माध्यमिक शिक्षा परीक्षा तयारी
कविताको व्याख्या खण्ड
क) ईर्ष्या द्वेष हटाएर जो
छर्छन् प्रेम सौरभ
तिनै मान्छेहरू बन्छन
विश्वका निम्ति गौरव ।
उत्तर
:- ईर्ष्या द्वेष ..............................................................
गौरव
प्रस्तुत
हरफ हाम्रो कक्षा १० को नेपाली कितावको "उज्यालो यात्रा" कविताबाट साभार
गरिएको हो । यस कविताका रचयिता रामप्रसाद ज्ञवाली( वि. सं. २०२४) हुन । यो नैतिक सन्देशमूलक
उत्कृष्ट कविता हो । यस कवितामा सत्कर्म र ज्ञानले धर्तीलाई उज्यालो पारी चन्द्रसूर्य
जस्तै चम्किलो बनाइ अन्धकार हटाउँदै प्रेमको सौरभले संसारमाथि विजय प्राप्त गर्न सकिन्छ
। न्याय र त्यागको मार्गले मानिसलाई आदर्श बनाउँछ भन्ने भाव कविले यहाँ व्यक्त गरेका
छन् । ईर्ष्या द्वेष जस्ता तुच्छ भावनाले मानिसलाई छुद्र र निकृष्ट बनाउने भएकाले यस्ता
दुर्भावना त्याग गरी प्रेममय व्यवहारले महान बन्न सकिने विचार व्यक्त गर्ने सन्दर्भमा
उक्त पंक्ति आएको हो ।
मानव मनमा समय समयमा उत्पन्न हुने
ईर्ष्याद्वेष जस्ता भावना हाम्रा शत्रु हुन् । यस्ता खराब विचारले हामीलाई उत्तेजित
बनाउने , सुख हरण गर्ने, अशान्त बनाउने र प्रतिशोधपूर्ण व्यवहारका लागि प्रेरित गर्ने
कारक हुन । यस्ता संकीर्ण चिन्तनले हामीलाई न त उदार बन्न दिन्छ न त प्रगति उन्नतिको
मार्गमा अगाडि बढ्न नै पेरित गर्छ । अरूको ईर्ष्या , डाहा, आहारिस गर्ने स्वभाव र प्रवृत्तिले
मानिसलाई सदैव अरूको पछाडि लाग्ने तुच्छ व्यवहारतर्फ आकर्षित गराउने भएकाले यस्तो विचार
र भावनाले हामी असल मानिस बन्न सक्दैनौँ । जजसले मनमा ईर्ष्या द्वेष जस्ता भाव हटाएर
प्रेमको बिरुवा रोपेर गोडमेल गरेर तिनीहरूको संसारमा शान्तिको सन्देश छरेर कवितामा
असल , ज्ञानी र महान् आदर्श व्यक्तित्वको रूपमा आफ्नो चिनारी बनाउन सफल भएको कुरा व्यक्त
भएको छ । मन सफा, स्वच्छ र निर्विकार भएमा मात्र मानिसले प्रेमको सौरभ छर्न सक्ने,
आफू खुसी रहेर अरूलाई सुख प्रदान गरी आदर्श व्यक्ति बन्न सक्छन् । आफ्नो व्यक्तिगत
स्वार्थभन्दा माथि उठेर संसारमा प्रेम बाँडन क्रियाशील मानिसमाथि संसारले गौरव गर्न
सक्ने विचार कवितामा प्रस्तुत गरिएको छ ।
निष्कर्षमा
के भन्न सकिन्छ भने ईर्ष्या , द्वेष , कलह, वैमनस्यता जस्ता शत्रु भावबाट माथि उठेर
पवित्र प्रेमभावले जीवनलाई चम्किलो बनाई आदर्श र महान् बन्नतर्फ लाग्नु पर्छ भन्ने
सन्देश कविले यस कविताको माध्यमबाट दिएका छन् ।
ख) उदात्त कर्मको यात्रा
गर्दछन् जो सधैँ सधैँ
आदर्श नमुना मान्छे
बन्दछन् विश्वमा तिनै
उत्तर
:- उदत्त कर्मको..................................................................
विश्वमा तिनै ।
प्रस्तुत
हरफ हाम्रो कक्षा १० को नेपाली किताबको " उज्यालो यात्रा" कविता शीर्षकबाट
भाव विस्तारको लागि साभार गरिएको हो । यस कविताका रचयिता रामप्रसाद ज्ञवाली ( वि.सं.
२०२४) हुन । यस कवितामा मानव जीवनलाई सार्थक र महान् बनाउन असल कर्म गर्नु पर्ने, उदार
र सहयोगी व्यवहार अवलम्बन गर्नु पर्ने विचार सम्प्रेषण गरिएको छ । असल कर्म र उदारता
पूर्ण भावनाले मानिस नमुना बन्न सक्छ भन्ने कुरालाई प्रष्ट पार्ने क्रममा उक्त पंक्ति
आएको हो ।
कर्मयोगी मानिस नै महान् र आदर्श बन्छन्
। कर्मले नै धर्तीलाई सुन्दर मनोहर बनाउन सकिन्छ । कर्म र पौरखले झाडीदार जङ्गललाई
सुन्दर बगैँचा बनाउन सकिन्छ । धेरै पटक दाउरा घोटिएरै चन्दन बन्ने , सयौँ चोट सहेर
नै ढुङ्गा सुन्दर मूर्ति बन्ने भएकाले कर्ममा लाग्न सबैलाई कवितामा आग्रह गरिएको छ
। उदार व्यवहारले नै मानिस सबैको आदरणीय बन्न सक्छ । कर्मले नै मानिसलाई जीवन्त बनाउँछ
। संसारका हरेक मानिसको चर्चा र सफलताको पछाडि सत्कर्म रहेको हुन्छ । संसारमा आदर्श
व्यक्तिको रूपमा पुकारिएका कृष्ण, राम, मोहम्मद , क्राइस्ट , बुद्ध सबै कर्मले जीवित
भएका छन् । समाजको हितमा समर्पित न्याु र त्यागमा समर्पित मनमस्तकलाई लोभमोहबाट माथि
उठेका मानिस नै आदर्श व्यक्तिको रूपमा स्थापित हुन सक्ने विचार कवितामा व्यक्त भएको
छ । कर्म र ज्ञानले संसारमा चेतना र प्रेमको सौरभ छर्नुपर्छ । सबैको प्यारो , आदरणीय
, आदर्श र अनुकरणीय जीवन बिताउने प्रमुख आधार असल कर्म हो ।
निष्कर्षमा
के भन्न सकिन्छ भने कर्मलाई मानव जीवनको सार्थकताको प्रमुख आधारका रूपमा लिनुपर्छ ।
असल कर्म, उदार भावना, विचार र व्यवहारले मानिस सामाजिक रूपमा आदर्श व्यक्ति बन्न सकिन्छ
भन्ने कुरा यहाँ व्यक्त भएको छ ।
ग ) लोभलालचमा
छैनन् जसका मस्तक
जो सदैव हुने गर्छन् त्यागका निम्ति उद्यत ।
उत्तर :- लोभलालचमा छैनन् .................................................................
निम्ति उद्यत ।
प्रस्तुत
हरफ हाम्रो कक्षा १० को नेपाली किताबको " उज्यालो यात्रा" कविता शीर्षकबाट
भाव विस्तारको लागि साभार गरिएको हो । यस कविताका रचयिता रामप्रसाद ज्ञवाली ( वि.सं.
२०२४) हुन । यस कवितामा कर्मयोगी मानिस नै महान र आदर्श बन्छन् । कर्मले
नै धर्तीलाई सुन्दर , मनोहर बनाउन सकिन्छ । कर्म र पौरखले झाडीदार जङ्गललाई सुन्दर बगैँचा बनाउन
सकिने, घोटिएर नै दाउरो वा श्रीखण्ड चन्दन बन्ने, सयौँ चोट सहेर नै ढुङ्गा सुन्दर मूर्ति बन्ने भएकाले कर्ममा लाग्न सबै प्रेरित
हुनुपर्ने , लोभलालचको भाव नभएका मानिस नै त्याग र समर्पणका लागि
हरदम तयार हुन्छन् भन्ने सन्दर्भमा उक्त हरफ आएको हो ।
मनमा कुनै प्रकारको लोभलालच, आशक्ति आदि भाव नभएका व्यक्ति
नै त्यागी हुन सक्छन् । मानिस चेतनशील , विवेकशील अनि सर्वोत्कृष्ट प्राणी भएकाले उसले
व्यक्तिगत स्वार्थ , लोभलालच, ईर्ष्या,
आहारिस जस्ता दुर्भावनालाई परास्त गर्न सक्नु पर्छ । उपरोक्त गुण र स्वभावले
नै मानिस स्वार्थी र लोभी भएको हो । व्यक्ति केन्द्रित मनोभावना र स्वार्थले नै मानिसलाई
तुच्छ स्वभाव र कपटपूर्ण व्यवहारतर्फ उन्मुख गराउँछ । जो मानिस लोभलालचबाट माथि उठ्न
सक्छ , जसले आफ्ना मनमा उत्पन्न हुने ईर्ष्या, द्वेष , आहारिस आदिलाई परास्त गर्न र सात्विक जीवन यापन
गर्न सक्छ तिनै व्यक्ति त्यागका लागि सदा तत्पर हुन्छन् । राजा शिवी , दधिचि र भीष्म जस्ता मानिस त्यागले नै आदर्श व्यक्ति बन्न सफल भएका हुन् ।
निष्कर्षमा लोभलालच ईर्ष्या, द्वेष र आहारिस जस्ता विकृत मनोभावनाबाट माथि
उठ्न सक्ने मानिस नै त्याग र समर्पणसहितको आदर्श जीवन बिताउन सक्छन् । लोभलालचविहीन्
त्यागी व्यक्तिको जीवन नै सार्थक हुन्छ भन्ने भाव यहाँ व्यक्त भएको छ ।
घ ) समर्पित भएका छन् जो सदा न्यायखातिर
संसारमा उठेका छन् तिनैका विजयी शिर ।
उत्तर: समर्पित .........................................................
