कक्षाः- १०
विषयः- सामाजिक
एकाइः- १ हामी
र हाम्रो समाज
पाठः- १ सामाजिकीकरण
समूह"क" अति छोटो उत्तर
आउने प्रश्नहरू
१. सामाजिकीकरणको उद्देश्य एक वाक्यमा लेख्नुहोस्।
उत्तरः- सामाजिकीकरणको एउटा
उद्देश्य प्रत्येक व्यक्तिलाई समाजमा बाँच्ने सिपको विकास गराउनु हो।
२. सामाजिकीकरण भनेको के हो ?
उत्तरः- आफ्नो समाजमा प्रचलित
सामाजिक मूल्यमान्यता, परम्परा, नीति, नियम, चालचलन, संस्कृति सिकाउने र सिक्ने
प्रक्रियालाई सामाजिकीकरण भनिन्छ
३. सामाजिकीकरणका कुनै दुईओटा माध्यमहरू लेख्नुहोस्।
उत्तरः- सामाजिकीकरणका दुईओटा
माध्यमहरूः परिवार, विद्यालय हुन्।
४. सामाजिकीकरणलाई किन निरन्तर प्रक्रिया भनिन्छ ?
उत्तरः- सिकाउने र सिक्ने कार्य
प्रत्येकको जीवनभर चलिरहने र कहिल्यै अन्त्य नहुने भएकाले सामाजिकीकरणलाई निरन्तर
प्रक्रिया भनिन्छ।
५. राउटे समुदायका मानिसहरू कसरी सामाजिकीकरण अभियानमा संलग्न
भएका छन् ? कुनै एउटा उदाहरणबाट स्पष्ट पार्नुहोस्।
उत्तरः- विगतमा राउटे समुदायका
मानिसहरू रूपैयाँ पैसा लिँदा देवता रिसाउँछन् भन्ने मान्यता राख्थे भने अहिले
यिनीहरूले सजिलै उपहार, पैसा लिने गर्छन्।यो उदाहरणले राउटे समुदायका मानिसहरू
सामाजिकीकरण अभियानमा संलग्न भएको स्पष्ट हुन्छ।
६. राउटे समुदायले आफूलाई बोटको राजा भन्ने गर्छन्।यस्तो किन
भनेका होलान् ? एक वाक्यमा उत्तर दिनुहोस्।
उत्तरः- राउटे समुदायका मानिसहरू
मानवबस्तीबाट टाढा बोटबिरुवाले भरिएको जङ्गलमा बस्न रूचाउने हुनाले उनीहरूले
आफूलाई बोटको राजा भनेका हुन्।
७. समाजले मानिसको सामाजिकीकरणमा कसरी सहयोग गर्छ ? एक वाक्यमा
लेख्नुहोस्।
उत्तरः- समाजले मानिसलाई सामाजिक
मूल्यमान्यता, नियम तथा संस्कार र चालचलन सिकाएर उसको सामाजिकीकरणमा सहयोग गर्छ।
८. प्रेम र स्नेह सामाजिकीकरणका महत्वपूर्ण तत्त्व हुन्, कसरी
? एक वाक्यमा लेख्नुहोस्।
उत्तरः- प्रेम र स्नेहले एकआपसमा
आत्मीयपनको भावना विकास गरी सद्भाव र सहकार्यको आधार तयार पार्दछ, त्यसैले प्रेम
र स्नेह सामाजिकीकरणका महत्वपूर्ण तत्त्व हुन्।
९. भाषाले सामाजिकीकरणमा कसरी सहयोग गर्छ ?
उत्तरः- व्यक्ति व्यक्तिमा
विचारको आदानप्रदान र अनुभव साटासाट गर्ने माध्यम भाषा भएकाले यसले सामाजिकीकरणमा
महत्वपूर्ण भूमिका निर्वाह गर्छ।
१०. औपचारिक र
अनौपचारिक सामाजिकीकरणका एक एकओटा उदाहरण दिनुहोस्।
उत्तरः- औपचारिक र अनौपचारिक सामाजिकीकरणका उदाहरणहरूः
विद्यालय र परिवार हुन्।
११. सामाजिकीकरणका एक
प्रमुख विशेषता उल्लेख गर्नुहोस्।
उत्तरः- सामाजिकीकरणका एक प्रमुख विशेषताः- सामाजिकीकरण कहिल्यै
अन्त्य नहुने निरन्तर रूपमा चलिरहने प्रक्रिया हो।
१२. सामाजिकीकरणका कुनै
दुईओटा प्राथमिक तत्त्वहरू लेख्नुहोस्।
उत्तरः- सामाजिकीकरणका दुईओटा प्राथमिक तत्त्वहरूः घरपरिवार
र साथीभाइहरू हुन्।
१३. सामाजिकीकरणको
दुईओटा तत्त्व लेख्नुहोस्।
उत्तरः- सामाजिकीकरणको दुईओटा तत्त्वः भाषा, प्रेम र स्नेह
हुन्।
१४. सामाजिकीकरणका कुनै
दुईओटा द्बितीय तत्त्वहरू उल्लेख गर्नुहोस्।
उत्तरः- सामाजिकीकरणका दुईओटा द्बितीय तत्त्वहरू विद्यालय र
कार्यालयहरू हुन्।
१५. सामाजिकीकरणका सिपलाई एक वाक्यमा परिभाषित गर्नुहोस्।
उत्तरः- व्यक्तिले उसको घर परिवार, साथीभाइ र नातेदारहरूबाट
विभिन्न कुराहरू सिकेर सामाजिक गतिविधिमा भाग लिई अन्तरक्रियामा स्वतःस्फूर्त
रूपमा भाग लिन थाल्दछ।यसैलाई सामाजिकीकरणको सिप भनिन्छ।
१६. सामाजिकीकरणमा विद्यालयले
महत्वपूर्ण भूमिका निर्वाह गर्दछ, कसरी ? एक वाक्यमा लेख्नुहोस्।
उत्तरः- विद्यालयले विभिन्न विद्यार्थीहरूबिच एकआपसमा
परिचित हुने, सहयोग र सहकार्य तथा असल बानीको निर्माण गर्ने अवसर प्रदान गर्ने
हुँदा व्यक्तिको सामाजिकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ।
१७. तपाईंले आफ्नो
समाजबाट सिकेका कुनै दुई सामाजिक व्यवहार लेख्नुहोस्।
उत्तरः- मैले आफ्नो समाजबाट सिकेका दुई सामाजिक
व्यवहारहरूः असल संस्कार र सहकार्य हुन्।
१८. सामाजिकीकरण भएको
व्यक्तिको व्यवहारमा कस्तो परिवर्तन हुन्छ ? एक वाक्यमा लेख्नुहोस्।
उत्तरः- सामाजिकीकरणको कारणले गर्दा व्यक्ति समूहमा बस्न
रूचाउने, समूहमा आफ्नो विचार राख्ने र अन्य व्यक्तिको विचार पनि सुन्ने जस्ता सकारात्मक
व्यवहारमा परिवर्तन हुन्छ।
१९. सामाजिकीकरणको
माध्यम भन्नाले के बुझिन्छ ?
