पाठ :- १३ पख्नोस

 

पाठ :- १३   पख्नोस्

शब्दभण्डार

.  दिइएका अनुकरणत्मक शब्द र कार्यबिच जोडा मिलाउनुहोस् :

शब्द                                          अर्थ

ख्वाङ्ख्वाङ                           खोक्नु

गजक्क                                   पर्नु

ङिच्च                                     हास्नु

लस्याङलुसुङ                         गर्नु

जम्स्याङजुम्स्याङ                   हुनु

. 'पख्नोस्' निबन्धबाट कुनै पाँचओटा पारिभाषिक शब्द खोजी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्

सम्पादक :-  अन्नपूर्ण दैनिकका सम्पादकले एमफिल तहको अध्ययन पूरा गरेका छन् ।

मरूभूमि :- मरुभूमिको यात्राका लागि उँटको प्रयोग गर्ने गरिन्छ ।

आणविक :- आजका शक्ति राष्ट्रहरूको आणविक प्रतिस्पर्धाले विश्व आतङ्कित भएको छ ।

पुराण :- पुराण उपनिषध आदिले नैतिक र मर्यादित जीवनका लागि प्रेरणा दिन्छन् ।

. शब्दकोषको प्रयोग गरी दिइएका शिक्षा र वाणिज्य क्षेत्रका पारिभाषिक शब्दको अर्थ लेख्नुहोस्:

शिक्षा

पाठ्यक्रम :-   खास शैक्षिक सत्रभित्र सिकाउन सकिने विषय वा विषयहरूको योजना

मूल्याङ्कन :-  उपयोगिताका आधारमा गरिने महत्त्व , विशेषता आदिको निर्धारण , परीक्षार्थीहरूको उत्तरपुस्तिका वा प्रयोगात्मक परीक्षाको स्तर अङ्कद्वारा तय गर्ने काम ।

पुनर्बल :- अझ सबल वा सशक्त हुने काम वा प्रक्रिया

पुस्ताकालय :- सार्वजनिक रूपले पाठकले विभिन्न सर्तमा पढ्न पाउने हिसाबले विभिन्न विषयका पुस्तकहरूको सङ्ग्रह गरी राखिएको घर वा आलय , पुस्तकघर

शिक्षालय :- विद्यार्थीहरूले शिक्षा प्राप्त गर्ने ठाउँ वा भवन , शिक्षा दिने वा पढाउने संस्था

वाणिज्य

वासलात :- संस्थाको वार्षिक आम्दानी खर्चको विवरण

भौचर :- लेनदेन बिक्री आदिको कारोबारमा नगद बुझाएको प्रमाणका रूपमा दिइने कागज

फर्स्यौट :- लेनदेन वा किनबेचको हिसाब चुक्ता गर्ने काम

आयव्यव :- आम्दानी र खर्च

बेरुजु :- आर्थिक कारोबार हेर्दा वा जाँच्दा लेखा परीक्षणले दर्साएको अनियमित कलम, फर्स्यौट हुन  नसकेको कारोबार विवरण

बजेट :- आगामी समयमा भिन्न भिन्न विभाग वा कार्यका लागि अनुमान गरिएको आयव्ययको लेखा , भविष्यमा हुने खर्चको अनुमानित विवरण

निक्षेप :- आर्थिक कारोबार गर्ने संस्थाको सेयर किन्न पैसा हाल्ने काम , बैङ्कको खातामा जम्मा गरिने रकम वा धन

. दिइएको अनुच्छेदबाट पाँचओटा मौलिक शब्द पहिचान गरी लेख्नुहोस् :

उत्तर :- मौलिक शब्दहरू = वैज्ञानिक , दार्शनिक , सूर्यदर्शन, विद्यालय, शिक्षक .......

. पख्नोस् निबन्धमा व्यङ्ग्य गर्ने क्रममा आएका निम्नलिखित टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

कन्सिरी तात्नु : यिनीहरूको अर्काको चियोचर्चा गर्ने र कुरा काट्ने बानी देखेर मेरो कन्सिरी तातेर आउँछ भन्या ।

आगलागी हुनु :- जङ्गलमा आगलागी हुनु त स्वभाविकै हो निभाउन सकिएला तर पारिवारिक सम्बन्धमा आगलागी हुनु राम्रो होइन र निभाउन समयमै कसरत गर्नुपर्छ ।

पानीमरुवा हुनु :- आफ्नो हक अधिकारका लागि लड्न नसक्ने पानीमरुवा कायरहरूले अन्याय सहनुको कुनै विकल्प छैन ।

जङ्ग चल्नु :- नचाहिँदा बकम्फुसे कुरा चल्दा जङ्ग चल्नु स्वभाविकै हो ।

दाउ हेर्नु : अवसरवादीहरू आफूलाई कसरी माथि पार्न सकिन्छ भनेर दाउ हेरिरहेका हुन्छन् ।

बोध र अभिव्यक्ति

 

. दिइएको निबन्धांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

क ) निबन्धांशका आधारमा 'म' पात्रमा कस्ता कस्ता विशेषता पाइन्छन् ?

