पाठ : १४
नेपाली लोकबाजा
शब्दभण्डार
१ . दिइएका
शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
उपेक्षा : तिरस्कार,
बेवास्ता
विविध : अनेक प्रकारका
अङ्कित : चित्रित
सम्पदा : प्राकृतिक
सम्पत्ति
दीर्घायु : दीर्घजीवी
रैथाने : पुरानो बासिन्दा
जागरूक : सचेत
२ . नेपाली
लोकबाजा निबन्धमा विभिन्न जातजातिको प्रचलित बाजाका नाम दिइएको छ ।ती बाजासँग सम्बन्धित
शब्द पहिचान गरी साथीसँग छलफल गर्नुहोस् ।
नेवारी जातिका बाजा :- धिमे, ढाँचा,
करखिङ, नगरा, पोङ्गा,
पोना, झ्यालिन्चा
कुसुण्डा जातिका बाजा :- पिर्लुङ पिपिरी
लिम्बू जातिका बाजा :-
च्याब्रुङ, तुङ्गेवा र फेन्जे
मगर जातिका बाजा :-
मादल, डम्फू , मुर्चुङ्गा
तामाङ जातिका बाजा :-
ग्यापुङ् , सरुङ्गे, सिनडुङ
राई/ किराँत जातिका बाजा :- बाँसतुम्बा, टुङ्ना र बिनायो
थारू जातिका बाजा :-
खँजडा झिलमिले, तमौरा
शेर्पा जातिका बाजा :-
चौँरी घण्टा, लावा र पिवाङ
ब्राह्मण र क्षेत्री जातिका बाजा :- शङ्ख, घण्टा,
खैँजडी, मुजुरा नौमति, पञ्चेबाजा
३ . दिइएका
शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
विविधता :- विविधतापूर्ण नेपाली समाजमा प्रत्येक जातिका मौलिक लोकबाजा प्रचलनमा रहेका
छन् ।
लोकपरम्परा :- हामीले हाम्रो लोकपरम्परा र लोक संस्कृतिको संरक्षण गर्न सकेमा मात्र हाम्रो
मौलिक पहिचानको संरक्षण हुन्छ ।
खैँजडी :- नेपाली लोकबाजा खैँजडी भजन कीर्तनमा प्रयोग गरिन्छ ।
अल्पसङ्ख्यक :- नेपालमा अल्पसङ्ख्यक कुसुण्डा समुदायमा प्रचलित लोकबाजा पिर्लुङ पिपिरीको संरक्षण
गर्नु हामी सबैको दायित्व हो ।
धुकधुकी :- हाम्रा लोकबाजा र लोक संस्कृति नेपाली जनजीवनका धुकधुकी हुन् ।
संवर्धन :- हरेक जातिको मौलिक संस्कृतिको संवर्धन कार्यमा सम्बन्धित जाति वा समुदाय
स्वयं सचेत हुनुपर्छ ।
बोध र अभिव्यक्ति
५ . दिइएको निबन्धांशको सन्दर्भ पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्
:
क ) नेपाली धर्तीलाई कुन
कुराले अनुपम सङ्ग्रहालय मानिएको छ ?
उत्तर :- नेपाली धर्तीलाई अनेकौँ मौलिक कला र संस्कृतिले अनुपम सङ्ग्रहालय बमाएको छ
।
ख ) लोकबाजालाई कसरी
बजाइन्छ ?
उत्तर :- लोकबाजालाई तारले रेटेर मुखले फुकेर वा गजाले ठोकेर सुरताल मिलाई बजाइन्छ ।
ग ) कस्ता कस्ता संस्कारमा
लोकबाजाको प्रयोग गरिन्छ ?
उत्तर :- जन्म, विवाह, मृत्यु संस्कार,
चाडपर्व , मेला, जात्रा,
उत्सव, महोत्सव आदिमा लोकबाजाको प्रयोग गरिन्छ
।
घ ) 'संस्कृतिको शङ्खनाद'
भन्नाले के अर्थ बुझिन्छ ?
उत्तर:- संस्कृतिको शङ्खनाद भन्नाले संस्कृति र परम्पराको पहिचान वा चिनारी दिनु वा
प्रचार गर्नु भन्ने बुझिन्छ ।
५ . दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
क ) नेपाली लोकबाजाको
विकास कसरी भएको छ ?