उत्तरः- व्यक्तिलाई सामाजिकीकरण गराउन सहयोग गर्ने साधनलाई
सामाजिकीकरणको माध्यम भनिन्छ।
२०. तपाईँ सामाजिकीकरण
हुनुभएको छ भन्ने कुरालाई एक उदाहरण दिई स्पष्ट पार्नुहोस्।
उत्तरः- कुन सही कुरा हो कुन गलत कुरा हो छुट्याउन सक्छु र
सही कुरालाई मात्र साथ दिन्छु। एकअर्काबिच सहयोग र सहकार्यका गतिविधिहरू पनि आदानप्रदान
गर्छु।यी क्रियाकलापले म सामाजिकीकरण भएको कुरा स्पष्ट पार्दछ।
२१. सामाजिकीकरणका कार्यमा दौँतरी समूहले खेल्ने भूमिकालाई एक
वाक्यमा स्पष्ट पार्नुहोस्।
उत्तरः- दौँतरी समूहबाट
व्यक्तिले आपसी सहयोग, सामुहिक कार्य, संवाद आदि अभ्यास गर्ने अवसर प्राप्त गरेको
हुन्छ।
२२. गैरशाब्दिक सञ्चार
भनेको के हो ?
उत्तरः- नबोलिकन कुनै इसारा, शारीरिक
हाउभाउ आदिमार्फत गरिने सञ्चारलाई गैरशाब्दिक सञ्चार भनिन्छ।
पाठः- २ हाम्रा पहिचान
२३. हाम्रा कुनै दुई राष्ट्रिय पहिचान उल्लेख गर्नुहोस्।
उत्तरः- हाम्रा विभिन्न राष्ट्रिय पहिचान मध्ये दुई राष्ट्रिय पहिचान भाषा र संस्कृति हुन्।
२४. पहिचान भनेको के हो ?
उत्तरः- कुनै पनि व्यक्तिको
जाति, धर्म, क्षेत्र, भाषा, लिङ्ग आदिका
आधारमा हुने परिचयलाई पहिचान भनिन्छ।
२५. तपाईँको आफ्नो पहिचानलाई एक वाक्यमा स्पष्ट पार्नुहोस्।
उत्तरः- म नेपालको तराई क्षेत्रमा बसोबास गर्ने, नेपाली भाषा बोल्ने नेपाली
मेरो आफ्नो पहिचान हो।
२६. क्षेत्रीय पहिचान भनेको के हो ? उदाहरणसहित स्पष्ट
पार्नुहोस्।
उत्तरः- भौगोलिक र प्रादेशिक चिनारीसँग सम्बन्धित पहिचानलाई क्षेत्रीय पहिचान
भनिन्छ।जस्तैः नेपालको पूर्वमा बस्ने नेपालीहरूको पहिचान पूर्वेली हो।
२७. राष्ट्रिय पहिचान भनेको के हो ?
उत्तरः- कुनै पनि राष्ट्रलाई विश्व सामु चिनाउने विशिष्टताहरू नै राष्ट्रिय
पहिचान हो।
२८. धार्मिक पहिचान भनेको के हो ?
उत्तरः- धर्मका आधारमा हुने व्यक्ति वा समुदायको चिनारी नै धार्मिक पहिचान हो।
२९. धार्मिक पहिचानको कुनै दुई उदाहरण लेख्नुहोस्।
उत्तरः- धार्मिक पहिचानको दुई उदाहरणहरू हिन्दु धर्मावलम्बी र बौद्ध
धर्मावलम्बी हुन्।
३०. बहुआयामिक पहिचान भनेको के हो ? उदाहरणसहित स्पष्ट
पार्नुहोस्।
उत्तरः- कुनै एउटा व्यक्तिको चिनारी विभिन्न आधारमा हुन्छ भने त्यसलाई
बहुआयामिक पहिचान भनिन्छ। जस्तैः एउटा व्यक्ति वैज्ञानिक,समाजसेवी र शिक्षक हुन
सक्छ।
३१. पहिचानको कुनै दुईओटा महत्व लेख्नुहोस्।
उत्तरः- पहिचानको दुईओटा महत्वः राष्ट्रको
बारेमा चिनारी गर्छ र यसले अपनत्वबोध गराउँछ।
३२. लैङ्गिक पहिचानको अर्थ एक वाक्यमा लेख्नुहोस्।
उत्तरः- महिला, पुरुष र यौनिक
अल्पसङ्ख्यकको रूपमा हुने चिनारी नै लैङ्गिक पहिचान हो।
३३. अपाङ्गता भएको व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ अनुसार
कस्ता व्यक्तिलाई अपाङ्गता भएको व्यक्ति भनिन्छ ?
उत्तरः- अपाङ्गता भएको व्यक्तिको
अधिकारसम्बन्धी ऐन २०७४ अनुसार अपाङ्गता भएको व्यक्ति भन्नाले शारीरिक, मानसिक,
बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान
अवरोधका कारण अन्य व्यक्तिसरह समान आधारमा जीवनमा सहभागी हुन बाधा भएको व्यक्तिलाई
बुझिन्छ।
पाठः- ३ विविधतामा एकता
३४. सामाजिक विविधताको अर्थ एक वाक्यमा लेख्नुहोस्।
उत्तरः- जातीय, भाषिक र धार्मिक विभिन्नतालाई सामाजिक विविधता भनिन्छ।
३५. विविधतामा एकता भनेको के हो ?
उत्तरः- विभिन्न किसिमका चिनारी र पहिचान भएका व्यक्ति तथा सम्प्रदायहरूबिचमा
आपसी सद्भाव, पारस्पारिक समझदारी, सहयोग, सहकार्य, सम्मान र सहिष्णुता कायम भएको
अवस्थालाई विविधतामा एकता भनिन्छ।
३६. विविधतामा एकताको एक महत्त्व लेख्नुहोस्।
उत्तरः- विविधतामा एकताको एक महत्वः समाजमा सामाजिक सद्भाव, सहयोग र
सहकार्यको भावना विकसित हुन्छ।
३७. नेपाली समाजको विशेषतालाई एक वाक्यमा लेख्नुहोस्।
उत्तरः- नेपाली समाजमा बस्ने मानिसहरूको बिचमा आपसी मेलमिलाप, सहयोग, सहकार्य,
सद्भाव र समानताका व्यवहार छन् । यही नै नेपाली समाजको विशेषता हो।
३८. नेपालको जनगणना २०७८ अनुसार नेपालमा कति जातजाति रहेका छन्
?
उत्तरः- नेपालको जनगणना २०७८ अनुसार
नेपालमा १४२ जातजाति रहेका छन्।
३९. नेपालको जनगणना २०७८ अनुसार नेपालमा कतिओटा भाषाहरू बोलिन्छ
?
उत्तरः- नेपालको जनगणना २०७८ अनुसार नेपालमा १२४ ओटा भाषाहरू बोलिन्छ।
४०. तपाईँको समाजमा रहेका बहुसांस्कृतिकताको एक उदाहरण दिनुहोस्।
उत्तरः- मेरो समाजमा विभिन्न धर्मालम्बीहरूका आआफ्नै विशेषताका चाडपर्वहरू
छन्।जस्तैः हिन्दु धर्मालम्बीहरूको दसैँ, बौद्ध धर्मालम्बीहरूको बुद्धपुर्णिमा आदि
बहुसांस्कृतिकताको एउटा उदाहरण हो।
४१. नेपाललाई किन बहुधार्मिक देश भनिन्छ ?