विजयी शिर ।
प्रस्तुत हरफ हाम्रो कक्षा १० को नेपाली किताबको पाठ
एक "उज्यालो यात्रा" कविता शीर्षकबाट व्याख्याको लागि साभार गरिएको हो ।
यस कविताका रचयिता रामप्रसाद ज्ञवाली ( वि.सं. २०२४) हुन् । यस कवितामा कर्मयोगी मानिस नै महान र आदर्श बन्छन् । कर्मले
नै धर्तीलाई सुन्दर , मनोहर बनाउन सकिन्छ । कर्म र पौरखले झाडीदार
जङ्गललाई सुन्दर बगैँचा बनाउन सकिने, घोटिएर नै दाउरो वा श्रीखण्ड
चन्दन बन्ने, सयौँ चोट सहेर नै ढुङ्गा सुन्दर मूर्ति बन्ने भएकाले
कर्ममा लाग्न सबै प्रेरित हुनुपर्ने विचार कवितामा प्रस्तुत गरिएको छ । मानव जीवनलाई
सार्थक र महान् बनाउन मानिस सदासर्वदा न्यायको पक्षमा दृढतापूर्वक उभिनु पर्ने र न्यायको
पथ अङ्गिकार गर्ने मानिसको शिर सदैव उच्च रहन्छ भन्ने सन्दर्भमा उक्त हरफ आएको हो ।
न्यायको पक्षमा दृढतापूर्वक उभिएका मानिसले कहिल्यै शिर वा माथ झुकाउनु नपर्ने,
उनीहरू गर्वका साथ शिर ठड्याएर हिँडन सक्छन् । न्याय मानिसको सर्वोच्च
आभूषण हो । सामान्य चेतनाले मानिसले न्यायको कसीमा घोटिन सक्दैन । न्यायको पक्षमा दृढतापूर्वक
लाग्न वा उभिन मानिस सबै किसिमका स्वार्थ र सम्बन्धबाट माथि उठ्न सक्नुपर्छ । न्यायको
पथबाट विचलित नहुने मानिस मानव सभ्यताको महामानव हुन् । न्यायको पथमा विचरण गर्ने मानिसले
कहिल्यै कुनै अवस्थामा आफ्नो शिर झुकाउनु पर्दैन , कसैको सामु
झुक्नु र चुक्नु पर्दैन । न्यायको खातिर समर्पित व्यक्ति नै मानव जातिको आदर्श र प्रेरक
पथप्रदर्शक हुन् । उनीहरूले समग्र मानव जातिबाट सम्मान र प्रतिष्ठा प्राप्त गर्न सक्छन्
।
निष्कर्षमा जस्तोसुकै विषम र जटिल परिस्थितिमा पनि मानिस
सत्य र न्यायको पथबाट विचलित हुनु हुँदैन । सत्य र न्यायको पथको यात्राले मानिसको शिर
उच्च राख्छ । न्यायको पक्षमा लाग्ने मानिस सबैबाट सम्मान प्राप्त गर्न सक्छन् । सत्य
र न्यायको पक्षमा लाग्ने आदर्श व्यक्तिको सबैले इज्जत गर्छन् भन्ने भाव यहाँ
व्यक्त भएको छ ।
ङ ) नेपाल बाँचे नेपाली
हाम्रो गौरव बाँच्ने छ
नेपाली भाषा संस्कृति कला साहित्य साँच्ने
छ ।
उत्तर : नेपाल
..................................... साँच्ने छ ।
प्रस्तुत हरफ
हाम्रो कक्षा १० को नेपाली किताबको पाठ ८ 'नेपाली हाम्रो श्रम र सीप' शीर्षक कवियाबाट
भाव विस्तारका लागि साभार गरिएको हो । यस कविताका रचयिता मुकुन्दशरण उपाध्याय हुन्
। यस कवितामा नेपाली धर्ती ऐतिहासिक , सांस्कृतिक तथा भौगोलिक महत्त्व झल्काइएको छ
। नेपाली गौरव भाषा , कला, संस्कृति र साहित्यको भविष्य नेपालसँग जोडिएको छ भन्ने सन्दर्भमा
प्रस्तुत हरफ आएका छन् ।
नेपाली भाषा साहित्य कला र संस्कृति जीवन्त
रहन नेपाल रहनु पर्छ । भन्ने विचार प्रस्तुत गरिएको छ । नेपाली भाषा कला साहित्य र
संस्कृति हाम्रा मौलिक पहिचान हो । मौलिक पहिचानले मात्र हाम्रो गौरवपूर्ण इतिहास र
विगतको रक्षा गर्छ । नेपाल बाँच्नु भन्नुको तात्पर्य नेपाल आत्मनिर्भर रहनु हो । नेपाल
आत्मनिर्भर हुन सकेमा विदेशी हस्तक्षेप हुने सम्भावना हुँदैन जसले हाम्रो मौलिक कला
साहित्य संस्कृति र भाषाले जीवन्तता पाउँछ । मौलिकपनको रक्षार्थ हामीले आफ्नो श्रम
र सिपले आफ्नै धर्तीलाई सजाउनु पर्छ , सिँगार्नु पर्छ भन्ने विचार यहाँ व्यक्त भएको छ ।
अन्त्यमा कविले
हाम्रो गौरव र पहिचानको रक्षार्थ नेपाल सक्षम र आत्मनिर्भर हुनु पर्दछ । नेपाल र नेपालीको
पहिचानसँग जोडिएको भाषा , कला, साहित्य र संस्कृतिको संरक्षण हामी आफैँ गर्नु पर्छ
। भाषा , कला , साहित्य , संस्कृति , परम्परा आदि राष्ट्रको सुरक्षित भविष्यसित जोडिएका
हुन्छन् यिनको संरक्षण गर्न हामी सबैले परम् दायित्व हो भन्ने भाव यहाँ व्यक्त भएको
छ ।
च ) आशिष देऊ एकै
र फेरि पसिना बगाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ
।
उत्तर :- प्रस्तुत हरफ हाम्रो कक्षा १० को नेपाली किताबको पाठ ८ 'नेपाली
हाम्रो श्रम र सीप' शीर्षक कविताबाट भाव विस्तारका लागि साभार गरिएको हो । यस
कविताका रचयिता मुकुन्दशरण उपाध्याय हुन् । यस कवितामा नेपाली धर्ती ऐतिहासिक , सांस्कृतिक
तथा भौगोलिक महत्त्व झल्काइएको छ । सम्पूर्ण नेपालीलाई आलस्य , निद्रा, हीनता त्यागेर
राष्ट्र निर्माण कार्यमा लाग्ने प्रेरणा प्राप्त होस् भन्ने चाहना व्यक्त गर्ने सन्दर्भमा
प्रस्तुत हरफ आएको हो ।
नेपाल भौगोलिक विविधता , प्राकृतिक , सामाजिक
, साँस्कृतिक तथा भाषा साहित्यका दृष्टिले सम्पन्न भए पनि विकासका दृष्टिले पछाडि परेको
छ । नेपालको श्रम र सिपले विश्वका विभिन्न फलेफुलेका छन् । आफ्नै तागतले आफ्नो राष्ट्र
विकसित तथा सम्पन्न बनाउन सकिन्छ भन्ने आत्मविश्वास कवितामा व्यक्त भएको पाइन्छ । रोजगारीको
सिलसिलामा ठूलो सङ्ख्यामा नेपाली दाजुभाइ विदेशमा श्रम र सिप पोखिरहेका छन् । कुनै
पनि देशको विकास , प्रगति, उन्नति र समृद्धिमा त्यो देशका जनशक्ति कसरी परिचालित छन्
भन्ने कुराले विशेष अर्थ र महत्त्व राख्दछ । कविले विदेसिएका सबै नेपाली स्वदेशमा रमाएर
श्रम र सिप प्रयोग गर्ने वातावरण निर्माण होस् भन्ने चाहना व्यक्त गरेका छन् । विश्वका
विकसित मुलुकको आजको विकास र प्रगति सोही देशका नागरिकको श्रम, पसिना र पौरखको उपज
हो । अथाह सम्भावना बोकेको नेपालीको विकास र समृद्धिका लागि हामीले सबै आफ्नो श्रम
र सीप प्रयोग गर्नु अपरिहार्य हुन्छ ।
अन्त्यमा
कविले राष्ट्रको महत्त्वपूर्ण संसाधन मानिने मानवीय शक्ति नेपालमै प्रयोग होस् तथा
सम्पूर्ण नेपालीको श्रम र सिप नेपालको समृद्धिमा लागाउने सद्प्रेरणा वा आशिष मिलोस्
भन्ने पवित्र चाहना व्यक्त गरेका छन् ।नेपाल
आमाको मुहारमा चमक ल्याउन, गौरव र प्रतिष्ठा बढाउन सम्पूर्ण नेपाली परिचालित हुनुपर्ने
भाव यहाँ व्यक्त भएको छ ।
छ ) पूर्वले दियो विश्वकै लागि रहस्य विशाल
अपूर्व शिरोमुकुट हाम्रो सर्वोच्च हिमाल
ऋषिले सुने रहस्य यहीँ व्युँझेर सखार
हे धन्य पुर्खा प्रकाशपुञ्ज वन्दना हजार ।
उत्तर :- पूर्वले दियो ...................................................................
वन्दना हजार ।
प्रस्तुत
हरफ हाम्रो कक्षा १० को नेपाली किताबको पाठ ८ 'नेपाली हाम्रो श्रम र सीप' शीर्षक कविताबाट भाव विस्तारका लागि साभार गरिएको हो । यस
कविताका रचयिता मुकुन्दशरण उपाध्याय हुन् । यस कवितामा नेपाली धर्ती ऐतिहासिक , सांस्कृतिक
तथा भौगोलिक महत्त्व झल्काइएको छ । सांस्कृतिक र प्राकृतिक सम्पदाले युक्त पावनभूमिको गरिमा
बढाउने पुर्खाको गौरव गाउने तथा पुर्खाप्रति सम्मानको भाव व्यक्त गर्ने सन्दर्भमा उक्त
हरफ आएको हो ।
पूर्वीय वेदान्त दर्शनको उदगम स्थल मानिने नेपालमा विश्वकै छानो मानिने सगरमाथा
अवस्थित रहनुले यसको गरिमा बढाएको विचार व्यक्त गरिएको छ । वेदान्त दर्शन तथा आर्य
संस्कृतिको पावनभूमि नेपालमा पौराणिक तथा वैदिक कालमा ऋषिमुनिहरूले योग र साधना स्थलको
रूपमा प्रयोग गर्ने गरेको मिथक पाइन्छ । वेदान्त दर्शनमा आधारित हिन्दु ग्रन्थहरूले
ब्रह्माण्डको उत्पति र विकास सम्बन्धि रहस्यको पोको फुकाउने प्रयत्न गरेको तथ्य कवितामा उल्लेख छ । योग
र साधनाको जगमा ऋृषिमुनीहरूले प्राप्त गरेको अलौकिक ज्ञान र उनीहरूका अनमोल कृतिहरूले
अन्तरिक्ष , ग्रहतारा, ब्रह्माण्ड आदिको
खोज तथा अनुसन्धानको लागि आधार सिर्जना गरेका छन् । सगरमाथाको उपस्थितिले नेपालको भौगोलिक
विशिष्टता सिर्जना गरेको छ भने ऋषिमुनीहरूको तपोवनले सिर्जना गरेका विभिन्न
ग्रन्थहरूले मानव सभ्यताको अध्ययनको ढोका खोलेको यहाँ व्यक्त भएको छ ।
निष्कर्षमा सांस्कृतिक तथा भौगोलिक विशेषता र सम्पदाले
युक्त नेपालका सिर्जना गर्ने पुर्खाहरूप्रति सम्मान र श्रद्धाको भाव व्यक्त गरेका छन्
। ज्ञानको ज्योतिले आलोकित हाम्रा पुर्खाहरूले
प्रकाशले नेपाललाई विश्वमा चिनाएको विचार कविको छ । विश्वलाई आश्चर्यचकित बनाउने ज्ञान
र रहस्यको उजागर गर्ने हाम्रा महान् पुर्खाहरू प्रार्थनीय रहेको र संसारको शिरोमुकुट
मानिने सगरमाथा तथा अन्य हिमालहरू र सांस्कृतिक ग्रन्थ हाम्रा अमूल्य सम्पदा हुन् ।
यसको संरक्षण प्रवर्द्धन र विकासको कार्यमा हामी सदैव लाग्नु पर्ने देश तथा संस्कृति प्रेमको उत्कृष्ट विचार यहाँ
व्यक्त भएको छ ।
ज ) नेपाल
भोको रहन्छ सितो एउटैले नखाए
नेपाल नाङ्गो रहन्छ टालो एउटैले नलाए
यसैले आऊ खाना र नाना सबैलाई पुर्याऊ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमा लगाऊँ ।
उत्तर :- नेपाल भोको ........................................................
स्वदेशमा लगाऊँ ।
प्रस्तुत
हरफ हाम्रो कक्षा १० को नेपाली किताबको पाठ ८ 'नेपाली हाम्रो श्रम र सीप' शीर्षक कविताबाट भाव विस्तारका लागि साभार गरिएको हो । यस
कविताका रचयिता मुकुन्दशरण उपाध्याय हुन् । यस कवितामा कविले नेपाललाई समृद्ध तथा सम्पन्न बनाउन सम्पूर्ण नेपालीले आफ्नो श्रम र सिप नेपालमा
लगाउनुपर्ने विचार व्यक्त गरेका छन् । कविमा अन्तर्निहित देशप्रेम तथा नेपाली
जातिप्रेमको भाव व्यक्त गर्ने सन्दर्भमा उक्त हरफ आएको हो ।
नेपालमा बसोबास गर्ने हरेक नागरिकको गाँस , बास र
कपासको नैसर्गिक अधिकार पूरा हुनुपर्ने आदर्श विचार व्यक्त भएको छ । नेपालको
राजधानी काठमाडौं तथा विकसित सहरहरू मात्र होइन सुदूर पूर्व र पश्चिममा रहेका
विकासका पूर्वाधारले छुन नसकेका गाउँ र बस्ती पनि नेपाल नै हुन् । यो माटो सीमित
व्यक्तिको सुख , सुविधा , हित र भलाईका
लागि मात्र होइन । यो माटो नेपालभित्र बसोबास गर्ने सबैको साझा बगैँचा पनि हो । यसर्थ
यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीका गाँस , बास र कपासका आधारभूत
समस्या समाधान भएमा मात्र देशको इज्जत , गौरव र प्रतिष्ठा
वृद्धि हुन्छ । एउटा व्यक्ति वा समूह विशेषको सम्पन्नता र उन्नतिलाई समग्र देशको सम्पन्नता
र उन्नति मान्न सकिँदैन । देशको प्रगति, उन्नति , विकास र समृद्धिका लागि सम्पूर्ण जनताको आर्थिक अवस्था र जीवनशैली माथि उठेको
हुनुपर्छ । गाँस , बास र कपास जस्ता नागरिकका आधारभूत
आवश्यकताको परिपूर्तिबाट नै देशको गौरव , प्रतिष्ठा र इज्जत
बढ्न जान्छ । गाँस , बास र कपासको नैसर्गिक अधिकार प्राप्ति
र परिपूर्तिका लागि सम्पूर्ण नेपालीको सक्रियता , लगन र इमान्दार
प्रयत्नको आवश्यकता पर्ने तथ्य कवितामा वर्णन गरिएको छ ।
निष्कर्षमा कविले सम्पूर्ण नेपालीको श्रम
र सिप नेपालको समृद्धिमा लागाउने हो भने कोही पनि नेपाली भोकै र नाङ्गै बस्नुपर्ने
अवस्था नआउने विचा व्यक्त गरेका छन् । सम्पूर्ण नेपालीको श्रम र सिप पौरख पसिना नेपाली
माटाोमा लगाउन सके गरिबीलाई परास्त गर्न सक्छौँ । पराधिन परनिर्भरताको अवस्थाबाट माथि
उठ्न सम्पूर्ण नेपालीहरूले आफ्नो श्रम, सिप , विवेक र पसिना यही माटोमा पोख्नु पर्ने आदर्श
र यथार्थ विचार उक्त हरफमा व्यक्त भएको छ ।
झ ) तपाईंले गर्व गर्ने सगरमाथालाई काँधमा बोकेर उभिएको यो गाउँ ।
उत्तर : तपाईंले गर्व.................................................................
