सिक्ने अवसर विद्यार्थीलाई प्रदान गरिनुपर्छ । किताबका पाना घोकेर उत्तरपुस्तिकामा पोखेकै कारण उत्कृष्ट घोषणा गर्नुभन्दा विद्यार्थीको सामाजिक व्यवहारको अवलोकनबाट मूल्याङ्कन गरिनु पर्दछ । विद्यालयमा बालबालिकामा अन्तर्निहित क्षमता र प्रतिभालाई उजागर गर्ने र मलजल गर्ने वातावरण निर्माण गरिनु पर्छ । विद्यार्थीहरूमा समीक्षात्मक , समालोचनात्मक र सिर्जनशील चिन्त, सञ्चार सीप निर्माण क्षमता समस्या समाधानको सीप विकासका लागि विद्यालयले अतिरिक्त तथा सहक्रियाकलापलाई सहयोगी बनाउनु पर्दछ । विद्यालयले पारिवारिक परिवेशभित्र निर्मित व्यक्तित्वको जगलाई दरिलो , चम्किलो बनाउँदै सकारात्मक भूमिका निर्वाह गर्नु पर्दछ ।  शिक्षकको सहानुभूतिपूर्ण व्यवहार र शिक्षक कौशलले पनि विद्यार्थीको व्यक्तित्व निर्माणमा सहयोग पुर्‍याउँछ ।

अन्त्यमा विद्यालयको भौतिक परिवेश पनि व्यक्तित्व विकासको कारक मानिन्छ । विद्यालयको स्वच्छ र सुरक्षित वातावरणले विद्यार्थीमा सिकाइका लागि सकारात्मक ऊर्जा पैदा गर्छ भने असुरक्षित तथा प्रदूषित वातावरण र परिवेशले विद्यार्थी सिकाइमा प्रभाव पर्दछ । विद्यालयले विद्यार्थीलाई भावी जीवनको सुन्दर गोरेटो देखाउनु पर्दछ । विद्यार्थीलाई विषय छनोट गर्ने उत्प्रेरणा विद्यालयले प्रदान गर्न सक्नुपर्छ । विद्यालयको स्वच्छ , शान्त तथा सकारात्मक वातावरण तथा शिक्षकको सहयोगी आदर्श व्यवहारबाट नै विद्यार्थीको बहुमुखी व्यक्तित्व विकासमा विद्यालय नै सबैभन्दा बढी जिम्मेवारी र उत्तरदायी हुनु पर्दछ ।

ख)  आफ्नो व्यक्तित्व विकासका लागि विद्यार्थीले के कस्ता कार्य गर्नुपर्छ , लेख्नुहोस् ।

उत्तर :-  विद्यार्थी जीवन मानव जीवनको उषाकाल हो । बिहानीले दिनको सङ्केत गर्छ भने झैँ  कुनै पनि व्यक्तिको भविष्य उसको विद्यार्थी जीवनबाट सुरु  हुन्छ  र अनुमान पनि गर्न सकिन्छ  । असीमित इच्छा , आकाङ्क्षा  र सपना बोकेर विद्यालय प्रवेश गरेका कलिला मुनाको तागत र ऊर्जालाई विद्यालय शिक्षाका माध्यमबाट एउटा निश्चित आकार प्रदान गरी योग्य , कुशल र सक्षम व्यक्तित्वको विकासमा सहयोग पुर्‍याउँछ ।