उत्तरः- नेपालमा दशओटा धर्म मान्ने मानिसहरूको बसोबास छ।त्यसैले नेपाललाई
बहुधार्मिक देश भनिन्छ।
४२. नेपालमा धार्मिक एकता कायम राख्न के गर्नुपर्छ ? एक
वाक्यमा लेख्नुहोस्।
उत्तरः- नेपालमा धार्मिक एकता कायम राख्न एउटा धर्म मान्ने मानिसहरूले अर्को
धर्म मान्ने मानिसहरूका विचार र भावनालाई
उचित सम्मान गर्नुपर्छ।
४३. विविधतामा एकता
कायम गर्ने एउटा प्रभावकारी उपाय लेख्नुहोस्।
उत्तरः- विविधतामा एकता कायम
गर्न सबै प्रकारका विभेदको अन्त्य गर्नुपर्छ।
४४. भाषिक एकता कायम गर्न तपाईँको एउटा सुझाव प्रस्तुत
गर्नुहोस्।
उत्तरः- भाषिक एकता कायम गर्न एकअर्काको
भाषालाई सम्मान गर्नुपर्छ र भाषाका आधारमा मानिसहरूमा भेदभाव हुनु हुँदैन।
४५. हामी विभाजित हुँदा के होला, एक वाक्यमा लेख्नुहोस्।
उत्तरः- हामी विभाजित हुँदा
विभिन्न जातजाति र समुदायबिच झगडा, द्बन्द्ब र हिंसा हुन्छ जसले हाम्रो सामाजिक
एकता र विकासमा नकारात्मक असर पर्दछ।
४६. नेपालको संविधानले देशभित्रको विविधतालाई कसरी सम्बोधन
गरेको छ, लेख्नुहोस्।
उत्तरः- हाम्रो राष्ट्रलाई
परिभाषित गर्दै नेपालको संविधानको धारा ३ मा उल्लेख गरिएको छ। बहुजातीय, बहुभाषिक,
बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेको समान आकाङ्क्षा
र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा
समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र
हो। यसरी नेपालको वर्तमान संविधानले देशभित्रको विविधतालाई प्रष्टसँग सम्बोधन
गरेको छ।
४७. रामकी दिदीले नागरिकता बनाउँदा "यौनिक अल्पसङ्ख्यक"
लेखेको नागरिकता पाउनुभयो ।यो उहाँको कुन पहिचानसँग सम्बन्धित छ ?
उत्तरः- रामकी दिदीले नागरिकता
बनाउँदा "यौनिक अल्पसङ्ख्यक" लेखेको नागरिकता पाउनुभयो ।यो उहाँको
लैङ्गिक पहिचानसँग सम्बन्धित छ।
४८. तपाईँको कक्षाकोठामा कस्तो खालको विविधता छ ? कुनै एक
बुँदामा लेख्नुहोस्।
उत्तरः- मेरो कक्षाकोठामा विभिन्न
जातजाति, भाषाभाषि र धर्ममा विविधता छ।
पाठः- ४ हाम्रा राष्ट्रिय गौरव
४९. हाम्रा राष्ट्रिय गौरवको महत्व एक वाक्यमा लेख्नुहोस्।
उत्तरः- हाम्रा विभिन्न प्रकारका राष्ट्रिय गौरव बढाउने सम्पदाले नेपाल र
नेपालीको नाम अन्तर्राष्ट्रिय स्तरमा फैलाएर हामीमा गौरवको अनुभूति गराउँछन्।
५०. राष्ट्रिय गौरव भनेको के हो ?
उत्तरः- कुनै पनि देशको मान, प्रतिष्ठा, इज्जतलाई अन्तर्राष्ट्रिय
क्षेत्रमा समेत विस्तार गरी देशलाई चिनाउने प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र
प्रसिद्ध व्यक्तित्व आदिलाई राष्ट्रिय गौरव भनिन्छ।
५१. हाम्रा कुनै दुईओटा राष्ट्रिय गौरवहरूको सूची तयार
गर्नुहोस्।
उत्तरः- हाम्रा दुई ओटा राष्ट्रिय गौरवहरू यस प्रकार छन्:
१) वीरता २) विश्वको
सर्वोच्च शिखर सगरमाथा
५२. बहुसंस्कृति भनेको के हो ?
उत्तरः- जातजातिअनुसार धेरै संस्कृति हुनु नै बहुसंस्कृति हो।
५३. हाम्रो राष्ट्रिय गौरव देखाउने कुनै दुई ओटा चिनारीहरू
लेख्नुहोस्।
उत्तरः- हाम्रो राष्ट्रिय गौरव देखाउने विभिन्न चिनारीहरू मध्ये दुईओटा
चिनारी लुम्बिनी र राष्ट्रिय झण्डा हुन्।
५४. नेपालको गौरव बढाउने दुईओटा पक्ष उल्लेख गर्नुहोस्।
उत्तरः- नेपालको गौरव बढाउने दुईओटा पक्ष पशुपतिनाथ मन्दिर र सगरमाथा हुन्।
५५. वीरता कसरी हाम्रो राष्ट्रिय गौरव हो ? एक वाक्यमा उत्तर
दिनुहोस्।
उत्तरः- नेपाल अङ्ग्रेज युद्धको बेलामा हाम्रा वीर योद्धाहरू बलभद्र कुँवर,
अमरसिंह थापा, भक्ति थापा आदि जस्ता वीरहरूले देखाएको वीरताले अङ्ग्रेजहरूलाई आश्चर्यचकित
बनाएको थियो।जसले गर्दा आज पनि उनीहरूको वीरताका कारण विश्वले नेपाललाई वीर
गोर्खालीको देश भनेर चिन्छन्।त्यसैले वीरता हाम्रो राष्ट्रिय गौरव हो।
५६. हाम्रो राष्ट्रिय झन्डामा अङ्कित चन्द्र र सूर्यले के
जनाउँछ ?
उत्तरः- हाम्रो राष्ट्रिय झन्डामा अङ्कित चन्द्र र सूर्यले जबसम्म आकाशमा
चन्द्र र सूर्य रहिरहन्छ तबसम्म यो संसारमा नेपाल रहिरहने तथ्यलाई जनाउँछ।
५७. हाम्रो राष्ट्रिय झण्डा कसरी गौरवको प्रतीक हो ?
उत्तरः- त्रिकोण आकारको झण्डा नेपालको मात्र छ।त्यसैले हाम्रो राष्ट्रिय झण्डा
गौरवको प्रतीक हो।
५८. हाम्रो राष्ट्रिय
झण्डामा रहेको निलो रङ र रातो रङले के के दर्साउँछ ?
उत्तरः- हाम्रो राष्ट्रिय झण्डामा
रहेको निलो रङले शान्ति र अहिंसा र रातो रङले हाम्रो वीरतालाई दर्साउँछ।
५९. हाम्रो राष्ट्रिय गानका रचयिता को हुन् ?