उत्तर :- नेपाली लोकबाजाको विकास प्राचीन कालदेखि हुँदै आइको मानिन्छ । पौराणिक वा वैदिक
कालमा समेत शिवको डमरू , विष्णुको शङ्ख, कृष्णको मुरलीसँग पनि नेपाली मौलिक लोकबाजाको पहिचान जोडिन पुग्छ । वसन्तदेवको
४३४ को टिस्टुङको अभिलेखमा कुँदिएको शङ्ख , हाँडीगाउँको अंशुवर्माको
अभिलेखमा बाजा बजाउन छुट्याइएको रकम, ललितपुर लेलेको अभिलेखमा
उल्लेखित वादित्र गोष्ठीको प्रसङ्गले नेपाली लोकबाजा मल्ल कालभन्दा पनि अगाडिदेखि
नै विकास भएको मानिन्छ र मल्ल कालमा लोकबाजालाई अझ समृद्ध र विकसित बनाउने काम भएको
पाइन्छ ।
ख ) बजाउने शैली र बनोटका
आधार लोकबाजालाई कति किसिमले वर्गीकरण गर्न सकिन्छ ?
उत्तर :- संस्कृति र परम्पराअनुसार लोकबाजा
तालबाज र सुरबाजा गरी दुई प्रकारका छन् भने बजाउने शैली र बनोटका
आधारमा नाट्यशास्त्रका लेखक आचार्य भरतमुनिले तत वाद्य, वितत
वाद्य , शुषिर वाद्य , घन वाद्य र अवन वाद्य
गरी वर्गीकरण गरेको पाइन्छ । कोट्याएर वा आघात पारेर बजाइने एकतारे , विणा , टुङ्ना आदि तारका बाजा तत वाद्य अन्तर्गत पर्दछन्
भने रेटेर बजाइने सारङ्गी जस्ता बाजा वितत वाद्य अन्तर्गत पर्दछन् । हावा वा सासले
फुकेर बजाइने वाद्य मुरली , बाँसुरी , सहनाई
, नरसिंहा, शङ्ख आदि शुषिर वाद्यका नामले
चिनिन्छन् भने ठोकेर बजाइने घन्टी, झ्यालीझ्याम्टा , खैँजडी आदि घन वाद्य र छालाले मोरेर बनाइएका ढोल, मादल,
नगरा, दमाहा, ट्याम्के डमरू
आदि अवन वाद्यका नाममा वर्गीकृत रहेका छन् ।
ग ) नेपाली लोकबाजाको
महत्त्वबारे चर्चा गर्नुहोस् ।
उत्तर :- नेपाली लोकबाजा हाम्रा मौलिक पहिचान हुन् , हाम्रा अमूल्य
सम्पदा हुन् जसमा मानिसलाई लठ्याउने शक्ति र कलाको अनन्त जादु पनि छ । कतिपय लोकबाजाले
शुभकार्यको सङ्केत गर्दछन् भने कतिपय लोकबाजासँग विभिन्न विश्वास जोडिएको छ । नेपाली
पञ्चेबाजालाई शुभको सङ्केत मानिन्छ भने मलामी जाँदा बजाइने एकोहोरो शङ्खले भूतप्रेत
भगाउने विश्वास गरिन्छ । शङ्ख फुक्दा फोक्सोको व्यायामसमेत हुने विश्वास हुने विश्वास
रहेको छ । हरेक बाजा बजाउँदा शारीरिक तथा मानसिक स्वास्थ्यमा अनुकुल प्रभाव पर्छ ।
युद्धको घोषणा गर्ने नगरा, सामाजिक भेला वा जमघटको सूचना दिने
पुङको आफ्नै महत्त्व रहेको छ । कतिपय लोकबाजाले आज व्यावसायिकता प्राप्त गरी
मानिसको आयआर्जनको स्रोत समेत बनेका छन् । यसरी नेपाली लोकबाजाको सांस्कृतिक तथा धार्मिक
महत्त्वका साथै शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव रहेको पाइन्छ
।
६ . व्याख्या गर्नुहोस् :
क ) बहुजातीय र बहुसांस्कृतिक
मुलुक हुनु नेपालको गौरवमय अतीत मात्र होइन सुन्दर वर्तमान पनि हो ।
उत्तर :- बहुजातीय ........................................................................