यो गाउँ ।
प्रस्तुत
वाक्य हाम्रो कक्षा १० को नेपाली कितावको पाठ १५ मा रहेको "गाउँमाथि एउटा कविता"
शीर्षक कविताबाट व्याख्याको लागि साभार गरिएको हो । यस कविताका रचयिता दिनेश अधिकारी(वि.सं. २०१६) हुन् । यस
कवितामा कविले नेपाली ग्रामीण परिवेश र सामाजिक जनजीवनको सुन्दर चित्र प्रस्तुत
गरेका छन् । खोलो तर्यो लौरो बिर्स्यो प्रवृत्तिप्रति व्यङ्ग्य गर्ने सन्दर्भमा
माथिको सुन्दर पङ्तिको आएको हो ।
हामी नेपाललाई सगरमाथाको
देशका नामले चिनाउने गर्छौँ । अर्थात् सगरमाथाप्रति गौरव गर्छौँ । तर सगरमाथालाई आफ्नो
काँधमा उभ्याउने गाउँलाई वेवास्ता गर्छौँ । सगरमाथाको चर्चा गर्न रमाउँछौँ तर सगरमाथाको
फेदीको गाउँको अवस्थाप्रति बेखबर रहेका छौँ । गाउँ नै गाउँले युक्त नेपालका गाउँमा
पराल र ढुङ्गाको छानामा उभिएका घरहरूले गरिबीको कारूणिक अवस्था उजागर गरेका छन् । अशिक्षा
र चेतनाको अभावले अन्धविश्वासलाई नै विश्वास मानेर यहाँका मानिसहरू निर्वाहमुखी खेतीपाती
र पशुपालनमा सीमित छन् । गाउँमा बसोबास गर्ने मानिसहरूको दैनिकी समयानुसार बदलिन नसकेको
भाव कवितामा व्यक्त छ । चेतनाको बिहानी ल्याउने पत्रपत्रिका र सम्पादकको भूमिकाप्रति
प्रश्न उठाउँदै सगरमाथाको समाचार बनाउन गर्व गर्ने तर सगरमाथाको काखमा रहेको गाउँको
अवस्थाप्रति पत्रपत्रिका बेखबर रहेकामा कविले असन्तुष्टि व्यक्त गरेका छन् । सम्पादकहरूले
बिकाउका मात्र समाचार सम्प्रेषण गर्न नहुने , उनीहरूको समाचारले
गाउँ र समाजका समस्या उजागर गर्नुपर्ने र समाज परिवर्तनको आधार बन्नु पर्ने भाव उक्त
कवितांशमार्फत व्यक्त भएको छ ।
निष्कर्षमा
यस कवितामा चेतनाको प्रकाश मानिने पत्रपत्रिकामा
गाउँघरका सामाजिक जनजीवनलाई समेटेर समाचार निर्माण तथा प्रकाशन हुनुपर्ने , देशको गौरव उठाउन , देशको
विकास र परिवर्तनका लागि गाउँ बदलिनु पर्छ, गाउँ परिवर्तन
हुनका लागि गाउँका मानिसको चेतना, सोचाइ र व्यवहारमा परिवर्तन
आउनुपर्छ र सगरमाथाप्रति गौरव गर्दा सगरमाथासँगै जोडिएका गाउँलाई बेवास्ता गर्न नहुने
भाव यहाँ व्यक्त भएको छ ।
ञ ) जहाँको चपरी त्यहीँको दुवाली मरेर के लानु छ ।
उत्तर :- जहाँको चपरी ........................................
लानु छ ।
प्रस्तुत
वाक्य हाम्रो कक्षा १० को नेपाली कितावको पाठ १५ मा रहेको "गाउँमाथि एउटा कविता"
शीर्षक कविताबाट व्याख्याको लागि साभार गरिएको हो । यस कविताका रचयिता दिनेश
अधिकारी(वि.सं. २०१६) हुन् । यस कवितामा कविले सुदूर गाउँ र सामाजिक जनजीवनलाई विषयवस्तु बनाएर
लेखिएको समयको गति सँगसँगै गाउँ र समाजको अवस्था बदलिनु पर्ने विचार व्यक्त गरेका छन्
। गाउँका मानिसहरू स्थानीय परिवेशमा रमाएर बसेको सन्दर्भमा माथिको वाक्य आएको हो ।
गाउँका मानिसहरू आफ्नै
परिवेशमा रमाएका, सीमित स्रोत र साधनको उपयोग आपसी मेलमिलाप
गर्ने गरेका छन् । सारा गाउँले पानी खानको लागि एउटै धारा वा इनार भए पनि उनीहरूको
कुनै गुनासो छैन । समय गतिशील एवं परिवर्तनशील भएता पनि समय र आधुनिकताको लयले गाउँलाई
छुन सकेको छैन । उनीहरूको जीवनशैली परम्परागत र निर्वाहमुखी रहेको छ । ग्रामीण
परिवेशमा आइपरेको समस्यासँग जुज्दै ग्रामीण जीवन अगाडि बढेको छ । उनीहरूमा आपसी
सहयोग सद्भाव र मेलमिलाप रहेको छ । प्राकृतिक स्रोत साधनको उपयोग सबैले मिलेर गर्ने
गर्छन् । उनीहरूको जीवन स्वार्थरहित रहेको छ । आपसी मेलमिलाप र सरसहयोग अनुकरणीय
रहेको छ । आमाहरू आफ्नो सन्तानलाई भार मान्दैनन् , काखको नानीलाई
मजेत्रोले पिठिउँमा बोकेर मेलापातका लागि तयार हुन्छन् । यो उनीहरूको दैनिकी हो । समाजमा
बसेपछि सामाजिक मेलमिलाप कायम गर्नुपर्छ भन्ने उनीहरूले व्यवहारमा उतारेका छन् । व्यक्तिगत
स्वार्थमा केन्द्रित भई तँछाडमछाडको अवस्था छैन । आपसी एकता , समझदारी र सद्भावमा प्राकृतिक स्रोतको उपयोग गर्छन् भन्ने विचार प्रतिबिम्बित
भएको छ ।
निष्कर्षमा
ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूमा एकता,
समझदारी र सदभावपूरण सम्बन्ध रहेको, स्वार्थरहित
जीवन बाँचिरहेका र परम्परागत प्रविधिको प्रयोगमा आधारित निर्वाहमुखी जीवनशैली
रहेको , जहाँ बसोबास गरेपनि आपसी एकता, मेलमिलाप र समझदारी कायम गरेर बस्नुपर्छ भन्ने उत्कृष्ट विचार यहाँ व्यक्त
भएको छ ।
कथा, निबन्ध ,
एकाङ्की, वादविवादको व्याख्या खण्ड
क) बाहिरी
शत्रुलाई उठ्न दिनाको मूल कारण घरझगडा हो ।
उत्तर :-
बाहिरी शत्रुलाई .................................... घरझगडा हो ।
प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको
पाठ दुई "घरझगडा" शीर्षक कथाबाट व्याख्याको लागि साभार गरिएको हो । यस कथाका
रचयिता बदरीनाथ भट्टराई ( वि.सं. १९६५-२०५२) हुन् । यस कथामा घरझगडाले सर्वत्र सङ्कट
पैदा गराउने , जातिको पतन गराउने, बाहिरी शत्रुले शिर उठाउने जस्ता सन्देश दिएको छ
। गजराज मिश्रको विचारमा सहमत भएपछि राजेन्द्रलक्ष्मीले गोरखा राज्यको बिरुद्ध अन्य
राज्यहरू सङ्गठित हुँदै गएको महसुस गर्ने सन्दर्भमा उक्त वाक्य आएको हो ।
राजा प्रतापसिंह शाहको निधन भएपछि राजेन्द्रलक्ष्मी
र बहादुर शाहले नाबालक राजा रणबहादुर शाहको राजगद्दी संरक्षण गर्दै एकीकरण अभियानलाई
निरन्तरता दिँदै गए । राजेन्द्रलक्ष्मी र बहादुर शाहबिच नायबी र राज्य सञ्चालनको विषयमा
मनमुटाव सुरु भई घात प्रतिघातमा बदलियो । जसले सक्छ उसले नजरबन्दमा राख्ने खेल सुरू
भयो । बहादुर शाह र राजेन्द्रलक्ष्मीबिच द्वन्द र मनमुटाव बढाउन भारदारहरूको सत्ता
स्वार्थ र एकीकरण अभियानबाट पराजित भई राज्य गुमाएका राजा रजौटाहरूले गोडमेल गर्ने
काम गरेको पाइन्छ । बहादुर शाह र राजेन्द्रलक्ष्मी आफ्नो युगका शक्तिशाली, वीर र पराक्रमी
हुँदाहुँदै पनि भारदारहरूको स्वार्थ र षड्यन्त्रलाई राम्रोसँग बुझ्न सक्दैनन् । घरपरिवारका
सदस्यहरूको आपसी फुट, कलह, वैमनस्यताले छिमेकीले शिर उठाई त्यसबाट मनग्ये फाइदा उठाउनु
स्वभाविकै मानिन्छ । पुराणमा वणिर्त यदुवंशको समाप्ति , इतिहासमा वणिर्त काठमाडौँ उपत्यकाका
मल्ल राजाहरूको शासनको अन्त्य, लङ्काका राजा रावणको सर्वनाश हुनुको प्रमुख कारण नै
घरझगडा रहेको पाइन्छ । एकतामा सबैभन्दा ठूलो बल हुन्छ । परिवारमा एकता र विश्वास कायम
हुँदा शत्रुले शिर उठाउन नसक्ने भएकाले सबैले यस विषयमा बढी नै विचार पुर्याउनु पर्ने
भाव व्यक्त भएको छ ।
निष्कर्षमा के भन्न सकिन्छ भने एकताले
शत्रुलाई परास्त गर्न सकिने , एकता नै सबैभन्दा शक्तिशाली साधन भएकाले पारिवारका सदस्य
मिलेर पारिवारिक प्रतिष्ठा र उन्नतिको बाटोमा अगाडि बढ्नुपर्छ भने विचार यहाँ व्यक्त
भएको छ ।
ख) शङ्काको
डोरीमा पिङ खेल्नु नादानी हो ।
उत्तर :- शङ्काको
....................................... नादानी हो ।
प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको
पाठ दुई "घरझगडा" शीर्षक कथाबाट व्याख्याको लागि साभार गरिएको हो । यस कथाका
रचयिता बदरीनाथ भट्टराई ( वि.सं. १९६५-२०५२) हुन् । यस कथामा घरझगडाले सर्वत्र सङ्कट
पैदा गराउने , जातिको पतन गराउने, बाहिरी शत्रुले शिर उठाउने जस्ता सन्देश दिएको छ
। अनावश्यक दाउपेच, आपसी घात प्रतिघात कै कारण लामो समय नजरबन्दमा बसेर छुटेपछि गम्भीर
आत्मसमीक्षा गर्ने क्रममा राजेन्द्रलक्ष्मीले उक्त वाक्य भनेकी हुन् ।
शङ्का
गर्ने बानीले मानिसलाई कमजोर गराउँछ । घरझगडा कथाका पात्र राजेन्द्रलक्ष्मी र बहादुर
शाह शक्तिशाली हुँदाहुँदै पनि शङ्काको कारण कमजोर भएका छन् । यस कथामा कहिले राजेन्द्रलक्ष्मी
त कहिले बहादुर शाह कमजोर बनेर नजरबन्दमा पर्नु परेको छ । शङ्का कै कारण राजेन्द्रलक्ष्मी
र बहादुर शाहमा शत्रुतापूर्ण व्यवहार, आपसी घात प्रतिघात भएको छ । शङ्का कै कारण राजगद्दी
असुरक्षित रहेको , राष्ट्र नै कमजोर भएको छ । भारदारहरूको स्वार्थ र षड्यन्त्रलाई बुझ्न
नसकेकी राजेन्द्रलक्ष्मीले आफ्नो भरपर्दो सुरक्षा कवच, विश्वासिलो हतियार बहादुर शाहलाई
आफ्नो मुठ्ठीबाट गुमाउनु पर्ने वातावरण सिर्जना भएको छ । शङ्काकै भरमा मानिससँग शत्रुता
व्यवहार गर्न नहुने , नाजायज शङ्कामा अल्जनु नहुने यस्तै कार्यले गर्दा दरबार दुई गुटमा
विभाजन भएर कमजोर हुँदै गएको महसुस राजेन्द्रलक्ष्मीलाई भएको छ । दुई पात्रबीचको शङ्का
कै कारण घरझगडा भएको दरबारमा अविश्वास र अस्थिरता
आई एकीकरण अभियानमा बाँधा परेको कुरा यहाँ देखाएको छ ।
निष्कर्षमा के भन्न सकिन्छ भने शङ्काको
भरमा मानिसको मूल्याङ्कन गर्नु हुँदैन । विवेक प्रयोग गरी सही गलत, ठीक बेठीक , असल
खराब छुट्याउने बानीको विकास गर्नुपर्छ । शङ्कालु स्वभाव मानवीय कमजोरी भएको र यसले
मानिसलाई गम्भीर सङ्कटमा धकेल्ने साथै हरेक
घरमा झगडा हुने कारण शङ्का भएकाले यसमा हामी सबै सचेत हुनुपर्ने भाव यहाँ व्यक्त भएको
छ ।
ग ) आयुर्वेद चिकित्सा आधुनिक चिकित्साभन्दा भिन्न र संसारकै सर्वप्राचीन
पद्धति हो ।
उत्तर :- आयुर्वेद चिकित्सा ----------------------------- पद्धति हो ।
प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको पाठ तीन
"चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा" शीर्षक निबन्धबाट व्याख्याको
लागि साभार गरिएको हो । यस निबन्धका लेखक यसै किताबका सम्पादकज्यूहरू हुन् ।
उहँहरूले यस खोजमूलक निबन्धमा आधुनिक चिकित्सा पद्धति र आयुर्वेद चिकित्सा पद्धति
फाइदा, महत्त्व र सीमाको बारेमा
चर्चा गरेका छन् । आयुर्वेद चिकित्साको ऐतिहासिकता बुझाउने सन्दर्भमा उक्त वाक्य
आएको हो ।
शरीरको शुद्धीकरण रोग
प्रतिरोधात्मक क्षमता बढाउन, रोग नियन्त्रण मात्र नभएर
पूर्णरूपमा निर्मूल गरिनु , उपचारका लागि धेरै उपकरण
आवश्यकता नपर्ने , औषधिको नकारात्मक प्रभाव कम हुने ,
कम खर्चिलो हुनु आदि विशेषताले आयुर्वेद चिकित्साको महत्त्व
दिनानुदिन बढ्दै गएको पाइन्छ । बिरामी र स्वास्थ्य दुवै व्यक्तिले प्रयोग गर्न
सक्ने , स्वास्थ्य व्यक्तिको पोषण तथा रोग प्रतिरोधात्मक
क्षमता विकास गर्न सहयोग पुर्याउनु यसको अर्को महत्त्वपूर्ण पक्ष हो । विश्वकै
प्राचीन उपचार पद्धति हो । यसको चर्चा अथर्ववेदमा भएको पाइन्छ । यसको विकास
इसापूर्व ३००० देखि ५०००० वर्ष अगाडि भारतवर्षबाट भएको मानिन्छ । सृष्टिकर्ता
ब्रह्मालाई आयुर्वेदका ज्ञाता एवं स्रोत मानिन्छ । धन्वन्तरीलाई यसका सुरुवात
कर्ता मानिन्छ र हिन्दुपरम्परामा कार्तिक कृष्ण त्रयोदशीका दिन धन्वन्तरी दिवस
मनाउने प्रचलन विद्यमान रहेको पाइन्छ । ब्रह्मा दक्षप्रजापति अश्विनीकुमार इन्द्र
धन्वन्तरी हुँदै आयुर्वेद सम्बन्धि ज्ञान हस्तान्तरण प्रयोगमा आएको कुरा आयुर्वेद
शास्त्रमा उल्लेख भएको पाइन्छ ।रामायणमा लक्ष्मणलाई बचाउन वैद्यले सञ्जीवनी बुटीको
प्रयोग गरेको सन्दर्भ उल्लेख भएको पाइन्छ ।
निष्कर्षमा के भन्न सकिन्छ भने आधुनिक चिकित्सा विज्ञानको थालनी
हुनुभन्दा आगाडि देखि नै आयुर्वेद चिकित्साको प्रयोग हुँदै आएको कुरा विभिन्न खोज
अनुसन्धान तथा माथि उल्लिखित प्रसंगले पुष्टि गर्दछ । आयुर्वेद चिकित्सा आधुनिक
चिकित्सा पद्धतिभन्दा भिन्न र संसारकै प्राचीन उपचार पद्धति हो ।
घ ) आयुर्वेदिक औषधीका लागि नेपाल भूस्वर्ग मानिन्छ ।
उत्तर :- आयुर्वेदिक-----------------------------------
भूस्वर्ग मानिन्छ ।
प्रस्तुत
वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको पाठ तीन "चिकित्सा विज्ञान र
आयुर्वेद चिकित्सा" शीर्षक निबन्धबाट व्याख्याको लागि साभार गरिएको हो । यस
निबन्धका लेखक यसै किताबका सम्पादकज्यूहरू हुन् । उहँहरूले यस खोजमूलक निबन्धमा
आधुनिक चिकित्सा पद्धति र आयुर्वेद चिकित्सा पद्धति फाइदा, महत्त्व र सीमाको बारेमा
चर्चा गरेका छन् ।
प्राकृतिक उपचार
पद्धति मानिने आयुर्वेदिक उपचार पद्धतिमा जडिबुटीहरूको प्रयोग गरिन्छ । नेपाल
आफैँमा जडीबुटीहरूको अजस्र भण्डार हो । हिमाल, पहाड र तराईको
भौगोलिक बनावटमा पाइने जैविक विविधताको कारण फरक फरक गुण भएका जडीबुटी पाइन्छन् ।
यहाँ पाइने प्रायः सबै जडीबुटीमा औषधीय गुण रहेको पाइन्छ । प्राचीन कालमा हाम्रा
पूर्वजहरूले जडीबुटी कै प्रयोगले रोगको निधान गरेको र त्यसको प्रभाव अहिले पनि
ग्रामीण जनजीवनमा विभिन्न प्रकारका स्वास्थ्य सम्बन्धि समस्यामा जडीबुटीको प्रयोग
गर्ने गरेको अभ्यास जीवन्त रहेको छ । विकसित देशहरूले यहाँ पाइने जडीबुटीहरूको
प्रयोग र प्रशोधन गरेर औषधि उत्पादन गरेका छन् । नेपालमा पाइने जडीबुटी औषधी
उद्योगका लागि बहुमूल्य कच्चा पदार्थ हुन् । नेपालमा घातक रोग निको पार्ने
जडीबुटीहरू पाइन्छन् । रामायणमा वर्णन भए अनुसार युद्धमा गम्भीर घाइते भएका प्राण
सङ्कटमा परेका लक्ष्मणलाई बचाउन सञ्जीवनी बुटी खोज्न हनुमानलाई नेपालकै हिमालय
क्षेत्रमा पठाइएको थियो । जडीबुटी भण्डार रहेको हिमालय पर्वतमा सञ्जीवनी पहिचान
गर्न नसकेका हनुमानले पहाड नै बोकेर लगेको प्रसङ्गले नेपाल आयुर्वेदिक औषधीका लागि
भूस्वर्ग नै मानिन्छ । नेपाली भूमिको अलग अलग हावापानी र भौगोलिक क्षेत्रमा तुलसी,
जटामसी, सर्पगन्धा, पदमचाल
, पाषणभेद, तेजपात्ता, अमला, बर्रो, हर्रो, गुर्जो, पाँचऔँले, बोझो,
भ्याकुर, सतुवा, चुत्रो,
निम, भोजपत्र, दालचीनी ,
धतुरो, पिपल, पानी अमला,
असुरो , बेल, आकाशबेली,
जाइ जस्ता औषधीय गुण भएका जडिबुटी प्रस्ताव मात्रामा पाइन्छन् ।
निष्कर्षमा के भन्न सकिन्छ भने नेपालमा बोक्रादेखि पातसम्म, फूलदेखि फलसम्म र जरादेखि बिउसम्म उपयोगी
हुने जडीबुटीको उपलब्धता रहेको पाइन्छ । यहाँ शक्तिबर्धक दुर्लभ र बहुमूल्य
यार्सागुम्बा समेत पाइन्छ । जडीबुटीहरूको अथाह स्रोत र सम्भावनाहरूका कारण नेपाल आयुर्वेदिक उपचार र औषधीका लागि भूस्वर्ग
मानिन्छ भन्ने कुरा पुष्टि हुन्छ ।
ङ ) देवकोटाको महासागर जस्तो प्रतिभा
राणाहरूको निरङ्कुशताको साँघुरो सुरुङभित्र कसरी बग्न सक्थ्यो र ?
उत्तर :- देवकोटाको महासागर----------------------------------
बग्न सक्थ्यो र ?
प्रस्तुत वाक्य
हाम्रो कक्षा १० को नेपाली किताबको लक्ष्मीप्रसाद देवकोटा शीर्षक जीवनीबाट व्याख्याको
लागि साभार गरिएको हो । यस जीवनीका रचयिता यसै किताबका सम्पादकज्यूहरू हुन् । यस जीवनीमा
देवकोटाका सिर्जनशील सक्रिय व्यक्तित्वका विभिन्न आरोह र अवरोह तथा साहित्य साधनाका
विविध पक्षको चर्चा गरिएको छ । देवकोटाले आफ्नो जागिरे जीवनभन्दा राष्ट्रिय स्वतन्त्रतालाई
सर्वोपरि ठानेर जागिरबाट राजिनामा दिएर भारत गएको प्रसङ्ग उल्लेख गर्ने क्रममा उक्त
वाक्य आएको हो ।
नेपाली
साहित्यमा विराट् प्रतिभाको उदय भइरहँदा नेपाली राजनीतिमा निरङ्कुशताको कालो बादल मडारिएको
थियो । राणाकालीन समयमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित थियो । स्रष्टा र सिर्जनाकर्मीहरू
निर्धक्क आफ्नो सिर्जना पस्कन नसक्ने अवस्था थियो । सिर्जना गर्न नपाउने प्रतिकूल समयमा
जादुमय प्रतिभा र कलम बोकेर देवकोटाको उदय भएको थियो । देवकोटाको कलम राणाकालीन निरङ्कुशताको
सुरुङभित्र सिमित भएन । मुलुकमा निरङ्कुशता विरुद्ध क्रान्तिको आगो सल्किँदै गर्दा
देवकोटाले पनि विद्रोहको बाटो रोजे । उनी प्रजातान्त्रिक आन्दोलनमा संलग्न भएकै कारण
असुरक्षाको महसुस गर्दै भारत प्रवासमा गई वनारसबाट प्रकाशित "युगवाणी" पत्रिकामार्फत
निरङ्कुशताको विरुद्ध युगले मागेको विद्रोहको विगुल फुके । उनकै संलग्नतामा काठमाडौंमा
पुस्तकालय खोलिएको र त्यसमार्फत राजनैनिक चेतना अभिवृद्धि गर्न खोज्दा उनीहरूलाई थुनामा
राखियो र यो घटना नेपालको राजनीतिक इतिहासमा लाइब्रेरी पर्वको रुपमा चर्चित रहेको छ
। यस्तो विषम राजनीतिक परिस्थिति र राणाहरूको धरपक्कडमा समेत देवकोटाले आफ्नो कलमको
बिर्को बन्द गरेनन् ।
निष्कर्षम महासागरको पानी साँघुरो सुरुङभित्र अटाउन सक्दैन
। त्यसरी नै देवकोटाको विराट् साहित्य प्रतिभा राणाहरूको निरङ्कुशता , धरपक्कड , डर
धम्कीले सङ्कुचित गराउन सकेन भन्ने भाव यहाँ व्यक्त भएको छ ।
च ) हिउँको माझमा जन्मेको हाम्रो साहित्य
कहिल्यै पनि एउटै पर्वत शृङ्खलाको भुलभुलैयामा बिलाउने छैन ।
उत्तर :- हिउँको माझमा
------------------------------------------ बिलाउने छैन ।
प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको लक्ष्मीप्रसाद
देवकोटा शीर्षक जीवनीबाट व्याख्याको लागि साभार गरिएको हो । यस जीवनीका रचयिता यसै
किताबका सम्पादकज्यूहरू हुन् । यस जीवनीमा देवकोटाका सिर्जनशील सक्रिय व्यक्तित्वका
विभिन्न आरोह र अवरोह तथा साहित्य साधनाका विविध पक्षको चर्चा गरिएको छ । वि.सं. २०१५
सालमा तत्कालीन सोभियत संघका सम्पन्न "अफ्रो एसियाली लेखक सम्मेलन" मा लिएर
अतिथि वक्ताका मन्तव्य राख्ने क्रममा देवकोटाले उक्त वाक्य व्यक्त गरेका हुन ।
नेपाली साहित्यका
महाकवि देवकोटाको प्रतिभा विश्वभर फैलिएको छ । नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीमा
पौढता र चर्चाको शिखर चुम्न सफल भएको छ । यो
नेपाली साहित्यप्रेमीका लागि गौरवको विषय हो । नेपाली भाषा साहित्यलाई विश्वमाझ चिनाएका
देवकोटाले "अफ्रो एसियाली लेखक सम्मेलन" मा आफ्नो साहित्यिक दृष्टिकोण राख्ने
सन्दर्भमा नेपाली भाषा साहित्य हिमालयको काखमा मात्र नभएर विश्व साहित्यसँग हातेमालो
गर्दै अगाडि बढ्ने विचार व्यक्त गरेका छन् । देवकोटाको विचार नेपाली साहित्य नेपाल
तथा एसियाभित्र मात्र सिमित हुन नसक्ने विचार प्रस्तुत गरेका छन् । देवकोटाको विचारमा
हिउँको माझमा जन्मेको हाम्रो साहित्य यही पर्वतीय शृङ्खलाभित्र खुम्चिन नसक्ने र यसको
सुवास विश्व साहित्यको अभिन्न अङ्गका रूपमा मगमगाउने छ । साहित्य र सिर्जना कुनै जात,
धर्म , संस्कृति र भूगोल विशेषमा मात्र सङ्कुचित नहुने र यसले सिमितताको पर्खाललाई
नाघेत विश्वव्यापी आकार लिने विचार देवकोटाको रहेको छ ।
निष्कर्षमा महासागरमा विभिन्न स्थानबाट बग्ने नदीहरूको विशाल प्रवाह पाइन्छ
त्यसै गरी नेपाली साहित्य पनि विश्व साहित्यको महाप्रवाहमा एकाकार हुने र विश्वलाई
सिञ्चित गर्ने सामर्थ्य राख्ने विचार उपरोक्त वाक्यमार्फत अभिव्यक्त भएको पाइन्छ ।
छ ) कर्तव्यको कसीमा घोटिँदा मात्र हरेक व्यक्तिको व्यक्तित्वको सफल परिक्षण
हुन्छ ।
उत्तर :- कर्तव्यको कसीमा ........................................