उत्तरः- हाम्रो राष्ट्रिय गानका
रचयिता प्रदीपकुमार राई(व्याकुल माइला) हुन्।
६०. हाम्रो राष्ट्रिय गानलाई कसले सङ्गीतबद्ध गरेका थिए ?
उत्तरः- हाम्रो राष्ट्रिय
गानलाई अम्बर गुरूङले सङ्गीतबद्ध गरेका थिए।
६१. राष्ट्रिय गीत र राष्ट्र गानबिच फरक छुट्याउनुहोस्।
उत्तरः- राष्ट्रिय गीत जुनसुकै
बेला र जहाँसुकै गाउन सकिन्छ तर राष्ट्र
गान औपचारिक कार्यक्रमहरू सुरूवात गर्दा गाइने गीत हो।
६२. हाम्रो राष्ट्रिय गान कसरी राष्ट्रिय गौरव हो ?
उत्तरः- हाम्रो राष्ट्रिय गानले
सबै जाजाति, भाषाभाषी, प्राकृतिक सुन्दरता, विविधता, वीरता, भौगोलिक अखण्डता,
बाहुल्यता, सभ्यता आदिलाई प्राथमिकताका साथ सम्बोधन गरेको छ।यसले हाम्रो देशलाई एक
सार्वभौम राष्ट्रको रूपमा संसारमा चिनाएको छ।त्यसैले हाम्रो राष्ट्रिय गान राष्ट्रिय
गौरव हो।
६३. लुम्बिनी किन हाम्रो राष्ट्रिय गौरवको प्रतीकको रुपमा
चिनिन्छ ?
उत्तरः- लुम्बिनी शान्तिका
अग्रदूत बौद्ध धर्मका संस्थापक भगवान गौतम बुद्धको जन्मस्थल हो । आज नेपाल संसारभर
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीका नामले प्रसिद्ध छ।यसै कारणले लुम्बिनी
हाम्रो राष्ट्रिय गौरवको प्रतीकको रूपमा चिनिन्छ।
६४. सगरमाथालाई किन
हाम्रो राष्ट्रिय गौरव मानिन्छ ?
उत्तरः- सगरमाथा विश्वको
सर्वोच्च शिखर हो।विश्वले नेपाललाई एभरेस्टको भूमिको रूपमा चिन्छ।यसले नेपालको
पहिचान संसारसामु पुर्याएको छ। त्यसैले सगरमाथा हाम्रो राष्ट्रिय गौरव मानिन्छ।
६५. सगरमाथाको नामकरण
कसले र कहिले गरेका हुन् ?
उत्तरः- सगरमाथाको नामकरण
इतिहासकार बाबुराम आचार्यले वि.सं. २०१२ मा गरेका थिए।
६६. सगरमाथाको नाम एभरेस्ट कसको नामबाट राखिएको हो ?
उत्तरः- सगरमाथाको नाम एभरेस्ट
भनी ब्रिटिस भूगोलविद् तथा सर्वेयर सर जर्ज एभरेस्टको नामबाट राखिएको हो।
६७. सगरमाथाको उचाइ कति छ ?
उत्तरः- सगरमाथाको उचाइ ८८४८.८६ मिटर
छ।
एकाइः-
२ विकास र विकासका पूर्वाधार
समूह"क"
अति छोटो उत्तर आउने प्रश्नहरू
पाठः- १ मानव विकास सूचकाङ्क
१. मानव विकास सूचकाङ्क भनेको के हो ?
उत्तरः- मानव विकास सूचकाङ्क भनेको कुनै पनि देशको आर्थिक, सामाजिक, शैक्षिक लगायतका
क्षेत्रको प्रगतिको अवस्था देखनउने सूचक हो।
२. मानव विकास सूचकाङ्कका आयामहरू उल्लेख गर्नुहोस्।
उत्तरः- मानव विकास सूचकाङ्कका आयामहरू औसत आयु, प्रतिव्यक्ति आय र शिक्षा
हुन्।
३. नेपालमा मानव विकास सूचकाङ्क कम हुनका कुनै दुई कारणहरू
लेख्नुहोस्।
उत्तरः- नेपालमा मानव विकास सूचकाङ्क कम हुनका दुई कारण प्रतिव्यक्ति आय कम
र शिक्षाको अवस्था कमजोर हुनु हो।
४. मानव विकास सूचकाङ्कको दृष्टिकोणले तपाईँको पारिवारिक
जीवन विकसित हो वा होइन, एक वाक्यमा लेख्नुहोस्।
उत्तरः- मानव विकास सूचकाङ्कको दृष्टिकोणले हेर्दा मेरो
पारिवारिक जीवन मध्य खालको छ, किनकि हाम्रो
परिवारमा शिक्षा, स्वास्थ्य र
जीवनस्तरका आधारभूत सुविधा सामान्य रूपमा उपलब्ध छन् तर अझै सुधारको आवश्यकता छ।
५. तपाईँको समुदायमा विद्यमान कुनै एक सामाजिक समस्या विरुद्ध
जनचेतना जगाउने एक प्लेकार्डको नमुना तयार गर्नुहोस्।
उत्तरः- मेरो
समुदायमा विद्यमान एक सामाजिक समस्या विरुद्ध जनचेतना जगाउने प्लेकार्डको नमुनाः
गाउँसहर सबैतिर जताजतै
सचेतना जगाऔँ
घरेलु हिंसा होइन
सहयोगको भावना बढाऔँ।
६. नेपालको मानव विकास सूचकाङ्क अभिवृद्धि गर्न आर्थिक पक्षमा
जोड दिनुपर्छ किन ? एक वाक्यमा लेख्नुहोस्।
उत्तरः- आर्थिक विकासले मानिसको आम्दानी वृद्धि भई आर्थिक जीवनस्तर उकासिने
हुँदा नेपालको मानव विकास सूचकाङ्क अभिवृद्धि गर्न आर्थिक पक्षमा जोड दिनुपर्छ।
७. आम्दानीलाई किन मानव विकास सूचकाङ्कको आयामको रूपमा लिइन्छ
?
उत्तरः- आम्दानीले व्यक्तिको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउने
हुँदा यसलाई मानव विकास सूचकाङ्कको आयामको रूपमा लिइन्छ।
८. मानव विकास सूचकाङ्क किन गणना गरिन्छ ? एक वाक्यमा लेख्नुहोस्।
उत्तरः- कुनै पनि देशको विकासको स्तरबारे जानकारी लिनका लागि मानव विकास
सूचकाङ्क गणना गरिन्छ।
९. मानव विकास सूचकाङ्क एक तथ्याङ्कीय औजार हो, एक वाक्यमा
प्रष्ट पार्नुहोस्।
उत्तरः- मानव विकासको स्तर तथ्याङ्कको माध्यमबाट जानकारी दिने हुनाले यो
सूचकाङ्क एक तथ्याङ्कीय औजार हो।यसको मान जहिले पनि ० देखि १ अङ्कको बिच रहन्छ।
१०. मानव विकास सूचकाङ्कबाट के थाहा पाउन सकिन्छ ?
