पाठ :- १२ पाब्लो पिकासो

 

पाठ -: १२        पाब्लो पिकासो

शब्दभण्डार

. दिइएका अर्थसँग मिल्ने शब्द 'पाब्लो पिकासो' जीवनीबाट खोजेर लेख्नुहोस् :

क ) सय वर्षको समय वा पिरियड : शताब्दी          ख ) मूर्त नभएको : अमूर्त

ग ) अत्यन्तै धेरै मोल पर्ने : अनमोल                        घ ) कहिल्यै नमर्ने : अमर

ङ ) कलापूर्ण ढङ्गले सजाएको :  कलात्मक

च ) प्राचीन महत्त्वका वस्तु राखिने ठाउँ : सङ्ग्रहालय

. "पाब्लो पिकासो" जीवनीका आधारमा वाक्यको सन्दर्भ बोध गरी दिइएका शब्दको अर्थ लेख्नुहोस्

अद्भूत : विचित्रको / विलक्षण        शैशवावस्था : शिशु अवस्था , बाल्यकाल

पूर्णकालीन : पूरा अवधि काम गर्ने          बहुमुखी : विभिन्न विषयको विशेषता भएको

सिर्जना : नयाँ निर्माण , रचना वा आरम्भ      मनस्थिति : मानसिक स्थिति

आकृति : अनुहार                         विसङ्गत : बेमेलको , असङ्गत

कृति :  कुनै चिजको रचना

. दिइएका अनुच्छेदबाट आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् :

आगन्तुक शब्दहरू

किताब , कापी, करिब, फोन, माइक्रोबस , सिट, पेम्बा, बस, डम्फू, हाकुमाया, योमरी , थर्मस, रक, गार्डेन, क्यामेरा , नास्ता

. "पाब्लो पिकासो" जीवनीबाट कुनै पाचओटा आगन्तुक शब्द टिपी तिनलाई पाठमा भन्दा भिन्न तरिकाले वाक्यमा प्रयोग गर्नुहोस् :

जादु :- लक्ष्मीप्रसाद देवकोटाका साहित्यमा  सुन्दर  प्रकृतिको जादु पाइन्छ ।

नर्स :- हिजोआजको घटनाहरूले नर्स पेसालाई पनि असुरक्षित बनाउँदै लगेको महशुस हुन्छ ।

सर्कस : लक्ष्मीमार्गमा सञ्चालन भएको व्यावसायिक एवं सांस्कृतिक महोत्सवमा सर्कस खेल पनि राखिएको थियो ।

सेरामिक : वर्तमान अवस्थाम सेरामिक कलाको महत्त्व बढ्दै गएको छ ।

नाजी :- जर्मनमा नाजीहरूको उदयले समाजवादीहरूले निकै समय देश निकाला हुनु पर्यो ।

क ) पिकासोले जीवनमा कस्ता कठिनाइ सामना गर्नुपरेको थियो ?

उत्तर :- पिकासोले जीवनको पूर्वार्धमा आर्थिक तथा पारिवारिक समस्याको सामना गर्नु परेको थियो ।

ख ) पिकासोलाई कुन कुराले अमर बनायो ?

उत्तर :- पिकासोलाई उनको अनमोल कलाले अमर बनायो ।

ग ) अनुच्छेदमा कलाकारको जीवनबारे कस्तो धारणा पाइन्छ ?

उत्तर :- अनुच्छेदमा आम कलाकारले पैसा कमाएर पनि साधारण जीवन बाँच्छन् भन्ने धारणा प्रस्तुत गरिएको पाइन्छ ।

घ ) पिकासो सादा जीवन उच्च विचारका अनुयायी थिए भन्ने कुरा पुष्टि गर्नुहोस् ।

उत्तर :- पिकासोले जीवनको उत्तरार्धमा आफ्ना कलाकृतिको बिक्रीबाट प्रशस्त आम्दानी गरे पनि साधारण जीवन बाँच्नुले पिकासो सादा जीवन र उच्च विचारका अनुयायी भएको कुरा पुष्टि हुन्छ  

. दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

क ) पिकासोका कलाकृतिमा कस्ता विषयवस्तुले स्थान पाएका थिए ?