उत्तर :- निबन्धांशका आधारमा 'म' पात्रमा सत्य बोल्ने , पर्खाइको कारणले जुम्सो भएको , हरेक क्षेत्रमा पर्खदा पर्खदा थकित रहेको विशेषता पाउन सकिन्छ ।

ख ) जङ चल्दा पर्खाइलाई किन जुम्स्याइँको जन्मदाता भनिएको हो ?

उत्तर :- पर्खदा सबै सबैलाई झोक चल्ने र सधैँ पर्खदा पर्खदा पर्खने व्यक्ति पनि जुम्सो बन्ने भएकाले जङ चल्दा पर्खाइलाई जुम्स्याइँको जन्मदाता भनिएको हो ।

ग ) 'म' पात्रले कुन कुन कामका लागि पर्खाइको सामना गर्नुपरेको छ ?

उत्तर :- 'म' पात्रले काममा गएकी आमा, जागिरमा गएका बाबू , पाठ दिने गुरु, माया दिने मान्यजन, जागिर पाउने आश्वासन , तलब पाउने दिन , ओखती गर्ने उपचारक, बिदा दिने निर्देशक , पैसा दिने मालिक र लुगा सिउने सूचीकार आदिलाई पर्खाइको सामना गर्नुपरेको छ ।

. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

उत्तर :- प्रस्तुत निबन्धांश नेपाली साहित्यका हास्यव्याङ्ग्य निबन्धकार भैरव अर्याल( वि.सं. १९९३-२०३३) द्वारा लिखित हास्यव्यङ्ग्य निबन्ध 'पख्नोस्' सँग सम्बन्धित रहेको छ । पख्नोसमा मानिसमा देखापरेको कमजोरीप्रति व्यङ्ग्यको चोटिलो प्रहार गरिएको पाइन्छ । आज हरेक क्षेत्रमा सामान्य मानिसदेखि अन्तर्राष्ट्रिय स्तरसम्म बिनाकाम मानिसलाई पर्खाउने परिपाटी रहेको र यसले मानवीय उन्नति र प्रगतिमा बाधा पुर्‍याइरहेको भाव निबन्धमा व्यक्त भएको पाइन्छ । अरूलाई पर्खाउन र झुलाउनलाई बडप्पन ठान्ने प्रवृत्ति मौलाउँदै गएकोमा निबन्धकारले चिन्ता व्यक्त गरेका छन् ।

क ) अनुच्छेद शिक्षित मानिसलाई कस्तो व्यङ्ग्य गरिएको छ ?

उत्तर :- माथिको अनुच्छेदमा शिक्षित मानिसलाई चोटिलो व्यङ्ग्य प्रहार गरिएको छ । शिक्षित मानिसले समयको महत्त्व बुझ्नु पर्ने र उनीहरूबाट आफ्नो कार्यसम्पादनलाई चुस्त बनाउनु पर्ने अपेक्षा आम मानिसमा रहेको छ तर सोच जस्तो हुन सकेको छैन । शिक्षित पढेलेखेका मानिस चिल्ला शब्दको प्रयोग गरी मानिसलाई झुलाउने र पर्खाउने गर्छन । दिन प्रतिदिन शिक्षित मानिससँग काम लिन गाह्रो हुँदै गएको , उनीहरूमा विनासित्ति अरूलाई दु:ख दिने प्रवृत्ति बढ्दै गएको छ । काम हुँदैन पनि नभन्ने तर समयमा काम पनि नगर्ने परिपाटीले समय , श्रम र खर्च बढाउने भएकाले शिक्षित मानिसमा देखिएको कमजोरीप्रति तीखो व्यङ्ग्य गरिएको छ ।

ख ) कसैसँग काम लिनका लागि पर्खनै पर्ने चलन हटाउन हामीले के गर्नुपर्ला ?