             आफ्नो व्यक्तित्व विकासका लागि विद्यार्थी स्वयं नै सजग र सचेत हुनु पर्दछ ।हुने बिरुवाको चिल्लो पात भने झैँ  असल विद्यार्थी सानैदेखि जिज्ञासु , सिर्जनात्मक , लगनशील , परिश्रमी , मिहिनेती र अनुशासित हुन्छ । स्वअनुशासन जीवनको गहना भएकाले यसको पालना गर्नु विद्यार्थीका प्रमुख कर्तव्य हो । नियमित विद्यालय जानु , तोकिएको कक्षा कार्य र गृहकार्य गर्नु, माता, पिता , गुरु र स्वजनलाई सम्मान गर्नु, साथीलाई सहयोग गर्नु , अस्पष्ट भएको विषयमा स्पष्ट हुन शिक्षकसँग सोध्नु वा छलफल गर्नु आदि विद्यार्थीले नियमित रूपमा गर्नु पर्ने कार्य हुन् । आजकाल प्रायः गरेर पठन संस्कृति विस्तारै लोप हुँदै गएको छ । पाठबाट घोकाइएका वाक्य वा अक्षरलाई उत्तरपुस्तिकामा पोखेकै आधारमा विद्यार्थीले ग्रेड प्राप्त गर्ने  परिपाटी हामीले अनुसरण गरेका छौँ ।  हरेक विद्यार्थी , शिक्षक र अभिभावक नतिजामुखी हुँदै गएका छन् । के सिकाइयो ? के सिकियो ? के सिक्यो भन्नुभन्दा पनि हाम्रो आकर्षण कति जिपिए ल्याउन सफल भए भन्नेतर्फ केन्द्रित रहेको छ  विद्यार्थीले सिकेको , सिकाइएको कुरा व्यवहारमा कसरी अवलम्बन गर्छ क्रमशः गौण हुँदै गएको छ । व्यक्तित्व विकासमा व्यक्ति स्वयं जिम्मेवारी हुन्छ र यो कुरा विद्यार्थीहरूमा पनि लागू हुन्छ  तर जीवन बुझ्ने र व्यक्तित्व के हो भन्ने बुझ्न क्रियाशील हुँदै गरेका काँचो माटो रुपी विद्यार्थीहरूलाई निश्चित आकार दिन सकारात्मक वातावरण तयार गर्ने कालीगढीको सीप शिक्षक , अभिभावक र समाजले प्रदर्शन गर्न सक्नुपर्दछ ।  विद्यार्थीभित्र रहेको अन्तर्निहित क्षमतालाई चिनाउने कार्यमा शैक्षिक संस्थाले सावधानी र सचेततापूर्वक कर्तव्य निर्वाह गर्नु पर्छ  भने विद्यार्थीले आफ्नो क्षमता , तागत र प्रतिभालाई चिन्ने र बाहिर ल्याउने , त्यसलाई फलाउने फुलाउने कार्यतर्फ अग्रसर रहनुपर्छ । जिज्ञासा राख्ने , समस्याको समाधान खोज्न रमाउने , सिर्जना र निर्माणमा ध्यान केन्द्रित गर्ने , सामाजिक सम्बन्ध र व्यवहारलाई फराकिलो बनाउने , अरूबाट असल संस्कार , व्यवहार र अभ्यास सिक्ने जस्ता कार्यले विद्यार्थीको व्यक्तित्व निर्माणमा सहयोग पुग्दछ । अभ्यासले मानिसलाई सफल बनाउँछ  भन्ने कुरा विद्यार्थीले सदैव आत्मसात गर्नुपर्दछ ।

निरन्तरको प्रयत्न र आत्मविश्वास सफलताको सोपान गो  भन्ने कुरा विद्यार्थीले बुझ्न जरुरी छ । दृढता निरन्तरता , उच्च मनोबल , लक्ष्य वा उद्देश्यप्रतिको अर्जुनदृष्टि , परिश्रम , लगाव , इच्छाशक्ति , सक्रियता , साहस जस्ता कुराले व्यक्तिको सफलता र व्यक्तित्व निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले विद्यार्थीले उपरोक्त कुरालाई आत्मसात गर्नु पर्दछ । आफूले प्राप्त गरेका अवसरलाई सदुपयोग गर्ने , प्रतिकुलता वा कठिनाइबाट विचलित नहुने , धैर्य बन्न सिक्ने गुणले विद्यार्थी सफल बन्न सक्छन् ।