उत्तर : आधुनिक कलाका प्रवर्तक पाब्लो पिकासोका कलाकृतिमा बन्दुकभन्दा कलम र कुची शक्तिशाली हुन्छ भन्ने सन्देश दिएको पाइन्छ भने कलामार्फत युद्ध विरोध गरिएको पाइन्छ । उनका चित्रकलामा भिखारी, जेलमा थुनिएका , दु:ख पाएका, हेपिएका र सीमान्तीकृत मानिसका साथै गम्भीर मानसिक समस्या भएका व्यक्ति विषयवस्तुका रूपमा स्थान पाएका छन् । साथै महिलाका मार्मिक एवं प्रेमिल चित्र पनि उनले बनाएका छन् । पिकासोले मानिसको बाहिरी आवरण मात्र नभएर व्यक्तिका भित्री वेदना, संवेदना , संवेग , मर्म आदिलाई चित्रको विषयवस्तु बनाई प्रस्तुत गरेको छन् ।

ख ) पिकासोका कलाकृतिमा पाइने विशेषता लेख्नुहोस् ।

उत्तर :- पिकासोका चित्रमा युद्धप्रति व्यङ्ग्यको भाव व्यक्त भएका छन् भने मानवीय वेदनाको जीवन्त चित्रणसमेत पाइन्छ । उनका चित्र हेर्ने हरेक मानिसका हृदयमा करुणा , दया, माया, स्नेह, आक्रोश आदिको भाव सल्बलाउनु जस्ता विशेषता पाइन्छ ।

. व्याख्या गर्नुहोस् :

क ) हरेक बालबालिकामा विशिष्ट सिर्जना शक्ति र प्रतिभा हुन्छ , उचित अवसर र लगनशीलता भए ऊ एउटा कलाकार बन्न सक्छ , जीवनलाई सार्थक बनाउन सक्छ र संसारलाई ज्योति छर्न सक्छ ।

उत्तर :- हरेक बालबालिकामा ...................................................................... छर्न सक्छ ।

            प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली कितावको पाठ १२" पाब्लो पिकासो" जीवनी शीर्षकबाट व्याख्याका लागि साभार गरिएको हो । यस जीवनीका लेखक यसै किताबका सम्पादकज्यूहरू हुन् । यस जीवनीमा कलाका पारखी चित्रकलाका माध्यमबाट चर्चाको शिखरमा पुग्न सफल पाब्लो पिकासोको कलायात्रा तथा आरोह अवरोहको चर्चा  गरिएको छ ।पिकासोको जीवनीबाट प्राप्त हुने प्रेरणाका सन्दर्भमा उक्त वाक्य आएको हो ।

             पिकासो मानवीय संवेदनाको युगीन लय समातेर कलाकृति सिर्जना गर्ने महान् तथा सर्वाधिक प्रतिभाशाली कलाकार हुन् । घरायसी पारिवारिक वातावरणबाट नै पिकासोको जन्मजात कलाकारिताले टुसाउने , हुर्कने र मौलाउने अवसर प्राप्त गर्यो । पिकासोले चित्रकला सम्बन्धि प्रारम्भिक तालिम घरबाट नै पाएका हुन् । घर नै बालकको पहिलो पाठशाला हो भन्ने भनाइ पिकासोको कलाकारिता यात्राले चरितार्थ गरेको पाइन्छ । कलाका कुशल शिक्षक पिकासोका पिता जोसो रुइजबाट नै पिकासोले चित्रकलामा लाग्ने प्रेरणा प्राप्त गरे भने उनका चित्र अनमोल र महँगा चित्रका रूपमा बेजोड मानिन्छ । हरेक बालबालिकामा सिर्जनशील क्षमता र विशिष्ट प्रतिभा हुन्छ । बालबालिकालाई उचित अवसर प्रदान गरिएमा र बालबालिकाले पाएको अवसर लगनशील भएर प्रयोग गरेमा उनीहरूमा अन्तर्निहित प्रतिभा र सिर्जनाशक्ति प्रष्फूटन हुन्छ । जसरी पिकासोले प्राप्त गरेको अवसरलाई प्रयोग गरे, लगनशील भएर आफूभित्रको कलाकार प्रतिभालाई गोडमेल गरेर महान कलाकारका रूपमा स्थापित हुन सफल भए त्यसै गरी हरेक बालबालिकाले आफूले प्राप्त गरेको अवसरलाई लगनशील भई प्रयोग गरेर आफ्नो जीवनलाई सार्थक र सफल बनाउन सक्छन् ।अरूबाट प्रेरणा प्राप्त गरी आफ्नो सिप, कला र क्षमतालाई बाहिर ल्याउने व्यक्तिले नै संसारलाई उज्यालो ज्योति प्रदान गर्न सक्छन् ।