उत्तर :- कसैसँग काम लिनकै लागि पर्खनै पर्ने मौलाउँदो चलन हटाउनका लागि हामीले आआफ्नो दायित्व र कर्तव्य नि:शर्त पालना गर्नुपर्छ । समयमै सबैले आआफ्नो जिम्मेवारी वा कार्यसम्पादन पूरा गर्ने गर्नुपर्छ । अरूलाई झुलाउने , पर्खाउने र आफूलाई महान् देखाउन खोज्ने प्रवृत्ति त्याग गर्नुपर्छ । सबैले बगेको खोला र बितेको समय फर्कदैन भन्ने मनस्थिति राखेर कार्य गर्नुपर्छ । समयको महत्वलाई आत्मसाथ गर्ने र आफूलाई नैतिक बनाउन सके पर्खन पर्ने संस्कृति हट्न सक्छ ।

७ )

सारांश

पर्खाइदेखि डराउनु पलायनवादी सोच हो , पामर पानीमरूवा हो । वास्तवमा हरेक मानिस पर्खन चाहँदैन तर पनि नपर्खी काम लिन पनि सकिँदैन । सबैको चाहना कसैले कसैलाई कुराले टार्न नसक्ने परिस्थिति तथा वातावरण तयार गर्ने र झुल्याएर फुलाउने र लर्काएर पर्खाउने जालेमाले परम्परा नहोस् भन्ने भए पनि पर्खिनु पर्ने अवस्था छ । आउँदै , धाउँदै र पर्खदै गर्नुहोस् कुनै न कुनै दिन म पनि एउटा लेख लेख्ने प्रयास गरेर तपाईंको पत्रिकामा छाप्न दिउँला ।

. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

क ) पख्नोस् निबन्धको विषयवस्तुमाथि प्रकाश पार्नुहोस् ।

उत्तर :- निबन्धकार भैरव अर्याल ( वि. सं. १९९३-२०३३) द्वारा लिखित 'पख्नोस' सामाजिक विषयवस्तुमा आधारित उत्कृष्ट निबन्ध हो । यस निवन्धमा निबन्धकारले मानिसलाई विना कारण पर्खाउने परिपाटी माथि चोटिलो व्यङ्ग्य गर्दै पर्खाउने संस्कृति उन्नेतिर प्रगतिको बाधकभएको सन्देश प्रवाह गरेका छन् ।  निबन्धकारले सामान्य व्यक्तिदेखि अन्तर्राष्ट्रिय स्तरसम्म कामको सट्टा कुराले टार्ने संस्कृति हावी हुँदै गएको समस्यालाई निबन्धको विषयवस्तुको रूपमा प्रस्तुत गरेका छन् । राष्ट्र र समाजको पथप्रदर्शक , प्रगति , उन्नतिको नेतृत्वकर्ता शिक्षित व्यक्तिमा देखिएको आफ्नो जिम्मेवारीबाट विचलित हुने , समयमा जिम्मेवारी पूरा नगर्ने , अरूलाई विनासित्ति कुराउने प्रवृत्तिप्रति निबन्धमा व्यङ्ग्य गरिएको छ । सभ्य तथा शिक्षित वर्गले चिल्ला कुराको सहारामा कुनै पनि काम लिनका लागि पर्खन बाध्य पारेको यथार्थ निबन्धमा प्रस्तुत गरिएको छ । पर्खाउने संस्कृति मौलाएकै कारण अरूबाट काम लिन गाह्रो हुँदै गएको छ । महत्त्वपूर्ण कामलाई समेत कुराले टारेर पर्खाउने बानीले मानिसलाई जुम्सो बनाउने , प्रगति उन्नति हुन नसक्ने भएकाले यस्तो परिपाटी हटाउन सबै लाग्नु पर्ने आवश्यकता रहेको तथ्य निबन्धको विषयवस्तुका रूपमा प्रस्तुत भएको पाइन्छ ।

ख ) निबन्धको 'सत्य, समता र शान्ति पर्खँदै आएको मानिस झन् विषमताको विषले बौलाहिरहेछ, अशान्त भइरहेछ ।' भन्नुको तात्पर्य के हो ?