आफूभित्रको अन्तर्निहित अपार शक्तिको पहिचान गर्ने , पूर्ण उपयोग गर्ने , शिष्टता , नम्रता, भद्रता दया, माया, प्रेम , करुणा र क्षमाशीलता जस्ता गुणको विकासमा प्राथमिकता दिनाले गर्विलो सामाजिक व्यक्तित्व निर्माण हुन्छ । अध्ययनशील स्वभावले बौद्धिक व्यक्तित्वको धरातल बलियो बन्छ । सन्तुलित आहारा , निद्रा र परिश्रमले शारीरिक व्यक्तित्व निर्माण हुन्छ । तसर्थ हरेक विद्यार्थीले आफूभित्रको "म" को पहिचान गर्दै आफ्नो व्यक्तित्वको धरहरा ठड्याउन अरूको साथ र सहयोग  लिएर निरन्तर क्रियाशील हुनुपर्छ । ढिलो नगरिकन आफ्नो पाखुरीको आधार  र पैतालाको संसार निर्माण गर्ने व्यक्तित्वको विकासमा विद्यार्थी स्वयं केन्द्रित हुनुपर्छ ।

      माथिको वक्तृतामा अमृता नेम्वाङले भनेका कुरालाई दशओटा बुँदामा टिपोट गर्नुहोस् ।

उत्तर :-

·      अङ्ग्रेजी शब्द Personality को समानार्थी शब्द व्यक्तित्वको शाब्दिक अर्थ बाह्य अनुहार, बाहिरी भेषभुषा , शारीरिक रूप भन्ने भएता पनि व्यक्तिको चिन्तन , सोच, विचार, आचरण सकारात्मकता आदि कुरा व्यक्तित्व भित्र समावेश हुने,

·       विद्यार्थीलाई भावी जीवनको भारी देखाएर तर्साउनुभन्दा उनीहरूको रुचि अनुसार अगाडि बढ्न हौसला प्रदान गर्नुपर्छ ,

·       विद्यार्थीलाई पढाउने , सिकाउने र उत्कृष्ट नतिजाका लागि तयार गराउनु अतिरिक्त सामाजिक समायोजनका लागि जीवनोपयोगी सिप , सकारात्मक सोच र आत्मविश्वास जगाउने अनुकूल वातावरण सिर्जना गर्नु पर्छ ,

·      विद्यार्थीलाई स्वशक्ति  पहिचान गर्न सक्षम बनाउनु पर्छ , प्रतिभा र बौद्धिकता जागृत गराउने वातावरण प्रत्येक विद्यालयले सिर्जना गर्नुपर्छ ,

·      विद्यार्थीले शिक्षकबाट व्याख्या गरिने कोरा सैद्धान्तिक ज्ञानमात्र नभएर शिक्षकका आदत बानी व्यवहारको अनुसरणबाट सिक्ने प्रेरणा प्राप्त गर्नुपर्छ ,

·      बहुसांस्कृतिक र बहुभाषिक सौन्दर्यलाई अझै उज्यालो पार्न हरेक विद्यार्थीले आफ्नो सांस्कृतिक पहिचानप्रति गौरव गर्ने वातावरण विद्यालयमा हुनुपर्छ ,

·      किताबका पानामा कोरिएका अक्षर र शब्द घोकेर उत्तरपुस्तिकामा पोखेको आधारमा गरिने मूल्याङ्कनभन्दा माथि उठेर विद्यार्थीको सामाजिक व्यवहार र आचरणबाट मूल्याङ्कन गरी हौसला प्रदान गर्नुपर्छ ,

·       विद्यार्थीमा अन्तर्निहित प्रतिभा वा बहुबौद्धिकताको उपयोगका लागि आवश्यक अवसर सिर्जना विद्यालय तहमा हुनुपर्छ ,