वर्तमान पनि हो ।
प्रस्तुत वाक्य हाम्रो कक्षा ९ को नेपाली किताबको पाठ १४ मा समाबेश गरिएको
"नेपाली लोकबाजा" शीर्षक निबन्धबाट व्याख्याको लागि साभार गरिएको हो । यस
निबन्धका लेखक यसै किताबका सम्पादकज्यूहरू हुन् । यस निबन्धमा नेपाली पहिचान नेपाली
मौलिक लोकबाजा , यिनको सांस्कृतिक , आर्थिक
महत्त्व र अवसर , संरक्षण आदिको विषयमा चर्चा गरिएको छ । नेपाल
बहुजातीय तथा बहुसांस्कृतिक मुलुक हो । नेपालमा विद्यमान रहेको जातीय , भाषिक ,धार्मिक तथा सांस्कृतिक विविधताले नेपालको गौरव
बढाउन सहयोग गरेको छ ।
नेपाल भौगोलिक रूपमा विविधताले युक्त रहेको छ र अलग अलग भूगोलमा अनेक जातिका मानिसहरूको बसोबास
रहेको छ । प्रत्येक जाति वा समुदायका मानिसको आफ्नै किसिमका मौलिक कला , परम्परा , संस्कृति , चाडपर्व ,
रहनसहन , रीतिरिवाजहरू रहेका छन् । नेपालभित्र
अभ्यास र अनुसरण गरिने सबै संस्कृति नेपाली राष्ट्रिय साझा संस्कृति हुन् । बहुजातीय
र बहुभाषिकता नेपालको गौरव र प्रतिष्ठाको विषय हो । यसले नेपालको गरिमा र महिमा उच्च
बनाएको छ । बहुभाषिकता, बहुजातीयता र बहुसांस्कृतिक सामाजिक
संरचनाले हाम्रो विशिष्ट पहिचान निर्माण भएको छ र यसले मानव सभ्यता र संस्कृतिका अध्येताहरूको
ध्यानाकर्षण गराउँदै अध्ययनका लागि आकर्षित गर्दछ । यसले पर्यटकीय आकर्षण बढाउन
सक्छ । यसले नेपालको संस्कृति मौलिक पहिचानको प्रचारप्रसार गर्नुका साथै पर्यटन व्यवसायमार्फत
आर्थिक अवसरसमेत सिर्जना गर्न सकिन्छ भन्ने भाव प्रस्तुत निबन्धांशमा प्रस्तुत
भएको छ ।
निष्कर्षमा यस निबन्धमा बहुजातीय तथा बहुसांस्कृतिक मुलुक
हुनाका नाताले नेपालको विगत गौरव गर्न लायक रहेको र यसलाई वर्तमानमा समृद्धिको आधार समेत बनाउन सकिने
उत्कृष्ट विचार व्यक्त गरिएको छ । बहुजातीय र बहुसांस्कृतिक समाज , यहाँ प्रचलित लोकबाजा तथा संस्कृतिको प्रचारप्रसार गरी अध्ययनको केन्द्र
बनाउन सकिने , पर्यटकको आवागमनमा वृद्धि गराइ आर्थिक विकासको
अवसरका रूपमा उपयोग गर्न सकिन्छ भन्ने भाव व्यक्त भएको छ ।
ख ) मौलिक बाजा सङ्कटमा
पर्नु भनेको हाम्रो पहिचानसमेत सङ्कटमा पर्नु हो ।
उत्तर :- मौलिक .............................................................
पर्नु हो ।
प्रस्तुत वाक्य हाम्रो कक्षा ९ को नेपाली किताबको पाठ १४ मा समाबेश गरिएको
"नेपाली लोकबाजा" शीर्षक निबन्धबाट व्याख्याको लागि साभार गरिएको हो । यस
निबन्धका लेखक यसै किताबका सम्पादकज्यूहरू हुन् । यस निबन्धमा नेपाली पहिचान नेपाली
मौलिक लोकबाजा , यिनको सांस्कृतिक , आर्थिक
महत्त्व र अवसर , संरक्षण आदिको विषयमा चर्चा गरिएको छ । नेपाली
संस्कृतिको अभिन्न अङ्ग र लोकजीवनका धुकधुकी मौलिक बाजा हाम्रो पहिचान र परिचयसँग जोडिएको
छन् भन्ने सन्दर्भमा आएको हो ।
हाम्रा लोकबाजा हाम्रो मौलिक पहिचान र चिनारी हुन् , यी अमूल्य सम्पदा सङ्कटमा पर्नु भनेको हाम्रो पहिचान र चिनारी सङ्कटमा पर्नु