उत्तर :- आज आम मानिसको 'कथनी र करणी ' अर्थात् बोलाइ र गराइमा फरकपन पाइन्छ । आम

 मानिसको चाहना शान्ति , समता र सत्य भएता पनि बोलाइ र काम गराइमा रहेको अन्तरका कारण सम्भव हुन सकेको छैन । दिन प्रतिदिन मानिसमा व्यवहारमा असत्य अँगाल्ने , असमानतालाई प्राथमिकता दिने , अशान्ति मच्चाउने मनोविज्ञान वृद्धि हुँदै गएको पाइन्छ । उक्त प्रवृतिले सत्य , समता र शान्तिको चाहना राखेको मानिस झन विषमताको विषले बौलाउँदै गएको र अशान्त बन्दै गएको छ । आज शक्ति राष्ट्रहरू एकातर्फ आणविक हतियार प्रतिबन्ध लगाउनुपर्ने वकालत गर्छन् तर भित्रभित्रै आणविक हतियारको होडमा लाग्नाले विश्व आतङ्कित छ , विश्व अशान्त बन्दै छ । विज्ञानले यति धेरै भौतिक उन्नति गर्दासमेत मानिस दुई गज र दुई गाँसका लागि जिन्दगीभर पर्खनु पर्ने अवस्था विद्यमान रहेको छ । अत: 'सत्य , समता र शान्ति पर्खँदै आएको मानिस झन् विषमताको विषले अशान्त भइरहेछ ।' भन्नुको तात्पर्य पर्खाउने , मुखले एउटा र व्यवहारले अर्कै कार्य गर्ने प्रवृत्ति नै विषमताको धरहरा ठड्याएको र अशान्ति मच्चाउने कारक हो भन्ने हो ।

ग ) निबन्धमा मानिसका कस्ता कमी कमजोरीप्रति व्यङ्ग्य गरिएको छ ?

उत्तर :- भैरव अर्यालद्वारा लिखित 'पख्नोस् ' मानवीय कमजोरीप्रति चोटिलो प्रहार गरी लेखिएको व्यङ्ग्यप्रधान निबन्ध हो । यस निबन्धमा आजका शिक्षित भनिएका मानिसहरू आफ्नो दायित्व र जिम्मेवारीबाट विचलित हुँदै गएको यथार्थ प्रस्तुत गरिएको छ । अरू मानिससँग काम लिन मुस्किल रहेको , काम गर्नेभन्दा कुराले टार्ने प्रवृत्ति दिनानुदिन बढ्दै गएको छ । चिल्लो कुराले अरूलाई झुलाउने र पर्खाउने संस्कृति बढ्दै गएकोप्रति निबन्धकारले व्यङ्ग्य गरेका छन् । आजको सन्दर्भमा एउटा सामान्य व्यक्तिदेखि अन्तर्राष्ट्रिय स्तरसम्म पर्खाउने विकृति संस्कृति मौलाउँदै गएको र आवश्यक रूपमा पख्नोस भनी पर्खाउने र दिने प्रवृत्तिप्रति निबन्धमा व्यङ्ग्य गरिएको छ । यसरी मानिसलाई पख्नोसकोभाका कुराउने प्रवृत्ति शिक्षित व्यक्तिहरूमा झन बढी रहेको यथार्थप्रति निबन्धकारले व्यङ्ग्यको झटारो चलाएका छन् ।

घ ) यस निबन्धबाट कस्तो सन्देश पाउन सकिन्छ ?

उत्तर :- मान्छेले राम्ररी जानेको क्रिया नै पर्खनु र पर्खाउनु हो ' भन्ने धारणा निबन्धमा प्रस्तुत गर्ने निबन्धकारले मानिसले केवल पर्खन र पर्खाउन मात्र जानेको कुरा निबन्धमा प्रस्तुत गरेका छन् ।आफ्ना सपना, इच्छा र आकाङ्क्षा पूरा गर्न केही गरौँ , केही बनौँ भन्नेतर्फ लाग्न खोज्दा जताततै पर्खनु पर्ने तीतो यथार्थप्रति निबन्धमा व्यङ्ग्य गरिएको छ । पर्खाउने र झुलाउने प्रवृत्तिको कारण मानिसको उन्नति र प्रगति हुन नसक्ने सन्देश निबन्धले दिएको छ । विश्वव्यापी रूपमा विज्ञानले भौतिक रूपमा अकल्पनीय उन्नति गरेको भए पनि दुई गज र दुई गाँसका लागि अधिकांश मानिसले जीवनभर कुर्नुपर्ने बाध्यता उल्लेख गर्दै निबन्धकारले कसैले कसैलाई पर्खनु नपर्ने , कुराले टार्ने अवस्थाको अन्त्य होस् भन्ने चाहना व्यक्त गरेका छन् । पर्खने र पर्खाउने मानवीय कमजोरी नै उन्नति र प्रगतिको बाधक रहेकाले यस्तो प्रवृत्तिलाई समयमै सबैले त्याग्नु पर्ने सन्देश निबन्धले दिएको पाइन्छ ।

. व्याख्या गर्नुहोस्

क ) सबै पर्खाइको पछिल्तिर मेरा सयौँ सपना पर्खिरहेछन् , इच्छा र आकाङ्क्षा पर्खिरहेछन् ।

उत्तर :- सबै ......................................................................... पर्खिरहेछन् ।

