पाठ :- ८ सारङ्गीमा देश

 

पाठ :- ८ सारङ्गीमा देश

शब्दभण्डार

दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहस् :

शब्द           अर्थ

सारङ्गी       तारमा रेटेर बजाइने एक प्रकारको बाजा

सङ्घर्ष       समस्यसँगको जुधाइ, कठोर परिश्रम

पौरखी        उद्यमशील

धर्ती         पृथ्वी , जमिन

गौरव         इज्जत , प्रतिष्ठा

समृद्धि        उन्नति , प्रगति

स्वर्णिम       सुन जस्तो चम्किलो , सुनौलो

दिइएका शब्दका पर्यायवाची शब्द कविताबाट खोजेर लेख्नुहोस् :

हिउँचुली हिमाल     नयन आँखा  वासना सुवास

सृष्टि सिर्जना       तातो न्यानो   टाकुरा शिखर

३ दिइएका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

स्वाभिमान :- पौरखी र मिहिनेती मानिस सधैँ स्वाभिमान जोगाएर बाँच्न सक्छन् ।

भावना :-  उदार भावनाले मानिसलाई सज्जन र भलादमी बनाउँछ ।

ज्ञानभूमि :- पौराणिक कालदेखि नै नेपाल ज्ञानभूमिका रूपमा चर्चित रहेको छ ।

गाथा :-  पुर्खाका वीरता र पौरखको गाथा भुल्यौँ भने हामीलाई इतिहासले धिक्कार्ने छ ।

परिवेश :- हामीले हाम्रो परिवेशलाई बदल्ने प्रयास गर्नु पर्छ तर आफ्नो आधार भूमिलाई भुल्नु हुँदैन ।

बोध र अभिव्यक्ति

६ दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

क सबै नेपालीको भावनालाई सम्मान गर्न के के गर्नुपर्छ ?

उत्तर :- कवि धिरेन्द्र प्रेमर्षिद्वारा रचित सारङ्गीमा देश शीर्षकको कवितामा देशप्रेमको उत्कृष्ट भाव व्यक्त भएको छ । भौगोलिक विविधता र सामाजिक सांस्कृतिक विविधताको वर्णन गर्दै कविले नेपाललाई बुद्ध , सीता, भृकुटीको जन्मभूमि , ज्ञानभूमि र तपोभूमिका रुपमा नेपालको गौरव गायन गरेका छन् ।

नेपाल बहुजातीय , बहुधार्मिक र बहुसांस्कृतिक पहिचान युक्त मुलुक हो ।

यो पहिचानलाई जोगाउन विविधताभित्रको एकतालाई जोगाउन सक्नुपर्छ । अलग अलग भूगोलमा बसोबास गर्ने विभिन्न जातजातिका नेपालीहरूका आआफ्नै मौलिक रीतिरिवाज तथा संस्कृति रहेका छन् । भाषा र भेषभूषा समेत अलग अलग रहेका छन् । सबैको चाहना आफ्नो कला , धर्म , भाषा र संस्कृतिको सम्मान र संरक्षण होस् भन्ने हुन्छ । सबैको आस्था , विश्वास र भावनालाई एकअर्काले स्वीकार्न तथा सम्मान गर्न सक्नुपर्छ । कुनै आग्रह पूर्वाग्रह नराखी सबैप्रति उदार , सम्मान, सद्भावना राख्ने जस्ता कार्य गर्नुपर्छ ।

ख "पौरखीका पसिनाको सुवासमा बाँच्छ" भन्नुको आशय के हो ?

सारङ्गीमा देश कविताका माध्यमबाट कविले नेपाली विविधताको सम्मान गर्दै आफ्नै पसिना र पौरखमा रमाउने स्वाभिमानी नेपालीको गौरव गाथाको चर्चा गरेका छन् । जातीय , भाषिक , धार्मिक , सांस्कृतिक विविधताको महिमा वर्णन गरी लेखिएको यस कवितामा राष्ट्रप्रेमको भावना व्यक्त भएको पाइन्छ ।

कविले कवितामा पौरखी पसिनाको सुवासमा बाँच्छ भन्ने सन्दर्भ प्रयोग गरेका छन् । यस अंशले नेपालीहरूको आफ्नै श्रम र पसिनामा बाँच्न चाहने स्वाभिमानी चरित्रको प्रशंसा गरेका छन् । आफ्नै पौरख , श्रम र पसिनाको सुवासमा रमाउन चाहने नेपाली जातिहरूमा आश्रित हुन चाहँदैन । कसैको दया र सहानुभूतिको अपेक्षा नगर्ने कुरा कवितामा वर्णित छ । नेपालीहरू आफ्नै पसिना र पौरखले बाँच्न चाहने , श्रम र कर्मयोगको सुगन्धले संसार सिँगार्न र सजाउन क्रियाशील रहेको भाव प्रस्तुत वाक्यमा व्यक्त भएको छ । आफ्नै पसिना र श्रमको धरातलमा उभिने र अरूलाई पनि कर्मयोग पाठ सिकाउँदै स्वाभिमानका साथ जीवन बिताउन प्रेरित गर्नु उक्त वाक्यको आशय हो ।

ग कवितामा नेपालका कस्ता कस्ता सांस्कृतिक विशेषता उल्लेख गरिएको छ ?