हो , हामी परिचयविहीन
हुनु हो । त्यसैले सम्पूर्ण नेपाली जाति र सरोकालवाला निकायले समयमै यसतर्फ
ध्यान पुर्याउनु पर्ने विचार व्यक्त गरिएको छ । हाम्रा मौलिक लोकबाजा हाम्रो
बहुजातीय समाजका धुकधुकी हुन् , लोक संस्कृतिका अभिन्न अङ्ग तथा अमूल्य सम्पदा हुन् । हरेक बाजाले विभिन्न
जातजाति र संस्कृतिको प्रतिनिधित्व गरेका हुन्छन् । हाम्रा लोकबाजासँग हाम्रो धार्मिक
, सांस्कृतिक मूल्य , आस्था र विश्वाससमेत
जोडिएको छ ।
समयको परिवर्तन र आधुनिकीकरणको प्रभावका कारण हाम्रा युवापुस्तामा
नेपाली लोकसंस्कृति, लोकबाजाको
सट्टामा विदेशी संस्कृति तथा आधुनिक बाजा र सङ्गीततर्फको आकर्षण बढ्दो छ ।नयाँ
पुस्तामा आधुनिकताको नाममा आफ्नै मौलिकपनलाई भुल्ने संस्कृति हावी भएको देखिन्छ । आफ्नोपन
, मौलिक संस्कृति , परम्परा र लोकबाजालाई
भुल्नु भनेको आफ्नै पहिचानलाई भुल्नु र परिचय विहीन हुनु हो । मौलिकता र मौलिक
संस्कृतिलाई भुलेर विदेशी संस्कृतिमा झुल्नु पहिचान र परिचय गुमाउनु हो ।
निष्कर्षमा हरेक जातिको आफ्नै मौलिक लोकसंस्कृति र पहिचान
हुने , त्यस्ता पहिचानलाई सबैले
जोगाउनु पर्ने र नेपाली लोक जीवनको धुकधुकी , प्राण तथा पहिचान
लोकबाजाको संरक्षण , यसको महत्वको प्रचारप्रसारमा सबै लाग्नु
पर्ने , हाम्रो परिचय र पहिचान बोकेको लोकबाजालाई सङ्कटमा पर्न
दिनु भनेको आफ्नै पहिचान गुमाउनु भएकाले यसको संरक्षण , विकास
र प्रचारप्रसारमा व्यक्ति , समुदाय र राष्ट्र नै सचेत र जागरुक
भएर लाग्नु पर्ने गहन भाव यहाँ व्यक्त भएको छ ।
७ . दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस्:
क ) उत्तर दिनुहोस् :
अ ) दोधारा र चाँदनी नगरपालिकाको
नाम कसरी जुराइएको हो ?
उत्तर :- महाकाली नदीपारि रहेका साविकका चाँदनी र दोधारा दुई गा.वि. स. समावेश गरी दोधारा र चाँदनी
नगरपालिकाको नाम जुराइएको हो ।
आ ) त्यहाँको जनजीवन
कस्तो रहेको छ ?
उत्तर :- विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिको बसोबास रहेको र यहाँका स्थानीय
बासिन्दाको पारिवारिक आम्दानीको स्रोतमा कृषिको ठूलो हिस्सा ओगटेको छ भने केही मानिस
व्यापार व्यवसाय , वैदेशिक रोजगारी , सरकारी
तथा निजी सेवामा संलग्न रहेका छन् ।
इ ) त्यस क्षेत्रमा मनाइने
मुख्य चाडपर्वका नाम लेख्नुहोस् ।
उत्तर :- त्यस क्षेत्रमा दसैं , तिहार, माघी,
होली, गौरा, कृष्णजन्माष्टमी
, आइतबारी , छठपर्व, बुद्धजयन्ती , क्रिसमस, आदि चाडपर्व
मनाइन्छ ।
ई ) अनुच्छेदका आधारमा
त्यहाँको विकास निर्माणको अवस्थाबारे अनुमान गर्नुहोस् ।
उत्तर :- झोलुङ्गे पुलबाट आवतजावत गर्नु पर्ने बाध्यता रहेको र पूर्वाधार विकासमा पछाडि
रहेको यस क्षेत्रको विकासमा महाकाली नदीमा बनेको पक्की पुल कोशेढुङ्गा हुने अपेक्षा
गरिएको छ । विकासको लहर क्रमशः फैलँदो अवस्थामा रहेको छ । विकासको गतिमा अगाडि
बढ्दै छ भन्ने अनुमान गर्न सकिन्छ ।
८
नेपाली लोकबाजाका