परिक्षण हुन्छ ।
प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली कितावको पाठ ६
"अधिकार ठूलो कि कर्तव्य ठूलो " शीर्षक वादविवादबाट व्याख्याका लागि
साभार गरिएको हो । यस वादविवादका लेखक यसै किताबका सम्पादकज्यूहरू हुन् । वक्ता
चितान्नद चौधरीले आफ्नो तर्क प्रस्तुत गर्ने क्रममा अधिकार भन्दा कर्तव्य ठूलो
भएको कुरा बताउने सन्दर्भमा उक्त वाक्य आएको हो ।
मानिस
सर्वोत्कृष्ट र चेतनशील प्राणी भएकाले उसले सदैव आफ्नो कर्तव्यप्रति सजग र सचेत
हुनुपर्छ । संसारमा कर्तव्यको कसीमा घोटिएका मानिसको जीवन सार्थक भएका अनेकौँ
दृष्टान्त पाइन्छन् । कर्तव्यको पालनाले नै मानिसलाई सफल र असफल हुने भन्ने
निर्धारण हुनु जान्छ । पिताप्रतिको कर्तव्य पालनाको सिलसिलामा दरबारिया सुखसयल
छाडेर वनबास गएका र पत्नीप्रति कर्तव्य पालनाकालागि आफ्नो युगकै विद्वान , बलशाली र त्रिलोक विजेता रावणसँग युद्ध लडेका राम मर्यादापुरुषोत्तमका
रूपमा पूजित छन् । राजसी सुखसयल त्यागेर संसारमा दु:ख के हो
र यसबाट मानव जातिले कसरी मुक्ति पाउँछ भन्ने रहस्यको खोजसम्बन्धी कर्तव्यको
पालनाले राजकुमार सिद्धार्थ गौतमबुद्ध कहलिए । सत्य, धर्म र
न्यायप्रतिको निष्ठाले युधिष्ठिर सत्यवादी भनिए । ससाना कार्यबाट प्राप्त हुने
ठूलाठूला परिणामले पनि कर्तव्यको महानता झल्काउँछ । आआफ्ना ठाउँबाट सबैले आआफ्ना
कर्तव्यको पालना गर्नाले सभ्य र सुसंस्कृत समाजको निर्माण हुन्छ । कृषकले
कर्तव्यको पालना गर्दा संसारको प्राणको रक्षा हुन्छ । शिक्षकले कर्तव्यको पालना
गर्दा समाज रूपान्तर र परिवर्तन हुन्छ । आफ्ना कर्तव्यको पालना गर्ने मानिस नै
आदर्श र महान् व्यक्तिका रूपमा चिनिएका छन् ।
निष्कर्षमा
कर्तव्यको पालनाबाट व्यक्तिको व्यक्तित्व विकास हुने , कर्तव्यको पालनाबाट नै सभ्य र सुसंस्कृत
समाज निर्माण हुने , कर्तव्यको पालनाले मानिसको जीवन नै
सार्थक र सफल हुन्छ भन्ने विचार प्रस्तुत वाक्यमा व्यक्त भएको छ ।
ज ) अधिकार नदिई कर्तव्य मात्र पूरा गर भन्नु बिना हतियार लडाइँमा पठाउनु
जस्तै हो । खुट्टामा नेल लगाएर हिँड् भन्नु जस्तै हो ।
उत्तर :- अधिकार नदिई ...........................................
भन्नु जस्तै हो ।
प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको पाठ ६
"अधिकार ठूलो कि कर्तव्य ठूलो " शीर्षक वादविवादबाट व्याख्याका लागि
साभार गरिएको हो । यस वादविवादका लेखक यसै किताबका सम्पादकज्यूहरू हुन् । विषयको
विपक्षबाट बोल्ने क्रममा वक्ता भरत भण्डारीले आफ्नो तर्क प्रस्तुत गर्ने क्रममा
कर्तव्य भन्दा अधिकार ठूलो भएको र अधिकारबिना कर्तव्यको पालना हुन नसक्ने
सन्दर्भमा उक्त वाक्य आएको हो ।
मानव जीवनका
लागि अधिकार पहिलो शर्त हो । अधिकार बिनाको कर्तव्य बैशाखीबिनाको लङ्गडो जस्तै
हुन्छ । एउटा बालक जन्मनसाथ उसलाई पोषण र सुरक्षाको अधिकार चाहिन्छ । अधिकार
जन्मसिद्ध हुन्छ । कर्तव्यको पालनाको लागि अधिकारको आवश्यक पर्छ । जसरी बिना
हतियार लडाइँमा खटाइएको योग्य दक्ष, बरिस्ठ सैनिकले आफ्नो
कौशल प्रदर्शन गरी युद्ध जित्न सक्दैन ,
हातखुट्टा बाँधेर हातखुट्टा बाँधेर पौडीबाजलाई पौडन लगाउँदा सक्दैन
असफल हुन्छ , खुट्टामा नेल ठोकेर हिँडाउन खोजियो भन्ने त्यो
मानिस हिड्न सक्दैन । त्यसैगरी अधिकारबिना मानिसले कुनै परिस्थितिमा कर्तव्य पालना
गर्न सक्दैन । कर्तव्यको पालनाका लागि अधिकारको अपरिहार्यता भएकाले नै संसारमा
अधिकार प्राप्तिका लागि ठूलाठूला आन्दोलन
सम्पन्न भएका छन् । जब जब मानिसका अधिकारहरू कुण्ठित र उल्लङ्घन हुन पुग्छन् तब तब
संसारमा अधिकार प्राप्तिका लागि घातक आन्दोलन इतिहासमा साक्षी रहेको छ ।
निष्कर्षमा
कर्तव्य भन्दा अधिकार ठूलो भएको , अधिकारको उपलब्धता बिना कर्तव्यको पालना गर्न नसकिने कर्तव्यको पालनाका
लागि अधिकार अपरिहार्य र अनिवार्य भएको कुरा यहाँ व्यक्त भएको छ ।
झ ) कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक
हुन सक्दैन ।
उत्तर : कुनै पनि मध्यस्थ
............................................. हुन सक्दैन ।
प्रस्तुत
वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको पाठ सात शत्रु शीर्षक कथाबाट व्याख्याका लागि
साभार गरिएको हो । यस कथाका रचयिता विश्वेश्वरप्रसाद कोइराला हुन् । यस कथामा कथाकारले
व्यक्ति मनको सूक्ष्म विश्लेषण गरेका छन् । जीवनको ४५ वर्षको उमेरसम्म आफ्नो जीवन शत्रुविहीन
छ भनी ठान्ने कृष्ण रायले आफूमाथि एकाएक लट्ठी प्रहार भएपछि मध्यस्थकर्ताको आफ्नो भूमिकाले
शत्रु जन्माएको र निर्वाह गर्ने व्यक्ति विवादमा संलग्न दुवै पक्षको हुन नसक्ने कुरा
बताउने क्रममा आएको हो ।
मध्यस्थको
भूमिका निर्वाह गर्ने मानिस दुवै पक्षको हुन नसक्ने मर्मस्पर्शी विचार व्यक्त गरिएको
छ । कथाका प्रमुखपात्र कृष्ण रायले धेरैको विवाद र झगडामा मध्यस्थको भूमिका निर्वाह
गर्दै निष्पक्षताको धरातलमा उभिएर फैसला पनि सुनाए । उनको फैसला स्वीकारे पनि विवादमा
हार्ने पक्ष उनीसँग असन्तुष्ट रहने तिनै असन्तुष्ट व्यक्तिमा शत्रुताको भाव पैदा भएको
हुन सक्ने तथ्यलाई कृष्ण रायले प्रस्तुत वाक्य मार्फत स्वीकार गरेका छन् । मध्यस्थको
भूमिकामा रहेक व्यक्ति तटस्थ हुन्छ । उसले व्यक्ति विशेषको पक्ष लिएको हुँदैन तर आफ्नो
पक्षमा निर्णय नभएको व्यक्ति न्यायकर्तासँग सन्तुष्ट रहन सक्दैन । सबै मानिस आआफ्ना
तर्क , विचार र स्वार्थमा अडान राख्छन् र आफ्नो कमजोरी नदेख्ने वा महसुस नगर्ने स्वभावका
हुन्छन् । जीवनभर कसैको पक्ष नलिएका , तटस्थको भूमिका निर्वाह गरेका, न्यायको पक्षमा
दृढतापूर्वक उभिने कृष्ण रायले आफूमाथि भएको लट्ठी प्रहारको सम्भावित शत्रु खोज्दै
जाँदा आफ्नो तटस्थ भूमिकाले नै शत्रु जन्माएको ठम्याएका छन् । आफ्नो विगतको तटस्थता
र निष्पक्षताको भूमिकाले नै शत्रु कमाएको निष्कर्ष कृष्ण रायको रहेको छ ।
निष्कर्षमा
झगडा वा विवादमा संलग्न दुवै पक्षले मध्यस्थको निर्णयको निर्णयमा सन्तुष्ट हुन सक्दैनन्
। एउटाको मनमा अव्यक्त रूपमा असन्तुष्टिको बिजारोपण भएको हुन्छ । मनमा असन्तुष्टि राक्ने
पक्षले न्याय दिने व्यक्तिसँग चित्त दुखाउँछ र स्वत शत्रु बन्ने भाव व्यक्त भएको छ
।
ञ ) कस्तो अचम्म , निर्दोष कुरामा पनि
विषालु साँप जस्तो वैरी बनाउने साधन लुकिरहेको देखिन्छ ।
उत्तर :- कस्तो अचम्म
............................................... लुकिरहेको देखिन्छ ।
प्रस्तुत वाक्य
हाम्रो कक्षा १० को नेपाली किताबको पाठ सात शत्रु शीर्षक कथाबाट व्याख्याको लागि साभार गरिएको हो । यस कथाका
लेखक विश्वेश्वरप्रसाद कोइराला हुन् । व्यक्ति मनस्थिति र हीन मनोग्रन्थीको सक्रियताले
मानव मनमा सिर्जना हुने मानसिक कुण्ठा र प्रभावलाई कथामा कृष्ण रायको मनोदशामार्फत
विश्लेषण गरिएको छ । आफूलाई सधैँ तटस्थताको भूमिका निर्वाह गरेका कृष्ण रायले तटस्थता
पनि शत्रु बनाउने साधन भएको विश्लेषण गर्ने सन्दर्भमा आएको हो ।
शत्रु विहीन
जीवन बाँच्ने सङ्कल्प बोकेका कृष्ण रायमाथि अनायासमै लट्ठी प्रहार भएको घटना पछि उनले
विगतका कार्य स्मरण गर्दै निर्दोष कुरामा पनि विषालु साँप जस्तो वैरी बनाउने माध्यम
लुकेको हुने निष्कर्ष निकालेका छन् । कथाका प्रमुख पात्र कृष्ण रायले जीवनभर सबैलाई
सकेको सहयोग गरे । जानेरै कसैलाई दु:ख लाग्ने , चोट पुर्याउने कार्य गरेनन् सधैँ गाउँलेको
सहारा बनेर उभिए । गाउँमा उठेका विवाद र झगडामा मध्यस्थको भूमिका निर्वाह गरे । उनले
मध्यस्थ बन्नु, मेलमिलाप गर्नु, न्यायको पक्षमा उभिनु निर्दोष कार्य थियो । तर यही
निर्दोष कार्यभित्र पनि विषालु सर्पजस्तो वैरी बनाउने माध्यम लुकेको कुरा उनले आफूलाई
लट्ठी प्रहार भएपछि अनुभव गरे । उनले सम्पादन गरेका कार्य निर्दोष र पक्षपातरहित भएता
पनि कुन घटनामा कसले उनीसँग चित्त दुखायो यो कुरा थाहा पाउन सकेनन् । प्रत्येक मानिसले
आफूले गरेका र उचित ठानेका कार्यबाट समेत कोही न कोही असन्तुष्टि रहने र त्यही पात्र
कालान्तरमा शत्रु बनेर निस्कन सक्ने विचार यहा स्पष्ट गरिएको छ।
निष्कर्षमा
निर्दोष कुरामा पनि खोट हुने , निर्दोष मानिसका कार्यसमेत शत्रु निर्माण गर्ने कारक
हुन सक्छ । हामीले गर्ने कुन कार्यले कहिले शत्रु जन्माएको हुन्छन् र त्यो शत्रुले
समयको अन्तरालमा मौका छोपी आक्रमण गर्न सक्ने भाव यहाँ व्यक्त भएको छ ।
ट ) आत्मनिर्भरताको लक्ष्य स्वरोजगार बन्नु हो ।
उत्तर :- आत्मनिर्भरता ...............................................