उत्तरः- मानव विकास सूचकाङ्कबाट
कुनै पनि देशको मानिसहरूको साक्षरता प्रतिशत, प्रतिव्यक्ति आय र औसत आयु थाहा पाउन
सकिन्छ।
११. नेपालमा मानव विकास सूचकाङ्कको एउटा चुनौती लेख्नुहोस्।
उत्तरः- नेपालमा मानव विकास
सूचकाङ्कको एउटा चुनौती बेरोजगारी हो।
१२. मानव विकास सूचकाङ्क अभिवृद्धि गर्न कुन पक्षमा सबैभन्दा
बढी जोड दिनुपर्छ ? आफ्नो तार्किक धारण दिनुहोस्।
उत्तरः- मानव विकास सूचकाङ्क
अभिवृद्धि गर्न स्वास्थ्य सेवा विस्तार गर्नुपर्छ।स्वास्थ्य नै जीवनको आधार हो, स्वस्थ
शरीरबिना कुनै पनि काम गर्न सकिँदैन।त्यसैले मानव विकास सूचकाङ्क अभिवृद्धि गर्न
स्वास्थ्यको पक्षमा सबैभन्दा बढी जोड दिनुपर्छ।
१३. मानव विकास प्रतिवेदनलाई किन नागरिकको जीवनस्तर प्रतिबिम्ब
गर्ने प्रतिवेदन मानिन्छ ? आफ्नो तर्क एक वाक्यमा उल्लेख गर्नुहोस्।
उत्तरः- मानव विकास प्रतिवेदनले
देशभित्र बसोबास गर्ने सम्पूर्ण व्यक्तिहरूको स्वास्थ्य, शिक्षा र थजीवनस्तरको
अवस्था देखाउने हुनाले यसलाई नागरिकको जीवनस्तर प्रतिबिम्ब गर्ने प्रतिवेदन
मानिन्छ।
१४. निम्न मानव विकासभित्र पर्ने देशहरूको सूचकाङ्क कतिदेखि
कतिसम्म हुन्छ ?
उत्तरः- निम्न मानव विकासभित्र
पर्ने देशहरूको सूचकाङ्क ०.0०० देखि ०.५४९ सम्म हुन्छ।
१५. मध्यम मानव विकासभित्र पर्ने देशहरूको सूचकाङ्क कतिदेखि
कतिसम्म हुन्छ ?
उत्तरः- मध्यम मानव विकासभित्र
पर्ने देशहरूको सूचकाङ्क ०.५५० देखि ०.६९९ सम्म हुन्छ।
१६. उच्च मानव विकासभित्र पर्ने देशहरूको सूचकाङ्क कतिदेखि
कतिसम्म हुन्छ ?
उत्तरः- उच्च मानव विकासभित्र
पर्ने देशहरूको सूचकाङ्क ०.७०० देखि ०.७९९ सम्म हुन्छ।
१७. अति उच्च मानव विकासभित्र पर्ने देशहरूको सूचकाङ्क कतिदेखि
कतिसम्म हुन्छ ?
उत्तरः- अति उच्च मानव
विकासभित्र पर्ने देशहरूको सूचकाङ्क ०.८०० देखि १.०० सम्म हुन्छ।
१८. सन् २०२५को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क
कति हो ? यो कुन श्रेणीको देशअन्तर्गत पर्दछ।
उत्तरः- सन् २०२५को
प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क ०.६२२ हो ? यो मध्यम मानव विकास
भएको देशअन्तर्गत पर्दछ।
१९. सार्क मुलुकमा पहिलो र आठौँ मानव विकास सूचकाङ्क कुन कुन
राष्ट्रको छ र यी देशको मानव विकास सूचकाङ्क कति कति छ ?
उत्तरः- सार्क मुलुकमा पहिलो र
आठौँ मानव विकास सूचकाङ्क क्रमशः श्रीलङ्का र अफगानिस्तानको छ। श्रीलङ्काको
मानव विकास सूचकाङ्क ०.७७६ र अफगानिस्तानको मानव विकास सूचकाङ्क ०.४९६ छ।
२०. मानव विकास प्रतिवेदनलाई किन आर्थिक, सामाजिक विकासको
महत्वपूर्ण प्रतिवेदन मानिएको हो ? आफ्नो विचार एक वाक्यमा लेख्नुहोस्।
उत्तरः- मानव विकास प्रतिवेदनले
आम्दानीको अवस्था र स्वास्थ्य सेवाको सुविधा उल्लेख गर्ने हुँदा यसलाई आर्थिक,
सामाजिक विकासको महत्वपूर्ण प्रतिवेदन मानिएको हो।
२१. सार्क मुलुकमा नेपालको मानव विकास सूचकाङ्क कति औँ स्थानमा
छ ?
उत्तरः- सार्क मुलुकमा नेपालको
मानव विकास सूचकाङ्क छैटौँ स्थानमा छ ।
२२. सन् २०२५ को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क
कति औँ स्थानमा छ ?
उत्तरः- सन् २०२५ को प्रतिवेदनअनुसार
नेपालको मानव विकास सूचकाङ्क १४५ औँ स्थानमा छ ।
पाठः- २ दिगो विकास
२३. दिगो विकास भनेको के हो ?
उत्तरः- स्रोत साधनको समुचित
उपयोग गरी भावी पुस्ताका आवश्यकलाई ध्यान दिँदै वर्तमान पुस्ताका आवश्यकता पूरा
गर्ने प्रक्रिया नै दिगो विकास हो ।
२४. किन दिगो विकासलाई लामो समयसम्म रहने विकास भनिएको हो ? आफ्नो
धारणा एक वाक्यमा लेख्नुहोस्।
उत्तरः- दिगो विकास भावी
पुस्तालाई समेत ख्याल गरेर तथा लामो समयसम्मका लागि गरिने विकास भएकाले दिगो विकासलाई
लामो समयसम्म रहने विकास भनिएको हो।
२५. दिगो विकासका कुनै दुई उद्देश्य लेख्नुहोस्।
उत्तरः- दिगो विकासका दुई
उद्देश्य: १) स्रोत साधनको सावधानीपूर्वक प्रयोग २) वातावरणमैत्री विकास
२६. दिगो विकासका कुनै दुई लक्ष्य लेख्नुहोस्।
उत्तरः- दिगो विकासका दुई लक्ष्यः-
१) सुस्वास्थ्य तथा समृद्ध जीवन २)
गरिबीको अन्त्य
२७. दिगो विकासको अवधारण कहिले देखि चर्चामा आउन थालेको हो ?
उत्तरः- दिगो विकासको अवधारण सन्
१९८० को दशकदेखि चर्चामा आउन थालेको हो।
२८. नेपालमा दिगो विकासका लागि कस्तो संवैधानिक व्यवस्था गरिएको
छ ?