उत्तर :- धिरेन्द्र प्रेमर्षिद्वारा रचना गरिएको सारङ्गीमा देश शीर्षक कवितामा नेपाली राष्ट्रिय संस्कृतिको चर्चा गरिएको छ । सांस्कृतिक विविधतायुक्त समाज रहेको नेपालमा विविधताभित्र एकता र सद्भावको अनुपम संयोजन रहेको पाइने विचार कवितामा व्यक्त गरिएको छ ।

नेपालमा बौद्ध हिन्दु र अन्य संस्कृतिहरू अवलम्बन गरिएको पाइन्छ । यहाँ मैथिली संस्कृति अस्तित्वमा रहेको पाइन्छ । यसैगरी प्रकृतिको पूजा गर्ने संस्कृति हामीसँग रहेको छ । श्रममा विश्वास राख्ने र श्रममा रमाउने संस्कृति नेपाली जनमानसमा रहेको कुरा कवितामा व्यक्त गरिएको छ । आफ्नै पौरख र पसिनामा रमाउने, स्वाभिमानी बन्ने गौरवपूर्ण  संस्कृति नेपालीहरूमा रहेको विचार कवितामा व्यक्त गरिएको छ । यसै पावनभूमिमा गौतम बुद्ध , सीता र भृकुटी जस्ता आदर्श व्यक्तित्वको जन्म भएको कुरा कविता वर्णन गरिएको छ । बुद्धले शान्ति अहिंसा , सीताले त्याग र समर्पण , भृकुटीले राष्ट्रियताको पाठ सिकाएका छन् । यो भूमि ऋषि मुनि तथा देवीदेवताको तपोभूमि रहेको कुरा हाम्रो पौराणिक ग्रन्थहरूमा वर्णन गरिएको छ । कवितामा नेपालका यस्ता महत्त्वपूर्ण  सांस्कृतिक विशेषता उल्लेख गरिएको छ ।

      दिइएको कवितांशको व्याख्या गर्नुहोस् :

ज्ञानभूमि , तपोभूमि, स्वप्नभूमि यही

गर्वसाथ गाउने गर्छ, जय धर्ती माता

उत्तर :- ज्ञानभूमि ................................ जय धर्ती माता ।

          प्रस्तुत वाक्य हाम्रो कक्षा नौ को नेपाली किताबको "सारङ्गीमा देश" शीर्षक कविताबाट व्याख्याको लागि साभार गरिएको हो । यस कविताका रचयिया धिरेन्द्र प्रेमर्षि हुन । नेपाल र नेपालीको सामाजिक सांस्कृतिक विशेषताको वर्णन गरिएको यस कवितामा देशप्रेम, संस्कृति प्रेम, प्रकृति प्रेमको भावना व्यक्त भएको छ । नेपालको सांस्कृतिक विशेषताको वर्णन गर्ने सन्दर्भमा आएका हुन् ।

               यस कवितामा नेपालको सांस्कृतिक पहिचानको वर्णन भएको छ । वैदिक तथा पौराणिक कालमा नेपाल तपोभूमि , ज्ञानभूमिका रूपमा प्रसिद्ध रहेको तथ्य कवितामा व्यक्त गरिएको छ । यही धर्तीमा बुद्ध , सीता र भृकुटी जस्ता सांस्कृतिक ऐतिहासिक व्यक्तित्वहरूको जन्म भएको थियो । योग र साधनाका लागि ऋषिमुनिहरूको रोजाइमा यही माटो तथा नेपालकै विभिन्न स्थान पर्थे । यही भूमिमा स्वप्नद्रष्टाहरूको जन्म भएको विचार कवितामा व्यक्त गरिएको छ।

               निष्कर्षमा हामीसँग रहेका यी विविध सांस्कृतिक सम्पदा हाम्रा पहिचान र चिनारी हुन् । यस्ता सांस्कृतिक धरोहरलाई हामीले जोगाउनु पर्छ । हाम्रा लागि नेपाल अमूल्य सम्पदा भएकाले यसको संरक्षण गर्नु, गौरव गाउनु र यसको समृद्धिका लागि क्रियाशील हुनु हाम्रो परम् दायित्व हो भन्ने भाव यहाँ व्यक्त गरिएको छ ।

९ दिइएका बुँदालाई आधार मानी कविताको मूलभाव लेख्नुहोस् :

उत्तर :-  नेपाली साहित्यका प्रखर कवि तथा गीतकार धिरेन्द्र प्रेमर्षिद्वारा रचित सारङ्गीमा देश शिर्षक कवितामा गाइनेहरुले बजाउने सारङ्गीमार्फत सम्पूर्ण देशको कथा, व्यथा र छट्पटी व्यक्त भएको विचार प्रस्तुत भएको पाइन्छ । यस कवितामा कविले देशप्रेमको भावना सबैमा हुनु पर्ने विचारको उठान गरेका छन्  