               निष्कर्षमा बालबालिकाको व्यक्तित्व विकासका लागि उचित अवसर प्रदान गर्नुपर्ने र आफूले पाएको अवसरलाई सदुपयोग गर्ने बालबालिकाले आफ्नो क्षमता र प्रतिभा प्रष्फूटन गराइ समाजमा उज्यालो छर्न सक्ने भाव व्यक्त भएको छ ।

ख ) बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ ।

उत्तर :- बन्दुकभन्दा ........................................................... बलियो हुन्छ ।

         प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली कितावको पाठ १२" पाब्लो पिकासो" जीवनी शीर्षकबाट व्याख्याका लागि साभार गरिएको हो । यस जीवनीका लेखक यसै किताबका सम्पादकज्यूहरू हुन् । यस जीवनीमा कलाका पारखी चित्रकलाका माध्यमबाट चर्चाको शिखरमा पुग्न सफल पाब्लो पिकासोको कलायात्रा तथा आरोह अवरोहको चर्चा  गरिएको छ । पिकासोले आफ्नो चित्रकलाको माध्यमबाट युद्ध विरोधी भाव व्यक्त गरेको सन्दर्भमा उक्त वाक्य आएको हो ।

           आफ्नो सम्पूर्ण जीवन चित्रकलामा समर्पित गरेका पिकासोका चित्रहरू अनमोल रहेका छन् । उनका चित्रमा मानवीय संवेदनाका भाव व्यक्त भएको पाइन्छ । पिकासोद्वारा सिर्जित 'द गुयर्निका' नामक चित्रमा हिटलरको हमलामा देखिएको क्रुरता, अमानवीयताको पराकाष्ठालाई जीवन्त चित्रण गरेको पाइन्छ ।गुयर्निकाको बास्क सहरमा नाजीहरूले गरेको विनाशकारी आक्रमणपछिको वातावरणलाई चित्रण गरेको पाइन्छ । यस चित्रलाई महान् युद्ध विरोधी चित्र मानिएको छ । आम मानिसमा रहेको शान्तिप्रतिको चाहना र युद्धको सन्त्रास चित्रण गरी  निर्माण गरिएको यस चित्रले बन्दुकभन्दा कलम र कुची शक्तिशाली हुन्छ भन्ने सन्देश दिएको मानिन्छ । उनले युद्धलाई कलामार्फत विरोध गर्दै खरो रूपमा व्याङ्ग्य गरिएको पाइन्छ ।

             निष्कर्षमा विनाश निम्त्याउने , आतङ्क र त्रासको वातावरण सिर्जना गर्ने हानीकारक युद्धभन्दा कला र सिर्जनाका माध्यमबाट सबैको मन जित्न सकिन्छ भन्ने भाव पाइन्छ । विनाश र भयको प्रतीक हिंसात्मक बन्दुकभन्दा शान्ति , सिर्जना र साधनाको प्रतीक कलम र कुची शक्तिशाली हुन्छ भन्ने कुरा यहाँ व्यक्त भएको छ ।

. दिइएको प्रश्नको उत्तर लेख्नुहोस् :

क ) पिकासोको बाल्यकाल कस्तो परिवेशमा बित्यो ?

उत्तर :- अन्य औसत शिशुभन्दा सानो भएकाले नर्सले मृत ठानेर आमाको शैयानजिकको टेबुलमा छोडेको र काकाको सूचना पश्चात् पिकासोले जीवन पाएको भन्ने भनाइ रहेको छ । पिकासोका पिता स्थानीय विद्यालयका कलाका कुशल शिक्षकका रूपमा कार्यरत रहेकाले शैशवास्थादेखि नै उनमा बुबाको सिर्जना सुन्दर कलालाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेका थिए । बुबाको कला र सिर्जनाको प्रभावमा उनको जन्मजात प्रतिभाले अङ्कुराउने , हुर्कने र मौलाउने अवसर प्राप्त गरेका थिए । उनले बाल्यकालदेखि नै घरबाट चित्रकलाको तालिमको अवसर प्राप्त गरेका थिए ।  नौ वर्षको उमेरमा पिकासोले "पिकाडोर" नामक चित्र बनाए १३ वर्षको उमेरमा उनको कला देखेर उनका बुबाले चित्रकलाबाट सन्यास लिने घोषणा गरेका थिए । समग्रमा पिकासोको बाल्यकालीन परिवेश उनीभित्र अन्तर्निहित चित्रकला सम्बन्धि प्रतिभाको प्रष्फुरणका लागि अनुकूल रहयो ।

ख ) पिकासोले चित्रमा कुन कुन पक्ष समेटेका छन् ?