उत्तरः- नेपालको संविधानको भाग ४
धारा ५१(६) मा प्राकृतिक स्रोत साधनको संरक्षण, संवर्धन र उपयोगिता सम्बन्धि
नीतिअन्तर्गत विविध व्यवस्था गरिएको छ।राष्ट्रको विकासका लागि वातावरण र विकासबिच
समुचित सन्तुलन मिलाउन कानुनी व्यवस्था गरिने कुरा पनि संविधानमा उल्लेख गरिएको
पाइन्छ।
२९. नेपालमा दिगो विकासका लागि भएका कुनै दुई प्रयास उल्लेख
गर्नुहोस्।
उत्तरः- नेपालमा दिगो विकासका
लागि भएका दुई प्रयासहरूः
क) वि.सं. २०५० मा वातावरण संरक्षण परिषद्को स्थापना
ख) वि.सं. २०५२ मा जनसङ्ख्या तथा वातावरण मन्त्रालयको
स्थापना
३०. दिगो विकासका कुनै दुई आयाम लेख्नुहोस्।
उत्तरः- दिगो विकासका दुई आयाम
क) वातावरणीय ख)
आर्थिक
३१. दिगो विकासका लागि तपाईँको एउटा भूमिका लेख्नुहोस्।
उत्तरः- दिगो विकासका लागि मेरो
एउटा भूमिका वातावरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लाग जनचेतनामूलक
कार्यक्रम सञ्चालन गर्ने।
३२. दिगो विकासका लागि प्राविधिक आयाम भन्नाले के बुझिन्छ ?
उत्तरः- दिगो विकासका लागि
प्राविधिक आयाम भन्नाले वातावरणमा कम प्रदूषण गर्ने, प्रविधिको प्रयोग गरी विश्वव्यापी
तापक्रम वृद्धिलाई कम गर्ने भन्ने बुझिन्छ।
३३. दिगो विकासको सांस्कृतिक आयाम भनेको के हो ? एक वाक्यमा
लेख्नुहोस्।
उत्तरः- दिगो विकासको सांस्कृतिक
आयाम भनेको सांस्कृतिक विविधताको उपयोग गर्दै मूल्यमान्यताको विकास तथा सांस्कृतिक
हस्तान्तरण गर्नु हो।
३४. दिगो विकासको मानवीय आयाम भनेको के हो ? एक वाक्यमा लेख्नुहोस्।
उत्तरः- दिगो विकासको मानवीय
आयाम भनेको व्यक्तिलाई रोजगारी उपलब्ध गराई उसको भविष्य सुनिश्चित गराउनु हो ।
३५. दिगो विकासको अवधारणाअनुसार विकास योजनाहरू सञ्चालन गर्न
उपयुक्त हुन्छ किन ? आफ्नो धारणा एक वाक्यमा लेख्नुहोस्।
उत्तरः- दिगो विकासको अवधारणा
भन्नाले भावी पुस्तालाई समेत ख्याल गरी लामो समयसम्मका लागि गरिने विकास हो।
त्यसैले विकास योजनाहरू सञ्चालन गर्दा दिगो विकासको अवधारणाअनुसार गर्नु उपयुक्त
हुन्छ।
३६. तपाईँको क्षेत्रमा दिगो विकासका लागि भइरहेबो प्रयासहरू
मध्ये कुनै एकको उल्लेख गर्नुहोस्।
उत्तरः- मेरो क्षेत्रमा दिगो विकासका
लागि भइरहेका प्रयासहरू मध्ये एउटा प्रयास विकासका कार्यहरूमा जनसहभागितामा वृद्धि
गर्नु हो।
३७. तपाईँको समुदायमा दिगो विकासको अवधारणालाई कार्यान्वयन गर्न
कुनै एक सुझाव लेख्नुहोस्।
उत्तरः- मेरो समुदायमा दिगो
विकासको अवधारणालाई कार्यान्वयन गर्न वातावरण संरक्षणमा ध्यान दिँदै विकासका
गतिविधि सञ्चालन गर्नुपर्छ।
३८. दिगो विकासका लागि तपाईँ आफ्नो स्थानीय सरकारलाई के सल्लाह
दिन चाहनुहुन्छ ? कुनै एउटा सल्लाह उल्लेख गर्नुहोस्।
उत्तरः- दिगो विकासका लागि मेरो
आफ्नो स्थानीय सरकारलाई वातावरणमैत्री विकासका कार्यहरू सञ्चालन गर्न सल्लाह दिन
चहान्छु।
३९. दिगो विकासका आयाम र विकासका गतिविधिबिचको अन्तरसम्बन्ध एक
वाक्यमा उल्लेख गर्नुहोस्।
उत्तरः- दिगो विकासका आयामले विकासका
गतिविधि सञ्चालन गर्दा वातावरणलाई सन्तुलनमा राखेर अगाडि बढ्न अभिप्रेरित गर्छ।
त्यसैले यी दुईबिच अन्तरसम्बन्धित छन्।
पाठः- ३
सङ्घीय नेपाल र विकासको प्रादेशिक अवधारणा
४०. सङ्घीयता भनेको के हो ?
उत्तरः- सङ्घीयता भनेको एकभन्दा बढी सरकारद्बारा शासन गरिने व्यवस्था हो।
नेपालमा यही सङ्घीय राजनीतिक प्रणालीअन्तर्गत सङ्घ, प्रदेश र स्थानीय गरी तीन
तहका सरकार छन्।
४१. नेपाललाई कहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको
रूपमा घोषणा गरियो ?
उत्तरः- नेपालमा वि.सं. २०६५ जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक
राज्यको रूपमा घोषणा गरियो।
४२. एकात्मक व्यवस्था र सङ्घीयताबिचको एक फरक उल्लेख
गर्नुहोस्।
उत्तरः- एकात्मक व्यवस्थामा देशको शासन सञ्चालन गर्ने शक्ति एउटै सरकारमा
निहित हुन्छ भने सङ्घीय व्यवस्थामा शासन सञ्चालन विभिन्न तहका सरकारबाट हुने
गर्दछ।
४३. स्थानीय विकासका लागि सङ्घीय शासन प्रणाली किन महत्वपूर्ण
छ ? एक कारण दिनुहोस्।
उत्तरः- स्थानीय विकासका लागि त्यहाँ उपलब्ध स्रोत साधनको परिचालन गर्न सङ्घीय
शासन प्रणाली महत्वपूर्ण छ।
४४. नेपालमा कतिओटा प्रदेश र स्थानीय तह रहेका छन् ?
उत्तरः- नेपालमा ७ ओटा प्रदेश र ७५३ ओटा स्थानीय तह रहेका छन्।
४५. सङ्घीयताले स्थानीय विकासमा सघाउ पुर्याउँछ भन्ने दृष्टिकोणको
पक्षमा तपाईँको विचार एक वाक्यमा लेख्नुहोस्।
उत्तरः- सङ्घीय शासन प्रणालीमा शक्तिको बाँडफाँट केन्द्र देखि स्थानीय तहसम्म
गरेर शासन सत्ता सञ्चालन गरिने हुँदा यस्तो शासन प्रणालीले उपलब्ध स्रोत साधनको
समुचित उपयोग गरी यहाँको विकासमा सघाउ पुर्याउँछ।
४६. सङ्घीयतालाई दोहोरो शासन प्रणाली भएको राजनीतिक व्यवस्था
भनेर किन भनिएको होला ? एक वाक्यमा प्रष्ट पार्नुहोस्।
उत्तरः- सङ्घीयतामा देशलाई विभिन्न प्रदेश वा राज्यमा विभाजन गरी एउटा
केन्द्रबाट र अर्को प्रदेशबाट देशमा शासन प्रणाली सञ्चालन गरिएको हुन्छ।यसै
कारणले सङ्घीयतालाई दोहोरो शासनप्रणाली भएको राजनीतिक व्यवस्था भनेर भनिएको हो।
४७. नेपालमा कति ओटा महानगरपालिका र उपमहानगरपालिका रहेका छन् ?