विशेषता कस्ता छन् , निबन्धका आधारमा समीक्षा गर्नुहोस् ।
उत्तर :- हरेक मानव जाति र समुदायका आ-आफ्नै लोकसंस्कृति , परम्परा र सामाजिक
मूल्यमान्यताहरू रहेका हुन्छन् । नेपाली लोकबाजा पनि नेपाली जनजीवनको धुकधुकी,
पहिचान र चिनारी हुन् । विभिन्न अवसर जन्म , मृत्यु
, विवाह, रहनसहनका साथै चाडपर्व ,
उत्सव , महोत्सव , मेलापात
आदिसँग नेपाली लोकबाजा जोडिएर आउने गर्दछ । मौलिक संस्कृति र सभ्यताको परिचय दिने लोकबाजा
हाम्रा अमूल्य सम्पदा र सम्पत्ति हुन् । बहुजातीय नेपाली समाजमा हरेक समाजमा छुट्टाछुट्टै
मौलिक पहिचानका बाहक लोकबाजा प्रचलनमा रहेका छन् । विभिन्न जातजातिका मानिसले पर्व
र संस्कारमा प्रयोग गरिने लोकबाजामा पनि विविधता पाइन्छ ।
हाम्रा नेपाली लोकबाजाले मौलिक
सभ्यता र संस्कृतिको शङ्खघोष गर्ने मौलिक पहिचान हुन् । विगतमा कुनै जाति, समुदाय र संस्कृतिसँग जोडिएको भएता पनि लोकबाजा आज समग्र नेपाली जाति र समुदायका
साझा सम्पत्तिका रूपमा स्थापित हुन सफल भएका छन् । एकातिर हाम्रा लोकबाजाले हाम्रो
मौलिक परम्परा र पहिचान जोगाएका छन् भने अर्कातर्फ
आयआर्जनको भरपर्दो स्रोत पनि बन्दैछन् । यसैगरी शारीरिक तथा मानसिक स्वास्थ्यका लागि
पनि लोकबाजा बजाउनु र सुन्नु श्रेयष्कर रहेको छ । रोजगारीका अवसर सिर्जना गर्नु ,
मौलिक कला र सिपको संरक्षण गर्नु , शारीरिक तथा
मानसिक रूपमा मानिसलाई दुरुस्त राख्नु आदि नेपाली लोकबाजाका प्रमुख विशेषता हुन् ।
१० नौमति बाजाका विषयमा सूचनामूलक अनुच्छेद
तयार गर्नुहोस् ।
उत्तर :- नेपाली समाजमा प्रचलित लोकबाजा मध्ये लोकप्रिय र चर्चित नौओटा बाजाहरूको समूह
नै नौमति हो । यसको प्रयोग विवाह , ब्रतबन्ध, चौरासी , उत्सव , महोत्सव ,
चाडपर्व आदिका अवसरमा हुन्छ ।नौमती बाजाको समूहमा दमाहा, ट्याम्को , सहनाई , ढोलक,
कर्नाल , नरसिंहा , झ्याली
आदि पर्दछन् । नौमती बाजालाई पञ्चेबाजाकै ठूलो रूप पनि मानिन्छ । यसमा सहनाई,
दमाहा, ढोलक र ट्याम्को दुई दुई ओटा रहेका हुन्छन्
। नरसिंहालाई कर्नालको रूपमा प्रयोग गरिन्छ । यसको सुमधुर साङ्गितिक धुनले सारा मानिसलाई
लठ्याउन, मन्त्रमुग्ध पार्न र शारीरिक एवं मानसिक रूपमा मनोरञ्जनको
भाव पैदा गराउँछ । यसको प्रयोग विवाह, ब्रतबन्ध, चौरासी , उत्सव , महोत्सव ,
चाडपर्व आदिका अवसरमा हुन्छ । बदलिँदो सामाजिक चेतनासँगै नौमती बाजाप्रतिको
आकर्षण दिन प्रतिदिन बढ्दै गएको पाइन्छ । यस बाजाका वादन सिप लोकबाजाहरूले एक पुस्ताबाट
अर्को पुस्तामा क्रमशः हस्तान्तरण गर्दै र प्रशिक्षित गर्दै आएको पाइन्छ । नौ जनाको
समूहले सुर र ताल मिलाएर एकै पटक बजाउने भएकाले नौमती भनिएको हो । नौमती बाजाको लोकप्रियता
बढ्दै जानाले यससँग सम्बन्धित कलाकारहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन र सुधार आएको
देखिन्छ । यसले क्रमशः व्यावसायिकता हासिल गर्नाले यसलाई आयआर्जन गर्ने मनोरञ्जनको
उत्कृष्ट लोकसंस्कृतिका रूपमा लिइन्छ ।