उत्तर :-  विश्वकलाको आधुनिक कालका प्रणेता पिकासो चित्रकलाका सर्वोच्च प्रतिभाशाली व्यक्ति हुन् ।उनले आफ्ना चित्रमा विविध विषयवस्तु वा पक्ष समेटेका छन् । यिनका चित्रमा पारिवारिक विषयवस्तु , एक्लोपन , गरिबी र चरम अभावका विषयवस्तु अभिव्यक्त भएको पाइन्छ । गरिबीले आक्रान्त महिला दूधे बालकसँगका आमा, दृष्टिविहीन, जेलमा थुनिएको मानिस , बाटामा भिख मागिएको भिखारीको उपेक्षित जीवन, जीवनका निराशा र विसङ्गत अवस्था , युद्धले सिर्जित वातावरण आदि पक्ष समेटिएको छ ।

ग )  पिकासोले आफ्नो जीवनको लक्ष्य पूरा गर्ने कस्ता सङ्घर्ष गर्नुपरेको थियो ?

उत्तर :- चित्रकलाको सर्वोच्च प्रतिभा पिकासो मध्यमवर्गीय परिवारमा जन्मिएका थिए । बाल्यकालदेखि नै चित्रकलामा समर्पित गरेका पिकासो १३ वर्षको उमेरदेखि चित्रकलामा पूर्णकालीन भएर लागे ।सन् १९९५ मा उनकी बहिनीको मृत्यु यिनको जीवनमा कहालीलाग्दो घटना बन्नपुग्यो । उनले पारिवारिक तथा आर्थिक सङ्कटजन्य अवस्थाको कारण एक प्रकारको मानसिक तनाव र असामान्य परिस्थितिको सिर्जना भएको थियो । उनमा ब्लु पिरियडका चित्रमा अभिव्यक्त भावका कारण सम्पन्न वर्गका मानिसले उपेक्षा गरे । पारिवारिक जीवन सुखद हुन नसकेको पिकासोको जीवनमा आएका महिलाले कुनै न कुनै तबरले उनको चित्रकलामा प्रभाव पारेको पाइन्छ ।

घ )  पिकासोको जीवनबाट पाइने जीवनोपयोगी सन्देश उल्लेख गर्नुहोस् ।

उत्तर : पिकासोको जीवन व्यक्तित्व विकासका लागि क्रियाशील व्यक्तिहरूका लागि जीवनोपयोगी सन्देश र प्रेरणा पाइन्छ । उनले चित्रकलाको माध्यमबाट मानवीय भोगाइ , मानवीय जीवनका आशा , निराशा र विसङ्गत पक्षको उजागर गर्न सकिने सन्देश प्रवाह गरिएको छ । उनले बन्दुकभन्दा  कलम बलियो हुन्छ भन्ने कुरा प्रमाणित गरेका छन् । चित्रको माध्यमबाट युद्धको विरोध गर्न सकिने सन्देश पिकासोको जीवनीबाट पाउन सकिन्छ । हरेक बालबालिकामा जन्मजात कुनै न कुनै प्रतिभा र सिर्जनात्मक क्षमता रहेको हुन्छ । अवसर र लगनशीलताले मानव जीवन सार्थक र सफल बनाएर संसारलाई उज्यालो प्रकाश छर्न सकिन्छ भन्ने सन्देश पिकासोको जीवनीबाट पाउन सकिन्छ । आर्थिक रूपमा सम्पन्न भएपनि  साधारण जीवन बिताउनु सक्नुपर्छ , साधारण जीवन र उच्च विचारले मानिस आदर्श जीवन बिताउन सक्छ भन्ने सन्देश उनको जीवनीबाट पाउन सकिन्छ ।