उत्तरः- नेपालमा ६ ओटा महानगरपालिका र ११ ओटा उपमहानगरपालिका रहेका छन्।
४८. नेपालमा कति ओटा नगरपालिका र गाउँपालिका रहेका छन् ?
उत्तरः- नेपालमा २७६ ओटा नगरपालिका र ४६० ओटा गाउँपालिका रहेका छन्।
४९. नेपालमा सङ्घीय व्यवस्था अवलम्बन गर्नुका कुनै दुई कारण
लेख्नुहोस्।
उत्तरः- नेपालमा सङ्घीय
व्यवस्था अवलम्बन गर्नुका दुई कारणः
क) देशमा उपलब्ध स्रोत र साधनको अधिकतम् परिचालन गर्न,
ख) जनतालाई सेवा प्रवाहमा सहजता र सरलता ल्याउन।
५०. सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भनेको के हो ?
उत्तरः- देशमा जनताको मतद्बारा
निर्वाचित जनप्रतिनिधिहरूले शासन गर्ने राजनीतिक प्रणालीलाई सङ्घीय लोकतान्त्रिक
गणतन्त्रात्मक मुलुक भनिन्छ।
५१. नेपालमा सङ्घीय शासन प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन
गर्न के गर्नुपर्ला ? कुनै एक सुझाव दिनुहोस्।
उत्तरः- नेपालमा सङ्घीय शासन
प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्न देशका नागरिकलाई सेवा सुविधा सहज रुपमा
उपलब्ध गराउनुपर्छ।
५२. सङ्घीय शासन प्रणालीमा विकेन्द्रीकरण अनिवार्य रूपमा हुन्छ
भन्ने कुरामा तपाईँ सहमत हुनुहुन्छ, किन ? एउटा तर्क प्रस्तुत गर्नुहोस्।
उत्तरः- सङ्घीय शासन प्रणालीमा
शक्तिको बाँडफाँट केन्द्रदेखि स्थानीय तहसम्म गरेर शासन सत्ता सञ्चालन गरिएको
हुनाले यस्तो शासन प्रणालीमा विकेन्द्रीकरण अनिवार्य हुन्छ।
५३. नेपालमा एकात्मक शासनप्रणाली हुँदा आम समुदायले व्यवस्था वा
शासनप्रति अपनत्व महसुस गर्न नसक्नुको एक कारण ल्ख्नुहोस्।
उत्तरः- नेपालमा एकात्मक
शासनप्रणाली हुँदा आम समुदायले व्यवस्था वा शासनप्रति अपनत्व महसुस गर्न नसक्नुको
एउटा कारण शासनप्रणालीमा जनतालाई प्रत्यक्ष सहभागी नगराउनु हो।
५४. नेपालबाहेक सङ्घीयता लागु भएका कुनै दुई मुलुकहरूको नाम
लेख्नुहोस्।
उत्तरः- नेपालबाहेक सङ्घीयता
लागु भएका दुई मुलुक भारत र अमेरिका हुन्।
५५. स्वशासन भनेको के हो ?
उत्तरः- सम्बन्धित सरकारले आफ्नो
अधिकार क्षेत्रभित्र रहेर आफ्नो तरिकाले शासन गर्ने अवस्था नै स्वशासन हो ।
५६. साझा शासन भनेको के हो ?
उत्तरः- विभिन्न तहका सरकारले
एकअर्कासँग मिलेर सरकार सञ्चालन गर्ने अवस्थालाई साझा शासन भनिन्छ।
५७. स्थानीय विकासका लागि सङ्घीय शासनप्रणाली महत्त्वपूर्ण छ,
कसरी ? एक वाक्यमा उल्लेख गर्नुहोस्।
उत्तरः- सङ्घीय शासन प्रणालीमा
विभिन्न तहका सरकार हुन्छन्।जस्तैः स्थानीय सरकार स्थानीय विकासका लागि समर्पित
भएर लागेको हुन्छ।यसै कारणले स्थानीय विकासका लागि सङ्घीय शासनप्रणाली
महत्त्वपूर्ण हुन्छ।
पाठः- ४ नेपालमा सञ्चालित राष्ट्रिय गौरवका
आयोजनाहरू
५८. विकास आयोजना भनेको के हो ?
उत्तरः- निश्चित लक्ष्यका साथ योजनाबद्ध तरिकाले स्रोत र साधनको परिचालन गरेर
निश्चित समयभित्र सम्पन्न गर्ने गरी सञ्चालन गरिने विकासका कार्यक्रमहरू नै
विकास आयोजना हो।
५९. कस्ता आयोजनालाई राष्ट्रिय गौरवको आयोजना भनिन्छ ?
उत्तरः- सम्पूर्ण राष्ट्रको इज्जत बढाउने, पहिचान दिलाउने, ठूलो जनसङ्ख्यालाई
फाइदा पुर्याउने, ठूलो लगानी भएको र राष्ट्रिय स्तरबाट सञ्चालित विकास
आयोजनालाई राष्ट्रिय गौरवको आयोजना भनिन्छ।
६०. नेपालमा हालसम्म कतिओटा राष्ट्रिय गौरवका विकास आयोजना सञ्चालित
छन् ?
उत्तरः- नेपालमा हालसम्म २४ ओटा राष्ट्रिय गौरवका विकास आयोजना सञ्चालित छन्
।
६१. नेपालका कुनै दुई ओटा राष्ट्रिय गौरवको आयोजनाका नाम लेख्नुहोस्।
उत्तरः- नेपालका दुई ओटा राष्ट्रिय
गौरवको आयोजनाका नामः
क) तराई हुलाकी मार्ग
ख) राष्ट्रपति चुरे संरक्षण आयोजना
६२. विकास आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत
गरिनुको औचित्य एक वाक्यमा पुष्टि गर्नुहोस्।
उत्तरः- राष्ट्रिय गौरवका विकास आयोजनाले राष्ट्रिय गरिमा बढाउने तथा धेरै
मानिसहरू यसबाट लाभान्वित हुने भएका विकास आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत गरिनुको हो।
६३. देश विकासका लागि राष्ट्रिय गौरवका आयोजना आवश्यक छ, किन ?
एक बुँदामा उल्लेख गर्नुहोस्।
उत्तरः- राष्ट्रको इज्जत बढाउने र जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार
ल्याउने तथा सामाजिक, आर्थिक, सांस्कृतिक र वातावरणी रूपमा लाभान्वित हुने भएकाले
देश विकासका लागि राष्ट्रिय गौरवका आयोजना आवश्यक छ।
६४. सेवा दिने अवधिका आधारमा विकास आयोजनालाई कसरी विभाजन गर्न
सकिन्छ ?