बन्नु हो ।
प्रस्तुत
वाक्य हाम्रो कक्षा दसको नेपाली किताबको "मेरो देशको शिक्षा" शीर्षक
निबन्धबाट व्याख्याको लागि साभार गरिएको हो । यस निबन्धको लेखक यसै किताबका सम्पादकज्यूहरू
हुन् । यस निबन्धमा प्राचीन कालदेखि वर्तमान कालसम्मको शिक्षाको चर्चा गर्दै अबको शिक्षाले
परम्परागत र आधुनिक प्रविधिलाई सँगसँगै अगाडि लैजानु सान्दर्भिक हुने विचार उठाएको
छ । शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउने र आत्मनिर्भरताको लक्ष्य स्वरोजगार बन्नु
हो भन्ने सन्दर्भमा उक्त वाक्य आएको हो ।
आत्मनिर्भरताको लक्ष्य
वा उद्देश्य स्वरोजगार बन्नु हो । अबको शिक्षाले सीप विकास र व्यावसायिकतर्फ
केन्द्रित हुनुपर्छ । व्यवसायमूलक शिक्षाका लागि हाम्रो परम्परागत शिक्षा र आधुनिक
प्रविधिलाई सँगसँगै अगाडि बढाउनुपर्छ । विद्यालय तहदेखि नै व्यावसायिक शिक्षा प्रदान
गरिनुपर्छ । कृषिमा आधुनिक यन्त्र तथा उपकरण प्रयोग सम्बन्धि व्यावसायिक शिक्षा
गरेका विद्यार्थीले व्यवसाय सञ्चालन गर्न सक्षम हुन्छन् र व्यवसाय सञ्चालन गरेका विद्यार्थीहरू
आत्मनिर्भर हुन उत्प्रेरित हुन्छन् । शिक्षाले मानिसलाई आत्मनिर्भर बनाउँछ र आत्मनिर्भर
मानिस स्वरोजगार हुन्छन् । भूगोल र पर्यावरण अनुकूलको शिक्षाले मानिसलाई उसको सीप र
दक्षताअनुसारको व्यवसाय सञ्चालन गर्ने अवसर प्राप्त गर्छ ।यसरी आफ्नै वातावरणमा
मानिसले स्वरोजगार बन्ने अवसर प्राप्त गर्नसक्छ ।
निष्कर्षमा
शिक्षाले मानिसलाई व्यवसाय उन्मुख बनाउँछ । व्यवसायमा संलग्न भएको मानिस
आत्मनिर्भर र स्वरोजगार हुन्छ उसले रोजगारीका लागि कसैप्रति आश्रित हुनु पर्दैन
भन्ने उत्कृष्ट विचार व्यक्त भएको छ । मानिसलाई आत्मनिर्भर र स्वरोजगार बनाउन परम्परागत
सिप र आधुनिक प्रविधिलाई एकैसाथ अगाडि बढाउनुपर्छ भन्ने कुरा यहाँ व्यक्त भएको छ ।
ठ ) शिक्षित व्यक्तिमा शिष्टाचार , प्रतिबद्धता , सांस्कृतिक सद्भाव , सामाजिक सद्व्यवहारका क्षमता
हुनु जरुरी हुन्छ ।
उत्तर :- शिक्षित
.................................................................... जरुरी हुन्छ ।
प्रस्तुत
वाक्य हाम्रो कक्षा दसको नेपाली किताबको "मेरो देशको शिक्षा" शीर्षक
निबन्धबाट व्याख्याको लागि साभार गरिएको हो । यस निबन्धको लेखक यसै किताबका सम्पादकज्यूहरू
हुन् ।
यस निबन्धमा प्राचीन कालदेखि वर्तमान कालसम्मको शिक्षाको चर्चा गर्दै अबको शिक्षाले
परम्परागत र आधुनिक प्रविधिलाई सँगसँगै अगाडि लैजानु सान्दर्भिक हुने विचार उठाएको
छ । शिक्षित व्यक्तिमा शिष्टचार , प्रतिबद्धता , सांस्कृतिक सद्भाव र सामाजिक
सद्व्यवहारका क्षमता हुनुपर्छ भन्ने सन्दर्भमा आएको हो ।
शिक्षित व्यक्ति
शिष्ट , समझदार , प्रतिबद्ध , सांस्कृतिक तथा सामाजिक रूपमा सद्भावपूर्ण हुनुपर्छ । शिक्षाले मानिसमा सकारात्मक
गुण र व्यवहार विकास गराउनुपर्छ । पढेलेखेका शिक्षित व्यक्ति शिष्ट मर्यादित एवं
सद्भावयुक्त हुनुपर्छ । शिक्षित व्यक्ति आफ्नो लक्ष्य वा उद्देश्य , आफ्नो विचारमा दृढ तथा प्रतिबद्ध हुनुपर्छ । शिक्षित व्यक्तिमा बलियो
आत्मविश्वास , दृढता र प्रतिबद्धता हुनुपर्छ । पढेलेखेको मानिस समाजका अमूल्य सम्पत्ति हुन् ।
उनीहरूको भूमिका सामाजिक तथा सांस्कृतिक सद्भाव बढाउने कार्यमा सकारात्मक हुनुपर्छ
। शिक्षाले मानिसलाई सभ्य र सुसंस्कृत बनाउँछ । सहक वा असहज परिस्थितिमा समेत अनुकूलित
हुने सिप र क्षमता शिक्षित मानिसमा हुनुपर्छ । उनीहरूले सांस्कृतिक सद्भाव कायमगरी सामाजिक
सद्भाव र एकता कायम गराउने युगीन अभिभारा पूरा गराउने कार्य गर्ने सामर्थ्य
राख्नुपर्छ भन्ने विचार प्रस्तुत वाक्यमा आएको छ । नेपाली समाज बहुभाषिक , बहुसांस्कृतिक , बहुधार्मिक र बहुजातीय भएकाले सामाजिक
सद्भाव र सहिष्णुता कायम राख्नु महत्त्वपूर्ण पक्ष हो र यस कार्यमा शिक्षित
व्यक्तिको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ।
निष्कर्षमा
शिक्षा आर्जन गर्नु भनेको किताबको पाना रट्नु वा विषयवस्तु ग्रहण गर्नु मात्र नभएर पढेको कुरा व्यवहारमा उतार्न
सक्षम हुनु हो भन्ने विचार व्यक्त गरिएको छ । शिक्षित व्यक्तिमा शिष्ट , नम्र, भद्रता,
विनयशीलता जस्ता गुण विकास हुनुपर्छ । शिक्षित व्यक्ति आफ्नो लक्ष्य
वा उद्देश्यबाट विचलित हुनु हुँदैन , आफ्नो कार्यमा प्रतिबद्ध
हुनुपर्छ , उनीहरूले सामाजिक तथा सांस्कृतिक सद्भाव कायम गराउन महत्त्वपूर्ण भूमिका निर्वाह
गर्नुपर्छ बन्ने भाव उक्त वाक्यमा व्यक्त भएको छ ।
ड ) हरेक बालबालिकामा विशिष्ट सिर्जना शक्ति र प्रतिभा हुन्छ , उचित अवसर र लगनशीलता भए ऊ एउटा कलाकार
बन्न सक्छ , जीवनलाई सार्थक बनाउन सक्छ र संसारलाई ज्योति
छर्न सक्छ ।
उत्तर :- हरेक बालबालिकामा ......................................................................
छर्न सक्छ ।
प्रस्तुत
वाक्य हाम्रो कक्षा १० को नेपाली कितावको पाठ १२" पाब्लो पिकासो" जीवनी शीर्षकबाट
व्याख्याका लागि साभार गरिएको हो । यस जीवनीका लेखक यसै किताबका सम्पादकज्यूहरू हुन्
। यस जीवनीमा कलाका पारखी चित्रकलाका माध्यमबाट चर्चाको शिखरमा पुग्न सफल पाब्लो पिकासोको
कलायात्रा तथा आरोह अवरोहको चर्चा गरिएको छ
।पिकासोको जीवनीबाट प्राप्त हुने प्रेरणाका सन्दर्भमा उक्त वाक्य आएको हो ।
पिकासो मानवीय
संवेदनाको युगीन लय समातेर कलाकृति सिर्जना गर्ने महान् तथा सर्वाधिक प्रतिभाशाली
कलाकार हुन् । घरायसी पारिवारिक वातावरणबाट नै पिकासोको जन्मजात कलाकारिताले टुसाउने
, हुर्कने र मौलाउने अवसर प्राप्त गर्यो । पिकासोले चित्रकला
सम्बन्धि प्रारम्भिक तालिम घरबाट नै पाएका हुन् । घर नै बालकको पहिलो पाठशाला हो भन्ने
भनाइ पिकासोको कलाकारिता यात्राले चरितार्थ गरेको पाइन्छ । कलाका कुशल शिक्षक पिकासोका
पिता जोसो रुइजबाट नै पिकासोले चित्रकलामा लाग्ने प्रेरणा प्राप्त गरे भने उनका चित्र
अनमोल र महँगा चित्रका रूपमा बेजोड मानिन्छ । हरेक बालबालिकामा सिर्जनशील क्षमता र
विशिष्ट प्रतिभा हुन्छ । बालबालिकालाई उचित अवसर प्रदान गरिएमा र बालबालिकाले पाएको
अवसर लगनशील भएर प्रयोग गरेमा उनीहरूमा अन्तर्निहित प्रतिभा र सिर्जनाशक्ति प्रष्फूटन
हुन्छ । जसरी पिकासोले प्राप्त गरेको अवसरलाई प्रयोग गरे, लगनशील
भएर आफूभित्रको कलाकार प्रतिभालाई गोडमेल गरेर महान कलाकारका रूपमा स्थापित हुन सफल
भए त्यसै गरी हरेक बालबालिकाले आफूले प्राप्त गरेको अवसरलाई लगनशील भई प्रयोग गरेर
आफ्नो जीवनलाई सार्थक र सफल बनाउन सक्छन् ।अरूबाट प्रेरणा प्राप्त गरी आफ्नो सिप,
कला र क्षमतालाई बाहिर ल्याउने व्यक्तिले नै संसारलाई उज्यालो
ज्योति प्रदान गर्न सक्छन् ।
निष्कर्षमा
बालबालिकाको व्यक्तित्व विकासका लागि उचित अवसर प्रदान गर्नुपर्ने र आफूले पाएको अवसरलाई
सदुपयोग गर्ने बालबालिकाले आफ्नो क्षमता र प्रतिभा प्रष्फूटन गराइ समाजमा उज्यालो
छर्न सक्ने भाव व्यक्त भएको छ ।
ढ ) बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ ।
उत्तर :- बन्दुकभन्दा ...........................................................