             प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको पाठ १३ "पख्नोस" निबन्ध शीर्षकबाट व्याख्याको लागि साभार गरिएको हो । यस निबन्धको लेखक प्रसिद्ध हास्यव्यङ्ग्य भैरव अर्याल (वि.सं. १९९३-२०३३) हुन् । व्यक्ति , परिवार, समाज तथा राष्ट्रिय स्तरमा देखापरेका सामाजिक , आर्थिक , धार्मिक , राजनैतिक आदि क्षेत्रमा देखापरेका मानवीय विकृति र विसङ्गतिप्रति चोटिलो प्रहार गरेको पाइन्छ । कुनै काम लिन आएका मानिसलाई पर्खाउने प्रवृत्तिले व्यक्ति , परिवार , समाज र राष्ट्रको भविष्य अन्यौलमा पर्दै गएको विचार व्यक्त गर्ने सन्दर्भमा उक्त वाक्य आएको हो ।

            पर्खने र पर्खाउने संस्कृतिले एउटा व्यक्तिको सपना , इच्छा र आकाङ्क्षालाई पर्खाएको र भविष्य अन्यौलमा पार्ने गरेको भाव व्यक्त भएको छ । पर्खाउने व्यवहारले पर्खने र पर्खाउने दुवैलाई जुम्सो बनाउने तर्क निबन्धकारको रहेको छ । केही गरौँ , केही बनूँ र केही दिऊँ भन्ने सोच राख्ने मानिसले जताततै पर्खनु पर्छ र उनीहरूलाई विना कारण पर्खाइन्छ । जुनसुकै क्षेत्रमा समयमै काम गर्नुको सट्टा पर्खाउने र झुलाउने मौलाउँदै गएको छ । अनावश्यक रूपमा पर्खाउने , दु: ख दिने र समयमा काम नगर्ने प्रवृत्ति बढ्दै गएकाले सबैलाई दु: खकष्ट दिएको, निष्क्रिय बनाएको, व्यक्तिका सपना, इच्छा र आकाङ्क्षा पूरा हुन नसकेको विचार उपरोक्त वाक्यमार्फत व्यक्त गरिएको छ ।

          निष्कर्षमा दिइएको निबन्धको अंशमा पर्खाउने र झुलाउने मानवीय कमजोरीका कारण व्यक्तिका सपना, इच्छा र आकाङ्क्षा पूरा हुन नसकेर पर्खिरहेछन् भन्ने भाव यहाँ व्यक्त भएको छ ।

ख ) हामी दुवै चाहन्छौँ एउटा त्यस्तो दुनियाँ सिर्जना होस् जहाँ कसैले कसैलाई कुराले मात्र टार्न नसकोस् ।

उत्तर :- हामी दुवै ....................................................................... टार्न नसकोस् ।

          प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको पाठ १२ "पख्नोस" निबन्ध शीर्षकबाट व्याख्याको लागि साभार गरिएको हो । यस निबन्धको लेखक प्रसिद्ध हास्यव्यङ्ग्य भैरव अर्याल (वि.सं. १९९३-२०३३) हुन् । व्यक्ति , परिवार, समाज तथा राष्ट्रिय स्तरमा देखापरेका सामाजिक , आर्थिक , धार्मिक , राजनैतिक आदि क्षेत्रमा देखापरेका मानवीय विकृति र विसङ्गतिप्रति चोटिलो प्रहार गरेको पाइन्छ । समयमै कार्य सम्पादन नगर्ने, अरूलाई पख्नोसको लयमा पर्खाउने प्रवृत्तिबाट वाक्क भएर कुराले टार्ने परिपाटी बदल्ने नयाँ संस्कार विकसित हुनुपर्छ भन्ने चाहना व्यक्त गर्ने सन्दर्भमा उक्त वाक्य आएको हो ।

              माथिको वाक्यमा लेखकले अब हामी मिलेर नयाँ दुनियाँ निर्माण गरौँ , जहाँ कसैले कसैलाई पर्खनु नपरोस , कुराले टार्न नसकोस् , कसैले कसैलाई विनासित्तिमा दु:ख नदिओस् भन्ने विचार सम्प्रेषण भएको पाइन्छ । पर्खाउने परिपाटी वा व्यवहारले सबैलाई आक्रान्त भएकप, सबैको समय बर्बाद भएको , सबैलाई क्रमशः जुम्सो बनाएको भन्दै अब कसैले कसैलाई कुराले टार्न नसक्ने संसार निर्माणको आवश्यकता रहेको तथ्य निबन्धकारले औँल्याएका छन् । आआफ्नो जिम्मेवारीप्रति हरेक व्यक्ति सजग र सचेत हुनुपर्छ , काममा ढिलासुस्ती हुनु हुँदैन , काम गर्नुको सट्टा कुराले टार्नेहरू कार्वाहीको भागीदार बनाइनुपर्छ भन्ने उत्कृष्ट विचार प्रस्तुत वाक्यमा व्यक्त भएको छ । पर्खाउने संस्कारले घर, परिवार, कार्यालय , विद्यालय , अस्पताल कुनै क्षेत्र अछुतो राखेको छैन । पर्खाउने प्रवृत्ति उन्नति र प्रगतिको बाधक भएकाले यस प्रवृत्तिको अन्त्य गर्न अब नयाँ दुनियाँका वा संसारको निर्माण गर्नु पर्ने विचार अगाडि सारिएको छ ।