·      सहकार्यकलाप र अतिरिक्त क्रियाकलापका माध्यमबाट सिर्जनशील र समीक्षात्मक चिन्तन, सञ्चार सीप, निर्णय क्षमता, समस्या समाधानका लागि तत्पर रहने सिपको विकासमा सहयोग गर्दै विद्यार्थीको बहुमुखी व्यक्तित्व निर्माणमा विद्यालयले सहयोग गर्नुपर्छ ,

·      विद्यार्थीलाई समाजमा समायोजन हुन र आफ्नो कर्तव्यप्रति सचेत गराउन , आँट , हिम्मत , साहस र आत्मविश्वास जागृत गराउन सकिएमा भविष्यका लागि एक होनहार योग्य नागरिक तयार गर्न सकिन्छ ।

   १०" विद्यार्थी जीवनमा अनुशासनको महत्त्व " शीर्षकमा छोटो वक्तृता तयार पार्नुहोस् ।

उत्तर :- आदरणीय सभाध्यक्षज्यू , प्रमुख अतिथि , अतिथि गण, निर्णयक मण्डल , श्रद्धेय गुरुवर्ग , प्रतिस्पर्धी तथा सहयोगी साथीहरू ।विद्यार्थी जीवनमा अनुशासनको महत्त्व शीर्षक वक्तृत्वकलामा आफ्नो विचार राख्ने अवसर प्रदान गर्नु भएकोमा आयोजक सादर कृतज्ञता व्यक्त गर्दै आजको वाकयुद्धको कुशल वाकवीर नै म हुने छु भन्ने विश्वाससहित आफ्नो भनाइ राख्ने अनुमति चाहन्छु ।

आदरणीय सभापति महोदय सर्वप्रथम म आजको वक्तृत्वको विषय "विद्यार्थी जीवनमा अनुशासनको महत्त्व " लाई चिनाउन चाहन्छु । विद्यार्थी जीवन जीवनको उषाकाल वा सुनौलो बिहानी हो । यस समयलाई मानिसले विद्या आर्जन गर्न समर्पित गरेका हुन्छन् । विद्यार्थी र जीवन को संयोजनबाट विद्यार्थी जीवन बनेको हुन्छ जसको अर्थ विद्या आर्जन गर्ने  व्यक्ति र जीवनको अर्थ  विद्या प्राप्त गर्ने समय भन्ने हुन्छ । अर्थात् विद्यार्थी जीवन भन्नाले विद्यालय महाविद्यालयमा भर्ना भइ औपचारिक रूपमा शिक्षा आर्जन गरिरहेको व्यक्ति भन्ने बुझ्नुपर्छ । शासन आधार पदमा अनु उपसर्ग लागेर बनेको अनुशासन शब्दले स्वशासन वा आफूले आफैँ माथि गरिने नियन्त्रण वा शासन हो भन्ने हुन आउँछ ।

अनुशासन मानिसको गहना वा आभूषण हो यसले व्यक्तिको आन्तरिक व्यक्तित्वको उजागर गर्दछ । शिक्षा जीवन भर चलिरहने प्रक्रिया भएतापनि शास्त्रले जन्मदेखि २५ वर्षसम्मको उमेर वा ब्रह्मचार्य आश्रममा निश्चित सीमा वा अनुशासनको पालना गरी शैक्षिक संस्थाबाट औपचारिक शिक्षा आर्जन भनी बताएको पाइन्छ ।

आदरणीय महानुभावहरू विद्यार्थी जीवन मानवीय जीवनको आधारशिला हो । यस समयलाई सदुपयोग गर्ने व्यक्तिले नै सुन्दर र सुदृढ भविष्य निर्माण गर्न सक्छ । यस समयको महत्त्वलाई बुझ्न वा आत्मसात गर्न सकिएन भने जीवनभर पश्चातापले शिर घोप्ट्याएर बाँच्नु पर्ने हुन्छ । यो समय अध्ययन, चिन्तन , मनन, कठोर साधना र कडा परिश्रम गर्ने समय हो । विद्यार्थी जीवन आनन्द , रमाइलो , स्वतन्त्र र उत्साही समय हो जो घर व्यवहार , पारिवारिक झैझमेलामा फसेको हुँदैन ।