बलियो हुन्छ ।
प्रस्तुत
वाक्य हाम्रो कक्षा १० को नेपाली कितावको पाठ १२" पाब्लो पिकासो" जीवनी शीर्षकबाट
व्याख्याका लागि साभार गरिएको हो । यस जीवनीका लेखक यसै किताबका सम्पादकज्यूहरू हुन्
। यस जीवनीमा कलाका पारखी चित्रकलाका माध्यमबाट चर्चाको शिखरमा पुग्न सफल पाब्लो पिकासोको
कलायात्रा तथा आरोह अवरोहको चर्चा गरिएको छ
। पिकासोले आफ्नो चित्रकलाको माध्यमबाट युद्ध विरोधी भाव व्यक्त गरेको सन्दर्भमा उक्त
वाक्य आएको हो ।
आफ्नो सम्पूर्ण जीवन चित्रकलामा
समर्पित गरेका पिकासोका चित्रहरू अनमोल रहेका छन् । उनका चित्रमा मानवीय संवेदनाका
भाव व्यक्त भएको पाइन्छ । पिकासोद्वारा सिर्जित 'द गुयर्निका' नामक चित्रमा हिटलरको
हमलामा देखिएको क्रुरता, अमानवीयताको पराकाष्ठालाई जीवन्त चित्रण
गरेको पाइन्छ ।गुयर्निकाको बास्क सहरमा नाजीहरूले गरेको विनाशकारी आक्रमणपछिको वातावरणलाई
चित्रण गरेको पाइन्छ । यस चित्रलाई महान् युद्ध विरोधी चित्र मानिएको छ । आम मानिसमा
रहेको शान्तिप्रतिको चाहना र युद्धको सन्त्रास चित्रण गरी निर्माण गरिएको यस चित्रले बन्दुकभन्दा कलम र कुची
शक्तिशाली हुन्छ भन्ने सन्देश दिएको मानिन्छ । उनले युद्धलाई कलामार्फत विरोध
गर्दै खरो रूपमा व्याङ्ग्य गरिएको पाइन्छ ।
निष्कर्षमा
विनाश निम्त्याउने , आतङ्क र त्रासको
वातावरण सिर्जना गर्ने हानीकारक युद्धभन्दा कला र सिर्जनाका माध्यमबाट सबैको मन जित्न
सकिन्छ भन्ने भाव पाइन्छ । विनाश र भयको प्रतीक हिंसात्मक बन्दुकभन्दा शान्ति ,
सिर्जना र साधनाको प्रतीक कलम र कुची शक्तिशाली हुन्छ भन्ने कुरा यहाँ
व्यक्त भएको छ ।
ण ) उनको देहावसानले न्यायको बत्ती निभ्यो , अनाथ अशक्तको आशास्तम्भ ढल्यो , गाउँका
धन्वन्तरि अस्ताए ।
उत्तर :- उनको देहावसान
............................................................. अस्ताए ।
प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको कर्तव्य शीर्षक
कथाबाट व्याख्याको लागि साभार गरिएको हो ।यस कथाका रचयिता गुरुप्रसाद मैनाली हुन् ।
प्रथम आधुनिक कथाकार गुरुप्रसाद मैनालीका कथामा नेपाली समाजको जीवन्त चित्रण पाइन्छ
। पारिवारिक घटना तथा सामाजिक समस्यालाई विषयवस्तुका रूपमा प्रस्तुत गरिएको यस कथामा
कर्तव्यको पालना र भ्रातृत्वप्रेमको उत्कृष्ट सन्देश दिइएको छ । कथाका प्रमुख पात्र
मुरलीधरका पिता ग्रामपिताका रूपमा सम्मानित पण्डित गङ्गाधरको मृत्युमा सारा गाउँ शोकमग्न
भएको , गाउँले सहयोगी अभिभावक गुमाएको सन्दर्भमा माथिको वाक्य आएको हो ।
गङ्गाधर
गाउँका तालुकदार भए पनि मुखिया बा का रूपमा परिचित थिए । उनमा आफ्नो सम्पन्नता , वैभव
र सम्मानप्रति कुनै अभिमान थिएन । आफ्नो विपूल सम्पत्ति सारा जनताको थाती हो भन्थे
। उनी बाँचुन्जेल कोही अन्यायमा परेनन् , कोही भोकै मर्नु परेन । सुत्केरी भोकै परेमा
वा कसैको चुलो नबलेमा घरमै बोलाएर चाहिए जति अन्नपैसा दिएर पठाउनु उनको गुण थियोे ।
उनी गाउँका बालबालिका , वृद्धवृद्धा सबैका प्रिय थिए । उनको निधनमा भोकानाङ्गा र दु:खी
दरिद्रहरूले बाबू मरेको महसुस गरे भने बुढाबुढी र असहायले आफ्नो टेक्ने लौरो भाँचिएको
ठाने । अनाथ अशक्तको आशास्तम्भ ढलेको अनुभूति गरियो । न्यायमूर्ति गङ्गाधरको निधनले न्यायको बत्ती निभेको
महसुस भयो । गङ्गाधर सारा गाउँको समस्याको समाधान थिए । उनको निधनमा दस गाउँका मानिस
दु:खी भए । गाउँदेखि खोलासम्म मलामीको लर्को लाग्यो ।
निष्कर्षमा बाँचुञ्जेल सारा दु:खी दरिद्रहरूको सहयोग गरेका महान्
आत्माको मृत्युले सबैलाई अपूरणीय क्षति पुगेको, सबैको आफ्नो भरोसा गुमाएको भाव यहाँ
व्यक्त गरिएको छ । कर्मले स्थापित मानिस बाँचुञ्जेल त सबैबाट सम्मानित हुन्छन् नै मरेपछि
पनि सबैले स्मरण गरिरहन्छन् त्यसैले राम्रो कर्मले मानिसलाई सबैको प्यारो आदरणीय बनाउने
र सम्मान दिलाउने भाव यहाँ व्यक्त भएको छ ।
त ) कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ , मानिस चाहिँ ज्ञानवान् हुनाले
बखतमौका विचार गरेर आफैँ पनि जानुपर्छ ।
उत्तर :- कुकुर अज्ञानी
................................................................ आफैँ पनि जानुपर्छ
।
प्रस्तुत वाक्य
हाम्रो कक्षा १० को नेपाली किताबको कर्तव्य शीर्षक कथाबाट व्याख्याको लागि साभार गरिएको
हो ।यस कथाका रचयिता गुरुप्रसाद मैनाली हुन् । प्रथम आधुनिक कथाकार गुरुप्रसाद मैनालीका
कथामा नेपाली समाजको जीवन्त चित्रण पाइन्छ । पारिवारिक घटना तथा सामाजिक समस्यालाई
विषयवस्तुका रूपमा प्रस्तुत गरिएको यस कथामा कर्तव्यको पालना र भ्रातृत्वप्रेमको उत्कृष्ट
सन्देश दिइएको छ । कथाका प्रमुख पात्र मुरलीधरले आफ्नी श्रीमती कमलालाई कुलको मर्यादा
तथा कर्तव्य पालना सम्झाउने क्रममा उक्त वाक्य आएको हो ।
मानिसले
पशुवत् व्यवहार गर्नु नहुने, बखतमौका विचार गरी आफ्नो भूमिका निर्वाह गर्नुपर्ने विचार
व्यक्त गरिएको छ । कथाका प्रमुख पात्र मुरलीधर र उनका सहोदर भाइ श्रीधर बिच जिउनी खेतको
विषयलाई लिएर बोलचाल बन्द भई पानी बाराबारको अवस्था सिर्जना भयो । अभिमान , अहङ्कार
र प्रतिशोधका कारण श्रीधरले आफ्नो एकमात्र छोरो शशिधरको विवाहमा दाजु मुरलीधरलाई बोलाउन
आवश्यक ठानेनन् ।सारा इष्टमित्रको उपस्थितिमा सम्पन्न हुने विवाहमा मुरलीधरलाई निम्तो
दिएनन् । आफ्नै घरको झ्यालबाट दुलाहा अन्माएर
बरियाँती जानेको अवलोकन गरिरहेका मुरलीधरले जन्तीमा अल्लारे ठिटो मात्र देखे । साथै
उनले दुलाहाको बाबू फलैँचामा पल्टिरहेको दृश्य समेत देखे । मुरलीधरले दुलहीको घरमा
उपस्थित भई कुल परम्पराअनुसार विवाह सम्पन्न गराउने भरपर्दो पात्र नदेखेपछि विना निम्तो
नै जन्त जाने निर्णय गरे । श्रीमती कमलाको नबोलाइकन त कुकुर समेत नजाओस् भन्ने वाक्यसहितको
असन्तुष्टिलाई सम्बोधन गर्दै मुरलीधरले कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जानु
स्वभाविक हो तर मानिस ज्ञानवान् , चेतनशील र विवेकशील प्राणी भएकाले बखतमौका विचार
गरेर कहाँ जाने र कहाँ नजाने भन्ने निर्णय गर्नु पर्ने विचार व्यक्त गरेका छन् । पुर्खाको
गौरव इज्जत र प्रतिष्ठा जोगाउन कर्तव्य पालन गर्न मानिस चुक्न नहुने आदर्श विचार प्रस्तुत
वाक्यमा व्यक्त भएको छ ।
निष्कर्षमा मानिसले समय परिस्थितिलाई मूल्याङ्कन गरेर निर्णय
लिनुपर्छ । पारिवारिक प्रतिष्ठा , कुलको मर्यादाको रक्षार्थ सबै खालका वैमनस्यता त्यागेर
अगाडि बढ्न सक्नुपर्छ । कर्तव्य पालनाले मानिसको मर्यादा , गौरव र बडप्पन वृद्धि हुन्छ
। नाता सम्बन्ध बलियो बनाउन सबैखाले आग्रह पूर्वाग्रह त्याग गर्न सक्नुपर्ने , सकारात्मक
सोच र क्षमाशील व्यवहारले नातासम्बन्ध बलियो बनाउन सकिने भएकाले मानिसले परिस्थितिलाई
मूल्याङ्कन गरी आफ्ना पाइला अगाडि बढाउनुपर्ने भाव उक्त वाक्यमा व्यक्त भएको छ ।
थ ) सबै पर्खाइको पछिल्तिर मेरा सयौँ सपना पर्खिरहेछन् , इच्छा र आकाङ्क्षा पर्खिरहेछन्
।
उत्तर :- सबै
......................................................................... पर्खिरहेछन्
।
प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको पाठ १३
"पख्नोस" निबन्ध शीर्षकबाट व्याख्याको लागि साभार गरिएको हो । यस निबन्धको
लेखक प्रसिद्ध हास्यव्यङ्ग्य भैरव अर्याल (वि.सं. १९९३-२०३३) हुन् । व्यक्ति , परिवार,
समाज तथा राष्ट्रिय स्तरमा देखापरेका सामाजिक , आर्थिक , धार्मिक , राजनैतिक आदि क्षेत्रमा
देखापरेका मानवीय विकृति र विसङ्गतिप्रति चोटिलो प्रहार गरेको पाइन्छ । कुनै काम लिन
आएका मानिसलाई पर्खाउने प्रवृत्तिले व्यक्ति , परिवार , समाज र राष्ट्रको भविष्य अन्यौलमा
पर्दै गएको विचार व्यक्त गर्ने सन्दर्भमा उक्त वाक्य आएको हो ।
पर्खने र
पर्खाउने संस्कृतिले एउटा व्यक्तिको सपना , इच्छा र आकाङ्क्षालाई पर्खाएको र भविष्य
अन्यौलमा पार्ने गरेको भाव व्यक्त भएको छ । पर्खाउने व्यवहारले पर्खने र पर्खाउने दुवैलाई
जुम्सो बनाउने तर्क निबन्धकारको रहेको छ । केही गरौँ , केही बनूँ र केही दिऊँ भन्ने
सोच राख्ने मानिसले जताततै पर्खनु पर्छ र उनीहरूलाई विना कारण पर्खाइन्छ । जुनसुकै
क्षेत्रमा समयमै काम गर्नुको सट्टा पर्खाउने र झुलाउने मौलाउँदै गएको छ । अनावश्यक
रूपमा पर्खाउने , दु: ख दिने र समयमा काम नगर्ने प्रवृत्ति बढ्दै गएकाले सबैलाई दु:
खकष्ट दिएको, निष्क्रिय बनाएको, व्यक्तिका सपना, इच्छा र आकाङ्क्षा पूरा हुन नसकेको
विचार उपरोक्त वाक्यमार्फत व्यक्त गरिएको छ ।
निष्कर्षमा दिइएको निबन्धको अंशमा पर्खाउने र झुलाउने मानवीय
कमजोरीका कारण व्यक्तिका सपना, इच्छा र आकाङ्क्षा पूरा हुन नसकेर पर्खिरहेछन् भन्ने
भाव यहाँ व्यक्त भएको छ ।
द ) हामी दुवै चाहन्छौँ एउटा त्यस्तो दुनियाँ सिर्जना होस् जहाँ कसैले कसैलाई कुराले
मात्र टार्न नसकोस् ।
उत्तर :- हामी दुवै
....................................................................... टार्न नसकोस्
।
प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको पाठ १२
"पख्नोस" निबन्ध शीर्षकबाट व्याख्याको लागि साभार गरिएको हो । यस निबन्धको
लेखक प्रसिद्ध हास्यव्यङ्ग्य भैरव अर्याल (वि.सं. १९९३-२०३३) हुन् । व्यक्ति , परिवार,
समाज तथा राष्ट्रिय स्तरमा देखापरेका सामाजिक , आर्थिक , धार्मिक , राजनैतिक आदि क्षेत्रमा
देखापरेका मानवीय विकृति र विसङ्गतिप्रति चोटिलो प्रहार गरेको पाइन्छ । समयमै कार्य
सम्पादन नगर्ने, अरूलाई पख्नोसको लयमा पर्खाउने प्रवृत्तिबाट वाक्क भएर कुराले टार्ने
परिपाटी बदल्ने नयाँ संस्कार विकसित हुनुपर्छ भन्ने चाहना व्यक्त गर्ने सन्दर्भमा उक्त
वाक्य आएको हो ।
माथिको
वाक्यमा लेखकले अब हामी मिलेर नयाँ दुनियाँ निर्माण गरौँ , जहाँ कसैले कसैलाई पर्खनु
नपरोस , कुराले टार्न नसकोस् , कसैले कसैलाई विनासित्तिमा दु:ख नदिओस् भन्ने विचार
सम्प्रेषण भएको पाइन्छ । पर्खाउने परिपाटी वा व्यवहारले सबैलाई आक्रान्त भएकप, सबैको
समय बर्बाद भएको , सबैलाई क्रमशः जुम्सो बनाएको भन्दै अब कसैले कसैलाई कुराले टार्न
नसक्ने संसार निर्माणको आवश्यकता रहेको तथ्य निबन्धकारले औँल्याएका छन् । आआफ्नो जिम्मेवारीप्रति
हरेक व्यक्ति सजग र सचेत हुनुपर्छ , काममा ढिलासुस्ती हुनु हुँदैन , काम गर्नुको सट्टा
कुराले टार्नेहरू कार्वाहीको भागीदार बनाइनुपर्छ भन्ने उत्कृष्ट विचार प्रस्तुत वाक्यमा
व्यक्त भएको छ । पर्खाउने संस्कारले घर, परिवार, कार्यालय , विद्यालय , अस्पताल कुनै
क्षेत्र अछुतो राखेको छैन । पर्खाउने प्रवृत्ति उन्नति र प्रगतिको बाधक भएकाले यस प्रवृत्तिको
अन्त्य गर्न अब नयाँ दुनियाँका वा संसारको निर्माण गर्नु पर्ने विचार अगाडि सारिएको
छ ।
निष्कर्षमा शिष्ट , सरल र मर्यादित आषाको प्रयोग गरी लेखिएको
यस निबन्धमा पर्खाउने संस्कृतिको विकल्पमा कुराले टार्न नसक्ने र नपाउने संस्कार विकसित
हुनुपर्ने विचार व्यक्त गरिएको छ । पर्खाउने प्रवृत्तिले सिङ्गो राष्ट्रलाई प्रगति
र उन्नतिमा बाधा पार्ने भएकाले अब ढुलो नगरी सबै मिलेर नयाँ दुनियाँ , संसार निर्माण
गर्नु पर्ने जहाँ कुराले टार्ने छुट कसैले पाउनु हुँदैन र कसैलाई दिनु हुँदैन भन्ने
भाव यहाँ व्यक्त भएको छ ।
ध ) चुम्बकले फलामलाई तान्छ तर सुनलाई खिच्न सक्दैन ।
उत्तर :- चुम्बकले ...............................................................