               निष्कर्षमा शिष्ट , सरल र मर्यादित आषाको प्रयोग गरी लेखिएको यस निबन्धमा पर्खाउने संस्कृतिको विकल्पमा कुराले टार्न नसक्ने र नपाउने संस्कार विकसित हुनुपर्ने विचार व्यक्त गरिएको छ । पर्खाउने प्रवृत्तिले सिङ्गो राष्ट्रलाई प्रगति र उन्नतिमा बाधा पार्ने भएकाले अब ढुलो नगरी सबै मिलेर नयाँ दुनियाँ , संसार निर्माण गर्नु पर्ने जहाँ कुराले टार्ने छुट कसैले पाउनु हुँदैन र कसैलाई दिनु हुँदैन भन्ने भाव यहाँ व्यक्त भएको छ ।

 

१० . 'पख्नोस्' निबन्धमा हाम्रा समाजका कस्ता पक्षमाथि व्यङ्ग्य गरिएको छ , समीक्षा गर्नुहोस् ।

उत्तर :- नेपाली साहित्यमा व्यङ्ग्य निबन्धकार भैरव अर्यालद्वारा लिखित पख्नोस् सामाजिक समस्या केन्द्रीय हास्यव्यङ्ग्य निबन्ध हो । व्यक्ति , परिवार समाज र राष्ट्रिय स्तरसम्म एकले अर्कालाई पर्खाउने प्रवृत्तिप्रति निबन्धमा व्यङ्ग्यवाण प्रहार गरिएको छ । पर्खाउने संस्कृतिले व्यक्तिलाई जुम्सो बनाउने, कार्य क्षमता नष्ट हुने र प्रगति उन्नतिमा बाधा पर्ने भएकाले अब कुराले टार्ने प्रवृत्तिको अन्त्यका लागि सामूहिक प्रयास हुनुपर्ने सन्देश निबन्धमा दिइएको छ ।

             निबन्धमा खास गरी नेपाली समाजमा हावी हुँदै गएको ढिलासुस्ती र गैरजिम्मेवारीप्रति व्यङ्ग्य गरिएको छ । व्यक्ति , परिवार , समाज , शिक्षालय, अस्पताल तथा अन्य कार्यालय सबै क्षेत्रमा पख्नोसको बोलीमा समयलाई पर सार्ने , पन्छाउने प्रवृत्ति व्याप्त रहेको तथ्य निबन्धमा अगाडि सारिएको छ । शिशुले जन्मनका लागि आमाको गर्भमा ९ महिना कुर्नुपर्ने भएकैले हामीले पर्खनोस्को भाका वा बहाना गर्नु नहुने विचार निबन्धमा व्यक्त गरिएको छ । निबन्धमा पर्खनु पर्ने बाध्यता रहेकाले यसले व्यक्ति , परिवार , समाज तथा सिङ्गो राष्ट्रको प्रगति र उन्नतिलाई बाधा पार्नेतर्फ सबैको ध्यान आकृष्ट गरिएको छ ।  निबन्धकारले यस निबन्धमा केही गरौँ , केही बनौँ र केही दिउँ भन्ने सकारात्मक चिन्तन वा ऊर्जा बोकेका व्यक्तिलाई समेत जुम्सो बनाउने विचार व्यक्त गरेका छन् । पर्खाउने प्रवृत्तिले व्यक्तिलाई नाहकमा दु:ख दिने , समयमा काम नगर्ने संस्कृतिले बढावा पाउने व्यक्तिको कार्यक्षमतामा र उत्साहमा नकारात्मक प्रभाव पार्ने विचार सम्प्रेषण गरिएको छ ।

           अत: प्रगति र उन्नतिको बाधक मानिने  पख्नोस प्रवृत्तिको अन्त्य गरेर अब कसैले कसैलाई पर्खाउने , कुराले टार्न नसक्ने नयाँ  दुनियाँ निर्माणको आवश्यकता निबन्धकारले औँल्याएका छन् ।