श्रद्धेय स्रोतागण विद्यार्थी जीवन बौद्धिकताको विकास गर्ने समय पनि हो । बौद्धिकताको विकासका लागि स्वस्थ्य शरीरको आवश्यकता पर्दछ  जसका लागि आहार , विहार, शारीरिक व्यायाम र खेलकुदको विशेष भूमिका रहेको हुन्छ । शारीरिक व्यायाम तथा खेलकुदमा निश्चित नियमको पालना गर्नु पर्ने हुन्छ । बौद्धिकताको विकासका लागि दुर्गुणहरूलाई फालेर असल गुणको विकास गराउन अनुशासनको पालनाले मात्र सम्भव हुन्छ । महोदय , विद्या र अनुशासन एकअर्काको परिपूरक हुन् । अनुशासन विनाको विद्यार्थी अराजक हुन्छ । अनुशासनले विद्यार्थीलाई कर्तव्यपथमा डोर्‍याउने गर्दछ । अनुशासनले मानिसलाई विवेकी, संयमी, ज्ञानी, सहयोगी, बन्न प्रेरित गर्ने भएकाले मानव जीवनको तेस्रो आँखा मानिने शिक्षा प्राप्तिका लागि अनुशासनको ठूलो महत्त्व रहेको हुन्छ । कर्तव्य जीवनको सार वा गन्तव्य हो भने अनुशासन जीवनको फराकिलो राजमार्ग र लगाम हो । जसरी लगाम बिनाको घोडसवारले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैन त्यसरी नै अनुशासन बिनाको विद्यार्थीले पनि शिक्षारूपी जीवनको रथ गन्तव्य सम्म पुर्‍याउन सक्दैन ।

आदरणीय सभाध्यक्ष महोदय विद्यार्थी जीवनको लक्ष्य केवल उत्कृष्ट जिपिएससहितका शैक्षिक प्रमाणपत्र प्राप्त गर्नुमात्र होइन सैद्धान्तिक र व्यवहारिक जीवनका परीक्षा समेत उत्तीर्ण गर्दै मानव जीवनको गरिमा बढाउनु पनि हो । जीवनोपयोगी र व्यावहारिक सिप सिकाइका लागि अनुशासन सबैभन्दा पहिलो सर्त हो । आफ्नो मर्यादा र सीमाबाट विचलित हुने मानिसले गन्तव्य पूरा गर्न नसक्ने भएकाले विद्यार्थी जीवनको सार्थकताका लागि अनुशासनको विशेष स्थान रहेको हुन्छ ।

११  दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

क उत्तर दिनुहोस्

अ)   बहुबौद्धिकताको सिद्धान्तका प्रतिपादक को हुन् ?

उत्तर :- बहुबौद्धिकताको सिद्धान्तका प्रतिपादक हार्वड गार्डनर हुन् ।

आ)                   बहुबौद्धिकताको प्रकार उल्लेख गर्नुहोस्  ?

उत्तर :- भाषिक , तार्किक गणितीय , स्थानिक दृश्यात्मक , प्राकृतिक , सङ्गीतात्मक , शारीरिक गतिबोधक, अन्तरवैयक्तिक र अन्त: वैयक्तिक आदि बहुबौद्धिकताका प्रकारहरू हुन् ।

इ)    भाषिक बौद्धिकता अन्तर्गत पर्ने कुरा के हो ?

उत्तर :- लिखित मौखिक रूपमा प्रभावकारी ढङ्गले भाषाको प्रयोग गर्ने क्षमतालाई भाषिक बौद्धिकता भनिन्छ ।

ई)     तपाईंमा मुख्य रूपमा कुन बौद्धिकता रहे जस्तो लाग्छ ?