सक्दैन ।
प्रस्तुत
वाक्य हाम्रो कक्षा १० को नेपालीको पाठ १४ घरको माया शीर्षक एकाङ्कीबाट व्याख्याको
लागि साभार गरिएको हो । यस एकाङ्कीका लेखक भीमनिधि तिवारी ( वि.सं. १९६८-२०३०) हुन् । सामाजिक विषयवस्तुमा आधारित "घरको माया" एकाङ्कीमा
देशप्रेमको भावना सम्प्रेषण गरिएको छ । अभाव , गरिबी र बेरोजगारीले
कष्टकर बनेको जीवनबाट विचलित भई विदेशी भूमिमा भविष्यको खोजी गरिरहेका कारण गाउँ
नफर्कने निष्कर्षमा पुगेको लालको निर्णयका सन्दर्भमा उक्त वाक्य आएको हो ।
चुम्बकले फलामलाई आकर्षण
गर्ने , आफूतिर खिच्ने प्राकृतिक गुणको दृष्टान्त उल्लेख
गरिएको छ । फलाममा चुम्बकीय गुण हुने भएकाले चुम्बकतर्फ आकर्षित हुन्छ तर चुम्बकीय
गुण नहुनाले सुन चुम्बकतिर आकर्षित हुँदैन सुनलाई चुम्बकले खिच्न सक्दैन । गाउँको
अभाव, गरिबी र कष्टकर जीवनबाट विचलित भई देश पसेका दुई मीत लालबहादुर
र जमानसिंह कुनै हालतमा गाउँ फर्कन चाहँदैनन् । तर अचानक भेटिएका कान्छो र जमानसिंहकी प्रेमिका बतासेको आग्रहले
, अनुरोधले जमानसिंहको विचारमा परिवर्तन आयो र उसले आफ्नो
मीत लालबहादुरलाई समेत घर फर्कने प्रस्ताव गर्यो । लालको विचारमा आफ्नी प्रेमिका बतासेको
माया र ममताले गर्दा आफ्नो मीत जमानसिंह गाउँ फर्कन तयार भएको भए पनि आफू किमार्थ
गाउँ नफर्कने भाव माथिको वाक्यमा व्यक्त भएको छ । लालले आफ्नो देश नफर्कने विचारलाई
सुन जस्तै मूल्यवान र घर फर्कने आफ्नै माटोमा पौरख गर्ने विचार राख्ने बतासे,
कान्छो र जमानसिंहको विचारलाई फलाम जस्तै सस्तो भएको भ्रमपूर्ण अभिमत
उक्त वाक्यमा व्यक्त भएको छ ।
निष्कर्षमा
एकाङ्कीको पात्र लालबहादुरमा गाउँको दु:ख र कष्टपूर्ण जीवनबाट वितृष्णा पैदा भएकाले विदेशमै बसेर धेरै कमाउने र सुखी
जीवन बिताउने लालसा रहेकोले घर फर्कन चाहँदैन । उसले बतासे, कान्छो,
जमानसिंहको घर फर्केर स्वदेशमै पसिना बगाउने , एक गेडो मकैमात्र उब्जाउनु परे पनि आफ्नै माटामा उब्जाउने विचार तुच्छ ठानेको
छ र विदेशी भूमिमा दु:ख गरेर सुखको खोजी गर्ने विचारलाई सुन जस्तै
मूल्यवान ठान्दै गाउँ कदाचित् नफर्कने भाव यहाँ व्यक्त भएको छ ।
न ) जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाऔँला । एक गेडा मकै भए पनि आफ्नै
माटामा उब्जाउँला ।
उत्तर :- प्रस्तुत वाक्य हाम्रो
कक्षा १० को नेपालीको पाठ १४ घरको माया शीर्षक एकाङ्कीबाट व्याख्याको लागि साभार गरिएको
हो । यस एकाङ्कीका लेखक भीमनिधि तिवारी ( वि.सं. १९६८-२०३०) हुन् । सामाजिक
विषयवस्तुमा आधारित "घरको माया" एकाङ्कीमा देशप्रेमको भावना सम्प्रेषण
गरिएको छ । अभाव, गरिबी र बेरोजगारीका कारण थुप्रै नेपाली युवायुवती
विदेसिन बाध्य भएको र उनीहरू विदेशी परिवेशमा रमाउन नसकेको , विदेशमा सम्मानित काम पाउन नसकेको अवस्थाको चित्रण गर्दै स्वदेश फर्कन आह्वान
गरिएको छ । एकाङ्कीकारले विदेशी भूमिमा अलपत्र परेका नेपाली युवायुवतीलाई जम्मा गराइ
विदेशको निस्सासलाग्दो परिवेशमा नबस्न र स्वदेश फर्कन अनुरोध गर्दै देशप्रेमको भाव
व्यक्त गर्ने सन्दर्भमा आफ्नो मुखपात्र बतासेमार्फत उक्त वाक्य व्यक्त गरेका हुन् ।
पोक्चेको लहैलहैमा लागेर आफूसँग
भएको गहनापात बेचविखन गरी विदेशिएकी बतासे विदेशमा पोक्चेले धोका दिएर बेपत्ता
भएपछि अलपत्र पर्नु पर्यो । विदेशमा पाएको दु:खले बतासे र कान्छोको
विदेश मोह भङ्ग भएको छ । दुई दिनसम्म भोकै बस्नु परेका बतासे र कान्छोले गाउँकै
लालबहादुर र जमानसिंहलाई भेट्दा साहारा पाएको महसुस गरे । विदेशको अपमानित ,
उपेक्षित र तिरस्कृत जीवनभन्दा स्वदेशमै पौरख गरेर स्वाभीमानी जीवन बिताउने
निष्कर्षमा पुगेकी बतासेले लाल र जमानसिंहलाई सम्झाउँदै उक्त विचार राखेकी हुन् । एक
गाँस खान र एक धरो लगाउनकै लागि विदेशमा घोटिनुभन्दा स्वदेशमा नै दु:ख गर्नु पर्ने विचार यहाँ पाइन्छ । विदेशमा अरूको हेलाँहाँसो सहेर ,
इज्जत गुमाएर काम गरेर सुखको खोजी गर्नुभन्दा जति श्रम , परिश्रम गर्नुपरे पनि पसिना बहाउनुपरे पनि आफ्नै माटामा बगाउनुपर्छ । एक गेडा
मकैमात्र भए पनि आफ्नै माटामा उब्जाउनुपर्छ भन्ने देशभक्तिपूर्ण भावना यहाँ व्यक्त
भएको छ । आफ्नो माटामा गरिएको पौरखले हामीलाई स्वाभिमानी बन्न प्रेरित गर्दछ,
इज्जत दिलाउँछ ।
निष्कर्षमा
विदेशी भूमिमा पसिना बगाएर सुखद भविष्यको लागि सङ्घर्ष गरिरहेका युवायुवतीलाई
आफ्नै देशमा श्रम गर्न , स्वाभिमानी
जीवन बाँच्न प्रेरित गरिएको छ ।विदेशिएका सम्पूर्ण युवायुवती स्वदेश फर्केर आफ्नै माटामा
श्रम गर्नुपर्ने देशप्रेमको भाव उक्त वाक्यमा व्यक्त भएको छ ।
प ) आमा मेरो उत्प्रेरणाको केन्द्रबिन्दु
हुनुहुन्थ्यो ।
उत्तर :- आमा मेरो
............................................................ हुनुहुन्थ्यो ।
प्रस्तुत
वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको पाठ १६ "आयाम" शीर्षक कथाबाट व्याख्याको
लागि साभार गरिएको हो । यस कथाका रचयिता बिना थिङ (वि.सं. २०३७ ) हुन् । नारी समस्यामा
आधारित आदर्श सामाजिक व्यवहारको अपेक्षा राखिएको उत्कृष्ट सामाजिक कथा आयाममा नेपाली
समाजमा एकल महिलाका कारुणिक र मार्मिक भोगाइलाई विषयवस्तुका रूपमा प्रस्तुत गरिएको
छ । विधुवा विवाहको पक्षमा वकालत गरिएको प्रगतिवादी यस कथामा मुख्य पात्र याङ्जीले
आमालाई आफ्नो जीवनको कुशल अभिभावक र प्रेरणाको प्रमुख स्रोतको रूपमा लिइने क्रममा उक्त
वाक्य आएको हो ।
यस कथाका मुख्य पात्र याङ्जीले आमालाई
आफ्नो जीवनको उत्प्रेरक र मार्गदर्शकका रूपमा लिएको भाव व्यक्त भएको छ । आफ्नो छोरा
कमलको असामयिक निधनपछि निरस, निस्सार जीवन बिताइरहेकी याङ्जीलाई एकाकीपनबाट बाहिर ल्याउन
आमाले याङ्जीलाई जागिर खान वा व्यवसाय गर्न प्रेरित गरिन् । आमाकै उत्प्रेरणा र मार्गदर्शनबाट
घर बाहिर निस्कन साहस गरेकी याङ्जीको जीवनमा आमूल परिवर्तन आयो । उनको जीवनशैलीमा परिवर्तन आएको छ । वैधव्यता धारण
गरी वेदनामय निरस एकल जीवन बिताइरहेका महिलाहरूको जीवन सुखद , सार्थक र सफल बनाउन अभिभावक
तथा आफन्तजनको बलियो साथ र सहयोग चाहिन्छ ।
आफूले पनि एक्लो जीवन र लोग्नेको अभाव भोगाइ प्रत्यक्ष अनुभव गरेकी आमाले याङ्जीको
एक्लोपनको मर्म र भावनालाई नजिकबाट बुझेर उनलाई नयाँ जीवनका लागि प्रेरित गरेकी छन्
।
निष्कर्षमा
आमाले याङ्जीको जीवनलाई गतिशील बनाउन, सार्थक, बनाउन प्रेरणा प्रदान गरी आदर्श सासूको
सन्देश प्रदान गरेकी छिन् । हरेक अभिभावकको सकारात्मक सहयोगबाट एकल महिला तथा विधुवाको
निरस जीवनमा परिवर्तन ल्याउन हरेक सासूहरूले आमाले झैँ आमाको भूमिका निर्वाह गर्न सक्नु
पर्ने र बुहारीलाई छोरीको स्थानमा राखी मार्गदर्शन गर्नुपर्ने , आत्मनिर्भर र सक्षम
बन्न प्रेरित गर्नुपर्ने भाव व्यक्त भएको छ ।
फ ) जीवनमा सानो घटनाले पनि अथाह
खुसी दिन सक्ने रहेछ ।
उत्तर :- जीवनमा
..................................................................... सक्ने रहेछ
।
प्रस्तुत
वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको पाठ १६ "आयाम" शीर्षक कथाबाट व्याख्याको
लागि साभार गरिएको हो । यस कथाका रचयिता बिना थिङ (वि.सं. २०३७ ) हुन् । नारी समस्यामा
आधारित आदर्श सामाजिक व्यवहारको अपेक्षा राखिएको उत्कृष्ट सामाजिक कथा आयाममा नेपाली
समाजमा एकल महिलाका कारुणिक र मार्मिक भोगाइलाई विषयवस्तुका रूपमा प्रस्तुत गरिएको
छ । कार्यालय प्रमुख सुरजले याङ्जीलाई हरियो कुर्ता र टीका खुब सुहाउँछ भन्दा याङ्जीले
आफ्नो मन हलुका भएको सुखद अनुभूति व्यक्त गर्ने सन्दर्भमा उक्त वाक्य आएको हो ।
मानव जीवनमा सानो सानो घटनाले
पनि अथाह अर्थात् धेरै खुसी प्रदान गर्न सक्ने विचार व्यक्त भएको छ । मानव जीवन भन्नू
नै सुखदुःखको सङ्गम हो । जीवनमा कहिले सुख र कहिले दु:खको अनुभूति महसुस हुनु स्वाभाविक
हो । हरेक मानिसको जीवनमा विभिन्न किसिमका घटना घट्ने र ती घट्ना मध्ये कतिपय घटनाले
गहिरो दु:खको अनुभव गराउँछन् भने कतिपय घटनाले परम् सुखको अनुभूति दिलाउँछ । पति कमलको
निधनपछि एकल महिलाको रूपमा निरस , निस्सार र एकाकी जीवन व्यथित गरिरहेकी याङ्जीलाई
उनको प्रेमी कार्यालय प्रमुख सुरजले तिमीलाई हरियो कुर्ता र टीका सुहाउँछ भनेकोमा उनले
असीम आनन्द महसुस गरिन् । उनलाई केही राहत र शान्ति मिलेको अनुभूति भयो । उनको भारी
मन केही हलुका भएको महसुस गरिन् ।
निष्कर्षमा
यस वाक्यमा याङ्जीको वैयक्तिक अनुभूति व्यक्त गर्दै जीवनमा घट्ने कतिपय साना साना घटनाले
पनि परम् आनन्द , प्रशस्त खुसी र सुख दिन सक्छन् भन्ने भाव व्यक्त भएको छ ।