११ . दिइएको चित्र वर्णन गर्नुहोस् ।

उत्तर :- चित्रमा प्राकृतिक सुन्दरताले युक्त शान्त गाउँ चित्रित छ । चित्रमा उतारिएका घरहरूको बनावटले समाजमा रहेको वर्गीय विविधतालाई झल्काएको छ । गाउँलेहरू नजिकको चौरमा जम्मा भएका छन् । चौरमा भेला भएका गाउँलेहरूलाई सामाजिक कार्यकर्ता समुदाय शीर्षकमा अनुशिक्षण गरिरहेको देखिन्छ । उनले समुदायको महत्त्व , भूमिका र परिचालनका विषयमा केही कुरा बताइरहेको अनुमान गर्न सकिन्छ ।

१२ . "पेट्रोलियम पदार्थको मूल्य वृद्धि" शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् ।

                                               पेट्रोलियम पदार्थको मूल्य वृद्धि

कृषि , पर्यटन, उद्योग, व्यवसाय , व्यापार आदि नेपालको अर्थतन्त्रका महत्त्वपूर्ण आयाम हुन् । कुनै पनि  देशको अर्थतन्त्रमा विभिन्न पक्षहरूले नकारात्मक वा सकारात्मक प्रभाव पारिरहेका हुन्छन् । यस्ता प्रभावहरू मध्ये कुल राष्ट्रिय उत्पादन , वैदेशिक व्यापार , रेमिट्यान्स , उद्योग तथा व्यापार व्यवसायको अवस्था आदिलाई मानिन्छ । नेपालको अर्थतन्त्रमा पनि अहिले नकारात्मक प्रभाव देखिन्छ र यसका  विविध कारणमध्ये पेट्रोलियम पदार्थको आयात तथा मूल्यवृद्धि एक प्रमुख मानिन्छ । नेपालमा पेट्रोलियम पदार्थको सम्भावना भएता पनि खोज तथा अन्वेषण हुन नसक्नाले पेट्रोलियम पदार्थको उत्पादन हुन सकेको छैन र बाहिर अन्य मुलुकबाट आयात गर्नुपर्ने बाध्यता छ ।

         नेपालको सन्दर्भमा वार्षिक रूपमा बजेटको ठूलो हिस्सा पेट्रोलियम पदार्थको खरिद तथा आयातमा खर्च हुने गरेको पाइन्छ । समय र परिस्थितिले मानवीय आवश्यकता र व्यवहारमा परिवर्तन आउँछ । आज नेपालीमा सवारी साधनका प्रयोगकर्ता सङ्ख्यात्मक रूपमा वृद्धि भइरहेको छ । सहरी तथा सहरोन्मुख आवासीय क्षेत्रमा बसोबास गर्ने हरेक व्यक्तिका घरघरमा कुनै न कुनै प्रकारका पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन रहेका छन् । यसले गर्दा पेट्रोलियम पदार्थको आयात दिनानुदिन बढिरहेको छ  र यसबाट नेपालको ठूलो धनराशी बाहिरी रहेको छ । व्यक्ति अनि राष्ट्रको आयको ठूलो हिस्सा पेट्रोलियम पदार्थको आयातमा खर्च गर्नु पर्ने बाध्यता रहेको छ । यसले आर्थिक भार समेत बढाएको छ । समय समयमा हुने पेट्रोलियम पदार्थको मूल्यवृद्धि सवारी साधनको भाडा बढ्न जान्छ जस्ले उपभोक्तालाई प्रत्यक्ष रूपमा प्रभाव पर्न जान्छ ।

          पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै महँगी स्वत: वृद्धि हुन जान्छ र यसको मारमा उपभोक्ता पर्न जान्छन् ।  यसबाट सवारी साधनका प्रयोगकर्ताहरू दोहोरो मारमा पर्छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले महँगी बढ्ने, भ्रष्टाचार बढ्ने तथा देशमा गरिबी वृद्धि हुने जस्ता समस्या देखापर्छन् । देशको अर्थतन्त्र समेत कमजोर बन्न जान्छ । पेट्रोलियम पदार्थको आयात तथा मूल्यवृद्धिबाट हुने सम्भावित आर्थिक क्षति न्यूनीकरण गर्न अब हामीले विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता प्रदान गरेर राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने तर्फ लाग्न ढिलो गर्न हुन्न ।

१३ .  दिइएका शीर्षकमा निबन्ध तयार पार्नुहोस् :