उत्तरः- सेवा दिने अवधिका आधारमा विकास आयोजनालाई अल्पकालीन र दीर्घकालीन
विकास आयोजना गरी दुई भागमा विभाजन गर्न सकिन्छ।
६५. राष्ट्रिय गौरवको आयोजना सफल पार्न के गर्नुपर्छ ? एक
वाक्यमा लेख्नुहोस्।
उत्तरः- राष्ट्रिय गौरवको आयोजना सफल
पार्न बजेटको अभाव र भ्रष्टाचार हुन दिनु हुँदैन।
६६. राष्ट्रिय गौरवका आयोजनालाई किन विशेष प्राथमिकता दिइएको
होला ? आफ्नो धारणा एक वाक्यमा लेख्नुहोस्।
उत्तरः- राष्ट्रको इज्जत बढाउने र जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार
ल्याउने भएकाले राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिइन्छ।
६७. राष्ट्रिय गौरवका
आयोजनाको लागत बढ्दै जानुको एक कारण लेख्नुहोस्।
उत्तरः- राष्ट्रिय गौरवका
आयोजना विभिन्न कारणले तोकिएको समयमा सापन्न गर्न नसकेर राष्ट्रिय गौरवका
आयोजनाको लागत बढ्दै गएको हो।
६८. राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्दा वैदेशिक सहायता
लिनु ठीक हो कि होइन ? एक वाक्यमा आफ्नो विचार लेख्नुहोस्।
उत्तरः- राष्ट्रिय गौरवका
आयोजना सम्पन्न गर्दा वैदेशिक सहायता लिनु ठीक होइन किनभने अरूसँग ऋण लिएर विकास
आयोजना सञ्चालन गर्नु भनेको अरूमाथि निर्भरता बढाउनु हो र यस्तो खालको गतिविधिले
देशलाई दीर्घकालमा नराम्रो असर पार्छ।
६९. राष्ट्रिय गौरवका आयोजनाहरू सञ्चालन गर्ने अधिकार किन सङ्घीय
सरकारमा राखेको होला ? आफ्नो धारणा एक वाक्यमा लेख्नुहोस्।
उत्तर राष्ट्रिय गौरवका
आयोजनामा लगानी धेरै लगाउनु पर्ने भएकाले राष्ट्रिय गौरवका आयोजनाहरू सञ्चालन
गर्ने अधिकार सङ्घीय सरकारमा राखेको हो।
७०. पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माणले सो ठाउँका मानिसको
जीवनमा कस्तो परिवर्तन ल्याउला ? एक वाक्यमा लेख्नुहोस्।
उत्तरः- पुष्पलाल मध्यपहाडी
लोकमार्गको निर्माणले सो ठाउँका मानिसको आर्थिक गतिविधिमा वृद्धि भई जीवनस्तर
परिवर्तन ल्याउँछ।
७१. राष्ट्रिय गौरवका विकास आयोजनासम्बन्धि महालेखा परिक्षकको
कार्यालयको प्रतिवेदन प्रति एक वाक्यमा आफ्नो प्रतिक्रिया दिनुहोस्।
उत्तरः- राष्ट्रिय गौरवका विकास
आयोजना समयमै सम्पन्न गर्न नसक्नुका विभिन्न कारणहरू उल्लेख गर्दै महालेखा
परीक्षकको कार्यालयले एउटा प्रतिवेदन तयार गरेको छ।उक्त प्रतिवेदनप्रति मेरो धारण
सरकारले यस्ता समस्याको समयमै समाधान गरी यस्ता आयोजनाहरू समय अवधिमै सम्पन्न
गर्ने वातावरण निर्माण गर्नुपर्छ।
७२. माथिलो तामाकोसी जलविद्युत् आयोजना समयमा सम्पन्न हुन नसक्नुका
दुई कारण लेख्नुहोस्।
उत्तरः- माथिलो तामाकोसी
जलविद्युत् आयोजना समयमा सम्पन्न हुन नसक्नुका दुई कारणः
क) पर्याप्त बजेटको अभाव
ख) देशको राजनीतिक अस्थिरता
७३. राष्ट्रपति चुरे-तराई मधेश संरक्षण कार्यक्रमको उद्देश्य
उल्लेख गर्नुहोस्।
उत्तरः- राष्ट्रपति चुरे-तराई
मधेश संरक्षण कार्यक्रमको उद्देश्य चुरे क्षेत्रको जैविक विविधतालाई ध्यानमा राखी
वातावरण र जीवनस्तरमा सन्तुलन राख्नु हो।
७४. मध्य पहाडी लोकमार्ग आयोजना पूर्वनिर्धारित समयमै सम्पन्न गर्नका लागि स्थानीय सरकारले
कस्तो भूमिका निर्वाह गर्नुपर्छ ? एक वाक्यमा लेख्नुहोस्।
उत्तरः- मध्य पहाडी लोकमार्ग
आयोजना पूर्वनिर्धारित समयमै सम्पन्न
गर्नका लागि स्थानीय सरकारले जनताको सहभागितामा वृद्धि गरी कामको प्रगतिको
अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ।
७५. तपाईँको प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवको आयोजनाको नाम
लेख्नुहोस्।
उत्तरः- मेरो प्रदेशमा सञ्चालित
राष्ट्रिय गौरवको आयोजना उत्तर दक्षिण कोसी लोकमार्ग हो।
७६. काठमाडौँ तराई द्रुतमार्ग आयोजनाका दुईओटा विशेषता उल्लेख
गर्नुहोस्।
उत्तरः- काठमाडौँ तराई
द्रुतमार्ग आयोजनाका दुईओटा विशेषताः
क) ललितपुरको खोकना र बाराको निजगढलाई जोड्छ।
ख) यसको कुल लम्बाइ ७२.५ किलोमिटर छ।
७७. रानीजमरा कुलरिया सिँचाइ आयोजना कुन प्रदेश र जिल्लामा सञ्चालित
छ ?
उत्तरः- रानीजमरा कुलरिया सिँचाइ आयोजना सुदूरपश्चिम
प्रदेशको कैलाली जिल्लामा सञ्चालित छ।
७८. नेपालमा राष्ट्रपति चुरे-तराई मधेश संरक्षण कार्यक्रम
कहिले सुरू धएको थियो ?
उत्तरः- नेपालमा राष्ट्रपति
चुरे-तराई मधेश संरक्षण कार्यक्रम २०६७/०६८ मा सुरू धएको थियो।
७९. पोखराका मानिसहरूलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय
विमानस्थल कसरी लाभदायक हुन सक्छ ? एक वाक्यमा लेख्नुहोस्।
उत्तरः- का मानिसहरूलाई पोखरा
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल यस क्षेत्रका पर्यटन उद्योगको प्रवर्धनका
लागि लाभदायक हुन सक्छ।
८०. नेपालमा कस्ता खालको विकास आयोजना आवश्यक छ ? एक वाक्यमा
लेख्नुहोस्।
उत्तरः- नेपालमा जलविद्युत् र
कृषि विकास जस्ता आयोजना आवश्यक छ।
८१. नेपालको विकासका
लागि एउटा दाता संस्थाको नाम लेख्नुहोस्।
उत्तरः- नेपालको विकासका लागि एउटा
दाता संस्था एसियाली विकास बैङ्क हो।