              नेपालको पश्चिम क्षेत्र विशेष गरी स्याङ्जा र कास्की जिल्लामा बसोबास रही नेपाल भरि छरिएर रहेका गन्धर्व जातिले बजाउने सारङ्गी नेपाली मौलिक लोकबाजा हो । मौलिक लोकबाजा सारङ्गीको धुनसँगै नेपाली जातिका कथाव्यथा, नेपालको राष्ट्रिय सांस्कृतिक विशिष्टता, भौगोलिक विविधता र समभाव गुञ्जने विचार कवितामा प्रस्तुत भएको पाइन्छ । यस कवितामा कविले राष्ट्र र राष्ट्रियता सबैभन्दा प्यारो हुन्छ ।  राष्ट्रियता सबैको पहिचान हो । राष्ट्र र राष्ट्रियता जोगाउन सकेमात्र हाम्रो परिचय र पहिचान कायम रहन सक्छ भन्ने भाव पाइन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण यस पावनभूमिमा बुद्ध , सीता र भृकुटी जस्ता आदर्श व्यक्तित्वको जन्म भएको कुरा कवितामा स्मरण गरिएको छ । नेपाल आमालाई कविले ज्ञानभूमि, तपोभूमि, स्वप्नभूमिका रूपमा प्रस्तुत गर्दै सांस्कृतिक महत्वका चर्चा गरेका छन् ।

                प्राचीन कालमा विभिन्न भूभागमा ऋषिमुनिहरूले योग साधना , तपस्या गर्नका लागि चयन गरेको कुरा जनजनमा श्रुति र विश्वासका रूपमा चर्चामा रहेका पाइन्छ । नेपाल भौगोलिक , सामाजिक , सांस्कृतिक , भाषिक , जातीय तथा धार्मिक रूपमा विविधतायुक्त भएता पनि विविधता भित्र एकता र सहअस्तित्वको भावना पाइन्छ । सबैखाले विविधतालाई एकताको शुत्रमा उन्मुख हुनुपर्ने उत्कृष्ट विचार कवितामा व्यक्त भएको पाइन्छ ।

१० सारङ्गीमा देश कवितामा रहेका विषयवस्तुबारे कक्षामा छलफल गर्नुहोस्

  उत्तर :- राष्ट्रवादी , देशभक्त , प्रकृति संस्कृतिप्रेमी   कवि धिरेन्द्र प्रेमर्षिद्वारा लिखित गीति कविता सारङ्गीमा देश मा देशप्रेम, संस्कृतिप्रेम तथा प्रकृति प्रेमको भाव व्यक्त गरिएको छ ।

             यस कवितामा कविले गन्धर्व जातिको पहिचान तथा नेपाली लोकबाजा सारङ्गीलाई प्रतीकका रूपमा प्रस्तुत गर्दै सारङ्गीको धुनसँगै राष्ट्रिय कथा , व्यथा , वेदना, छट्पटी आदिलाई विषयवस्तु बनाएका छन् । कवितामा कविले नेपाली जाति आफ्नै श्रम र पसिनामा रमाउँदै स्वाभिमानपूर्वक बाँच्ने कुरा विषयवस्तुका रूपमा उठाएका छन् । भौगोलिक तथा जातीय विविधतासँगै मानिसका रहनसहन , भेषभुषामा पनि विविधता रहेको कुरा कवितामा विषयवस्तुका रूपमा आएको छ । हिमाल पहाड तराई , मधेशको बेजोड संयोजन रहेको नेपालमा बसोबास गर्ने करोडौँ नेपालीहरूमा सहिष्णुता , एकता र सहयोगी भावना रहेको एवं सबैको भावनाको कदर हुनु पर्ने तथा समभाव हुनुपर्ने कुरा विषयवस्तुको रूपमा उठाइएको छ ।

           बुद्ध , सीता र भृकुटीको पावन जन्मभूमि नेपाललाई कविले ज्ञानभूमि , तपोभूमि , स्वप्नभूमि तथा कर्मयोगी साधकहरूको पवित्र भूमिका रूपमा प्रस्तुत गरेका छन् । सामाजिक , सांस्कृतिक सम्बन्ध , भौगोलिक अवस्थिति आदिमा नेपाल विशिष्ट रहेको भाव कवितामा विषयवस्तुको रूपमा उठइएको छ । नेपालीहरू समृद्धिका लागि मानो रोपेर पाथी उब्जाउन सक्रिय रहेको कुरा कवितामा आएका छन् । नेपाली प्राकृतिक परिवेशले सिङ्गो धर्तीलाई सजाउन र सिँगार्नसक्छ भन्ने विषयवस्तु कवितामा वर्णन गरिएको छ ।

         निष्कर्षमा कवितामा गाइने दाइको सारङ्गीमार्फत सिङ्गो देशको भौगोलिक विविधता , प्राकृतिक सुन्दरता जातीय , भाषिक धार्मिक तथा सामाजिक सांस्कृतिक विविधता भित्रको एकता , सहयोग र कर्मयोगी नेपाली जातिको स्वाभिमानी चरित्र र  विशेषतालाई विषय वस्तुको रूपमा उठाइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.