क )  आर्थिक समृद्धिमा पर्यटन उद्योग

सामान्य बोलचालको भाषामा भन्ने हो भने आर्थिक समृद्धि भन्नाले आर्थिक रूपमा सक्षम, सम्पन्न र आर्थिक अवस्था मजबुत भएको भन्ने बुझिन्छ । पर्यटन भन्नाले विभिन्न उद्देश्यले एक ठाउँबाट अर्को ठाउँमा घुमफिर गर्ने व्यक्ति वा समूहलाई बुझाउँछ । पर्यटन उद्योग भन्नाले पर्यटनसँग सम्बद्ध व्यवसाय होटल, सवारी साधन, पर्वतारोहण , पदयात्रा आदिलाई बुझाउँछ । पर्यटकीय दृष्टिले नेपाल विश्वकै आकर्षणको केन्द्रमा रहेकाले प्राकृतिक , धार्मिक तथा सांस्कृतिक , खोज तथा अनुसन्धानकर्ताको प्रमुख गन्तव्य स्थलका रूपमा नेपाल परिचित रहेको छ । पर्यटन उद्योगले विश्वको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएकोमा नेपालको अर्थतन्त्रमा पर्यटनको महत्त्वपूर्ण भूमिका रहेको छ ।

          नेपालीको आर्थिक समृद्धिमा पर्यटन उद्योगको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । पर्यटन उद्योगसँग मौलिक कला संस्कृति र प्रविधिसमेत जोडिने भएकाले रोजगारीका अवसरहरू वृद्धि हुने र रोजगारीका अवसरको सिर्जना र वृद्धिले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ  । प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालमा बर्सेनि ठूलो सङ्ख्यामा पर्यटकहरू भित्रिने गरेका छन् । होटल व्यवसाय , ट्राभल एजेन्सी , पथप्रर्दशक तथा पोर्टर आदि पर्यटन व्यवसायसँग प्रत्यक्ष सम्बन्धित रहेका छन् । पर्यटनसँग घरेलु मौलिक कला , संस्कृति र उत्पादन पनि जोडिएको हुन्छ जस्ले रोजगारीका अवसरको वृद्धि गरी आर्थिक रूपमा समृद्ध बनाउन सहयोग पुर्‍याउँछ ।

        नेपाल आउने पर्यटकहरूको नेपाल बसाइ लम्ब्याउन पर्यटन सम्बद्ध विविधताहरू कोजी तथा प्रचारप्रसार गरिनु पर्दछ । साहसिक पर्यटन अन्तर्गत र्याफ्टिङ , क्यानोइङ, पदयात्रा , दृश्यावलोकन , हिमाल आरोहण , सांस्कृतिक अध्ययन , धार्मिक पर्यटन , जैविक विविधताको अध्ययन आदिलाई पर्यटनसँग जोड्न सकिन्छ  र यसले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउन सक्छ । नेपालले योजनाबद्ध ढङ्गले पर्यटन व्यवसायलाई अगाडि बढाउन सकेमा नेपालको आर्थिक समृद्धिमा टेवा पुग्छ ।

          अत: प्रकृतिले नि:शुल्क रूपमा उपलब्ध गराएका प्राकृतिक स्रोत तथा सम्पदाहरूको परिचालन तथा विवेकसम्मत प्रयोग गरी पर्यटनको आवागमन बढाई नेपाललाई आर्थिक रूपले समृद्ध बनाउने अवसरबाट हामी चुक्नु हुँदैन ।  

 

 

१४ . दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

क ) प्रश्नहरू

अ ) समीक्षात्मक सोच भनेको के हो ?

उत्तर :- कुनै पनि विषय वा कृतिका बारेमा गुण र दोष छुट्याउन गरिने विवेचनात्मक चिन्तन वा सोच नै समीक्षात्मक सोच हो ।

आ ) समीक्षात्मक सोचले विद्यार्थीलाई के कुरामा आत्मनिर्भर बनाउँछ ?

उत्तर :- समीक्षात्मक सोचले अनुसन्धानमा आधारित शिक्षण विधिलाई अगाडि सार्दै विद्यार्थीलाई प्रतिबिम्बात्मक रूपमा चिन्तन गर्न , आफ्नो व्यक्तिगत सिकाइको जिम्मेवारी लिन, तर्कको सङ्गति बुझ्न , ध्यान दिएर सुन्न , आत्मविश्वासका साथ वहसमा सहभागी हुन र जीवनपर्यन्त सिकाइका लागि आत्मनिर्भर बनाउँछ ।

इ ) समीक्षात्मक सोचको प्रयोग कसकसमा हुनु जरुरी छ ?

उत्तर :- समीक्षात्मक सोचको प्रयोग आधारभूत तहदेखि उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीमा हुनु जरुरी छ ।

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.