१० . पाब्लो पिकासोले कलाकारिताको क्षेत्रमा पुर्‍याएका योगदानको चर्चा गर्नुहोस् ।

उत्तर :- बिसौँ शताब्दीमा कलाकारिताको आगो ओकल्ने महान् तथा सर्वाधिक प्रतिभाशाली , विलक्षण कलाकार पाब्लो पिकासोको जन्म सन् १८८१ अक्टोबर २५ मा स्पेनको मलगामा मध्यम वर्गीय परिवारमा थियो । माता मारियो पिकासो लोपेज र पिता जोसो रूइज ब्लास्कोको कोखबाट जन्मिएका पाब्लोलाई पारिवारिक वातावरणबाट कलाकारिताप्रति आकर्षित भएका थिए । गाउँकै एक विद्यालयमा कार्यरत जोसो रुइत कलाका कुशल शिक्षक र पारखी थिए । पिकासोका कलाकृतिमा व्यक्तिगत विविधता पाइन्छ । जादु भरिएका उनका कला कृतिले उनलाई विश्वविख्यात चित्रकारका रूपमा चर्चाको शिखरमा पुर्‍याएका छन् । विश्वकलाको मन्दिरमा सङ्ख्यात्मक दृष्टिले उनका १३५०० हाराहारीमा चित्र , १२२८ मूर्ति , २८८० सेरामिक कला, लगभग १२००० रेखाचित्र समर्पित छन् । उक्त कृतिमध्ये चित्रकलाले नै उनलाई चर्चाको शिखर चुम्न सफल बनायो । यिनले निर्माण गरेको 'द गुएर्निका चित्र' हालसम्मकै महान् युद्ध विरोधी चित्र मानिन्छ । यस चित्रमार्फत उनी बन्दुकभन्दा  कलम र कुची शक्तिशाली हुन्छ भन्ने सन्देश दिन सफल भएको मानिन्छ । सन् १९९५ मा उनले निर्माण गरेको 'वुमन अफ अल्जियर्स'  नामक तैल चित्र संसारको सबैभन्दा महँगो मूल्यमा बिक्री हुने चित्रको रूपमा विश्व कीर्तिमान् कायम गरेको थियो । यो चित्र करिब १८० मिलियन डलरमा बिक्री भएको थियो ।

     मानवीय संवेदनाको जीवन्त चित्रण गरिएका उनका चित्रमा पारिवारिक तथा आर्थिक सङ्कटजन्य परिस्थितिको प्रभाव परेको पाइन्छ । समाजका गरिब , बहिष्कृत तथा उपेक्षित , एक्लोपन , गरिबी र चरम अभाव उनका चित्रमा विषयवस्तुका रूपमा आएका छन् । उनका चित्रमा मानव जीवनका आशा निराशा र विसङ्गत अवस्थाको भव्य चित्रण भएको पाइन्छ । आफ्नो बेजोड कलाकारिताका कारण उनी सन् १९५० र १९६१ मा दुई पटक अन्तर्राष्ट्रिय लेनिन पुरस्कारबाट सम्मानित भए । सन् १९७३ अप्रिल ८ तारिखका दिन ९१ वर्षको उमेरमा यस संसारबाट भौतिक रूपमा बिदा भए पनि कला क्षेत्रमा पुर्‍याएको अविष्मरणीय योगदान र अनमोल कलाका कारण अमर बनेका छन् कलाका पारखीका लागि आदर्श एवं प्रेरक व्यक्तिका रूपमा विख्यात भएका छन् ।

११ . दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिपी सारांश लेख्नुहोस् ।

·      प्रेरक व्यक्तित्वका जीवनका महत्त्वपूर्ण घटना समेटेर तयार पारिएको गद्य विधा नै जीवनी हुनु,

·      ख्याति प्राप्त व्यक्तिको जीवनीबाट विद्यार्थीले सत्प्रेरणा प्राप्त गर्नु ,

·      व्यक्तिका सङ्गर्ष , जीवनीबाट उतारचढाव , तथा उल्लेख्य कार्यको वर्णन गरिएको हुनु,

·      विद्यार्थीहरूलाई मनोबल बढाउन , सत्चरित्र बनाउन , जीवनीको लक्ष्य निर्धारण गर्न सहयोग पुर्‍याउनु ।

सारांश

प्रेरक व्यक्तिका जीवनका महत्वपूर्ण घटना समेटेर तयार पारिएको गद्य विधा नै जीवनी हो । ख्याति प्राप्त व्यक्तित्वको जीवनीबाट विद्यार्थीले सत्प्रेरणा प्राप्त गर्छन् । जीवनीमा व्यक्तिका सङ्घर्ष , उतारचढाव , उल्लेख्य कार्यको वर्णन गरिन्छ । मनोबल विकास गर्न , सत्चरित्र निर्माण गर्न र जीवनको लक्ष्य निर्माण गर्न जीवनीले सहयोग पुर्‍याउँछ ।

अनुच्छेदमा भएको जम्मा शब्द सङ्ख्या = १०६

सारांशमा हुनुपर्ने जम्मा शब्द सङ्ख्या   =  ३६

सारांशमा भएको जम्मा शब्द सङ्ख्या  =  ४०

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.