उत्तर :- मसँग मुख्य रूपमा भाषिक बौद्धिकता रहेको जस्तो लाग्छ

सिर्जना र परियोजना कार्य

१ भाषाको विस्तारमा प्रविधिको भूमिका " शीर्षकमा वक्तृता तयार पार्नुहोस् :

उत्तर :- श्रीमान् सभापतिज्यू , प्रमुख अतिथिज्यू, विशिष्ट अतिथि लगायत अतिथि गण , निष्पक्ष निर्णायक मण्डल गुरुवर्ग प्रतिस्पर्धाको मैदानमा उत्रनु भएका साथीहरू , आज आयोजित " भाषाको विस्तारमा प्रविधिको भूमिका " विषयक वक्तृता प्रतियोगितामा सहभागी भएर आफ्नो धारण राख्न पाउँदा गौरवान्वित महशुल गर्दै आयोजकज्यूहरमा सादर नमस्कारसहित आफ्नो विचार राख्न श्रीमान् सभापतिज्यूसँग अनुमति चाहन्छु ।

     सभापति महोदय म आफ्नो विचार राख्ने क्रममा सर्वप्रथम शीर्षकलाई परिभाषित गर्न चाहन्छु । संस्कृतको भाष् धातुमा आ प्रत्यय लागेर बनेको  भाषा शब्दको शाब्दिक अर्थ मनका भाव वा विचार अरूसमक्ष प्रकट गर्ने सार्थक शब्द वा वाक्यहरूको समूह , वाणी वा बोली भन्ने हुन्छ । प्रविधि भन्नाले कुनै काम गर्दा अनुभव तथा प्रयोगका आधारमा अँगालिने खास विधि वा प्रक्रिया भन्ने बुझिन्छ । माथिको शीर्षकले भाषाको विस्तार र विकासमा प्रविधिको भूमिका वा प्रविधिलाई कसरी  प्रयोग गर्न सकिन्छ वा उपयोग गर्ने भन्न खोजेको हो भन्ने मेरो बुझाइ छ । भाषा मानवीय वस्तु हो र भाषाको माध्यमबाट मानिसले आफ्नो विचार वा धारणा अरू समक्ष सम्प्रेषण गर्दछन् । आजको समय ज्ञान, विज्ञान र प्रविधिको समय हो  त्यसैले आजको भाषा प्रविधि मैत्री हुनुपर्छ । भाषा प्रविधि आजको प्रमुख आवश्यकता हो । अबको भाषा मानिसले व्याख्या गर्न सक्ने मात्र भएर पुग्दैन । आजको भाषा मेसिनले प्रशोधन गर्न सक्ने हुनुपर्छ । अबको मानवीय क्रियाकलाप कम्प्युटर प्रविधिविना परिकल्पनासमेत गर्न सकिँदैन । आजको लेखाइ पाठ सङ्ग्रह विश्लेषण प्रक्रियामा भाषिक लगत(डाटा) , भाषाको घटकीय विश्लेषण र कम्प्युटरले प्रशोधन गर्न सक्ने वाक्य संरचना भएको हुनुपर्छ ।

सभापति महोदय नेपालको सन्दर्भमा नीति निर्माण गर्ने जिम्मेवारी पाएको निकाय भाषा प्रविधि नीति निर्माणका सम्बन्धमा बेखबर रहेको र खासै चासो नदिएको अवस्था विद्यमान छ । कानुन पढेका वकिललाई भाषा अनुवाद गर्ने आधिकारिक व्यक्ति बनाएको छ । वकिलले भाषा अनुवाद गर्ने अख्तियारी पाएका छन् । सभापति महोदय , आज सूचना र प्रविधिको विकास , विस्तार र परिवर्तनले तीव्रता पाएको सन्दर्भमा भाषा प्रविधिले पनि प्राथमिकता पाउनु पर्दछ । सूचना र प्रविधिका क्षेत्रमा आएको तीब्र परिवर्तनसँग समन्वय गर्न भाषा प्रविधिसहितको सूचना प्रविधि नीति निर्माण तथा प्रभावकारी कार्यान्वयन आजको प्रमुख आवश्यकता हो । कम्प्युटर सक्षम भाषा सूचना प्रविधिको अभिन्न अङ्ग भएकाले सूचना प्रविधि नीतिमा नेपाली भाषाको मानकीकरणलाई सम्बोधन गर्न सचेतता साथ सक्रियता देखाउन अब ढिलो गर्नु हुँदैन ।

सभापति महोदय समयको गति र परिवर्तनको गतिलाई कसैले रोक्न नसक्ने भएकाले अब ढिलो नगरी भाषाको विकास र विस्तारमा प्रविधिलाई प्रवेश गराइएन र ढिला गरिएमा समयले हामीलाई माफी दिने छैन । समयको आवश्यकतालाई सम्बन्धित निकायले आज , अहिल्यै र यहीँबाट भाषाको विकासमा प्रविधिको प्रयोगमा लाग्ने सङ्कल्प गर्न आह्वान गर्दै आफ्नो विचारको बिट मार्दै विदा हुन्छु । धन्यवाद नमस्कार ।

 तपाईंले सुनेको कुनै वक्तृताबाट मुख्य मुख्य विषयवस्तु टिपोट गरी कक्षामा प्रस्तुत गर्नुहोस्

राष्ट्र निर्माणमा युवावर्गको भूमिका

१)    १६ वर्ष उमेर पुगेका ४० वर्ष ननाघेका मानव समूह युवा अवस्था हो,

२)   यो ऊर्जाशील र सक्रिय उमेर हो,

३)   पहाड फोरेर मोती निकाल्न सक्ने, ज्ञानको ज्योति बालेर अज्ञानको अन्धकार हटाउन सक्ने ,

४)    राष्ट्रलाई हर क्षेत्रमा अगाडि बढाउने कार्य नै राष्ट्रनिर्माण कार्य हो , कस्तो राष्ट्र बनाउने भन्ने कुरा त्यो देशका नागरिक तथा युवाको भूमिका महत्त्वपूर्ण हुने,

५)    देशमा विद्यमान रहेका अभाव , अन्धकार, अशिक्षा , गरिबी , पछौटेपन, अन्धविश्वास आदिको अन्त्य गर्न समझदार , अध्ययनशील र बुद्धिजीवी युवाको सक्रियता आवश्यक रहेको ,

६)   अन्याय , अत्याचार , शोषण , दमन र उत्पीडनसहितको केही व्यक्तिको स्वर्गको सिंहासन ढालेर लाखौँको लागि स्वर्गको निर्माण गर्ने महान अभियान युवाको जागरण र सक्रियता मात्र सम्भव हुने ,

७)    युवा वर्ग भनेको ध्वंश , विद्रोह र विनासका बन्दुक मात्र नभएर निर्माण र परिवर्तनका संवाहक पनि हुन,

८)   संसारमा भएका ठूलाठूला राजनैतिक परिवर्तनमा युवाको उल्लेखनीय योगदान रहेको ,

९)    नेपालको राजनैतिक परिवर्तनमा पनि युवा विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहेको ,

१०)         युवा निष्क्रिय रहनु भनेको देशको भविष्यमा कालो बादल मडारिनु हो , कालो ग्रहण लाग्नु हो,

११)          कर्मठ युवाको पौरखमा देशले काँचुली फेर्न सक्छ , देशको आर्थिक , सामाजिक , सांस्कृतिक तथा शैक्षिक विकासका संवाहक युवा नै हुन् ,

१२)          युवालाई उसको रूचिअनुसारको शिक्षा र आवश्यक संस्कार प्रदान गरेर राष्ट्र निर्माणका महाअभियानमा सहभागी गराउनु पर्दछ,

१३)         देश विकासका विभिन्न स्रोत तथा संसाधन मध्ये मानव स्रोत सबैभन्दा महत्त्वपूर्ण स्रोत भएकोले युवा जनशक्तिलाई अनुशासित र मर्यादित बनाइ परिचालित गर्नु पर्दछ ।

 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.